Skip to content

दिदीबहिनी सम्झिएर


दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार
अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार

विगतका मीठा क्षणले,घचघच्याए सधैं
विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार

आँखा भरी द्यौसी, भैलो,मारुनी र नाच
बिछोडले ज्यादै दु:खी,हुँदैहुँदै गयो तिहार

हृदयमा छचल्केका, उकुस मुकुस पीडा
गुम्सिएका पोकाहरू,फुँदैफुँदै गयो तिहार

यो पटकलाई यस्तैभयो,फेरी आउँला भन्दै
वर्षदिनको बाटोसमाइ,उँधैउँधै गयो तिहार

कोमल भट्ट,पुरानो नैकाप (काठमाडौँ)
हाल :-रोचेस्टर,न्युयोर्क (अमेरिका)
16 November,2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *