सिङ्गो बस्ती सरल मनको चेतना शून्य राखी
चुस्थे केही घरहरू मिली न्याय च्यापेर काखी ।
सोझा झुप्रा अति कलबिसे कानुनी त्रास झेल्दै
बाँचेका ती दिन कठिनले आँसुका गाँस निल्दै ।।

झुप्रा साना दुख र ऋणका दोषका भार अग्ला
चौडा बन्दै घर चुलिंदथे फेरिँदै ढङ्ग नौला ।
पीठो, सिस्नो, गहत, नुनमा बौरिने हेय झुप्रा
जन्मै हुन्थे घर धरनका त्रासले ढाड कुप्रा ।।

गर्थे किर्ते घर कुटिलका काल झैं जालसाझी
भर्थे सेवा गरिब विचरा गाँसका आस साँची ।
भोगी कैयौं, रगत पसिना यातनामा बिलाए
मर्थे झुप्रा तर घर अझै अग्लँदै माथि आए ।।

बस्ती भित्रै अव त कलिला आँकुरा झ्याङ्गिदै छन्
मैला काला जड नियतिका भावना नाङ्गिदै छन् ।
पस्तै बाढी प्रवल जनको चेतलाई उठायो
नौला च्यूला दुखित गणका धारणामा पलायो ।।

खुल्दै त्वाँलो हृदय पथको पूर्वमा घाम झुल्की
ल्यायो आशा मधु किरणले भावना भित्र ब्यूँझी ।
साँच्चै सानो सरल दिलमा उम्रने स्वस्थ बाली
फैली खोज्यो द्रवित गहमा जिन्दगी भित्र लाली ।।

आयो हावा शिशिर युगमा बर्सँदै आस नौला
फर्की जाग्यो घरहरूतिरै दब्दबे त्यो तुवाँलो ।
जागे झुप्रा सलह जसरी एकताबद्ध बन्दै
भागे सारा घरहरू उठी लाल धोती उचाल्दै ।।

मान्छे नै हो जगत भरको चेतनाको दियालो
मान्छे नै भो जगत भरको क्षुद्रताको भँगालो ।
चाहे बन्थ्यो रसिक युगको शान्ति छर्ने बिहानी
छुल्याईँमै प्रथम किन भो उग्रताको निसानी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *