हामी २१ औ शताब्दीमा छौ । अँझ पनि खुम्चिएको पितृ सतात्मक सोच अँझ तन्किएको छैन । जबसम्म परिवार, समाज र राज्यबाट पितृ सतात्मक सोच र चिन्तन प्रति गम्भीर र व्यवहारमा लागू गर्न सक्दैनन् तबसम्म महिलाहरू कुनै न कुनै तवरले शिकार भै रहन्छन ।
विश्वले ठुलो फड्को हानिसकेको छ भने महिला अग्रपक्तिमा पुगिसकेको प्रमाणित गरिसकेका छन् । विश्व नै आधा आकास ढाकिसकेको महिला वर्गलाई कम आकलन गरी अपमान गर्ने घटना समाजमा घटिरहेको छ । यस्तै अपमानको शिकार राष्ट्रपति विद्या देवी भण्डारी माथि जनकपुरमा घट्यो ।
विधवाले भ्रमण गरेको भनी जनकपुरको जानकी मन्दिर अपवित्र भएकोले चोख्याउने हर्कतले महिला वर्गलाई मर्माहत तुल्याएको छ । जनकपुरमा राष्ट्रपति भण्डारीलाई गरिएको अभद्र व्यवहार र आचरणले महिलाहरूको हृदय पुन छिया छिया भएको छ ।
यसै विषयको सेरोफेरोमा अमेरिकाको डिसीबाट संचालित डिजिटल(अंकीय )पत्रिका इनेपलिजले नेपाल कि वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल तथा डिसी महानगर क्षेत्रकि महिला अधिकार कर्मी, सामाजिक कार्यकर्ता तथा प्राध्यापक माधवी बस्नेत कार्कीसँग राष्ट्रपति विद्या देवी भण्डारीको जनकपुर भ्रमण, घटना र यसले दिएको संदेश बारेमा जिज्ञासा राखेका थियौ ।
साधना घिमिरे भेटुवाल को हुन् :
वरिष्ठ मानव अधिकारकर्मी तथा अधिवक्ता साधना घिमिरे भेटुवाल काठमाडौँ निवासी हुन् । काठमाडौँ स्कुल अफ ल (काठमाडौँ कानून शिक्षालय )बाट मानव अधिकार तथा लिङ्ग न्यायमा स्नातकोत्तरमा स्वर्ण पदक हासिल गरेकी छिन् । मानव अधिकार सम्बन्धी लामो समय देखि संलग्न हुदै आएकी घिमिरेले नेदरल्याण्डबाट अन्तर राष्ट्रिय कानून तथा दिगो विकासमा पनि स्नातकोत्तर गरेकी छिन् ।
उनी द्वन्द र प्रवासन सम्बन्धी विषयमा विद्या वारिधिमा अध्ययनरत छिन् भने मानव अधिकारवादी घिमिरे हाल सयुक्त राष्ट्र संघ विकास कार्यक्रमको द्वन्द रोकथाम कार्यक्रमको टोलि प्रमुख समेत छिन् ।
राष्ट्रपति विद्या भण्डारीेको जनकपुर मन्दिर दर्शन र नारी माथि गरिएको अभद्र व्यवहार र छुद्र आचरणले सम्पूर्ण विश्वलाई के संदेश दिन्छ भन्ने जिज्ञासामा साधना घिमिरे भन्छिन :
नेपालमा संस्कार, धर्म र परम्पराको आडम्बर गर्ने पूरुषहरूको बास्तविक मानसिकतालाई नांगो रुपमा प्रस्तुत गरेको छ यस घटनाले । आमाको यौनांगबाट जन्मिएका ती सन्तानले कसरी आमाको मुख हेर्लान अब । विधवाबादमा विश्वास गर्ने बाबु मरेका छोराहरूले त यस्तो क्रुर समाजमा झन आमालाई घरबाट निक्लनै नदिने पो हो कि भन्ने डर उत्पन्न भएको छ । यो विषय शक्तिसँग जोडिएको भएता पनि यसको लैंगिक दृष्टिकोण गम्भीर छ । डा. रामबरणलाई विदुर भनेर कहीं कतै विरोध नगर्ने समाजले महिलालाई शक्तिमा देख्न मन पराउँदो रहेनछ भनी गम्भिर भै सवालको जवाफ दिइन ।
माधवी बस्नेत कार्की को हुन् : नेपालको मोरंग बिराटनगर घर भै नेपालमा अधिवक्ता पेसामा आबद्ध थिइन् । उच्च शिक्षा अमेरिकाबाट हासिल गरी हाल अमेरिका कै १ सय २४ वर्ष पुरानो र २४ वटा राज्यहरूमा विश्व विद्यालय शाखा भएको स्ट्रयर विश्व विद्यालयमा कानून विषयकि प्राध्यापक हुन् ।
उनी महिलाहरूद्वारा डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल महिला संघकि पूर्व अध्यक्ष भै काम गरिसकेकी छिन् भने उनी महिला अधिकार कर्मीको साथै सामाजिक कार्यकर्ता पनि हुन् ।
यसै गरी यही सवाल माधवी कार्की राख्दा उनले यस्तो उत्तर दिदै २१ औ शताब्दीमा यस्तो हुनु एउटा लाजमर्दो कुरा हो भनिन । सवाल यहाँ कसलाई र किन गर्यो भन्ने हॊइन भनाई सवाल नेपाल एउटा सिंगो राष्ट्र जसले महिला बिरुद्ध हरेक अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ । आज वहा प्रतिको हिंसा हरेक महीला प्रति को हिंसा हो भनिन । यो घटनाले नेपाल कति पिछडिएको छ भन्दै दुख व्यक्त गरिन । हामी कुरा एउटा भन्ने र व्यवहारमा अर्को गर्छौ भन्ने यो घटनाले पुष्टि गरेको बताइन । जुन राम्रो संदेश होइन भन्दै तिक्तता पोखिन ।
२०४६ साल देखि महिला विभेदका धेरै कुराहरू राज्यले समेत परिवर्तन गरिसकेको अवस्थमा देशको प्रमुख र प्रतिष्ठित पदमा निर्वाचित राष्ट्रपतिलाई एकल महिला को दोषारोपण गरी मन्दिर प्रवेश गराउन नहुने भन्दै अपवित्र भएको आरोप लगाउँदै पानी छम्केर सफा गर्नु हामी कतै युगौ युग पछि पछाडि तथा पाषाढ युगमा त भएको अनुभूति त गरिरहेका छैनौ भन्ने दोष्रो सवालमा, साधना घिमिरेले सवाल नझर्दै तुरुन्तै यस्तो जवाफ फर्काइन, राष्ट्राध्यक्ष किन चुप लाग्नुभएको भनी प्रश्न गरिन ? यो त देश द्रोह हो भनिन । राष्ट्र प्रमुखको लैंगिकता हुनु हुँदैन भन्दै यो त साझा पद हो । यस्तो पदलाई गाली बेईज्जती गर्नेहरू त देशद्रोहि हुन् र यसको कारबाहि हुनै पर्दछ भनी आक्रोस पोखिन ।
यही सवालमा माधवी कार्कीले यो मेरो लागि अति नै विश्वसनीय घटना हो । १९७९ को राष्ट्र संघको महासन्धिले महिला बिरुद्ध कुनै प्रकारका विभेद गर्न नपाइने भनी नेपालले सहभागिता जनाएको जानकारी दिइन् ।
गफिने क्रममा तेश्रो प्रश्न सम्पूर्ण महिला वर्ग आक्रोसित भएको अवस्था छ, विश्व र मुलुकलाई नै लज्जित पार्ने गरी गरेको हर्कत प्रति महिला वर्गले कसरी सहन सक्छ भन्ने सवालमा यसरी साधना घिमिरेले यस्तो जवाफ दिन मन पराईन र भनिन दासत्व स्वीकार गरिसकेपछि प्रभुत्व वर्गको बिरुद्ध बोल्न कठिन हुने रहेछ । त्यसैले त होला, हामी सबै चुपचाप छौं भनिन । पूरुषत्वले तर्साएको महिला समुदाय विरोध गर्न नसक्ने जस्तो देखिएको छ । यस्तो भएमा विगतमा प्राप्त सम्पूर्ण उपलव्धिहरू गुम्ने छन् भनी चिन्ता गरिन । समयमै सजग होऔं भनी सबैमा आब्हान समेत गरिन ।
यसै गरी माधवी कार्कीले यसको जवाफमा आज हामी यदि आधुनिक भएका छौ कि बैबाहिक बलात्कारको विषयमा बुलन्द आवाज निकाल्दछौ । अर्को तर्फ एक विधवा महिलालाई मन्दिर जान रोक लगाउने हर्कत गर्छौ । र अपमान गर्ने र अति पिछडिएको वर्गमा आफूलाई पारेका छौ भनिन ।
उनले अँझ तर्क पेस गर्दै भनिन यो अमानवीय र असह्य नेपालको लागि अति दुखदायी कुरा हो । कुनै राजनैतिक मुद्धाहरू बाहेक यस्ता गलत क्रियाकलाप प्रति महिला अधिकारकर्मी घोर भर्त्सना गर्दछ भनिन ।
यसै गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्र सहितको संविधान आइसके समेत एकल महिला भएकै आधारमा राष्ट्रपति भण्डारी माथि नै भएको यस्तो विभेदले गम्भिर आशंका पैदा गरेको छ । अब अग्रगामी दिशामा कसरी अगाडि बढ्ने र हाम्रो दायित्व के हुन्छ भन्ने भन्ने चौथो सवालमा साधना घिमिरे भन्छिन लैंगिकताको विषय विवाद रहित विषय हुनुपर्छ भन्ने कुरामा जोड दिइन । अब पनि महिला भएकै वा पूरुष भएकै कारण केही पाउने वा गुमाउने भन्ने विषयमा नीतिगत बहस गर्ने हो भने हाम्रो आफ्नै सन्ततिले हामीलाई सराप्न थाल्ने छन् भनिन ।
विश्वमा नेपाल यस विषयमा धेरै अगाडि बढिसकेको थियो भन्ने कुरा संस्मरण गराइन । मधेशी आन्दोलनले देशलाई पछाडि धकेल्ने क्रम तिब्र पारेको छ । र गहुँमा घुन पिसिए जस्तै यसमा महिला स्वतन्त्रता र अधिकारका मुद्धाहरू पनि पिसिन सक्छन् भनी यसले नराम्रो असर पारेको बताइन । सरकार र कर्मचारीतन्त्र यसमा सजग भएर अघि बढ्नु पर्छ भन्ने सुझाब राखिन ।
यसको सवालको जवाफमा माधवी कार्की भन्छिन, अधिकार माग्दा देश छुन सक्नु पर्यो । गाली गलौच गर्दा सही र गलत छुट्याउनु सक्नु पर्यॊ । यो घटना पछि धेरै पद लिएकाले पनि महीला बिरुद्ध यो घृणित कामलाई सही भने जो आफैंमा निन्दनीय छ भनी विचार राखिन ।
विद्या भण्डारीलाई मधेशी मोर्चाका कार्यकर्ताले गरेको ब्यवहारप्रति चौतर्फी आलोचना समेत भएको छ र अब यस्तो घट्न हुन् नदिन हामीले कस्तो संदेश समाजलाई दिने भनी राखिएको जिज्ञासामा साधना घिमिरेले यस्तो उत्तर दिन रुचाइन र भनिन सम्पूर्ण संविधानलाई सहर्ष स्वीकार्ने मधेशी सभासदहरूले संयूक्त बक्तव्य निकाल्नु पर्दछ । मधेशलाई सुसुचित गर्नु पर्छ कि संविधान र नयाँ राष्टपति साझा सहमतिमा बनेका हुन । यसैमा देशको भलो लुकेको छ भनिन ।
र माधवी कार्कीले महिलाले मुहार पुस्तिका (फेसबुक)मा लेखे जस्तो अब त मानव अधिकार वादीले पनि बोल्न छाडे भनिन । जब सरकार अगतिलो हुन्छ समाजका सबै पद्धति खराब हुन्छन भन्दै नेपालका सबै संरचनाहरू असफल भएका छन् भनी दुखेसो पोखिन । उनले न त कांग्रेस न कम्युनिस्ट (साम्यबाद) दलले राम्रो शासनकला प्रदर्सन गर्न सकेका छन् भनी दाबी गरिन । उनीहरू आफ्नो स्वार्थको लागि काम गर्छन भनिन । दुर्भाग्यबस नेपालले अहिलेसम्म एउटा योग्य राजनेता जन्माउन सकेको छैन । जुन कुरा अति दुखद हो भन्दै दोष्रो पिढीले यसको सजाय भोग्नु पर्ने हुन्छ भनिन ।
यिनै सेरोफेरोमा कुराकानी गर्दै अन्तिम प्रश्न सरकार यस विषयमा कतिको गंभिर छ ? र सरकारले के कदम चाले यस्तो घटना हुन्बाट जोगिन्छ भन्ने राखेको सवालमा साधना घिमिरेले भनिन सरकार गम्भीर देखिएको छैन । अगाडि उनले भनिन यस्तो गम्भीर विषयलाई खेद प्रस्ताव पारित गरेर पूग्दैन । जनकपूर मन्दिरको संचालक समितिलाई विभेद गरेकोमा मुद्धा गर्नुपर्छ भनिन । सिडियो माथि कारवाहि हुनुपर्छ भन्ने कुरा राखिन । प्रहरी प्रशासनलाई तत्काल अपराधीहरूलाई कानूनको दायरामा ल्याउन आदेश दिनु पर्छ भन्ने तर्क प्रस्तुत गरिन । र उनले थप गर्दै जनकपूरका महिला समुदायहरूको अगुवाईमा देशभरका महिलालाई आन्दोलन गर्नका लागि आह्वान गर्नुपर्दछ भन्ने कुरा राखिन ।
यस सवालको जवाफमा माधवी कार्कीले जताततैबाट बिग्रिएको अवस्था छ । हामी सबै समाजका अंगहरूले सयम र धैर्य देखाउन सक्नु पर्यो भनिन । हामी एउटा कुराले मात्र बीचलित छैनौ । सरकार, नाकाबन्दी तथा भूकम्प । यस्तो देशको नाजुक अवस्थामा यो हामी सब नेपाल भित्र बस्ने र बाहिर बस्नेले बोल्दा, लेख्दा सोच्नु पर्छ भनिन । मस्तिष्क लगाउनु पर्छ नत्र हामी नै नहुने अवस्था मुलुकको छ भन्ने विचार पोखिन ।
विजय थापा, वाशिंगटन डिसी
