बुढाहरूको गन्थन


संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजनाको बारेमा प्राथमिकता दिनको लागि अनुरोध गरिरहेका थिए । हामी मध्येमा एकजना ९० वर्ष नाघिसकेका थिए भने सायद सबैभन्दा कान्छोमा म नै थिएँ होला । उमेरले धेरै वर्षका भए पनि ९० पार गरिसकेका बुढाको उच्चाइमा अरुभन्दा होचो शरीर, कपालका रौं पनि कालै हँसिलो मुहार, हिंडाइ पनि लचकदार आदि शारीरिक सम्रचनाले गर्दा नब्बेपार गरेका बुढामा गणना गर्न सुहाउँदैनथ्यो । हामी तीन जना भने सेतै फुलेका थियौं । सेतै फुले पनि गफगर्न भने सबै नै कोही कमी थिइनौं ।

एक जनाले मुख फोरेर भने,”मेरा त बूढी मरेको पनि १७ वर्ष भयो ।”

तिनमा बोल्दा सहजै बोलेजस्तो लागे पनि अनुहारमा भने कता कता पत्नी वियोगको लक्षण देखिन्थ्यो । उनले घर वरिपरिका सबै जग्गा देखाए, यो सबै जग्गा आजभन्दा चालीस वर्ष पहिला नाकगलाका सबै सुन बेचेर र मैले विदेशमा कमाएको थोरै पैसालाई जोडेर किनेकी थिइन् । जग्गा किन्दाको वर्ष बूढीले तीजमा कपडा पनि फेर्न पाइन । सबैले आफ्ना आफ्ना पत्नीका योगदान सुनायौ । हामी तीनजनाका भने पत्नी जीवितै भएकाले आज पनि पत्नी सुखबाट बञ्चित थिइनौं ।

विदुरले स्वास्नीका प्रकार बताए । सुवासिनी, कुवासिनी र खुवासिनी तीन प्रकारका स्वास्नी हुन्छन् । विदुरले जोडे, “मेरी स्वास्नी सुवासिनी थिइन् तर सँगै बाँच्ने भाग्यमा रहेनछ चाँडै स्वर्गारोहण भयो ।”

चिया पकाउने आदेश भइसकेको थियो । चिया आयो । चिया विदुरकी बुहारीले ल्याएकी थिइन् । चिया पिउन थालियो । कुराको प्रसङ्ग बद्लियो । बुढेसकालको सहारा को त ? विदुरले आफै प्रश्न राखे । हामी सबैले छोराबुहारी भन्न थाले म । विदुरले भने छोरा हैन बुहारी सुवासकी चाहिन्छे । कुबुहारीबाट बूढौती थामिदैन । विदुरले ९० पार गरेका बुढातिर फर्केर भने,”मैले तपाईंकी बुहारीलाई भनिदिए, ती बुढाबूढीलाई लगेर पाल, आशिष ले, बुहारी ठिक छे, उसले भनी,”हजुरको अंश यही छोडेर, मलाई सेवा गर्ने मौका दिनुहोस् भनेकी छु । गए लगेर सेवा गर्छु ।”

बुहारी राम्रो स्वभाव भएकिरहिछन् भन्ने धारणा सबैले राखे म तर ९० पार भएको बुढा भने मुस्कुराए केही बोलेनन् ।

कुराको प्रशङ्ग बदलियो । अंशबण्डाका कुरा आए । विदुरले भने– “केरा र छोरा फोरे सब्लाउँछन् भन्ने उखान छ । अंशबण्डा समयमै गरिदिनुपर्छ । अंशबण्डा लगाउँदा मासको गेडा फोरेर तिलको दाना घोटेर बाँडीदिनु पर्र्छ भेदभाव गर्न हुँदैन ।”

मैले भने– “मैले त जियाजियैकौ अंश गरिदिएँ । सबैले सहमत जनाए ।”

डिलका दाइले भने – “थोरै पुँजी, सबैले खानै पर्ने छोरा दुई भाइलाई एक एक अंश मेरा लोग्नेस्वास्नीलाई एक अंश गरी तीन अंश लगाएँ ।”

सबैले राम्रो भन्यौ ।

अर्को बूढो थपियो र उसले भन्यो – “मैले त भए भरको जग्गाजति सबै छोरालाई बाँडिदिएँ, मलाई र बूढीलाई खर्च भर्नु भनेको छु । छुट्टिएको त एक महिना भयो । अहिले त पेटबाँडोमा छौं । भोलि के हुन्छ थाहा छैन ।”

सबै मुखामुख भयौं । तर विदुरले एउटा कथा सुनाउनु भयो – “उहिल्यैको कथा हो । एउटा बुढाका तीन भाइ छोरा रहेछन् । बुढाले आफ्ना नाममा भएको सबै पूँजी बाँडी दिएछ र एउटा सानो घरमा बसेछ । खानाको लागि सबै छोरालाई एक एक महिनाको पालो लगाइ दिए छ । जेठी बुहारीले केही दिनमै माहिलीकोमा जान भनिछ र माहिलीले पनि कान्छिकोमा जान भनिछ ।, अबत एक महिने पालो सबैको सकियो । जेठाले खाना खुवाउन पर्ने थियो तर बुढालाई कसैले पनि खान बोलाएनन् । बुढाले खान पाउन छाड्यो । बुढाको यो दुर्गति देखेर गाउँका भलादमीहरूले नसम्झाएका पनि होइनन् त्यतिवेला तीनै भाइ छोरा र तीनैवटी बुहारीहरूले बुढालाई खान दिएकै त छ नि भन्ने जवाफ दिने र बुढालाई खुवाउने काममा भने वास्ता नै नगर्ने भए पछि बूढो भोक भोकै मर्ने अवस्थाको सिर्जना भएछ । अंशबण्डा गर्दा एकजना भलाद्मीले बूढोलाई आफ्नो लागि पनि अंश राख्नुपर्छ नत्र दुःख पाइन्छभन्दा छोराहरू ती भलाद्मीसँग खुबै रिसाएका र बूढोले पनि छोरा सज्जन छन् पाल्छन् शङ्का नगरौ भनी सबै सम्पत्तिजति बाँडीदिएको कुरालाई खाना खान नपाउँदा झलझली सम्झन थाले छ । आखिर बुढाले के नै गर्ने कुनै उपाय नलागेपछि गुरुको आश्रममा गए छ । चेलाको अनुहारको मलिनतालाई देखेर दयाराखी खाना खुवाएर गुरुले केही नपकाइ खान मिल्ने खाद्यपदार्थ सहित केही चाँदीका मोहोर दिंदै भनेछ । यी मोहोर ढोका थुनेर बज्ने गरी गन्नु र पैसाको कुरा कसैलाई नभन्नु देखाउन पनि नदेखाउनु तर आवाज आउने गरी गन्न पनि नछोड्नु । बूढो आज्ञाकारी थियो गुरुको आज्ञालाई शिरोधार्य गरी घरमा गएर रुपियाँ गन्न थालेछ । भित्र पैसा गनेको आवाज भने आउँछ तर बूढोको बोलीचाली नसुनेपछि जेठी बुहारीले आफ्नो पतिलाई भनिछ बुढालेत पैसा लुकाएको रहेछ गनेको गनेकै छ । के को सबै सम्पत्ति बाँड्थ्यो, पैसा गनेको गनेकै छ । जेठा छोराले नम्र र मीठो बोलीमा खाना खान बोलाए छ । यो सन्देश माहिला छोरा र बुहारीले पाउँछन् । माहिला छोरा र बुहारीले पनि दाजुसँग आएर बाबालाई मेरो घरमा लान पर्यो भन्दै आफ्नो घरमा सार्छन् । कान्छा र कान्छीले पनि माया गर्न लागे बाँकी आयु बुढाको राम्रोसँग वित्यो । जब बूढो वित्यो र तुलसीको मठमा निकालियो जेठो छोराले गएर बाबुको कोठामा आफ्नो ताला लगायो । माहिला र कान्छाले पनि आफ्ना ताला थपे । क्रियाकर्म समाप्त गरेपछि तीन भाइमा कान्छो गरिब थियो बाबुको पैसाले मलाई सहयोग गर भन्यो तर दुवै दाजुहरू सहमत भएनन् । ताला खोल्न कचहरी नै जोडियो ।, जे जति सम्पत्ति छ त्यो तीन भाग लगाउने निर्णय गरियो र तालाहरू खोलिए । बिस्तरा टौटकाइयो । शिरानीभित्र दश रुपियाँका वीसवटा मोहोर भेट्टिए । तीनभाइ नै टाउको समाएर थचक्क बसे ।”

विदुरले कथा समाप्त गर्दै भने,”बुढाबुढीको आँत (ढुकुटी) दह्रो हुनुपर्छ । नत्र मर्ने बेलामा दुःख पाइन्छ ।”

नब्बे पारगरेका बुढाले मुख खोले,”हेर भाइ हो तपाईंहरूका धेरै कुराहरू सुने । कोही न कोही पाखुरो पोइ । म आज ९२ वर्षको भएँ, मेरी पत्नी पनि ८६ वर्षकी भइन् मैले एउटा भैंसी पालेको छु । उनले खाना बनाउँछिन् मेरो चाल चलन र हिंडाइ डुलाईलाई हेर्दा मलाई नजानेको मानिसले मेरो उमेर अहिले ९२ भयोभन्दा पत्याउँदैनन् । जेहोस् आजसम्म मैले कसैको मुख ताक्न परेको छैन तर मैले धेरै बुढाको बेहाल देखेको छु । खोलापारिका साहिलाको केवल एउटामात्र छोरा छ । उसकी पत्नी बितेको १० वर्ष भयो काम गरेको गरेकै हुन्छ तर चियासम्म समयमा खान पाउँदैन बरु बुहारीले गाउँभरी राँडो ससुरो पाल्न नपरोस् भन्दै हिड्छे । पत्नी मरेर पतिमात्र बाँच्नु र एउटामात्र छोरो हुनु पनि अभिशाप नै रहेछ । तीनतलेकी सुन्तलीको पति बितेको चार वर्ष भयो, ऊ अति काजु छे, । घरको काम सबै गर्छे, खाना पनि उसैले पकाउनी हो । आजसम्म त उसकै चाँजोफाँजो छ हात गोडा चल्न छाडेपछि भोलि के हुन्छ थाहा छैन । माझघरेका पति पत्नी दुवै जीवित छन् । चार भाइ छोरा छन् । बुढालाई पक्षघात भएको छ । सम्पत्ति पनि पुग्दो छ तर बुढी लाटी भने लाटी हैन बाठी भने बाठी हैन बुढाले अस्पतालसम्म देख्न पाएन । सिर्जनका घरमा भने बुढाबूढी छोराछोरी नाति नातिनी सबै सबै सन्तोषी छन् । त्यो घरमा पृतिभक्ति छ । बुढाबूढी धेरै बुढा भैसकेका छन् । अनुहारमा चम्कन छ र मुखमा मुस्कान छ । छोरा र बुहारीले काम गर्छन् र बुढा बूढीको भोक प्यास भेटेकै छन् । समाजमा मातृभक्ति र पृतिभक्तिको सन्देश दिएका छन् । समाजमा थरिथरिका मानिस छन् । मानिसले आफू पनि बूढो हुन्छु भन्ने सोच्दैन । मानवताहीन सन्तानबाट कहिल्यै सुख पाइँदैन । बुढाबूढीसँग धन भए पनि बुढा बूढीको धनभन्दा छोराबुहारी बढ्ता कमाउने रहेछन् भने, त्यो धनको वास्ता हुँदैन । बुढाबूढीको वास्ता हुँदैन । सबैभन्दा ठूलोकुरा बुढाबूढीलाई बुढेसकालमा देखभाल गर्नु पर्ने छोरा बुहारीको दायित्व हो । दायित्वको बोध हुँदैन, कर्तव्यको पालन गर्दैन, भोलि म पनि यो अवस्थामा पुग्छु भन्ने ज्ञान हुँदैन र नौतिकतालाई छाड्दै जान्छ भने त्यो घरका बुढाबूढीले जिउँदै नर्क भोग्नुपर्छ, त्यस्तो अवस्था हामी कसैलाई नआवस् ।”

कुराहरू चल्दै थिए । अन्तर आत्माका भावनाहरू पोखिदै थिए । मोबाइलको घन्टी बज्यो । हल्यो भन्न नपाउँदै, यताबाट कता हो ? घर आउने हैन कि क्या हो, जहाँ गयो त्यहीं भुल्ने, घरमा दुईचार जना मानिस भेट्न आएका छन् कति कुरेर बस्ने आदि प्रश्न तेर्सिए । म त्यो गन्थनबाट अलगिएँ ।

धन्यवाद
सदानन्द अभागी
कावासोती नगरपालिका वडा नं ७, शान्तिचोक, नवलपरासी,
मिति २०७२ साल पौष १३ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *