Skip to content

सुधाको घडा त्यो


सुधाको घडा त्यो नप्यूँदै जहर भो
खुसीको सहर यो व्यथाको सहर भो

रुँदै चाँद तारा लुके मेघ भित्र
अँध्यारो छ बस्ती र बस्नै कहर भो

ढले मित्रताका उँचा स्तम्भ अहिले
सके दैवको नै निकम्मा ठहर भो

नफुल्दै नफल्दै सुक्यो जिन्दगानी
न टोकौं न बोकौँ वृथाको नहर भो

सयौँ वेदनामा बिते रात धेरै
यहाँ दर्द हर्ने न कौनै प्रहर भो

विलाए कता सिर्जनाका मुहान
न ता छन्द आयो न मीठो बहर भो

गए टाक्सिँदै चाहना भित्रभित्र
सुखाशा सबै आज थोत्रो रहर भो

झरे आश उत्साह ती कोपिलामै
र साँच्चै निराशाहरूको लहर भो

(भुजङ्गप्रयात छन्द)
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,युएसए

Leave a Reply

Your email address will not be published. Required fields are marked *