Skip to content


भूकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अँध्यारो कोठामा बसेर
म तिमीलाई लाल अभिवादन टक्रर्याउछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमी महलको कुन कोठामा रूमलिएर
कुन पहाडियालाई भोकै राख्ने
कुन मधेशीको रगत बगाउने योजनामा
मस्त छौ ।

तिमीलाई जनताले आशाको दियो मानेर
देशको साँचों सुम्पेका थिए

तिमीलाई थाहा छैन होला मेरो गाउँ
जहाँ तिमी बसेका छौ कमरेड
त्यहाँबाट सात डाँडा पारिको
अँध्यारो गाउँमा हो ।

त्यो पनि थाहा छैन होला
हिजो भर्खर बिहेको मिति तोकिएकि
हर्के कि छोरि मनमायाको इज्जत लुटिएको थियो
माईला बा को छोरो
औषधी नपाएर पखालाले लगेको थियो
उता बिरे तेल लिन जादा
जिउदै जलेर मरेको थियो
हो कमरेड म त्यही गाउँबाट हो
तिमीले अखबारका अक्षरबाट थाहा पायौ होला
त्यो अवोध मनमायाको ईज्जत लुटिदा कराएको चिस्कार
अनि माईला बा को सन्तान प्रतिको माया

बिरेको पीडाले मलाई पोलेको छ कमरेड

म ननिदाएको कैयौ रातहरू भैसके
निदाउदा केवल सधै मेरो सपनामा
कैयौ रातहरूले
लुटिएको ईज्जत फिर्ता माग्छन्
हर्केको छोरा आफ्नो परिवार र
जीवनजल लिन सधै धाइरहन्छ ।

कमरेड तिमी चियाको चुस्किसँगै
जनताको विश्वास हरूपनि थुप्रै पिएका छौ
कुनै रात तिम्रो सपनामा पनि
यसै गरी कैयौ मनमायाहरू
आउने छन् जीवन रक्षाको भिक माग्नेछन्
मधेशीहरू गोलि र रगतको
मूल्य माग्नेछन्

बेलैमा आफ्नो कुर्चीबाट
उठेर हेर कमरेड
हिमाल,पहाड,मधेस
नत्र कैयौ नेपालीको चिस्कार
पीडा र प्रश्नहरूले
आत्महत्या गर्न बाध्य हुने छ ।

रामकृष्ण पौडेल “अनायास”
कविडाँडा कैलाशनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *