Skip to content

उनलाई बाडुल्की नलागोस


त्यो एउटा सुरुवात थियो, सुरुवात तर अन्त्यका लागि सुरुवात । सुरुवात त भएको थियो तर अन्त्य हुनका सुरुवात । फेरि पनि यहाँ पुरा भयो अथवा सकियो भन्नु पनि गलत हुन सक्छ किनकि न त केही शुरु भएको आभास थियो न त केही चलिरहेको छ भन्नु केही थियो । तर पनि कति बाँकी छ भनेर देखाउनका लागि यसको कुनै आकार देखिदैन आकार नभएको पनि होइन यसको सायद, संसारको वृहत आकार यसैको थियो होला । न कसैलाई व्यक्त गर्न सके मैले न कसैलाई होइन भनेर भन्न सके मैले । यो पनि एउटा जिन्दगी जस्तै थियो हरेक पल पलमा घट्दै जाने कहीं कतै नरोकीने घरी घरी कलमको मसि सकिएसँगै सम्पूर्णलाई विश्राम लगाइ दिउ जस्तो लाग्थ्यो, आफैमा तालमेलको कमि थियो । दिलले अन्त्य गर्न खोज्दा दिमागले बाधा पुर्याइरहेको हुन्थ्यो ।

दिमागले अन्त्य गर्न खोज्दा आफ्नै दिल मनले साथ छाडिसकेको हुन्थ्यो । कलमले निरन्तर मसि पोखिराखेकै थियो निरन्तर अटल रुपमा । यसको सुरुवात कहाँबाट भयो भन्ने यकिन न मनलाई थियो न दिमागलाई थियो । शुरुदेखि यहाँसम्म आइपुग्दा कति हराएर विलाएर गए भने कति थपिदै थपिदै आए पनि कति त यति भरिए कि भरिएर पनि पोखिन मान्दैनथिए । भरिएर नपोखिनु पनि आफैमा विरानो तथा अकल्पनीय थियो । तर पनि समयको खेल रहेछ क्यारे भनेर एक पटक अन्त्य देखाइदिनु पर्ने समय आएको आभास हुदै पनि गइरहेको थियो । अन्त्य के गर्ने भनेर आफै–आफै भुल भुलैयामा परेर छट्पटिरहेका मेरो, मेरो अथवा ’राज’को समय थियो । यहाँ राज एक्लै थिएन तर पूर्णतया पूर्ण पनि थिएन् । यहाँ कसैलाई पूर्ण रुपमा सम्बोधन गर्न सक्ने अवस्था पनिरहेन समयले जीवन चक्रलाई यसरी बदलीदियो कि एक पूर्व हुँदा अर्को पश्चिम जसको मिलन सम्भव थिएन ।

यहाँको मुख्य पात्र राज होइन । तर राजले अरु कसैलाई प्रमुख पात्र भनेर सम्बोधन गर्ने अधिकार पनि राख्दैन्थ्यो । हो ’उनी’ थिइन सायद थिइन मात्र उनी छिन भनेर भन्ने मौकासम्म पनि दिएन समयले पूवै–पश्चिम बनाइदियो । उनी राजकी आफ्नी पनि थिइन् तर पराईकी हुन भनेर भनी हाल्नु पनि हतार हुन सक्थ्यो । तर एका एक हावा हुरी आयो, हावाले पनि जता हलुका छ जतातिरका पालुवा हलुका हुन्छन् तिनीहरूलाई नै भत्काउने चुड्याउने होइछ । राजको मनमा पलाइरहेको त्यो पालुवा पनि त्यही हुरीले च्यातिदियो । त्यो हुरीमा राजको पराई हुने पक्का पक्की खबर आएको थियो । त्यसपछि उनलाई ’उनी’ भनेर सम्बोधन गरिरहन पनि हुने नहुने निर्णय लिन सकिरहेको थिएन राजले । त्यो खबर केबल खबरमात्र थिएन् त्यो त एक सुनामी थियो ।

सुनामी पनि कस्तो क्षेतविक्षत पार्ने खालको एउटै झट्कामा सबै सपनाहरू सपनामै पनिरहन नदिने खालको खबर । जब कुनै राम्रो सपना देखिएको बेलामा निद्राबाट ब्यूँझियो भने पुनः उही सपनाको कल्पनामा निदाउने प्रयास गरिन्छ । त्यस्तै राजले पनि बारम्बार उक्त खबरलाई झुटो होकि भनेर प्राथना गरिरहेको थियो । तर हावा हुरीमा बद्लियो राजको मनमा पलाएको कमलो पालुवालाई भाचिदियो । भाचिदियो मात्र होइन चुड्याएर उड्याएर कहाँ पुर्यायो थाहा नहुने गरेर । जीवनको एउटा अध्यायको अन्त्य हुने निश्चित थियो यो तर अर्को अध्यायको सुरुवातका लागि प्रशस्त माग खुल्ला गरेको अवसर पनि थियो यो खबर यसलाई राजले कसरी स्वीकार गर्ने । उनी पराईकी हुने पक्का भयो भनेर स्वीकार गर्ने कि उनी राजकी नहुने पक्का भइन भनेर स्वीकार गर्ने तर यसलाई स्वीकार गर्ने बाहेक राजसँग अन्य कुनै विकल्प थिएन । तरपनि यसलाई अँझ सरल तरीकाले अन्त्य गर्न पनि सकिने थियो ।

तर सबै विगत भैसकेपछि अगाडि बढ्नु बाहेक अर्को विकल्प नहुदो रहेछ । एउटा अध्याएको अन्त्यसँगै बाटोहरू अनगिन्ती खुल्ला भएका छन् । तर कुन बाटोमा आफ्नो भविष्य खोज्ने हो, कुन बाटो रोज्ने भनेर निर्णय लिने समय भैसकेको थियो । राजले अगाडि बढ्नु पूर्व उनलाई शुभकामना दिनु पनि अनिवार्य नै थियो । तर प्रत्यक्ष शुभकामना दिनपनी सम्भव थिएन त्यसकारण शब्दबाटै ’शुभकामना उनलाई’ ।

अगाडि बढ्ने निश्चित नै भैसकेपछि पक्कै पनि उनलाई पछाडि नै छोड्नु पर्ने हुन्छ । बाटो चयन गर्दा उनको कहिकतैबाट पनि हावा नचल्ने बाटो खोजीनु पर्छ भन्ने आवास हुदैछ राजलाई तर उनीबाट बाचिएको त्यो पालुवा पुनस् पलाउन सम्भव होला त ? के ती चुडिएर गएका पालुवा पुनस् खोज्न सकिएला त ? यसकारण उनकै वरिपरि हुदै हिड्ने विकल्पको बारेमा पनि बारम्बार सोचिरहेको थियो राजले । खासगरेर समयले दिएको पुरस्कार अनि उनले ल्याएको त्यो आधि, भाचिएको पालुवा सबैको आफ्नो ठाउँमा स्थान रहेको छ ।

उनीहरूको पनि आफ्नो अस्थित्व रहनेछ । अचानक आएको हुरी पनि थिएन त्यो स्पष्ट भन्नु पर्दा सम्भावना थियो त्यो हुरीको आफैले सपना देख्ने अनि आफैले आफ्नो सपना टुट्ने कल्पना पनि नगरेको होइन राजले तरपनि आफूले आफ्नो मनभित्रको पालुवालाई मजबुद बनाउन चाहेन राजले । राजको चाहना थियो जुन दिन पालुवा भाचिन्छ जरैदेखि उडेर जाहोस्, तर चाहेको सबै पाइदैन भनेजस्तै केवल कलिला कलिला हागामात्र भाचिए त्यो हुरीले, जराले ठाउँ गाडिसकेका रहेछन् घाइते अवस्थामा छट्पटाउदै रहनपर्ने बाध्यता थियो ती पालुवाका जराहरूको ।

यो एउटा खेल रहेछ राजको लागि एउटा हावा हुरीको खेल जहा जित उनको खेल सुरु हुनुभन्दा पहिला नै निश्चित भैसकेको रहेछ । जहा राजले प्रतिशप्रर्धा चाहेको थिएन जित्न पनि खोजेको थिएन जित त उनकै थियो राजको हारमा पनि राजको जितमा पनि तर हावा हुरी चलाइसकेपछि अलि बढीनै विनास भएको भए हुन्थ्यो जहाँ उक्त खेल मैदानको नामोनिशान नै नरहोस् राजलाई खेल कुन मैदानमा भएको थियो भनेर थाहा नलागोस् तर अफसोस खेल पुरानै अवस्थामा फर्कने हो कि भन्ने डरपनि वारम्बार लाइरहेको थियो ।

खेल भएपनि मैदान छोडिसकेको अवस्थामा अन्य सहायक खेलाडिहरूले पनि रुचि दिइरहनुपर्ने अवस्था थिएन । तर राजलाई वानी परिसकेको थियो उक्त खेलको बिस्तारै बिस्तारै टाडिने प्रयास पनि गदै थियो ।

हो एउटा बगेको खोला थिइन उनी, राजले त केवल एउटा सानो बाध बाधेर आफूलाई सिंचाई गर्न चाहन्थ्यो, उनको दुइरचार शब्द मिठो आवाज सुन्न चाहन्थ्यो । उनको गन्तव्य त समुद्रसँग मिसिनु नै थियो । राजको पनि यसमा सर्मथन नै रहन्थ्यो तर के एउटा नदिको कर्तव्य आफ्ना किनारमा भएकाहरूलाई सिचाइ गर्नु पनि होइन र ?

तर अनि निरन्तर बग्दै गइन मिसीइन समुद्रमा । आशा गर्छु कहीं कुतै बाढी पसेर उनलाई धमिल्याउने काम नहोस् । उनी निरन्तर वगिरहेको किनारमा बसेर हेरिरहन पाइयोस् । सायद सम्बन्ध अपूर्ण थियो या भनू यसलाई पूराना दिनका लागि आवश्यक पर्ने गुण यहाँ थिएन अनि समयले चाहेको पनि यही नै थियो ।

जहाँबाट सुरुवात भयो यो अवस्थासम्म आइपुग्यो अब सबै भुल्छु भन्न पनि एकैपटक सम्भव नहुन सक्छ तर सम्झिरहेको छु भनेर पनि राजले भन्ने छैन ।

याद त ताजै हुनेछन् तर राजको प्रयास रहनेछ ’उनलाई बाडुल्की नलागोस्’ । सम्झनामा त राजको विगत रहनेछ तर त्यहाँ उनी छैनन् अथवा थिनन् भनेर भन्नुर्पयो भनेपनी नौलो नहुने आभास दिलाउने प्रयासमा राज रहने छ ।

नवराज बस्याल
बराङदी ०६, पाल्पा
nrajbashyal@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *