Skip to content


म आफ्नै देशको माटोमा पसिना सिँचेर
मिहेनत उमार्न चाहन्छु ।

हरेक बगरलाई बगैँचा बनाई
लालीगुराँस र सुनाखरी उमार्न चाहन्छु ।

ए सरकार !
मलाई केवल सुरक्षाको ग्यारेण्टी देऊ !
म दुर्गम बस्तीहरूमा
विकासको लालुपाते फुलाउन चाहन्छु ।

फेरि कहिल्यै,
अबोध बालिकाहरू बलात्कार
नहुने ग्यारेण्टी देऊ !
म बाँझो खेतहरूमा
जोश र जाँगरका बालाहरू झुलाउन चाहन्छु ।

हुनत :
मेरा यी शब्दहरूलाई तिमीले
बकम्फुसे कुराको संज्ञा दिन्छौ होला
तर !
तिमीलाईभन्दा अलि बढी देशको माया
मरुभूमिको देशहरूमा
सस्तो मूल्यमा पसिना बेचिरहेको
एउटा नेपालीलाई हुँदोरहेछ ।

तिमीलाईभन्दा अलि बढी देशको माया
कोरियाली कम्पनीहरूमा
पैसाको लागि रोबर्ट बनिरहेको
एउटा नेपालीलाई हुँदोरहेछ ।

त्यसैले,
तिमी केवल
राजमार्गहरू फेरि कहिल्यै
टायरको कालो धुँवाले नपोतिने ग्यारेण्टी देऊ !
म हरेक बगरलाई बगैंचा बनाई,
लालीगुराँस र सुनाखरी फुलाएर देखाउँछु ।

म बाँझो खेतहरूमा,
मिहेनतका बालाहरू झुलाएर देखाउँछु ।
ए सरकार !

— वसन्त दहाल —-

Leave a Reply

Your email address will not be published. Required fields are marked *