Skip to content


म देशको सुवास ली, रमेर खेल्न रोज्दछु
म विश्वकै सुचीमहाँ, समान बन्न खोज्दछु
म दिन्न दुष्ट हातमा, असाध्य शान हेर्दछु
म चित्र हैन राज्यको, पुरा मुहार फेर्दछु ।।

म भन्छु राष्ट्र बन्छ यो, सबै मिली बनाउने
म साथ दिन्छु मित्रमा, खुवै धनी भनाउने
म धेर देख्छु श्रोतले, ओतप्रोत यो थलो
म हेर्छु देश शान्त यो, हुनेछ मिट्टिको भलो ।।

म नाँच्न सक्छु देशमै, बने त रम्य सुन्दर
म वाँच्न सक्छु रे कहाँ, लिएर पेट जर्जर
म जान्न काम खोज्नमा, जहाँ लिइन्छ हुर्मत
म खान्न क्यै विदेशको, बने त देशको छत ।।

म सार्छु सुन्तला मिठा, अनार भोगटे वन
म पाल्छु दूध मांसका, चरा र वैल गोधन
म रोप्छु रे डिजेलका, ति वोटका सजीवन
म हुन्छु खूश राष्ट्रमा, रमेर चल्छ जीवन ।।

म टिप्छु लेक गै किरा, र वेच्छु धेर मूल्यमा
म रोप्छु अन्न खेतमा, हिरा हुने छ तुल्यमा
म वाँध वाँध्छु वग्दिने, थुनेर वेगका नदी
म वार वेर्छु साँधमा, खुला सिमा छ यो घडी ।।

म स्वप्न देख्छु सर्वथा, हुनेछ देश स्वर्ग यो
म साथ पाउँ मित्रको, लिनेछ मार्ग यो भलो
म मर्न पाउँ मिट्टिमा, लिएर गन्ध राष्ट्रकै
म जन्म बारबार यै, थलोमहाँ लिनेछु है ।।

छन्द पन्चचामर १६ अक्षर ८ मा विश्राम ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *