श्रीमद्भगवद्गीतामा मनोचिकित्सा
(अर्जुनरोगको श्रीकृष्णोपचार )
पाँचौं वेद मानिने महाभारतको भीष्म पर्वको २५ देखि ४२ औं अध्यायसम्म जम्मा १८ अध्यायमा फैलिएको श्रीमद्भगवद्गीता हिन्दू धर्मको एक पवित्र ग्रन्थ मात्र नभई सामाजिक, सांस्कृतिक, दार्शनिक एवं व्यवहारिक महत्व बोकेको एक आदर्श कृति हो ।महर्षि वेदव्यासद्वारा रचित १८ पुराण, संहिताहरु मध्ये श्रेष्ठतम ग्रन्थ हो ।स्वामी विवेकानन्दले त गीतालाई विश्वका सम्पूर्ण धर्मग्रन्थहरुको वीजस्वरुप अनि आधारस्तम्भ नै मानेका छन् । उनको प्रसिद्घ भनाइ नै छ , “गीता ढल्यो भने सबै ग्रन्थहरु आधारहीन भएर गल्र्यामगुर्लुम्म ढल्दछन् ।” महात्मा गान्धी, अरविन्द घोष, लोकमान्य तिलक आदि भारतीय विद्वान् ÷महापुरुषहरुले मात्र हैन, एनी बेसेन्ट, एल्डुअस हक्सले जस्ता पश्चिमी महामहिमहरु समेतले यसको गाथा गाएका छन् ।
गीता माहत्म्यमा भनिएको नै छ,
सर्वाेपनिषदो गावो दोग्धा गोपाल नन्दनः ।
पार्थो वत्सः सुधीर्भाेक्ता दुग्धं गीतामृतं महत् ।।
गीता यस्तो ग्रन्थ हो जसको अनुवाद विश्वका सम्पूर्ण जसो भाषामा भएको छ, जसको व्याख्या अनि भाष्य अनेक विद्वान्हरुले लेखेका छन् । यो एउटा ग्रन्थको यति विषद् व्याख्या भएको छ कि विभिन्न तह र तप्काका महानुभावहरुले आफू सुहाँउदो टिप्पणी अनि व्याख्या गरेका छन् गीताको । वास्तवमा समुद्रमा रहेको पानीलाई मानिसहरुले आफू सुहाउँदो भाँडामा लिएर जाँदैमा समुद्रको विशालतामा कदापि कमी आउँदैन । नेपालीमा कोमल गीता÷एभरेष्ट गीता छन् भने चिन्मय मिशन, ISKCON, कृपालुजी आदि भारतीय विद्वान्हरुले आफ्नै तरिकाले यसको भाष्य तयार गरेका छन् । शंकराचार्यको भाष्य वेदान्तीहरुमाझ प्रसिद्ध छ ।
म एक मनोचिकित्सक, मैले पनि गीतालाई सन्दर्भ सामाग्री मानेको छु । मनको बारेमा बुझ्न अनि आफूलाई चिन्नका लागि । ‘म को हूँ ?’ अनि ‘मन कहाँ छ ?’ आदि प्रश्नहरु बारम्बार मेरो मानसपटलमा आइरहन्छ । यसरी खोज्ने क्रममा स्वामी चिन्मयादन्दज्यूको THE HOLY GITA हात लाग्यो । नेपालीमा समेत डा. गोविन्द टण्डनज्यूले अनुवाद गर्नुभएको रहेछ यसको । त्यसमा उल्लेखित “अर्जुन रोग” अनि “कृष्णोपचार”भन्ने शब्दहरु साह्रै घत लाग्दा लागे मलाई …. आफू पनि मनोवैज्ञानिक उपचार पद्घति अबलम्बन गर्ने गरेको मान्छे परें म …….. अनि त खोज्न थालें गीतासँग नै सम्वन्धित अन्य सामाग्रीहरु .. भारतीय मनोविज्ञ एवं मनोचिकित्सकहरु ( M.S. Reddy, Arun kumar, Sanjay Kumar, Shubash C. Bhatia, Venkoba Rao, Dillip Jeste आदि ) ले गीतालाई एक किसिमको उपचार प्रक्रिया नै ठानेका रहेछन् । यी सबका कृति र रचनाहरुको अध्ययन मनन पश्चात् यी शब्दहरु कोर्ने जमर्काे गरेको छु ।
हिन्दू धर्म संस्कृतिमा वाद–विवाद एवं संवादको ठूलो महत्व छ । भनिएको नै छ, ‘वादे वादे जायते तत्वबोधः’ । त्यसैले यस धर्मका प्रत्येक पुराण, उपनिषद एवं कथा–भाष्यहरु दुई व्यक्तिको संवादका रुपमा देखा पर्दछन् । शिव –पार्वती संवाद, शुकदेव–परीक्षित संवाद, गुरु शिष्य या राजा–मन्त्री सम्वाद आदि ..। त्यस्तै गीताले पनि धृतराष्ट्र–संजय संवादका रुपमा शुरु भई श्रीकृष्ण–अर्जुन संवादका रुपमा निरन्तरता पाउँछ, जसको मूल भाव भने श्रीकृष्णद्वारा अर्जुनका शंकाहरु समाधान गर्ने र उनलाई आफ्नो क्षेत्रिय धर्मका बारेमा बुझाएर युद्धमा अग्रसर गराउने नै हो । यही संवाद नै हो जसले महाभारत युद्धको विजेताको रुपमा पाण्डवपक्षलाई उभ्याउन पुग्छ । अन्तमा संजयले ठोकुवा नै गरिदिन्छन्,
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः।
तत्र श्रीर्विजयो भूतिर्धु्रवा नीतिर्मतिर्मम ।। ृभ.गी १८(७८)े
तर अर्जुनको विजय त्यति सरल भने थिएन किनभने उनी यस्तो तनावमा पर्दछन् युद्धको प्रारम्भमा कि युद्ध नै छोडिदिने घोषण गरिदिन्छन्, त्यसैलाई अर्जुनरोगको रुपमा व्याख्या गरिएको छ । वास्तवमा हामी मानव जीवनरुपी संघर्षका क्षणहरुमा, आरोह–अवरोहमा, जुनसुकै समयमा पनि अर्जुनरोगले ग्रस्त हुन सक्छौं, त्यही सत्य उद्घाटित भएको छ गीतामा । तर भगवान कृष्णको उपचारले अर्जुन पुनः पुरानै ताजगीका साथ युद्धमा लाग्न अभिप्रेरित हुन पुग्छन् र विजयमाला पनि पहिरिन्छन् । यही १८ अध्यायमा फैलिएको करिव ४५–६० मिनेट जति लामो कृष्ण–अर्जुन संवादलाई मनोचिकित्साको एउटा रुपक (roleplay)को रुपमा मानेर यो लेख तयार पार्ने जमर्को गरिएको छ ।
अर्जुन –एउटा व्यक्तित्व
महाभारतको पृष्ठभूमिमा हेर्दा उनी एक राजकुमार, पितामह भीष्मको प्रिय नाति, आचार्य द्रोणको योग्य शिष्य, “सर्वश्रेष्ठ धनुर्धर”को उपाधि पाएका व्यक्ति, द्रौपदीद्वारा स्वयंवरित, महादेवबाट वर प्राप्त, सारा पाण्डवको आशाकेन्द्र अनि श्रीकृष्णका प्रिय सखा ÷ज्वाइँ…….त्यसैले अभिमान एवं अहंकार उनको ह्रदयको कुनै कुनामा अदृश्य रुपमा रहेको हुनसक्छ । एकातिर कौरव पक्षले गरेको अन्याय, द्युत क्रीडामा पराजय, द्रौपदी वस्त्रहरण, वनवास र अज्ञातवासको दुःख आदिका कारण दमित कुण्ठा एवं प्रतिशोधको भावनाले गर्दा उनमा विजयप्रतिको व्याकुलता चरमोत्कर्षमा पुगेको थियो भने अर्कोतिर दाजु युधिष्ठिरको सत्यवादिता, श्रद्धेय काका विदुरको नीतिपरकता एवं भीष्म÷द्रोण आदिप्रतिको सम्मानभावले गर्दा समयमै गर्न नसकेको प्रतिकार अनि द्रौपदीले समय–समयमा गर्ने अमूर्त तिरस्कार आदि हीनभावनाले पनि प्रष्फुटित हुने समय एवं परिस्थितिको प्रतीक्षा गरिरहेको थियो । तर न्याय र धर्मको पक्षधर भएकोले जति नै आन्याय ÷अत्याचार गरेतापनि धृतराष्ट्र एवं तिनका पुत्रहरुप्रति स्नेह, सम्मान,एवं बन्धुत्वको भावना प्रचुर मात्रामा रहेको नै हुनुपर्दछ अर्जुनमा ।
उपरोक्त मनोवैज्ञानिक क्रिया प्रतिक्रियाहरु (दमित पूर्वसंचित भवना, विजयप्रतिको व्याकुलता एवं सर्वश्रेष्ठताको अहंकार) को पटाक्षेप तब हुनपुग्यो जब युद्धभूमिमा परस्पर पक्ष र प्रतिपक्षबाट शंखनाद हुनथाले र श्रीकृष्णले अर्जुनको रथलाई उनकै आग्रह अनुसार दुई सेनाको बीचमा राखिदिए ृभ.गी १(२४)े । युद्धभूमिमा प्रतिपक्षमा आफ्नै स्वजनहरु, आचार्यहरु, मित्रहरु सबै पक्षमा रहेका आफ्नै बन्धुहरुलाई खत्तम गर्न तम्तयार देखेर अंहकारमूलक व्याकुलता एवं भयजनित उन्माद एकैसाथ प्रकट भयो अर्जुनमा । भित्री मनमा पराजयको डर पनि नभएको होइन उनमा । असामयिक करुणा र बिषादको सम्मिश्रणका कारण अर्जुन एक मानसिक रोगीलै झैं व्यवहार देखाउन थाले युद्धभूमिमा श्री कृष्णका अगाडि ।
श्रीमद्भगवद्गीताको प्रथम अध्यायका २८ देखि पछिका श्लोकहरुको गहन अध्ययन गर्ने हो भने अर्जुनलाई मानसिक रोगीका रुपमा चित्रण गर्न कसैलाई पनि गाह्रो पर्दैन । परिस्थितिजन्य उन्माद या विषादले ग्रस्त भएका थिए अर्जुन । अतः पहिलो अध्यायलाई अर्जुन विषाद योगका रुपमा दर्शाएर महर्षि व्यासले उत्कृष्ट चरित्र चित्रण गरका छन् । ती श्लोकहरुलाई हेर्दा मनोरोगका निम्न लक्षणहरु खुट्याउन सकिन्छ ः–
क) भय-चिन्ता (Anxiety)
१. सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीेरे मे रोमहर्षश्च जायते ।। ृभ.गी १(२९)े
(अंग प्रत्यंग शिथिल भए, मुख सुके, शरीर काँप्यो अनि रांैहरु ठाडा भए )
२. गाण्डीवं सं्रसते हस्तात्वक्चैव परिदह्यते ।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।। ृभ.गी १(३०)े
(गाण्डीव खस्यो, छाला पोल्यो उठ्न सक्दिनँ, मन भ्रमित भयो )
ख) डिप्रेसन
१. विपरीत विचारहरुः
न कांक्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।। ृभ.गी १(३२)े
(न म विजय चाहन्छु, न त राज्य र सुख नै चाहन्छु , यी सवको के नै पो प्रयोजन छ र ?)
२. पश्चाताप÷पापः
अहो बत महत्पापं कर्तुं व्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।। ृभ.गी १(४५)े
(हामी ठूलो पाप गर्नका लागि तयार भएका छौं जो यो राज्य सुख लोभले आफन्तहरुलाई मार्नका लागि उद्यत भएको छ )
३. मर्ने चाहना ÷मृत्युईच्छा एवं हतोत्साह÷बौद्धिक निराशा ः
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्।। ृभ.गी १(४६)े
(मलाई कौरवहरुले मारे तापनि कल्याणकारी हुनेछ )
वास्तवमा यो अध्यायको ३१ देखि ४४ सम्मका श्लोकहरुमा अर्जुनले दिएका तर्कहरु एवं दृष्टान्तहरुलाई अरु कुनै परिपेक्ष्यमा हेर्ने हो भने एक विद्वान् पण्डितका तर्क झैं लाग्दछन् । तर युद्धभूमिमा युद्धको शंखनाद भईसक्दा कुण्ठा एवं विषादग्रस्त भई व्यक्त गरेका ती पलायनवादी वाणीहरु असामायिक छन् । श्रीकृष्ण भने ती सब तर्कहरुलाई पनि शान्त भई सुनिदिनुहुन्छ । अर्जुन आपशकुनका कुरा गर्दछन्, सम्बन्धीहरुको हत्याको पाप लाग्न,े कुलक्षय÷ मित्रहत्या हुने, कुलस्त्रीहरु दुषित भई वर्णसंकर जन्मने एवं पितृकार्यमा व्यवधान आई कुल धर्म नष्ट हुँदा सबै पितृ एवं आफ्नो नर्कवास हुने सम्मका तर्क राख्दछन् । अन्ततः “म युद्ध गर्दिनँ” भन्दै धनुवाणलाई छाडेर रथको पछाडि गएर बस्न पुग्दछन् । ृभ.गी १(४७)े
पहिलो अध्यायभरि श्रीकष्ण भने चुप रहनछन् । वास्तवमा यो पनि एउटा मनोचिकित्साको कलाको रुपमा देखापर्दछ । रोगीलार्ई बोल्ने अवसर दिनु तिनका मनभरि रहेका व्यथा, वेदना एवं भावनाहरु व्यक्त गर्न सहायता गर्नु हो । गर्मीमा तातो हावाले गर्दा गुम्म भएको कोठा जसरी झ्याल खोलिदिंदा आनन्ददायक हुन पुग्छ, त्यसरी नै मनोरोगीका मनका कुण्ठा, अव्यक्त चाहना एवं भावनालाई व्यक्त हुने अवसर प्रदान गर्दा रोगीको विश्वास जित्न सहायत पुग्छ र रोगीले आफ्ना सम्पूर्ण गुप्त कुरासमेत चिकित्सकको अगाडि खोलिदिन्छन्, त्यसैलाई Ventilation Process भनिन्छ । वास्तवमा रोगी active अनि चिकित्सक passive भएमा नै मनोचिकित्सा सफलता–उन्मुख हुनपुग्छ ।
पहिलो अध्यायमा अर्जुनद्वारा अभिव्यक्त सम्पूर्ण भावनाहरु श्रीकृष्ण शान्तपूर्वक सुन्दछन् । उनी ठम्याउँदछन् अर्जुनको मनोरोगलाई, विषाद जुन पश्चातपले पूर्ण छ, स्वजनहरुको संभावित मृत्युले गर्दा द्रवित छ अनि भित्री रुपमा रहेको दमित भावना, विजयप्रतिको उत्सुकता एवं पराजयको चिन्ताले गर्दा हीनताभावले ओतप्रोत, आकर्मण्यता एवं पलायनवादी सोचले अभिप्रेरित छ । अतः कृष्णले युद्धभूमिमा संभावित अचष्कष्क को आँकलन गर्दै त्यसको निराकरणका लागि मनोवैज्ञानिक उपचार पद्धति (Crisis intervention) को योजना बनाउँछन् । उनको उपचार–योजनाका दुई प्रमुख उद्देश्यहरु भने अर्जुनभित्रका पश्चातप÷पापका चिन्ताहरु हटाउने र अर्जुनलाई पुनः कर्तव्य पालन ÷क्षेत्रिय धर्मप्रति उत्सुक गराउने नै हो । तर अझै अर्जुन psychologically minded भईसकेका छैनन् , मनोचिकित्साका लागि पूर्ण तयार छैनन् अनि कृष्णलाई अझै पनि एक साथी ÷सारथीका रुपमा ठानिरहेका छन् जसले युद्धमा शस्त्र नचलाउने प्रतिज्ञा गरेका छन् ।
अतः अश्रुपूर्ण एवं व्याकुल अर्जुनलाई उत्साह दिनका लागि या मनोवैज्ञानिक ढाडसका लागि मुसुमुसु हाँस्दै श्रीकृष्ण भन्न पुग्दछन्,
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।
अनार्यजुष्टमस्वग्र्यमकीर्तिकरमर्जुन ।। ृभ.गी २(२)े
क्लैब्यं मा स्म गमः पार्थ नैत्तत्वयुपपद्यते ।
क्षुद्रं ह्रदयदौर्बल्यं त्यक्तोत्तिष्ठ परंतप ।। ृभ.गी २(३)े
(तिमी मोहग्रस्त नबन, कायर अनि नपुंसक नबन, यो आर्य आचरण विपरीत कार्य नगर, उठ,जाग)
वास्तवमा मानसिक व्यथाले ग्रस्त भएका बेलामा सुनिदिने वा बोलिदिने साथी भेट्दा त्यो मानिसले उसैलाई ठूलो सहारा सम्झन पुग्छ । कृष्णका उपरोक्त वाक्यहरुले त्यही काम ग¥यो। यसले अर्जुनलाई आफ्ना व्यथा सुनाउने राम्रो अवसर प्रदान ग¥यो । उनी “भीष्म र द्रोण लाई कसरी मार्न सक्छु ?यो भन्दा त भिक्षा माग्छु ….”भन्दै अश्राुपूर्ण बन्न थाले।
अन्ततः कृष्णका पुराना साहसपूर्ण कथाहरु एवं व्यापकताको स्मरण गर्दे उनकै शरणमा लाग्ने निर्णय गर्न पुगे अर्जुन।
आपूmलाई शिष्यका रुपमा स्वीकार्न र उपदेश दिई पथप्रदर्शन गर्न अनुरोध गर्दै अर्जुन भन्न्न पुग्छन् ः–
कार्पण्यदोषोपहत स्वभावः, पृच्छामि त्वां धर्मसंमूढचेताः ।
यच्छे्रेयः स्यान्निश्चितं ब्रूहि तन्म,े शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।। ृभ.गी २(७)े
यसरी अर्जुनले कृष्णलाई साथीभन्दा माथिको गुरु या सल्लाहकारको स्थान दिएर उनीसँग शरणागत हुन पुगे । यहींबाट ती दुईबीच मनोविमर्शका लागि सम्बन्ध (therapeutic alliance) बन्यो र शुरु भयो अर्जुन रोगको कृष्णोपचार ……
सर्वप्रथम त कृष्ण अर्जुनमा रहेको दुविधा एवं किंकर्तव्यविमूढावस्थालाई मध्यनजर गर्दे उनको शोकलाई अनुचित ठह¥याउँदछन् । अर्जुनको विद्वान् सरहको तर्कअनुसार शोक भने नसुहाउँदो भएको ठह¥याउँदै कृष्ण भन्दछन् कि पण्डितहरु न जीवितको चिन्ता गर्दछन्, न त मृतकको नै……
“अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे ।
गतासूनगतासंूश्च नानुशोचन्ति पण्डिताः ।। ृभ.गी २(११)े
त्यसपछि अर्जुनमा रहेको संभावित बन्धुसंहार एवं त्यसप्रतिको पश्चाताप अनि पापको डर एवं चिन्ता निवारणार्थ पूर्वजन्म र पुनर्जन्मका दृष्टान्तहरु प्रस्तुत गर्दछन् कृष्ण । हरेक कालमा जीवन र मरण भई नै रहन्छ, जन्म–मृत्यु चक्रसमान छ । हिजो पनि हामी सब थियौं, आज छौं र भोलि पनि हुनेछौं ।
“न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतःपरम् ।। ृभ.गी २(१२)े
जसरी शरीर बाल्य, यौवन एवं वृद्धावस्थामा परिवर्तित भईरहन्छ, तर देह उही नै रहन्छ, त्यसरी नै शरीर प्राप्ति एवं मृत्यु भइरहन्छ ृभ.गी २(१३)े ।
त्यसपछि कृष्ण शरीर अनित्य भएको र यसको चिन्ता धीर पुरुषले गर्न नहुने भन्दै अनेक दृष्टान्तहरु दिन थाल्दछन् । शरीर नाशवान् एवं असत् भएको भन्ने अनेक श्लोकहरु ृभ.गी २(१४–१६)ेद्वारा दर्शाई सकेपछि अर्जुनलाई अविनाशी, नित्य एवं सत् आत्माको महत्व बुझाउन थाल्दछन् ।
न जायते म्रियते वा कदाचित् ,नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वोतोऽयं पुराणो, न हन्यते हन्यमाने शरीरे ।। ृभ.गी २(२०)े
वासांसि जीर्णनि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा, अन्यानि संयाति नवानि देही” ।। ृभ.गी २(२२)े
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ।। ृभ.गी २(२३)े
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्याेऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानु शोचितुमर्हसि ।। ृभ.गी २(२५)े
यसरी अर्जुनमा रहेको “म नै मार्ने, म हत्यारा” भन्ने पापको चिन्ता एवं असामयिक करुणा या शोकको निवृत्तिका लागि अनित्य शरीर तर अविकारी, नित्य शाश्वत आत्माको महत्व दर्शाउँदै उनी कदापी हत्यारा होइनन् किनकि आत्मा शस्त्र, एवं वायु केहीले पनि मार्न ÷ नाश गर्न सकिंदैन भन्ने ज्ञान÷ चेतना प्रदान गर्ने प्रयास गर्दछन् ।
दार्शनिक दृष्टिकोणबाट आत्माको अमरता दर्शाउँदा पनि अर्जुन चुप रहेको देखेर भौतिक एवं समान्य स्तरमा जन्म– मृत्यु त एक चक्रसमान रहेको हुँदा यो अवश्यंभावी कुरामा शोक सर्वथा अनुचित भएको बुझाउन उनी भन्दछन् ः–
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितु मर्हसि ।। ृभ.गी २(२७)े
प्राणीहरु जन्म अगाडि अव्यक्त रहने एवं मृत्यु पछि पनि अव्यक्त हुने भएकोले बीचमा छोटो समयका लागि मात्रै व्यक्तावस्थामा आउने शरीरको चिन्ता गर्नु व्यर्थ छ भन्ने गुढ तथ्य सम्झाउँदछन् कृष्ण । जसरी भौतिक रुपमा कार्य व्यक्त हुन्छ, तर कारण सधैं व्यक्त हुन सक्दैन, त्यसरी नै आत्मा अव्यक्त कारण रुप हो भने शरीर व्यक्त कार्य रुप हो, यो चक्र निर्वाध चलिरहन्छ त्यसको लागि शोक गर्नु व्यर्थ छ । यसरी भौतिक शास्त्रको कार्य–कारण (cause and effect relationship) नियमको आधारमा पनि अर्जुनको शोकलाई बेठीक ठह¥याउँछन् कृष्ण ।
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।। ृभ.गी २(२८)े
यसरी आत्मज्ञानको सारांश प्रस्तुत गरिसक्दा पनि अर्जुनमा कुनै परिवर्तन नदेख्दा भौतिक दर्शनको समेत उदाहरण दिन पुगे कृष्ण तर पनि अर्जुन मौन नै थिए ।अब ज्ञानबाट कर्मतिर लाग्दछन् कृष्ण । यसरी भिन्न भिन्न तर्क दिएर अर्जुनको असामयिक शोकलाई हटाएर युद्ध कार्यतिर उन्मुख गराउन खोज्छन् ।
स्वधर्मको उपदेश दिंदै कृष्ण भन्दछन् कि ‘क्षत्रियका लागि युद्धभन्दा ठूलो पूण्य कुनैे छैन, स्वर्गको द्वार यसैमा खुल्दछ’ ।
स्वधर्मापि चावेक्ष्य न बिकम्पितु मर्हसि …….ृभ.गी २(३१)े
…….सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ृभ.गी २(३२)े
अझ, त्यसलाई विस्तृत व्याख्या गर्दै युद्धमा नलागी पलायन हुँदा हुने बेफाइदाको वर्णन यसरी गर्दछन् कृष्णः
अथ चेत्वमिममं धम्र्यं संग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यासि ।। ृभ.गी २(३३)े
(तिमीले स्वधर्म र कीर्तिलाई छाडेर युद्ध गरेनौ भने पाप लाग्नेछ )
…..संभावितस्य चाकीर्तिमरणादतिरिच्यते ।। ृभ.गी २(३४)े
(यो अकीर्ति त मृत्युभन्दा पनि ठूलो हुन्छ )
त्यसमा अझै थपेर,युद्धमा नलाग्दा कयरताको, भगुवाको बात लाग्ने, अबाच्य सुन्नुपर्ने आदि डर देखाउँछन् कृष्ण ृभ.गी २(३५–३६)े।
त्यसपछि युद्धमा लाग्नुको दोहोरो फाईदका बारेमा उल्लेख गर्दे भन्छन् ः–
हतो वा प्राप्स्यसि स्वर्गं, जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः।। ृभ.गी २(३७)े
युद्ध प्रतिको अर्जुनको भित्री डर अनि पराजयको लुप्त चिन्ता आदिलाई मध्यनजर गरेर हुनसक्छ कृष्ण त्यसपछि भने समत्वभावको उपदेश दिन थाल्छन् ः–
सुखे दुःखे समे कृत्वा लाभालाभौ जयाजयौं ।
त्तौ युद्धाय युज्यस्व नैवं पापमवाप्स्यासि ।। ृभ.गी २(३८)े
कर्मयोग र निश्चयात्मक बुद्धि लिएर ईन्द्रिय निग्रह गरी स्थितप्रज्ञ बन्ने, ध्यान बुद्धि लिने आदि उपदेशहरु त्यस पछि ृभ.गी २(३९– ४६)े सम्मका श्लोकहरुमा आउँछ ।
निश्काम कर्मको महत्व दर्शाउँदै अर्जुनमा हुनसक्ने फलको इच्छा एवं चिन्तालाई दूर गराउने यो श्लोक भने सबैभन्दा प्रसिद्ध मानिन्छ,
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते संङ्गोऽस्त्वकर्मणि ।। ृभ.गी २(४७)े
समभावमा रहन र योग सम्झेर कर्म गर्न उपदेश दिँदै कृष्ण भन्छन् ः
योगस्थःकुरु कर्मणि संङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध् योःसमो भूत्वा समत्वं योग उच्यते ।। ृभ.गी २(४८े
त्यस्तै ‘….योगः कर्मसु कौशलम्’ृभ.गी २(५०)े ले कर्महरुमा कुशलता नै योग हुन्छ भनेर मान्दछ ।
यी सबै कुराहरु गर्दैे जाँदा बिस्तारैे अर्जुनमा पनि वार्तालापप्रति रुचि जाग्दै आउँछ । ५३ औं श्लोकसम्म मौन बसेका अर्जुन अन्ततःस्थितप्रज्ञ पुरुषका बारेमा प्रश्न गर्दछन् ृभ.गी २(५४)े, यसरी उनमा केही परिर्वतन आएको दृष्टिगोचर हुन्छ । त्यसपछि कृष्ण स्थितप्रज्ञका लक्षणहरु व्यक्त गर्ने क्रममा ईन्द्रिय निग्रह, मनको संयम एवं ईश्वर(आत्म) चिन्तनका महत्वका बारेमा कुरा गर्न थाल्छन् ृभ.गी २(५५–६१)े ।
६२ औ र६३ औं श्लोकमा भने कृष्ण कुनै पनि व्यक्तिको पतन हुने संभावित कारण एवं मागृचित्र बताउँछन् । विषय चिन्तत –आसक्ति–ईच्छा–क्रोध–मोह–स्मृति विभ्रम –बुद्धिनाश…………………
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
संङ्गात सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।। ृभ.गी २(६२)े
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्घिनाशो बुद्घिनाशात्प्रणश्यति ।। ृभ.गी २(६३)े
वास्तवमा दोश्रो अध्यायमा गीताको सारांशका रुपमा कृष्णले अर्जुनमा रहेको दुविधा, शंका, शोक र अकर्मण्यता नष्ट गर्नका लागि बिभिन्न माध्यमहरुबाट मनोवैज्ञाानिक परामर्श एवं उदाहरण ÷तर्कहरुद्वारा मनोचिकित्सात्मक उपचार गर्न खोजेका छन् ।
सर्वप्रथम अर्जुनको उतसाह बढाउने तर्क, शरीरको नश्वरता एवं पाँच ज्ञानेन्दियहरु भन्दा सुक्ष्मतम आत्माको अमरता सिद्ध गर्दै उनमा रहेको मृत्युको भय ÷ शोक हटाउने काम, क्षेत्रिय धर्मको व्याख्या गर्देै त्यस समयमा युद्ध नै एक मात्र उपयोगी कर्म हो भन्ने दर्शाएका छन् । त्यस्तै पराजयको चिन्ता लिनु बेकार हो भन्दै कर्ममात्र गर्ने, वर्तमानमा मात्र रहने, भूत र भविष्यको व्यर्थ शोक ÷चिन्ता त्यागी फलाशक्ति छोडेर निश्काम कर्म गर्ने, कर्मबाहेक सबै चीज ईश्वरार्पण गर्ने प्रगतिको अमोघ सिद्घान्तको वकालत गरेका छन् ।
यही अध्यायय भित्र सांख्य छ, ज्ञान योग छ, कर्मयोग छ । ध्यानको महत्व यसैमा दर्शाईएको छ । अन्य अध्यायहरुमा त यी सब योगहरुको साभार वर्णन मात्र छ ।
मानोचिकित्साको दृष्टिकोणबाट गीताका अन्य अध्यायहरु हेर्दा मानवीय शत्ति सामथ्र्य(Humanistic goal)
को वकालत गर्दै व्यक्त गरिएको छैठौं अध्याय (ध्यानयोग) को यो पाचौं श्लोक महत्वपूर्ण छ भन्ने लाग्छ ।
उद्घरेदात्मनात्मानं नात्मानवसादयेत् ।
आत्मैव ह्यात्मानो बन्धुरात्मैव रिपुरात्मन ।। ृभ.गी ६(५)े
(मानिसले आफूद्वारा नै आफ्नो उद्धार गर्नु पर्दछ, आत्मा नै आत्माको मित्र एवं शत्रु हो )
त्यस्तै विश्वास र भक्तिमा जोड दिने निम्न ३ श्लोकहरु पनि जीवनोपयोगी मान्दछु म ः –
१) अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।। ृभ.गी ९(२२)े
२) अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ।। ृभ.गी ८(१४)े
३) सर्वधर्मान्पारित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।। (ृभ.गी १८(६६)े
यी सब श्लोकहरु सुनेर, मनन गरेर नै होला, अन्ततः अर्जुन भन्न पुग्दछन् ः–
“नष्टो मोहः स्मृतिर्लब्धा त्वतप्रसादान्मयाच्युत ।
स्थितोऽस्मिगतसन्देहः करिष्ये वचनं तव ।। ृभ.गी १८(७३)े
यसरी कृष्णोपचारद्वारा Crisis intervention हुन पुग्दा अर्जुन संशयरहित हुन पुगे, उनको मोहरुपी रोग नष्ट भयो र उनी आफ्नो क्षेत्रिय धर्म (युद्ध)प्रति तत्पर बने ।
–डा. अजय रिसाल
मानसिक रोग विशेषज्ञ
धुलिखेल अस्पताल
