जीवन, कोरिया र आत्महत्या


मान्छेले किन मृत्युको बाटो रोज्छ ? जब कि एउटा कमिलाले टोक्दा आ…ईया ! भन्ने मान्छे | एउटा काँडाले घोच्दा मात्र पनि अतालिने मान्छे तर किन मान्छेले जीवनको थोरै असहज मोड आउने बितिकै सहज तरिकाले आफ्नै देहको हत्या गर्न तयार हुन्छ ?

यो यक्ष प्रश्नको जवाफ म सोच्न बाध्य भैरहेको छु, अस्तिको दिन मात्र अरु कसैले आत्महत्या गरेको खबर सुनेर ‘थुक्क लाछी!’ भन्ने व्यक्ति आज आफैले त्यही बाटो रोज्यो जुन बाटो हिजोसम्म लाछिले हिड्ने गर्थ्यो…… ।

कुरो उसले किन त्यस्तो बोलेर आज आफैले त्यही बाटो रोज्योभन्दा पनि कस्तो समयको परिबन्धमा परेपछि मान्छेले आफैलाई सिध्याउने काम गर्छ भन्ने हो ।

हाम्रो वरपर कसैले आत्महत्या गरेको समाचार मात्र सुन्नुपर्छ ‘थुक्क लाछी’, ‘हुतिहारा’, बुद्धि नभएको बुद्धिहीन, मुर्ख, ……आदि इत्यादि भनेर त्यो मृतकको छाती भरि ट्याग टाँसी दिन्छौ तर थोरै पनि उसको आन्तरिकस्थितिसँग परिचित हुन चाहदैनौ । मृतकलाई तथानाम तक्मा भिराएर आफू उभन्दा निकै साहसिलो भएको दर्साउन चाहन्छौ र सोचे अनुरुप गरी भ्याउछौ तर केही दिनमा आफू त्यो पीडाको पराका पुगेर चुक…चुक …गर्छौ र भन्छौ ।

“हो रैछ फलानाले त्यतिकै आत्माहत्या गरेको हैन रैछ ।” जब आफूलाई पर्छ अनि बुझिन्छ वास्तविकता के हो कसो हो भनेर…… । त्यसैले कसैको बाह्य रुप, रंग, स्थिति देखेर मूल्यांकन गर्नु समझदार मानिसको सबैभन्दा ठुलो मुर्खता हो ।किन कि समुद्रको गहिराईमा के छ बुझ्न र हेर्न आफै त्यो भित्र डुबुल्की मार्नै पर्छ अरु कोही पुगेर बताउनु र तिमीले सुनेर पत्याउनु आघा ज्ञान हुनुभन्दा नहुनु बेस जस्तो मात्र हुन्छ ।

संसारका प्रत्येक व्यक्तिले जीवनको परिभाषा आ-आफ्नै बुझाइ र भोगाइको परिणाम स्वरुप भन्ने गर्छन, त्यसमाथि अधिक व्यक्तिको सोचाइमा जीवन सुन्दर फुल हो, यो जीवन एक पटक पाइन्छ, त्यसैले एक चोलाको जीवन हांसी खुशी रमाएर बाँच्न सक्नु जन्मनुको सार्थकता हो पनि भनिन्छ तर के जीवन जिउनु सहज छ ? सोचेको जस्तो जीवनको कथालाई आफ्नै तरिकाले भोग्न पाइन्छ ? आफूले कल्पना गरे जस्तो गरी जीवन सिधा बाटोमा दौडिरहन्छ ? आफूले चाहेका इच्छाएका हरेक चिज यो जीवनले प्राप्त गर्न सक्छ ? असम्भब छ तर पनि आफ्नो प्रयास बल बुद्धि र दैनिक संघर्षले केही हदसम्म प्राप्त गर्छौ ।

यो संसारमा जन्मिएर मर्ने कोही एक जानाले पनि सन्तुष्टि साथ यो संसार छोडेको छैन भन्ने मेरो ठम्याई छ ।कोही भोकै भोकमा मर्छन ।कोही तिर्खै तिर्खा लिएर मर्छन ।कोही पाएर मर्छन ।कोही गुमाएर मर्छन । कोही आशै आशमा मर्छन ।कोही तृष्णा छातीभरि च्यापेर मर्छन ……इत्यादि ।

तथापी पनि मुखमा भनिटो पल्छन मेरो जिन्दगीमा अब केही इक्षा आकांक्षा छैन, म सागर जस्तो तृप्त र सगर जस्तो फराकिलो छाती लिएर मर्न सक्छु, मेरो स्वास सर्लक्कै जान्छ । यी सब भन्ने कुरा हुन जो शब्दमा बुनिएर प्रवाहित हुँदा ध्वनि मिठो आउछ जसलाई जीवन दर्शनको रुपमा सहर्ष स्वीकार्छौ ।

त्यो हुँदै होइन मान्छे भएर जन्मनु संसारको सबैभन्दा ठुलो पुन्य र वरदान हो तथापि यही श्राप र अभिशाप पनि हो ।सानो बालकको कोमल हृदयसँग जन्मिएर संसार देख्न भोग्न अनुभूति गर्न सक्छौ र अनुभव बाड्न सक्छौ । समयको बेगसँगै त्यही कोमल मन कतिबेला लोभ, मोह, भोक, तृष्णा, घृणा, रिस, अहंकारले भरिसकेको हुन्छ हामी पत्तै पाउदैनौ र त आफ्नो बाटोमा रहेको मन कुबाटोमा जाँदा धरी कुम्भकर्ण निद्को स्वाद लिइरहेका हुन्छौ ।

सन्तोकको एक गाँस खाएर शान्तिको एक निद्रा निदाउनु मान्छेको जीवनलाई स्वर्गानुभूति गराउनु हो तर भैदियो के भने मान्छे मात्र गाँस र बाँसमा सीमित रहन चाहेनन।त्यसैको प्रतिफल आफ्नो जीवन यापनको सीमा क्षेत्र नाघेर गाउँबाट शहर, शहरबाट परदेश आईयो। सांसारिक र भौतिक बस्तुको पछि लागेर आत्माको खुशिलाई आँखाको मोहहरूले यसरी कैद गर्यो कि ती नासवान बस्तु प्रप्तिको लागि हामी अन्तत जे र जसो गर्न पनि पछि परिएन।

यसै सन्दर्भमा विश्वका धेरै मुलुकहरूमा श्रम बेच्न पुग्यौ । श्रम बेच्नु नराम्रो हुँदै होइन । देशको एउटा भागमा बसेर मात्र त्यही भूगोलमा मृत्युवरण गर्नु पर्छ भन्ने धारणा मेरो पनि होइन र जीवन शैली, चिन्तन, सोच, ज्ञान, व्यापारहरू जस्ता मानिसको जीवनलाई सहज र सरल बनाउन विश्वब्यापीकरणको अत्यन्त आवश्यक्ता छ हालको परिवेशलाई हेर्दा।जीवनका यस्तै सूक्ष्म पाटोहरूलाई केलाउदा र अहिलेको सभ्य भनिने समाजमा आफ्नो छाप छोड्न कै निम्ति भने पनि अर्थ आर्जनले निकै ठूलो भूमिका राख्दछ।आफ्नो सीप, कला, श्रम, ज्ञान, किन्ने र बेच्ने सिलसिलामा कुन देशको नागरिक कुन देशको भूगोलमा जुद्धै छ, यसै भन्न कठिन छ।

म भने हाल दक्षिण कोरियामा जीवनलाई चाहिने भौतिक पूर्वाधर र बिलासिताको बस्तु जोडजामको लागि आफ्नो श्रम बेचिरहेकी छु । किनकि आफ्नो पाखोबारी र जीवनको गन्तव्य मृत्युसम्म हो भन्ने सम्झेर ल्याउदा आफ्नो जन्मभूमिबाट यति टाढा आउनुको मुर्खता कस्ले गर्थ्यो र?जीवन जिउनु मृत्यु पूर्व केही बुझ्ने, सिक्ने, भोग्ने र आफ्नो भूगोलभन्दा बहिरको परिवेश कस्तो होला त्यहाँका मानिस कस्ता होलान भन्ने उत्कट इक्षाले याहासम्म तानी ल्यायो, जिउदैछु केही समय यो कर्मभूमि दक्षिण कोरियाको आँगनमा।

कोरियाको अधिकांश जीवन केलाउदा लाग्छ याहाका मानिस आत्मापरक नभएर यन्त्रवत छन।सबेरै उठ्छन यामान को मेसिनहरूसँग सिँगौरी खेल्दै सम्पूर्ण दिन कम्पनीको पोल्टोमा खन्याउछन।कामबाट केही समय पाएको फुर्सदमा प्राय सबैभन्दा पहिला सोजु (रक्सी)पिउन थाल्छन, पिउदा पिउदै आधा रात फुत्काउछन घर जान्छन भोलि बिहान दोहरिन्छ फेरि यही काहानी। यस्तो परिवेश, यस्तो जीवन सैलिमा अब हामी फुकुवा जीवन बाँचिरहेको नेपाली कसरी बन्दी बनेर बाँच्न सक्छौ होला?

विश्वको अरु मुलुकको दाँजोमा कोरिया नै पहिलो स्थानमा पर्छ नेपालीहरू दुर्घटना हुनु र आत्महत्या गर्नुमा।कुनै समय यस्तो पनि आयो शृङ्खलाबद्ध हप्तै पिच्छे आत्महत्या।यी सब दृश्य मौन रहेर हेर्नुको बिकल्प कांहा छ र?

घरदेश, परिवार, साथीसंगीहरूले सोचेको जस्तो कत्तै सजिलो छैन कोरियाको भूमि जाँहा हामी एउटा श्रमिक भएर आएका छौ।प्रकृतिक सौन्दर्यताको लोभ लाग्दो छँटा भएर पनि आधुनिकतामा यसरी बिलिन हुन्दैछ कि कुन मान्छे हो कुन यन्त्र हो अत्याधुनिक शहरमा हातले छाम्दै हिड्नु पर्छ प्रत्येक छातीहरू।

आफ्नो देशको प्रकृतिक जीवन सम्झिदा लाग्छ यहा कृत्रिम जीवन बाँचिरहेका छौ, नसक्नेहरूले बाँच्न अभ्यास गरिरहेका छन सक्दै नसक्नेहरू फर्किदैछन आफ्नै मुलुक कित गर्दैछन आत्महत्या।

परदेशिएका हरेक परदेशिको आन्तरिक पीडा र अनुभूतिसँग जानकार रहन्छ सर्वप्रथम त आफ्नो परिवार जस्को खुशी र आनन्दको लागि ऊ परदेशिएको हो र राख्नै पनि पर्छ।देश छोडेर परदेश टेक्यो भन्दैमा सम्पन्नताले घरमा बाँस गर्यो सोच्नु परदेशिको जीवनमा अँझ कठिनाइ थप्नु हो।कस्तो ठाउँमा काम गर्दैछ ? के खान्छ?कस्तो ठाउँमा सुत्छ?त्याहाको जीवन कस्तो लागिरहेछ ? कस्तो साहूको अन्डरमा रहेर काम गर्नुपर्छ ? मनमा चैन बेचैन के छ ? जस्ता अति साधारण तर परदेशिको लागि औधी महत्व राख्ने प्रश्नहरू आफ्नो घरपरिवारबाट तेर्सिए धेरैभन्दा धेरै राहत हुन्छ ।

यहा आएका मध्ये कयौं हामीहरू १३-१८घण्टासम्म दिनहु काम गरिरहेका हुन्छौ।त्यसमा पनि कतिपय साहुहरू बाघ जस्ता हुन्छन पल्पल मनमा डर र सन्त्रास लिएर काम गर्नु परेको हुन्छ त्यही डर र आलोचनाको सिकार हुने भयले दुर्घटित हुन्छौं ।अंगभंग हुन्छौं सदा सदाको लागि।सरकारले बिदेशिलाई उपलब्ध गराएको सुबिधाबाटै पनि कति शोषणमा परेका छौ कम्पनीको साहुद्वारा।

यसरी केलाउदै जाने हो भने आफ्नो कार्यस्थलमा आफ्नै साथीहरूको कारण पनि अर्को साथीले औधी दु:ख पाइरहेको हुन्छ। आफ्नै साथीको कुरा लगाउने।बिपरित लिङ्ग बीच कुराकानी हुदैमा हेर्ने दृश्टिकोण बद्लिने।ह्येय दृष्टि राख्ने तर आफ्नो साथीको मनमा कस्तो पीडा हुन्छ त्यस्को रत्ती ख्याल नगर्ने।यस्ता साना तर स्वभिमानमा ठेस पुग्ने कुराहरूले तनाब पैदा गर्ने हुन्छ।यही तनाबहरूले मुर्तरुप लिदै डिप्रेसनको जरा गाड्छ । डिप्रेसन मौलाएर झांगिनु नै आत्महत्याको अर्को रुप पनि हो।

आत्महत्याको अर्को कारण आफ्नै आफन्त परिवार पनि हुन्छन । महिनाको तिसै दिन बेपत्ता बेखबर आफन्त तबल आउने दिनको अघिल्लो हप्ता दिनतिर स्टेन बाई सम्पर्कमा हुन्छन।यता यतिका दु:ख पीडा एक्लोपन साहुको गालिगलौजबाट थकित उसलाई कहिले सोधिदैन “के, कसरी, किन, कहिले, ……पिर नगर हामी छौ”यति सोध्नु खोज्नु बिना नै, मलाई आइ फोन चाहियो, स्कुटी चाहियो । बाईक चाहियो । ल्याप्टप चाहियो । यति लाख पैसा चाहियो ……क्रमश । होइन, चाहियो भन्दैमा काँहा पाइयो? यहाँ छ पैसा को ? कि पत्कर जस्तो बोरा भरी बटुल्दै पठाउने गार्डेन छ?

अन्ततः आफैले आफैलाई कम्जोर र निरीह सम्झिनु अँझ बढी कारण हो आत्महत्याको।म त भन्छु मान्छे भएर कहिल्यै आफूलाई कम्जोर सम्झिनु हुन्न।प्रत्येक व्यक्ति स्वभावैले फरक हुन्छन । एउटै आमाको कोखबाट त कोही बिद्वान कोही डाका कोही जन्मिन्छ भने यो भनेको फरक धरती, फरक भाषा संस्कृति, फरक रहनसहन, फरक विचारको फरक जीवन शैलीसँग पैठेजोरी खेल्नु चानचुने कुरा हुंदैहोइन।जे पर्छ जस्तो पर्छ विवेकलाई चारैतिर नचाएर त्यस्को समाधान खोज्ने प्रयास गर्नु पर्छ । कसैले फलनाको हत्या गर्यो भनेको सुन्दा र कसैले आत्महत्या गर्यो भनेको सुन्नु दुई ध्रुवको बिपरित कुरा हुन।कसैले हत्या गर्न खोज्दा पक्कै मृतकले आफ्नो बचाउमा केही प्रतिकार गर्छ नसकेको खण्डमा ऊ मारिन्छ तर आत्महत्या यस्तो हो जस्ले आफ्नो आत्मासँग नै हार खाएर भौतिक शरीर नास गरी पठाउँछ ।

सधैं आफ्नो आत्मालाई आफैले बसमा राख्ने कला र शक्तिको सामर्थ्य आफूमा उत्पन्न गराउनुस।तपाईको लागि स्वम तपाईं बाहेक यो पृथ्वीमा अरु कोही हुदैन । कसैमाथि निर्भर नरहनुस र कोही तपाई माथि निर्भर छु भन्यो भने काँध नथाप्नुस बरु आत्मनिर्भर रहने आफूले जानेको कला सिकाउनुस।कुनै कुराले मनमा अत्याधिक तनाब दिदैछ भने मिल्ने साथीसँग बाड्नुस त्यस्तो साथी छैन भने बेस्सरी लेख्नुस।अनि एकान्तमा प्रकृतिलाई नियाल्नुस।हरेक बस्तुको जीवन केलाउनुस।रुख कसरी बाँचेको होला ? न कसैले खान दिन्छ न लुगा लाउछ।झारपात काटेर लुछेर पनि किन पलाइरहने धर्म छोड्दैन?धामले एकदिन उदाउन बिर्स्यो भने के होला?यी सब आफ्नो लाखौ दुख लुकाएर हामी मानिसलाई जिउने कला सिकाइरहेको हुन्छ मात्र तपाईं हामीले अध्यन गर्न सक्नुपर्छ।

बाँच्नुस जिन्दगी बिन्दास।मर्ने बेलामा पनि ओठबाट मीठो मुस्कान फुलोस ।

धरती कल्पना
हिउँको आँगनबाट ……

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “जीवन, कोरिया र आत्महत्या”

  1. बैनीकाे भावना सारै राम्रो र
    बैनीकाे भावना सारै राम्रो र मर्मस्पर्शी छ । तर लेखाइ भने कहिल्यै नि शुद्ध हुन सकेन । मलाई यसैमा चिन्ता छ । लेखनमा समस्या भए सहयोग लिन अप्ठेरो नमान्नुहोला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *