जहाँ
तिम्ले र मैले एउटै सपना देखेका थियौ
लुकामारि खेल्दा कैयौ पटक
अंगालोमा बेरिएका थियौ
जुन आकाशको बीचतिर पुग्दा पनि
हामी ताराहरूसँगै मुस्कुराउदै
यौवनका रसहरू छताछुल्ल भुईभरि छरेर
हराइरहेका थियौ
आज पनि उत्तिकै यादहरू घुमिरहेको छ आँखामा
उत्तरतिरको चिसो हावाको वेगले
उडाएर दक्षिण पुर्याएको तिम्रो आत्मा
जोडिएको मेरो मुटुको ढुकढुकि खोज्दै
यस्तो बगरमा आइपुगेको छु
जहाँ हजारौं प्रेमिहरूका
चिस्कारहरू आइरहेका थियो
कतै पीडा अनि बिछोडका धुनसँगै
सयौ वर्ष पुराना गीतहरू गाइरहेका थिए ।
महसुस गर्छु
कालोबादल घोप्टिएर आफैलाई थिचेको
र
शरिरको एकमुठि तातो रगत पनि
त्यही बगर बीचको सानो नदिमा
लाग्छ बगिरहेको छ ।
उत्तिकै संझिरहेको छु आज पनि
म सानो हुदा आमाले बगरका ढुंगाहरूमा
भगवान हुन्छ भन्नुभएको थियो
तर आज मैले भेटेका ढुंगाहरूमा
मात्र उनकै आकृति देखेको छु
अब प्रश्न सोध्नेछु आमालाई
कतै उनै हुन त
ढुंगामा देखिएको भगवान ?
मसँग सयौ प्रश्नहरू लाइन बध्द छन्
अचेल म प्रश्नहरू मात्र जन्माउछु
जब पश्चिमतिर उज्यालो पार्न
यता कालो च्यादर ओढाउँछ
अनि झर्ल्यास्स ब्युझन्छु
पर्दा हटाउदै झ्यालबाट चिहाएर
त्यो जुनलाई एकनासले हेरिरहन्छु
मलाई मेरा बाले जुन दिन
भन्नुभएको थियो
टाढा हुनेहरूको अनुहार जुनमा भेटिन्छ भनेर
म लगातार कैयौ रातको प्रतिक्षामा
दिन मारिरहेको छु ।
रामकृष्ण अनायास
कविडाँडा
