Skip to content

माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष

  • by


मन्त्रिपरिषद्ले -पुस २३, २०६५) थारू जनजातिले माघी पर्वका रूपमा मनाई आएको माघेसङ्क्रान्ति पर्वलाई मगर जनजातिको पनि राष्ट्रिय चाड भनेर राष्ट्रिय पर्वको रूपमा मान्यता दियो । यसपछि सो दिनलाई राष्ट्रिय बिदा घोषित गरेको छ -गोरखापत्र, पृ.३, आइतबार, पुस २३, २०६५) । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले देशभित्रका विभिन्न जातजाति र आदिवासी जनजातिले मान्दै आएको चाडबाडलाई सरकार र राज्यले मान्यता दिन थालेर सबैलाई समानताको आधारमा समावेशी व्यवहार गर्न थालेको स्वागतयोग्य कुरा हो । त्यसो त माघेसङ्क्रान्ति धेरजसो नेपालीहरूले मान्दै आएको प्रमुख चाडपर्व हो । अर्को शब्दमा भन्दा नेपालका हिन्दुहरूले मात्र नभई यहाँका आदिवासी जनजातिहरूले पनि आफ्नै परम्परा र रीतिथितिअनुसार मान्दै आएका छन् माघेसङ्क्रान्तिलाई चाडको रूपमा । माघी पर्वका रूपमा मान्ने तराईको आदिवासी थारूले तथा पश्चिम पहाडका आदिवासी जनजाति मगरले पनि माघेसङ्क्रान्तिलाई पूर्व पहाडका आदिवासी जनजातिमा किरात मूलका लिम्बू, राई, याक्खा र सुनुवारहरूले जस्तै धुमधामले मनाउँछन् । यहाँ स्मरणयोग्य के छ भने किरात मूलका लिम्बू, राई, याक्खा र सुनुवारहरूले यो चाडलाई थारू र मगरहरूले झैं नै नववर्षको प्रारम्भका रूपमा पनि मनाउँछन् वा मनाउन थालेको देखिन्छ । चाडका रूपमा र नववर्षको रूपमा लिम्बूजातिले मनाउने माघेसङ्क्रान्तिका बारेमा यहाँ छोटो चर्चा गरिन्छ ।

हिन्दु तथा अन्य जनजातिले झैं लिम्बूहरूले पनि केही दशक यता माघेसङ्क्रान्तिलाई महान् चाडका रूपमा सामूहिकरूपले मनाउन थालेका छन् । यसअघि कन्दमूल र तरुल खाँदै धार्मिक-सांस्कृतिक तवरले मात्र मनाएको देखिन्थ्यो । बिहानै नुहाउने, सफा हुने र देवीदेवतालाई सेवा गरेपछि मान्यजनबाट टीका लगाएर तथा लालाबालालाई टीका लगाई दिएर रमाइलो गर्दै सपरिवार तरुल खाने काम हुन्थ्यो । तरुलका साथमा फिलिङ्गे वा सिलाम पिनेको अचार, आलुका तरकारी, मासुको परिकारसँग सेलरोटी पनि खाने गरिन्छ । समयको परिवर्तनसँगै संस्कृतिमा पनि थपथाप र घटबढ हुन्छन् नै । हिजोआज त सहरबजारमा, विशेषतः उपत्यकाभित्र त तिलको लड्डु र चाकु -सक्खरको परिकार) जस्ता नेवारी परिकार पनि लिम्बूहरूले चलाएको देखिन्छ । हिन्दु तथा थारू जनजातिले झैँ धारा, कुवा, खोला, ताल वा नदीमा गएर स्नान गर्ने तथा पूजापाठ गर्नेजस्ता धार्मिक कर्मकाण्डहरू लिम्बूहरूले गरेको भने उति देखिंदैन ।

तरुल खाने यो चाडसँग लिम्बूजातिको आदिमकालदेखिकै सम्बन्ध रहिआएको भने बुझिन्छ । लिम्बूभाषामा तरुल जनाउने धेरै शब्द पाइन्छन् । लिम्बूहरूले ४० भन्दा धेरै प्रजातिका तरुल चिनेको तिनलाई जनाउने शब्दहरूले बताउँछ । निश्चय नै तरुल खाने संस्कृृतिले समाजभित्र चाडपर्वको स्थान पाएकै हुनुपर्दछ ।

थारू जातिले माघीलाई नववर्षको रूपमा निकै व्यवस्थितरूपले मनाएको पाइन्छ । परस्परमा सुस्वास्थ्य, दीर्घायु र सुखसमृद्धिको शुभकामना आदानप्रदान गर्ने काममात्र होइन यस दिनबाट थारूहरूले नयाँ हिसाबकिताप राख्ने दिनको थालनी पनि गर्दछन् । अर्को शब्दमा तिनको यो नयाँ आर्थिक वर्षको सुरुवात पनि हो । लेनदेनदेखि खेतीपातीलगायत सबै पुराना हरहिसाब बन्द गरेर नयाँ खाता सुरु गर्दछन् थारूहरू । यसबाहेक यसै दिन उनीहरू एकवर्षका लागि कचहरी, बरघर अथवा महतो, ककन्डार, प्रधान, अघारी सघारी, भलमन्सा, चौकीदारहरूको चुनाव पनि गर्दछन् । हिजोआज यस पर्वलाई महोत्सवका रूपमा पनि धुमधामले मनाउने गर्दछन् थारूजातिले । मगर जातिको राष्ट्रिय चाडका रूपमा माघेसङ्क्रान्ति र थारू जातिको माघी पर्वलाई नेपाल सरकारले राष्ट्रिय चाडपर्वको मान्यता दिएर यस दिन राष्ट्रिय बिदा घोषित गर्ने गरेको छ । थारूजातिले झैं मगर जातिले पनि माघ १ गतेबाट नववर्षको आरम्भ मान्दछन् ।

विगत दुई दशकदेखि लिम्बूजातिले माघेसङ्क्रान्तिलाई तरुल खाने चाडपर्वका रूपमा मात्र नभई नववर्षको रूपमा पनि मनाउन थालेको देखिन्छ । लिम्बूहरूले मान्ने माघेसङ्क्रान्ति चाडकोे यो थपिएको नौलो रूप र नयाँ आयाम हो । माघेसङ्क्रान्तिबाट लिम्बूजातिले मान्ने नववर्ष -कुसङ तङ्बे) येले तङ्बेको प्रारम्भ हुन्छ । लिम्बूहरूलगायत अन्य किरातहरूले मान्न थालेको किरात संवत्लाई लिम्बूहरू येले तङ्बे भन्दछन् । तरुल खाँदै नववर्षको उपलक्ष्यमा लिम्बूजाति एकाअर्कामा सुस्वास्थ्य, दीर्घायु र सुखसमृद्धिको शुभकामना आदानप्रदान गर्दछन् ।

माघ १ गतेबाट नै गणना सुरु हुने लिम्बूजातिको नववर्ष अर्थात् येले तङ्बे -संवत्) कलिगत ४० वर्षपछि सुरु भएको संवत् हो । कक्फेकवा तङ्नाम् -माघेसङ्क्रान्ति) को रूपमा पनि मानिनेे यो नववर्षका दिनमा थारूलेझैं लिम्बूहरुले सुब्बा, कर्ता, कारबारी, प्यादा तथा तुम्याङहाङको चुनाव भने गरेको देखिदैन । यी पदहरू निश्चित रकमकलम बुझाएर प्रक्रिया पुर्‍याएपछि राज्यका तर्फबाट दिइने पदबोधक पदवी हुन्छन् । विशेष परिस्थितिमा बाहेक लिम्बू समाजमा चलेको सुभाङ्गी प्रथाभित्रको यस्ता पदहरू वंशानुगत देखिन्छन् र जेठाको जेठा सन्तानमा रोलैसँग हस्तान्तरण हुन्छ । लिम्बूहरूभित्र यस दिन पुराना हरकिसाब बन्द गरेर नयाँ खातापाता सुरु गरेको पनि देखिदैन । तर लिम्बूहरूमा भोगबन्धकी, दृष्टिबन्धकीजस्ता कागतपत्रहरूका थैली फिर्ता गर्ने दिनभने श्रीपञ्चमी तिथिको दिनलाई मानिन्छ । श्रीपञ्चमीको दिनदेखि जग्गासम्बन्धी नयाँ कागतपत्रहरू राखिन्छन् । यस दिन बितेपछि भने किपट जग्गामा परेको पुरानो भोगबन्धकीका थैली फिर्ता गर्न पाइँदैन ।

त्यसो त लिम्बूहरूले विभिन्न चाडबाड मनाउँछन् । तिनमा माघेसङ्क्रान्ति, साउनेसङ्क्रान्ति, न्वागी -चासोक) आदि मुख्य हुन् । यस्ता चाडबाडलाई यिनले महोत्सवका रूपमा पनि मनाउन थालेका छन् । यिनमा चासोक र माघेसङ्क्रान्तिलाई धुमधामले राष्ट्रव्यापीरूपमा मनाउन थालेका छन् यिनले केही वर्ष यता । पहिले पहिले घरघरमा पारिवारिक तवरले मात्र मनाइने यी चाडहरू आजभोलि लिम्बू जातीय संघसंस्थाहरूको पहलमा सामूहिकरूपमा सार्वजनिक स्थानमा -जस्तो काठमाडौंको हात्तीवनस्थित किरात धार्मिक वनक्षेत्र अथवा ललितपुरको चुम्लुङ हिम्) मा भेला भई मनाइँदै आएको देखिन्छ । परम्परागत तवरले मनाइने यी चाडहरू हिजोआज त च्याब्रुङ बाजा बजाई नाच्दै, छेलो हान्ने खेल खेलेर जातीय खानाको परिकार बनाई स्वाद लिंदै जातीय पहिरनमा सजिएर धान नाच्दै मनाइने गरिन्छ । त्यसमाथि आफ्नो मुन्धुम नयाँ पुस्ताले बिर्सन नपाउन् भनेर तीनराते तङसिङ पूजा गर्दै पनि मनाइन थालेको देखिन्छ ।

नेवार जातिले मान्ने नववर्षलाई नेपाल संवत् भनिन्छ । नेपाल सरकारले हालै मात्र नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको छ । मुलुकको औपचारिक कामकाजको लेखा यसै संवत्मा राखिनुपर्ने छलफल पनि चल्दैछ । विगत केही वर्ष यताबाट गुरुङजातिले समुदायको आमसहमतिमा सौर्यमानअनुसार पुस १५ गतेका दिनदेखि तमु ल्होसार वा नववर्ष मान्दै आएका छन् । केही अघिमात्र तामाङ जातिले पनि माघको औंसीको भोलिपल्ट अर्थात् शुक्लपक्षको प्रतिपदा तिथिबाट सोनाम ल्होछार -ल्हाङ ल्होछार) भनिने तामाङ नववर्ष धुमधामले मनायो । त्यसरी नै सेर्पा जातिले आगामी फागुन महिनाको औंसीको भोलिपल्ट अर्थात् शुक्लपक्षको प्रतिपदा तिथिदेखि ग्याल्बो ल्होछार वा सेर्पा नववर्ष धुमधामले मनाउने तयारी गर्दैछन् । विभिन्न जनजातिले मनाउने पर्वहरूलाई झैँ सरकारले विभिन्न ल्होछार पर्वहरूलाई पहिले नै राष्ट्रिय पर्वको मान्यता दिएर उक्त दिन राष्ट्रिय बिदा पनि दिन थालेको हो । यसरी मुलुकको विविधताको सम्मान गर्दै विभिन्न जातिको चाडबाड र तिथिमितिलाई राष्ट्रिय मान्यता दिने काम राष्ट्रको हितमै हुन्छ ।

लिम्बूजातिले पनि आफूहरूले मान्दै आएको येले संवत्लाई राज्यको तर्फबाट राष्ट्रिय मान्यता दिलाउने र सांस्कृतिक प्रयोजनमा मात्र भए पनि औपचारिक प्रचलनमा ल्याउन दबाब दिनसके ठूलो उपलब्धि हुनेछ । तर यस अगाडि नै केही विषयमा टुङ्गो लाउनु पनि आवश्यक हुन्छ । माघ १ गतेबाट नै गणना सुरु हुने येले तङ्बे हिन्दुपात्रोको माघ महिनाझैं नै छ । उही महिनाको सङ्क्रान्तिबाट सुरु हुने र मसान्तमा समाप्त हुने खालकै छ । त्यसपछिका अन्य महिना र दिनहरू पनि उही छन् । साल, महिना, गते र बारका नाम मात्र लिम्बूभाषामा राखिएका देखिन्छन् । के लिम्बूको आफ्नै तिथिमिति वा तिथि गणना पद्धति थिएन ? के यसो हुनसक्दैन ? के निर्माण गर्न

सकिंदैन ? संवत्, साल, महिना र बारका नामहरू आफ्ना भाषामा राखेर पहिचानको चाहना प्रकट गरेर मात्र हुने हो त ? येले तङ्बे वा येले संवत् भनेर नववर्ष मान्नका पछाडि रहेको पहिचानको व्यग्रता, ऐतिहासिक तथ्यहरू तथा मनोवैज्ञानिक कारणहरूको सोधखोज हुन आवश्यक छ । सबै लिम्बू बन्धुहरूको चेष्टा यता पनि जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *