मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन


१. परिचय

पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर काश्मिरदेखि ल्हासासम्मको व्यापारको क्रममा काठमाडौँमा केही मुसलमानहरू बस्न थालेका हुन् । त्यसको केही वर्षपछि भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै मुसलमानहरू नेपाल छिरेका हुन् । केही मुसलमानहरू राज्यकै आग्रहमा नेपाल भित्र्याइएका हुन् । तिनीहरू मध्ये केही सरकारी संरक्षणमै राजधानीमा रहे भने धेरैजसो पश्चिमी नेपालको पडाडमा व्यापार–व्यवसाय गरेर बसेको देखिन्छ । सन् १८५७ को भारतको गदर बिद्रोहपश्चात् बेगम हजरत महल तथा उत्तर भारतका नवाफ बिर्जित कदरका साथ शरणार्थीका रूपमा ठूलो सङ्ख्यामा मुसलमानहरू नेपाल भित्रिएका हुन् । यस हिसावले हेर्दा पाँच भिन्न–भिन्न समूहका रूपमा मुसलमानहरू नेपाल पसेको देखिन्छ । तिनको नालिबेली यसप्रकार उल्लेख गर्न सकिन्छ–

१. कश्मिरी मुसलमान (पन्ध्रौँ–सोह्रौँ शताव्दीतिर ल्हासामा व्यापार गर्ने क्रममा सजिलाका लागि काठमाडौँमा बस्न थालेका)
२. भारतीय मुसलमान (स–साना राज्यरजौटा हुँदा सीमावर्ती भारतमा भएका विद्रोहबाट बच्न सुरक्षित स्थान खोज्दै नेपाल छिरेका)
३. तिब्बतीयन मुसलमान (राजा रत्न मल्लको पालामा ल्हासामा व्यापार गरी बसेका र त्यहाँको वातावरण प्रतिकूल अनुभूत गरी काठमाडौँ भित्रिएका, यिनीहरूको रीतिरिवाज अँझै पनि तिब्बतीयनहरूसँग मेल खाने गरेको)
४. तराई/मधेशी मुसलमान (विभिन्न समयमा भारतमा विद्रोह भट्केपछि आएका र जङ्गबहादुर राणाले अङ्ग्रेजहरूबाट नयाँ मुलुकका रूपमा ‘बाँके, बर्दिया, कैलाली र कञ्चनपुर’ जिल्ला फिर्ता पाउँदा त्यहाँ बसोबास गरी आएका)
५. हिल अर्थात् पहाडी मुसलमान (सत्रौँ शताब्दीको अन्त्यतिर बाइसे–चौबिसे राज्यको समयमा शस्त्रअस्त्र निर्माण र कालिगढको कामका लागि बोलाइएका, पृथ्वीनारायण शाहले समेत सैनिक सुदृढीकरणमा भरमग्धुर सहयोग लिएका मुसलमानहरू जो भिन्न पहिचानसहित चुरौटी भाषा बोल्दछन् ।)

नेपालका मुसलमानहरू सुफी विद्यामा विश्वास राख्दछन् । उनीहरूले परम्परागतरूपमै शान्ति र युद्धलाई दार–अल इस्लाम (शान्तिको घर) र दार–अल हार्व (युद्धको घर) गरी दुई भागमा विभाजन गरेका छन् । नेपाली मुसलमानहरूले हरेक दङ्गा र भड्कावहरूमा दार–अल इस्लामको शान्तिप्रेमी मार्ग अपनाएका छन् । उनीहरूको संयमताले जातीय र धार्मिक दङ्गाले उग्ररूप लिन पाएको छैन । मुस्लिम बाहुल्यता भएका रौतहट, बारा, पर्सा, कपिलवस्तु र बाँके जिल्लामा समेत धार्मिक सहिष्णुतालाई मूल मन्त्र मानेर नेपाली मुसलमानहरूले जीवनयापन गर्दै आएको पाइन्छ । वि.सं. २०५८ को जनगणनानुसार पहाडिया जनजातिका रूपमा परिभाषित ४,८९३ जना चुरौटी भाषी मुसलमान, मधेशका २० जिल्लामा बस्ने ९ लाख ७१ हजार ५६ र अन्य जिल्लामा रहने ३२ हजार १ सय २१ जना गरी नेपालमा कूल १० लाख ८ हजार ७० जना मुसलमानहरू नेपालमा बस्दै आएका छन् ।

भौगोलिकरूपमा नेपाललाई हिमाली, पहाडी, भित्री मधेश र मधेश/तराई गरी विभाजन गरिएको छ । उदयपुर र सिन्धुली गरी दुई जिल्ला भित्री मधेशमा पर्दछन् भने मधेश/तराईमा चाहिँ २० वटा जिल्ला पर्दछन् । ती हुन्– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । यिनै जिल्लाहरूको दक्षिणी भू–भागमा बसोबास गर्ने मुसलमानहरू मधेशी मुसलमान कहलाउँछन् । तिनीहरूको मातृभाषा उर्दू भए पनि स्थान र वक्तापिच्छे अन्य भाषाको समेत प्रयोग गर्छन् । तराईदेखि हिमालसम्म नै फैलिएर पातलो वस्ती बसाउन सकेका पहाडी मुसलमानहरूको पौराणिक पेसा शृङ्गारका साधनहरू (चुरा, धागो, पोते आदि) को व्यापार गर्ने भएको हुँदा तिनलाई ‘चुरेटा/चुरौटी’ भनिन थालियो । तिनै मुसलमानहरूले बोल्ने भाषालाई कालान्तरमा चुरौटी भनिएको हो । वि.सं. २०५८ को जनगणनामा ४,८९३ जना अर्थात् कुल जनसङ्ख्याको ०.०२ प्रतिशत रहेको छ । त्यस बेला ‘चुरेटा/चुरौटी’ भाषीहरूलाई पहाडी जनजाति अन्तर्गत राखिएको थियो । विशेष गरेर गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, अर्घाखाँची, प्युठान, दैलेख, अछाम जिल्लामा चुरेटा मुसलमानहरूको बाक्लो बसोबास छ । यस आलेखमा भने नेपाली र चुरौटी भाषाका व्याकरणिक कोटिहरूको सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ ।

व्याकरणात्मक कार्यसम्पादन गर्न आउने शब्दलाई व्याकरणिक कोटि भनिन्छ । यसले शब्दको रूप चलाउने काम गर्दछ, जसलाई रूपायन पनि भनिन्छ । रूपायनमा लिङ्ग, वचन, पुरुष, कारक–विभक्ति, काल, पक्ष र भाव जस्ता व्याकरणात्मक कोटिअनुसार आधारपदमा बाहिरी रूपमा परिवर्तन हुन्छ । (शर्मा, २०५३ : पृ.६५) ।

२. व्याकरणिक कोटिहरूको अध्ययन

२.१ लिङ्ग :
नामसँग सम्बद्ध व्याकरणात्मक कोटि हो । स्तरीय चुरौटी भाषामा प्राकृतिक लिङ्गका आधारमा पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई लिङ्ग रहेका छन् । कतिपय पुलिङ्गमा ‘ई’ प्रत्यय जोडेर स्त्रीलिङ्ग बनाउने प्रकृया यस भाषामा रहेको छ । जस्तै–
नेपाली भाषा —- चुरौटी भाषा — लिङ्ग
————————————–
छोरा/केटा —— छोरा/केटा —- पुलिङ्ग
छोरी/केटी (ई) — छोरी/केटी —- स्त्रीलिङ्ग
डोम ———– डोम ———- पुलिङ्ग
नोकर्नी ——– नोकर्नी ——– स्त्रीलिङ्ग

२.२ वचन–
वचन सङ्ख्यासँग सम्बद्ध व्याकरणात्मक कोटि हो । चुरौटी भाषामा एकवचन र बहुवचन गरी वचनका दुई भेद रहेका छन् । यस भाषामा एक वचनलाई बहुवचन बनाउँदा नेपाली भाषामाजस्तै सामान्यतया : ‘हरू’ र ‘वर्ग/गण’ जस्ता प्रत्यय जोडिन्छ । जस्तै –
नेपाली भाषा — चुरौटी भाषा
————————–
भाइहरू —— भाइहरू
नेताहरू —— नेताहरू

२.३ पुरुष :
पुरुष नाम र सर्वनामसँग सम्बद्ध व्याकरणात्मक कोटि हो । यसले व्यक्तिको बोध गराउँदछ । स्तरीय चुरौटी भाषामा नेपाली भाषाका सापेक्षतामा पुरुष–
नेपाली भाषा ———– चुरौटी भाषा ———— पुरुष
———————————————————
म, हामी ————— मुई, हाम ————— प्रथम पुरुष
तँ, तिमी, तपार्इँ, हजुर — तु, तम, तपार्इँ, हजुर —– द्वितीय पुरुष
ऊ, उनी, यो ———– ऊ, ऊ, यो ————– तृतीय पुरुष

पुरुषको प्रयोगअनुसार क्रियाको प्रयोग गरिन्छ । जस्तै–
नेपाली भाषा ———– चुरौटी भाषा
—————————————
म चिठी लेख्छु । ——- मुई चिठी लेखतु ।
तिमी चिठी लेख्छौ । — तम चिठी लेखतेउ ।
ऊ चिठी लेख्छ । —— ऊ चिठी लेखताई ।

२.४ आदरार्थी :
मुख्यत : सहभागीको तुलनात्मक प्रतिष्ठा प्रकट हुने भाषिक प्रयोगलाई आदरार्थी भनिन्छ । शर्मा (२०६० : पृ.२१३)का अनुसार शिष्टता वा सम्मानका तहहरू जनाउन प्रयोग गरिने वाक्यीय अथवा रूप प्रकृयात्मक भिन्नतालाई आदरार्थी भनिन्छ । स्तरीय चुरौटी भाषामा आदरार्थीको व्यवस्था निम्नानुसार रहेको छ । जस्तै –
आदरको तह —- नेपाली भाषा ———— चुरौटी भाषा
————————————————————
आदररहित —— तँ बजार जान्छस् । —— तु बजार जाताइस् ।
मध्यम आदर —- तिमी बजार जान्छौ । —– तम बजार जातेउ ।
उच्च आदर —– तपाईँ बजार जानुहुन्छ । — तपाईँ बजार जाना होताई ।
उच्चतर आदर — हजुर बजार जानुहुन्छ । — हजुर बजार जाना होताई ।

२.५ कारक–विभक्ति :
संज्ञा अथवा सर्वनामको क्रियासँग जे सरोकार हुन्छ त्यसकै नाम कारक हो । (झा, १९७० पृ : ४६) क्रियासँग प्रत्यक्ष सम्बन्ध राख्ने नामिक पदको रूप कारक हो भने कारक बुझाउन आउने चिन्ह विभक्ति हो । वाक्यमा नामिक शब्दको प्रतिफलन (कर्ता, कर्म आदि) जनाउने व्याकरणात्मक कोटिलाई कारक भनिन्छ भने नामिकका पछाडि आएर विभिन्न कारक बुझाउने चिन्हलाई विभक्ति भनिन्छ । (शर्मा, २०६० : पृ.२२०) स्तरीय चुरौटी भाषामा कारक र विभक्तिको व्यवस्था यसप्रकार रहेको छ –

कारक–विभक्ति नेपाली भाषा (विभक्ति चिन्ह) —————————- चुरौटी भाषा (विभक्ति चिन्ह)
————————————————————————————————-
कर्ता कारक ——– राजेशले किताब किन्यो । (ले) ———————– राजेशले किताब किना । (ले)
कर्म कारक ——– राजेश सलमानलाई पिट्छ । (लाई) —————— राजेश सलमानकुन पिटताई । (कुन)
करण कारक —— कलमले चिठी लेख । (ले) ————————— कलमले चिठी लेख । (ले)
सम्प्रदान कारक —- राजेश सलमानलाई कलम दिन्छ । (लाई) ————- राजेश सलमानकुन कलम देताई । (कुन)
अपादान कारक —- राजेशको घर सलमानको घरदेखि टाढा छ । (देखि) —- राजेशका घर सलमानका घरदेखि टाढा हई । (देखि)
सम्बन्ध कारक —– यो राजेशको कलम हो । —————————– (को) यो राजेशका कलम हई । (का)
अधिकरण कारक — टेबुलमा पुस्तक छ । (मा) —————————- टेबुलमा पुस्तक हई । (मा)

२.६ काल :
क्रियामा लाग्ने समयलाई काल भनिन्छ । (झा,१९७० : पृ६६) यो समयसँग सम्बद्ध व्याकरणात्मक कोटि हो । क्रियाले सङ्केत गर्ने समयलाई काल भनिन्छ । (शर्मा, २०५३ : ७४) काल क्रियापदको समय सङ्केतक कोटि हो । (अधिकारी, २०५५ : पृ.११५) स्तरीय चुरौटी भाषामा काललाई तीन भागमा वर्गीकरण गरिएको छ –

क) भूतकाल, ख) वर्तमान काल, ग) भविष्यत् काल ।

कतिपय भाषामा वर्तमानले अंशत : भूतको क्षेत्रका साथै भविष्यत्को व्यापक क्षेत्र ओगेटेको हुन्छ । त्यसैले वर्तमान ज्यादै क्षणिक हुनसक्ने देखिन्छ । स्तरीय चुरौटी भाषामा पनि यस खाले प्रभाव पाइन्छ । जस्तै –

काल ——— नेपाली भाषा —————- चुरौटी भाषा
—————————————————————–
भूतकाल —— राजेशले भात खायो । (यो) —- राजेशले भात खाया । (या)
वर्तमानकाल — राजेश भात खान्छ । (छ) —— राजेश भात खाताई । (ताई)
भविष्यत्काल — राजेश भात खाने छ । (ने छ) — राजेश भात खाने हई । (ने हई)

२.७ पक्ष :
पक्ष क्रियासँग सम्बद्ध व्याकरणात्मक कोटि हो । व्याकरणात्मक कोटि पक्षले क्रियाको अवधि र अवस्थालाई बुझाउँछ । जस्तै– सामान्य, अपूर्ण, पूर्ण, अभ्यस्त र अज्ञात पक्ष । (शर्मा, २०६० : पृ.१५५) नेपाली भाषाको सापेक्षतामा स्तरीय चुरौटी भाषामा कालका पक्ष यसप्रकार रहेका छन्–

क) सामान्य पक्ष
–सामान्य वर्तमान– वर्तमानकालको सामान्य पक्षले कथन–क्षणमा कार्य हुने पक्षलाई जनाउँछ । जस्तै–
नेपाली भाषा ———– चुरौटी भाषा
————————————-
नरेश भात खान्छ । —– नरेश भात खाताई ।

–सामान्य भूत– भूतकालको सामान्य पक्षले क्रियाको कार्यव्यापार पहिले भइसकेको जनाउने गर्दछ । जस्तै :
नेपाली भाषा — चुरौटी भाषा
—————————
राजेश गयो । — राजेश गोया ।

–सामान्य भविष्यत्– भविष्यत् कालको सामान्य पक्षले क्रियाको कार्यव्यापार पछि हुने भन्ने जनाउँछ । जस्तै-
नेपाली भाषा ————-चुरौटी भाषा
————————————-
मीना गीत गाउने छे । —– मीना गीत गाउतेई ।

ख) अपूर्ण पक्ष
–अपूर्ण वर्तमान– अपूर्ण वर्तमान पक्षले कथन–क्षणमा क्रियाको कार्यव्यापार भइरहेको भन्ने जनाउँछ । जस्तै–
नेपाली भाषा ———–चुरौटी भाषा
——————————————–
राजेश भात खाँदै छ । — राजेश भात खाता हई ।

अपूर्ण भूत– अपूर्ण भूत पक्षले क्रियाको कार्यव्यापार बितेको समयमा भइरहेको भन्ने जनाउँछ । जस्तै–
नेपाली भाषा ———– चुरौटी भाषा
——————————————-
राजेश भात खाँदै थियो ।- राजेश भात खाता था ।

अपूर्ण भविष्यत्– अपूर्ण भविष्यत् पक्षले क्रियाको कार्यव्यापार भविष्यमा निरन्तर हुने जनाउँछ । जस्तै :
नेपाली भाषा —————चुरौटी भाषा
—————————————————-
राजेश भात खाँदै हुने छ । — राजेश भात खाता हुने हई ।

ग) पूर्ण पक्ष :
पूर्ण वर्तमान– यस पक्षले क्रियाको काम कथन क्षणमा भइसकेको तर प्रभाव रहेको बताउँछ । जस्तै–
नेपाली भाषा ———— चुरौटी भाषा
———————————————
मैले कथा पढेको छु । —- मुईले कथा पढेका हुँ ।

पूर्ण भूत– यस पक्षले क्रियाको काम बितेको समयमा सकिएको तर प्रभाव भने रहेको बताउँछ । जस्तै –
नेपाली भाषा —————— चुरौटी भाषा
——————————————————–
राजेशले भात खाएको थियो । — राजेशले भात खाएका था ।

पूर्ण भविष्यत्– यस पक्षले क्रियाको काम भविष्यत् कालमा भएको र प्रभाव समेत रहेको बताउँछ । जस्तै–
नेपाली भाषा ——————– चुरौटी भाषा
————————————————————
राजेशले भात खाएको हुने छ । — राजेशले भात खाएका हुने हई ।

घ) अभ्यस्त भूत– बितेको समयको आचरण वा बानी बुझाउने अभ्यस्त भूत चाहिँ भूतकालको एक पक्ष हो । यसमा कार्यव्यापारको आवृति वा बारम्बारता भन्ने बुझिन्छ । जस्तै –
नेपाली भाषा ——- चुरौटी भाषा
————————————
म चुरोट पिउथेँ । — मुई चुरोट पिउथा ।

ङ) अज्ञात भूत– यस पक्षले क्रियाको व्यापार बितेको समयमा थाहै नपाए भइसकेको तर अहिले थाहा भएको जनाउँछ (शर्मा, २०६० : पृ.२४०) । जस्तै –
नेपाली भाषा ————- चुरौटी भाषा
——————————————–
हामी सफल भएछौँ । —– हाम सफल भए हुईँ ।

२.८ भाव :
क्रियाले अवगत गराउने भाषा प्रयोग गर्नेको मनोभाव नै भाव हो । शर्मा (२०६० : पृ.२४२)का अनुसार ‘क्रियाको वास्तविक अर्थसँग वक्ता वा लेखकको अभिवृत्ति समेत प्रकट गर्ने क्रियाको रूपलाई भाव भनिन्छ ।’ चुरौटी भाषामा भाव निम्न प्रकारका रहेका छन् –

क) सामान्यार्थक– वक्ता वा लेखकको सामान्य वृत्ति वा निश्चय बुझाउने क्रियाको रूप सामान्यार्थक हो । यसमा निश्चयको भाव रहन्छ ।
जस्तै –
नेपाली भाषा ——- चुरौटी भाषा
———————————-
रमेश लेख्छ । —– रमेश लेखताई ।

ख) आज्ञार्थक– वक्ता वा लेखकको आज्ञा, हुकुम, आदेश आदि भाव बुझाउने क्रियारूप आज्ञार्थक हो । जस्तै –
नेपाली भाषा ———– चुरौटी भाषा
—————————————
बुबाको आज्ञा मान । —- बुबाका आज्ञा मान ।

ग) इच्छार्थक– वक्ता वा लेखकको अनुरोध, इच्छा, प्रार्थना आदि बुझाउने क्रिया रूप इच्छार्थक हो । जस्तै–
नेपाली भाषा —————- चुरौटी भाषा
———————————————————–
म घर जाऊँ । ————— मुई घर जाऊँ ।
ईश्वरले सबैको रक्षा गरुन् । — अल्लाहले सबैका रक्षा अरून् ।

घ) सम्भावनार्थक– सम्भावना, अड्कल, अनुमान आदि बुझाउने क्रियारूप सम्भावनार्थक हो । जस्तै –
नेपाली भाषा ——– चुरौटीभाषा
————————————–
म गाउँ जाउँला । —- मुई गाउँ जाउँवा ।

ङ) सङ्केतार्थक– वाक्यमा कार्यकारण सम्बन्ध बताउने क्रियारूप नै सङ्केतार्थक हो । जस्तै –
नेपाली भाषा ————————- चुरौटी भाषा
———————————————————————-
पानी पर्यो भने तपाईँको घर आउँछु । — पानी परा कए तपाईँका घर आउतु ।

च) प्रेरणार्थक– कुनै कार्यव्यापार वा अवस्था कसै वा केहीबाट प्रेरित भएर भएको हो जनाउने भाव प्रेरणार्थक हो । जस्तै –
नेपाली भाषा ———————— चुरौटीभाषा
———————————————————————
राजेश हाँस्यो । (अप्रेरणार्थक) ——– राजेश हँसा । (अप्रेरणार्थक)
मैले राजेशलाई हसाएँ । (प्रेरणार्थक) — मुईले राजेशकुन हँसाया । (प्रेरणार्थक)

२.९ वाच्य :
वाक्यमा कर्ता, कर्म वा भाव (क्रिया) मध्ये कुनै एकलाई प्रधान मान्ने व्याकरणात्मक युक्तिलाई वाच्य भनिन्छ । यो मुख्यत : क्रियासित सम्बन्धित भएर व्यक्त हुन्छ (अधिकारी, २०५५ : पृ.१६२) । अर्थमा परिवर्तन नगरी वाक्यका क्रियाको सम्बन्ध कर्ता र कर्मसँग फेर्ने ढङ्गलाई वाच्य भन्दछन् (शर्मा, २०६० : पृ.२४५) । नेपाली र चुरौटी भाषामा वाच्य यस प्रकार रहेका छन्–
क) कर्तृवाच्य– कर्तृवाच्यमा क्रियाको विषय कर्ता हुन्छ । (शर्मा २०५३ : पृ.८२) अर्को शब्दमा कर्ताले क्रियालाई नियन्त्रण गर्नु कर्तृवाच्य हो । जस्तै –
नेपाली भाषा —– चुरौटी भाषा
——————————-
रमेश पढ्छ । — रमेश पढताई ।

ख) कर्मवाच्य– कर्मवाच्यमा क्रियाको विषय कर्म हुन्छ । कर्मले क्रियालाई नियन्त्रण गर्नु कर्मवाच्य हो । (शर्मा, २०५३ : पृ.८२) जस्तै –
नेपाली भाषा —————- चुरौटी भाषा
————————————————
राजेशद्वारा रावण मारियो । — राजेशद्वारा रावण मारिया ।
हामीबाट किताब पढाइयो । — हामबाट किताब पढ़ाइया ।

ग) भाववाच्य– वाक्यमा कर्ता गौण रहने तर क्रिया वा क्रियाको भावको प्रधानता रहने युक्तिलाई भाववाच्य भनिन्छ । शर्मा (२०५३ : पृ.८३)का अनुसार भाव वाच्यमा क्रियाको विषय भाव हुन्छ । भाव भनेको कार्य व्यापार हो । यसमा भावकै प्रधानता रहन्छ । जस्तै –
नेपाली भाषा ———— चुरौटी भाषा
———————————————–
यस कुरामा हाँसिँदैन । — यो कुरामा हँसिताइन ।

२.१० करण–अकरण :
क्रियापदको निषेधात्मक कार्य जनाउने व्याकरणात्मक युक्ति नै अकरण हो । यसलाई करणका सापेक्षतामा हेरिन्छ । क्रियापदको सकारात्मक कोटि जनाउँदा करण र नकारात्मक कोटि जनाउँदा अकरण हुन्छ । अर्को शब्दमा अनिषेधात्मक वाक्यलाई ‘न’द्वारा निषेधात्मक तुल्याउने प्रकृयालाई अकरण भन्दछन् भने निषेधात्मक वाक्यलाई ‘न’ झिकेर अनिषेधात्मक तुल्याउने प्रकृयालाई करण भनिन्छ । नेपाली र चुरौटी भाषामा करण–अकरण नेपालीको सपेक्षतामा यस प्रकार रहेका छन् । जस्तै –
नेपाली भाषा ————— चुरौटीभाषा
———————————————————
तिमी जाऊ । (करण) ——- तम जाओ । (करण)
तिमी नजाऊ । (अकरण) —- तम नजाओ/जिन्जाओ । (अकरण)

नेपाली भाषामा करण वाक्यलाई अकरण बनाउँदा क्रियापदको अगाडि, बीचमा र पछाडि ‘न’ जोडिन्छ भने स्तरीय चुरौटी भाषामा अकरण बनाउँदा क्रियापदको अगाडि मात्र ‘न’ जोडिन्छ ।

३. उपसंहार
यसरी माथिको अध्ययनबाट पहाडिया मुसलमानी चुरौटी भाषा भाषावैज्ञानिक दृष्टिले हेर्दा भारोपेली भाषा परिवारमा पर्ने भाषा भएको पुष्टि हुन्छ । साथै, यसमा यस भाषामा धेरै नेपाली, केही अरबी, केही फारसी र केही हिन्दी भाषाको मिश्रण छ । यसलाई नेपाली भाषाको भाषिकाको रूपमा व्याख्या नगरी स्वतन्त्र भाषाको रूपमा चर्चा गर्नु मनासिव हुन्छ । यसो हुन सके मात्र नयाँ नेपाल निर्माणमा एक खुट्किलो उक्लिएको ठहर्दछ ।

सन्दर्भ–ग्रन्थ सूची
१. शर्मा, दीप्ति (१९७५ ई.), व्याकरणिक कोटियोका विश्लेषणात्मक अध्ययन, पटना : हिन्दी ग्रन्थ अकादमी ।
२. आचार्य, नन्दलाल; चौधरी, अभितकुमार र मिश्र, देवेन्द्र (२०६७–०६८), ‘भाषा सिकाइ’, राजविराज : शिक्षा–दीक्षा शैक्षिक पत्रिका, पूर्णाङ्क १–१० ।
३. पौडेल, नेत्रप्रसाद र खनाल, गणेशप्रसाद (२०६३), नवीन नेपाली व्याकरण, काठमाडौँ : पैरवी प्रकाशन ।
४. भण्डारी, पारसमणि (२०६३), स्नातकोत्तर नेपाली शिक्षा शोधविवरण, काठमाडौँ : न्यू हिरा बुक्स इन्टरप्राइजेज ।
५. शर्मा, मोहनराज (२०६०), शब्दरचना र वर्णविन्यास, काठमाडौँ : नवीन प्रकाशन ।
६. शर्मा, मोहनराज र बराल, कृष्णहरि (२०५०), भाषाविज्ञान र नेपाली भाषा, काठमाडौँ : काठमाडौँ बुक सेन्टर ।
७. घोष, शंकर (सं.) (२००३ ई.), युनिक सामान्य अध्ययन, दिल्ली : युनिक पब्लिकेसन्स ।
८. अधिकारी, हेमाङ्गराज (२०५९), भाषा शिक्षण : केही परिप्रेक्ष्य तथा पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

–नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *