तिमीलाई मेरो बारेमा
थाहा भएर केही हुने छैन
जसरी शिशिर पछि
वसन्त आएर केही हुदैन
बरु तिम्रो बारेमा
मैले जानेर केही हुनेछ
जब तिम्रो नहार्ने जिद्दीलाई
समयको क्रुर पन्जाले रक्ताम्मे पार्नेछ
तब अचानक तिमीलाई
पहिलोपल्ट कसैको अभावबोध हुनेछ।
जब तिम्रो आफ्नो सौर्य
र सफलताको मियोलाई
कोही तिमीभन्दा धेरै सज्जन
या पटमुर्ख आएर ध्वस्त पार्नेछ
त्यो बेलामा मात्र तिमीलाई
मेरो यादले बेस्सरी सताउनेछ।
मसित गरेको सङ्गतले
तिमीलाई भरपुर सान्त्वना दिनेछ
आइ पर्ने दुखका पहाडहरूसित
कसरी पन्सने भन्ने शोच्न दिने छैन
तर मसित बितेको उर्वर पल
जीवन एक सङ्घर्ष हो भनेर
सधै तिमीलाई जिउन सिकाउनेछ।
हो हर पल साझ बिहान
तिमीसित म नजिकै हुने छैन
तर त्यहा मेरो तिमीप्रतिको
अपूर्व लगाब, हौसला भने जरुर हुनेछ
कसरी अघि बढ्ने भनेर तिमीलाई
भविष्यको बाटो देखाइरहनेछ ।
तिमीलाई मेरो बारेमा
थाहा भएर केही हुने छैन
जसरी शिशिर पछि
वसन्त आएर केही हुदैन।
समाप्त ।
कवि ; विवेक दुलाल क्षेत्री “दमक”
(वास्तविक नाम; भानुभक्त दुलाल)
दमक, झापा
हाल ; अबुधाबी, युएइ।