Skip to content


तिमी र म त्यतिबेला पुग्थ्यौ
जति बेला घाम डुबुल्की मारेर
नदीबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो
जसरी यौवनले भरिएकी युवती
पानीले भिजेको जिउमा टाँसिएका कपडाले
शरिरलाई देखाएको सुन्दरता र
धर्ती एउटै देखिए झैँ लाग्छ ।

आज पनि उही किनार उही बालुवा
अनि हाम्रो प्रेमको महल बनाएर
भत्काउनु थियो
कुनै अपसोच थिएन
जति बालुवाको महल भत्कन्थे
त्यतिनै हाम्रो प्रेमका जराहरू
हृदएमा तरंगित हुदै फैलान्थ्यो,
उत्तरतिर उभिएका कुमारी हिमालहरू
एक टकले हेरिरहदा
हाम्रो प्रेमले पग्लिन्थे
हाम्रो मनमा उठेका खुशीका उभारहरूले
नदीमा जसरी उर्लिएका छालहरूले
हाम्रो महल भत्काउथ्यो त्यसै गरी
हामी बीचको बारहरू भत्काएर
एक अर्कामा प्रवेस गर्थ्यौ
घाम पनि लजाएर ओजेल पर्थ्यो,
मनमाया तिमीलाई थाहा छ ?

अचेल साइबरमै
नदी, नाला, किनार
अनि
बालुवाकै घर बनाएर
प्रेम गरिन्छ अरे नि !
“मनमाया प्रति प्रश्न गर्छिन ”
के हाम्रो जस्तो प्रेम पनि साइबरमा गरिन्छ ?
हो मनमाया,
तिमीले मलाई र मैले तिमीलाई
ह्रदयको अन्तरात्माबाट आएको
शक्तिबाट प्रेम गरिन्छ
तर,
त्यहाँ गुगलले दिएको शक्तिबाट
प्रेम गरिन्छ,
उनीहरू शारीरका रंगसँग खेल्छन्
हामी अन्तरआत्माबाट निस्केको
मिठो संगीतसँग खेल्छौ।

हो मनमाया साइबर युगको प्रेम

तिम्रो हाम्रो युगको प्रेम
खोलाका किनार जस्तै कहिल्यै मिल्दैनन्
हाम्रो प्रेम अजम्बरी बलिरहन्छ
तर साइबर युगको प्रेम बत्ती गएपछि चारैतिर अँध्यारो छाउँछ
अनि समाप्त हुन्छ ।

हाम्रो प्रेमको सुगन्धले धर्तीनै
मगमगाउँछ
साइबर युगको प्रेममा
अत्तरको कृतिम बासनाले
सबैलाई एलर्जी गराउँछ मनमाया ।

त्यसैले
मेरो देशको माटो
यी हिमाल, पहाड, खोला, नालासँगै
लुटपुटिदै लुकामारी खेल्दै
जब प्रेमको बिउ उमारिन्छ
भोलि त्यै हाम्रो साँचो प्रेमको साँची हुनेछ मनमाया ।

रामकृष्ण अनायास
कविडाँडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *