Skip to content


कत्रो वर्ष कुरेर
बल्ल बल्ल मन्त्री भएर आइयो
सदस्य-सचिवज्यू
सभन्दा पहिला
तपाईकै राजीनामा चाहियो ।

तपाईलाई हटाउछु भनी
अर्कोसँग पार्टी नै खाइयो
अरु कुरा केही जानिदैन
सदस्य-सचिवज्यू
जसरी हुन्छ यो हप्ताभित्र
तपाईंको राजीनामा चाहियो ।

तपाईंलाई फालेर
त्यो ठाउँमा अर्कोलाई छिटो छिटो हालेर
दुई चार लाख दाम कमाउनु पर्यो
सहयात्री सबैले कमाइसके
आफूले पनि दुईचार करोड समाउनु पर्यो
के अर्कोले दिन्छु भनेको पचास लाख
तपाईबाट नै लिनु पर्यो
नत्र सदस्य-सचिवज्यू
भोलिसम्म राजीनामा दिनु पर्यो ।

हामी पनि कसैलाई
दुई चार लाख दिएर आको हो
त्यो पनि यो मन्त्रालय त
बल्ल बल्ल पाको हो
मन्त्री भएकै दिन
तपाईलाई नै टार्गेट बनाई आइयो
सदस्य-सचिवज्यू
चाडोभन्दा चाडो
तपाईको राजीनामा चाहियो ।

अघिल्लो सरकारले तपाई
चार वर्षकै नियुक्ति दिए पनि मानिदैन
यो ऐन कानून भन्ने कुरो
आफूले जानिन पनि जानिदैन
आफूले त नमानेपछि
घोक्रेठ्याक लाउने हो

तपाईलाई आजै फाले
भोलि नै अर्को मान्छे ल्याउने हो
भन्नुस सदस्य-सचिवज्यू
तपाईको राजीनामा कहिलेसम्म आउने हो ?

बढता जोरी खोज्नुभयो भने
मतियार लगाई दिन्छु
मुद्धा हाल्न थाल्नुभयो भने
अख्तियार लगाई दिन्छु
तपाईलाई चार चार वर्ष कुर्ने कुरै भएन
मपाई त्यत्रो वर्ष मन्त्री पद जुर्ने कुरै भएन
दूई चार दिनलाई भए पनि मन्त्री भई आइयो
त्यसैले सदस्य-सचिवज्यू
तपाईको राजीनामा तु चाहियो ।

प्रेम ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *