मधेसमा सांस्कृतिक रूपान्तरणको एउटा अध्याय


नेपाललाई भौगोलिकरूपमा हिमाली, पहाडी, भित्री मधेस र मधेस/तराई गरी विभाजन गरिएको छ । मधेस/तराईमा २० वटा जिल्ला पर्दछन् । ती हुन्– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । उदयपुर र सिन्धुली गरी दुई जिल्ला भित्री मधेसमा पर्दछन् । यिनै जिल्ला अर्थात् तराई/मधेसमा बसोबास गर्ने केही जातिहरूमा अनिवार्यरूपमा दाइजो दिनुपर्ने चलन छ । छोरी हुने बाबुहरू तनाव लिन्छन् भने छोरा हुनेहरू दाइजो केकति र कसरी लिने भनी आइडिया लगाइरहन्छन् । दाइजोस्वरूप प्राप्त रकमको खर्च प्रायः भोजभत्तेरमै सकिन्छ । सित्तैमा आएको धन, जसरी आउँछ, त्यसरी नै तुरिन्छ । समाजले फड्को मार्न नसकेको एउटा काइदा यो पनि हो । यसै क्षेत्रमा बसोवास गर्ने एक शिक्षित पिताले मावि तहमा अध्ययनरत् छोरीलाई विवाहबन्धनमा बाँधेर अभिभावकीय भूमिका पूरा गर्न चाहेको भेटेँ । ती छोरीले प्रतिकार स्वरूप पितालाई सम्बोधन गरी पत्र लेखिन् । त्यसलाई सांस्कृतिक रूपान्तरणकारी पत्र भन्न मिल्छ । पत्र सरसर्ती अध्ययन गर्ने मौका मिल्यो । साथै, ती छात्रासँग संवाद गर्ने अवसर समेत जुर्यो । उनकै अग्रगामी सोचको प्रतिफलस्वरूप यो पत्रात्मक सांस्कृति रूपान्तरणकारी लेख तयार गरिएको हो ।

निज छात्राले आफ्ना श्रद्धेय बुबालाई सम्बोधन गर्दै अगाडि लेखेकी छिन्– अब म पनि सुझबुझसहितकी भएँ । सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अँझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी छु ।

मेरो बालमनस्थितिमा वात्सल्यप्रेमको आभास छँदै छ । निःसन्देह म हजुरहरूकै काखमा हुर्केँ । तिनै औँलाका सहयोगमा बामे सर्न र इसारामा नाच्न सिकेँ । तिनै बोलीका भरमा सतर्कता भेट्टाएँ । होस गुमाउँदा पाएको ठक्करबाट चेतनाको दैलो उघारेँ । र, पनि साँच्चै बुबा ! त्यसबेला आफूलाई चार दिवालभित्रको एक कैदी सम्झिन्थेँ ।

त्यसबेला मलाई खुला आकाशमा चराहरूझैँ उड्न मन लाग्थ्यो । लमतन्न फैलिएको सडकमा निर्वाध गुडिहिँड्ने गाडीझैँ गुड्ने मन हुन्थ्यो । आफू खुशी उफ्रिरहेका र लुकामारी खेलिरहेका खरायाका बच्चाहरूसँग मितेरी साइनो गाँस्ने मन हुन्थ्यो । दलिनमा गुँड बनाएर बस्ने र यताउती चिर्वीर गरिहिँड्ने भँगेराभँगेरीझैँ जथाभावी बकबक गर्दै दगुर्ने मन हुन्थ्यो । साँच्चै पिताजी ! मलाई मेरो उन्मत्त संसार कसैले नखलबल्याई देओस् भन्ने लाग्थ्यो ।

दुर्भाग्य ! त्यस बेला मेरा लागि हजुरको न्यानो काख नै वाधक थियो । यसो केही कुरामा तलमाथि भयो कि जहिले पनि ठडिइहाल्ने त्यो चोर औँलाको खबरदारीसँग शत्रुता थियो । त्यसबेलाको तपाईंको बोली युद्ध मैदानको रावणस्वर हुन्थ्यो । म जति होस गुमाई पछारिन्थेँ, त्यत्ति नै आनन्दानुभूति मिल्थ्यो । साँच्चै पिताजी ! मन खोल्न नपाउँदा आफूलाई अन्धकार भविष्यको अभिशापझैँ लाग्थ्यो ।

अहिले मेरो उमेर छिप्पिँदै गएको छ । मेरो मनमा थरिथरीका सपनाहरू तँछाडमछाड गरिरहेका छन् । रङ्गिन दुनियाँ देखेर मन पुलकित भएको छ । संसार आफ्नो पक्षमा एकोहोर्याउने आँट जन्मेको छ । तर पिताजी ! मलाई हजुरको लाडप्यारले सताइरहेछ । हजुरभित्रको प्रतिष्ठा कमाउने धुनले मेरो मन रुवाइरहेछ ।

एकदिनको कुरा हो– हडतालकारीले दुई घण्टी वित्दा नवित्दै स्कुल बन्द गराए । म समयभन्दा अघि नै घर पुगेको हजुरलाई पत्तै थिएन । एकोहोरो आमालाई भन्दै हुनुहुन्थ्यो– ‘हाम्री छोरी बढी । इज्जत राख्ने/नास्ने उमेरकी भई । अँझ कडाईका साथ नियन्त्रणमा राख्ने बेला सँघारमै आयो । नत्रभने यत्तिञ्जेल कमाएको प्रतिष्ठा माटोमा नै मिल्ने भयो । परम्पराविरुद्ध एक कदम पनि अघि बढी भने स्वर्गवासी पितृले के भन्लान् ? यसलाई धेरै पढाउनु एउटा गल्ती हुन्छ । अँझ आफूसँगै राखेर आफ्नो इज्जतलाई दाउमा राखी उमेर छिप्पिन दिनु अर्को गल्ती हुन्छ । विद्यालय तहमै पढ्दापढ्दै गरेको अवस्थामा नै जतिसक्दो चाँडो उत्तम वर खोजेर बाटो लगाइदिनु नै बुद्धिमानी हुने छ । जे गर्छे, उत्तै गर्छे । यो नासोलाई पन्छाउँदैमा हाम्रो कल्याण हुन्छ । ज्वाइँ नारानलाई छोरीको मन राखेर काम गर्न सम्झाई दिनुपर्छ । ल प्रतिमाकी आमा ! छोरीको झ्याइकुटी चाँडै गरिदिनुपर्छ ।’

संवाद सुन्नासाथ मलाई हजार भोल्टको झड्का लाग्यो । म किंकर्तव्यविमूढ भएँ । आफ्नो सयनकक्षमा पुगेर भक्कानिएँ । बिद्रोहको राँको उठिरहेको थियो । त्यसलाई सल्काउनै लागेकी थिएँ । आफ्नै जन्मदाताको विरुद्धमा तत्कालै विस्फोटक निर्णय लिनु ठिक होइन भन्ने मन सक्रिय भयो । र, म सन्तुलित अवस्थामा आउने प्रयत्नमा लागेँ । यस बीचमा विद्यालय बन्दको भएको दुई महिना वितिसक्यो । एसएलसी परीक्षा पनि मुखैमा आएको छ । कसरी यो फलामे काँडेघारी छिचोल्नु भन्ने पिरलो छ । तसर्थ मैले त्यस संवादको प्रतिकार गर्न समय पाएकी थिइन । यस पटक भने पत्रमार्फत् नै मनको चाहना खुलासा गर्दै छु । यसलाई आफ्नी छोरीको इच्छा, विवेक र समझ ठानी स्वीकार्नु होला ।
हेर्नुस् पिताजी ! जसले जन्मायो, हुर्कायो, बढायो र पढायो, त्यसलाई त आफ्नी छोरीको मन छाम्ने सामर्थ्य छैन भने खोजेर जिम्मा लगाइदिएको ठिटाको के कुरा गर्नु ? उसका पनि अनेकन वाध्यता र कठिनाई हुँदा हुन् । अर्काकी छोरीको हर इच्छालाई शिरोधार्य गरेर हिँड्ने वाध्यता उसलाई नहुँदो हो । हाम्रो समाजमा बिहे गरेर पढाउने संस्कार र भावनाले मूर्तरूप पाइसकेको छैन । कोहीकोही ठूला मन भएकाहरूले जेजस्तो गरे सबैले गर्दैनन् । फेरि म अर्काको घरमा गएर उनीहरूकै खुट्टामा टेकी बुहार्तन सहन सक्दिनँ । म आफूले आर्जन गरेको ज्ञानको सदुपयोगबाट आफ्नो संसार आफैं बनाउन चाहन्छु । कसैको आशमा बाँचेर म ऋणी बन्न चाहन्न । फेरि पिताजी ! आफ्नो कर्तव्य अरूमा सार्न किमार्थ मिल्दैन । सके आफैंले समाधान गर्नुपर्छ । नसके परिवारमा छलफल गरी निष्कर्षमा पुग्नुपर्छ । तर, सन्तानको अग्रगतिको मार्गमा वाधक बनेर तेर्सिने अधिकार कुनै अभिभावकलाई छैन ।

पिताजी ! मलाई पूरापूरी थाह छ– हजुरले चाहनुभयो भने परम्पराका कालापाटाहरूसँग जुध्न सक्नुहुन्छ । तथाकथित पुखौली प्रतिष्ठाको खोल ओड्न छाड्नुहुन्छ । आफ्नो मनको भय र आशंकालाई मेटेर युगको माग र चाहनालाई सम्बोधन गर्न सक्नुहुन्छ । एक कदम अघि बढेर मात्र हुँदैन, गतिशील संसारलाई भेट्न सोही गतिमा हुइकिनुपर्छ । हजुरझैँ हाम्रा कुनै पुर्खाले स्नातकोत्तर गरेका थिएनन् । प्राप्त ज्ञान र सीपको उपयोगले परम्पराभन्दा बाहिर निस्केर जीवनरथ हाँक्ने सारथि बनेका थिएनन् । तसर्थ आफूझैँ आफ्नी छोरी पनि सक्षम नागरिक बन्छे भन्ने ठान्नुस् । कमलपित्ते आँखाले हेर्दा मात्र आजका नारीहरू कमजोर देखिन्छन् भन्ने मान्नुस् । अविश्वासी नजरले हेर्दा मात्र आफ्नै छाया शत्रु बनेर सामुमा उभिन्छ भन्ने पत्याउनुस् ।

अहिलेसम्म हजुरले परिवर्तन आफ्ना लागि मात्र भएको ठान्नुभएको रहेछ । परिवर्तन सबैका लागि एकनास भइरहेछ । अँझ कलिलो उमेरको व्यक्तिको लागि त समय पनि लम्पसार परेर प्रतिक्षारत् छ । त्यो नयाँ मान्छेलाई स्वागत गर्न तम्तयार छ । म यस युगकी नयाँ मान्छे हुँ । मलाई जीवन पढ्न दिनुस् । इलम सिक्ने अवसर दिनुस् । संसारको जग ठम्याउन चाहन्छु । भताभुङ्ग भएको समाजको कुरुप पाटो पत्ता लगाई त्यसको मर्मत गरी सुन्दर समाज बनाउन चाहन्छु । समग्रमा म आफ्नो जीवनरथको सारथि स्वय म बन्न लालायित छु ।

हेर्नुस् त पिताजी ! हाम्रै गाउँ–पाखा, उकाली–ओरालीहरूमा हस्याङ्फस्याङ गर्दै कर्मपथमा अहोरात्र डटेर खट्ने ओनसरी घर्ती र विद्यादेवी भण्डारी पनि नारी नै हुन् । उमेरले काँचा भए पनि अनुभवले पाका छन् । आजसम्मको इतिहासमा नेतृत्व तहमा नपुगेका स्थानमा पुगेका छन् । म पनि एक कर्मठ नारी हुँ । मसँग पनि अगाडि पुग्ने तागत विद्यमान छ । अरूको खुट्टा बन्न सक्छु, सक्दिनँ त्यो भन्न सक्दिनँ । तर, आफ्नो लागि भने सक्षम खुट्टा तयार पारी उभिएर छाड्छु । अहिले म अपाङ्गको अवस्थामा छु । अहिले मलाई पन्छाउने हैन पहिलेकोझैं न्यानो छहारी दिनुस् । मात्र केही वर्ष अँझ धैर्य गर्नुस् । म पनि हजुरको लगानी त्यत्तिकै खेर जान दिन्न । एक असल छोरीको कर्तव्य पूरा गरी अभिभावकको शिर उच्च पार्ने बाचा गर्दछु ।

पिताजी ! अन्तमा हजुरलाई साह्रै सकस परेको छ भने मलाई घरायसी कामकाजबाट छुट्टी दिनुस् । आफूलाई चाहिने खर्चको जोहो गर्ने ज्ञान मसँग पर्याप्त छ । फुर्सदको समयमा गाउँभरिका बालबच्चा भेला पारेर लेखपढ गर्न सिकाउँछु । आफ्नो ज्ञानको लगानी तिनीहरूमै गर्छु । यसबाट अर्थोपार्जन पनि हुन्छ । र, समाजसेवामा योगदान गरेको समेत ठहरिन्छ । अर्कातिर आर्जित ज्ञान व्यवहारमा उपयोग पनि हुन्छ । सिकेको ज्ञानलाई दीर्घकालीन/चीरस्थायी बनाउने अवसर पनि मिल्छ । मेरा यी विचार र बुझाइ सूर्यलाई बत्ती देखाए सरह भए । तर, मैले अभिव्यक्त नगरी भएको थिएन । अब भने मैले अरू केही भन्नुछैन । निर्णय हजुरको हातमा सुम्पदै पत्रान्त गर्दछु । धन्यवाद ! यस प्रकार छात्राले पत्रको अन्त गरेकी छिन् ।

वास्तवमा अतृप्त इच्छा नै अनैतिकताको घर हो । त्यस्तो इच्छाले मानिसको होस हराइदिन्छ । सोचसमझ गुमाइदिन्छ । एक थोक गर्छु भने पनि अर्को थोक गर्न अग्रसर गराइदिन्छ । आँखा लोभको सारथि हुन्छ । यसले जे राम्रो देख्छ, त्यो आफ्नै होस् भन्दछ । वास्तविक जीवनमा सबै कुरा प्राप्ति हुँदैन यद्यपि प्राप्त भइदिए हुन्थ्यो भन्दछ । समाजमा मुखले एकातिर सङ्केत गर्ने र व्यवहार अर्कैतिर गर्ने प्रवृति नौलो होइन । सन्तानसुखको लालच महिलामा बढी हुनु स्वभाविक हो । प्राप्त भए फुर्कने र नभए भयानक स्वभाव देखाउन पनि महिला नै दुईचार हात अघि हुन्छन् । असल मान्छेलाई मन पराउने असलै हुन्छ । कमसलले असललाई चिन्न सक्दैन । कमसलको जमातमा असलको काम हुन्न । यस युगमा एक्लो वृहस्पति भएर जिउन साह्रै गाह्रो छ । हर ठाउँमा भ्रष्टाचार व्याप्त छ । यसका विरुद्ध कर्मले उभिनेहरू औंलामा गन्न सकिने सङ्ख्यामा मात्र छन् । कुशासनमा आफ्नो भाग्योदय देख्नेहरूको सङ्ख्या गनी साध्य छैनन् । धर्ममा रहेर कार्यसम्पादन गर्नेहरू न सुखानुभूति पाउँछन्, न त इज्जत नै भेट्छन् । तिनीहरू त जहिले पनि परिस्थितिका बन्दी हुन्छन् र अर्कालाई अघि बढ्ने सिँढी भइदिन्छन् ।

–नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “मधेसमा सांस्कृतिक रूपान्तरणको एउटा अध्याय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *