Skip to content


दिन !
उस्तै हो यहाँपनि
जो, हार्नेहरूको हुदैन
म, चेपिएको छु इतिहासभित्र ।

सडकमा भेटिने
हराएका नागरिकहरूजस्तै
जसको देशभक्ति
अस्वीकार्य छ यहाँ,
म खोजिरहेछु देशभक्ति आफैभित्र
बश्त्रको बजारमा
सुहाउने देशभक्ति कुन हो ?
धोती, कमीज
टोपी, दौरा सुरुवाल
बख्खु, घलेक, भोटो, खाँडी ?
भक्ति, बलभद्र
मरेर गए सीमामै उभिदाउभिदै
नरोजी कुनै बश्त्र
देशभक्ति लिएर गए मुटुमै
म रोज्छु त्यही बाटो /
त्यागेर सबै प्रकारका बश्त्रहरू
म निस्कदै छु बश्त्रबजारबाट
विचार छोटिएको लामो बश्त्र
आयातको ट्याग लागेको रँगीन बश्त्र
चटकेहरूका थरीथरी नटबश्त्र ।
तीभन्दा
इज्जत छ त्यो देशमा, लाजमात्रै छोपेर बाँच्ने नाँगाहरूको
देशभक्तिको हुलमुलमा
सुन्दर लाग्छन् नाँगाहरू ।
भक्ति थापाको शालिकमुनि
जोसँग राग छ भक्तिको मुटुको
म त्यही देशभक्तिको अधिकार माग्छुु ।
बश्त्रधारीहरू !
म अश्लील र बिरुप पो देख्छु
तिमीहरूको जुलुस !
जसको खल्तीमा
च्यातेर टुुक्रयाइएको
देशको नक्शा छ ।

दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *