कुर्लन्छन् ती मित्र अहिले स्वार्थी रहिछस् भनि ।
म भन्दछु ती मित्रहरूलाई तिमी कहाँको कमी ।।
चल्यो हाम्रो सम्वाद हेर लौ आँफै ठूलो हौं भनि ।
स्वार्थै स्वार्थको यो संसारमा म कहाँ हुन्थे कमी ।।
यसै बीच एक विद्वान मित्र त सम्वादमा थप्पिए ।
नभन्दै तिनले स्वार्थी सम्वादको किताबै खोली दिए ।।
बोल्दछन् विद्वान साँचो हामी दुई बीचमा ।
सत्यको जित हुन्छ सुन लौ संघर्षको अन्त्यमा ।।
पृथ्वी घुम्दछिन् सूर्य वरिपरि प्रकाशको लोभमा ।
चन्द्रमा कलाफेरि हिड्दछिन् चुपरहछिन् दागमा ।।
छोरा भन्दछ बुबा सहन्छ ताडना असहायको बेलामा ।
बाबु भन्दछ छोरा र बुहारी धाक रवाफको साथमा ।।
बुढो आवाज को सुनिरहनु उनकै छोरा काखमा ।
पीङको तौलासरि घुमिरहन्छन् सांसारिक–चक्रमा ।।
श्रीमान गर्दछन् तारिफ ठूलो ठूलो आफ्नै गृह्यलक्ष्मीको ।
बढ्ता मायाप्रीति अरु कसैले दिएता के स्वाद खसमको ।।
छोरी मुस्काउँछिन् बुबासँग जोडी मिलाई देऊ भनि ।
जुवाइँ बोल्दछन् गमी गमी इजजत सरि दान पनि ।।
नेता भाषण गर्छन् ठूला ठूला देशभक्तिको भावमा ।
दाऊ लाग्ने बित्तिकै व्यस्त रहन्छन् आफ्नै निजि स्वार्थमा ।।
संवादमा धेरै जान हुन्न भनेर विद्वान बोल्दा भए ।
मेरा मित्रले फेरी झटपट यो गोटी चाल्दा भए ।।
स्वार्थैस्वार्थ रहेछ सबमा बुझिलियौं हामीले ।
कस्तो सर्थ गर्नपर्ला त संसारिक सत्कर्मीले ।।
झट्ट उठेर विद्वान मित्रले मीठो जवाफ दिए ।
सर्बेहिताय, सर्बेसुखाय स्वार्थता हामी सबैले लिए ।।
सदानन्द अभागी
२०५६/८/२८
शङखमूल, काठमाण्डौ,
‘आफ्नै व्यथाहरू’ कृतिबाट
