Skip to content

मर्दा ऊ रित्तै गयो


मेरो भन्दछ मूर्खले सब यहाँ भैदिन्छ उस्को कहाँ ।
भन्ने आफ्नु तिनै मरेपछि सबै छाडी गएथे यहाँ ।।
कोही लान्न उ साथमा बरूयतै छाडिन्छ फोस्रा धन ।
प्यारो अंग यही जान्न सङमा पोलिन्छ सोही तन ।।

लिन्थे राज्य जितेर लोक भरिका मर्दा त रित्तै भए ।
मेरो हुन्छ भाग्य मिल्छ गतिलो भन्ने ती छाडी गए ।
होला काम दिनेछ सम्पति भनौं लाग्दैन क्यै कामको ।
वोलिन्थे पहिले पुकारि जनले खै काम त्यो नामको ।।

जन्मन्छन् दिनहूँ ति मानिसहरू मर्छन् सँधै देख्दछौ ।
आयो काल भने निल्छ मुखमा त्यो काल को छेक्दछौ ।।
राजा रंक समान लान्छ उसले छाड्दैन कोही जन ।
वाँचिन्नन् पनि एकछिन् ति धनले के काम आयो धन ।।

छोरो जान्छ उ घाटसम्म तिनका पत्नि घरै बस्दछिन् ।
छोरीका त विलाप एक घडिको आफ्नैमहाँ मस्त छिन् ।।
लिन्थे बाबु ति काखमा पहिले यो प्राण प्यारो भनी ।
त्यै सन्तान गए भने त पहिले बस्लान् ति आयु गनी ।।

आमा काख सजाउने ति जननी रोएर बस्छिन् घर ।
कोही जान्न मरेपछी ति दुनिया भुल्छन् यहाँका नर ।।
यस्तो हुन्छ तथापि सत्य नवुझी मेरो र तेरो गरी ।
हानी गर्छ जरा खनेर अरूको पक्का छ जानै मरी ।।

जाँदा साथ लगे र खै कुनकुरा राजा विरेन्द्रै थिए ।
नास्यो वंश समेत दुष्ट कुनले मर्दा कहाँ के लिए ।।
साहू एक कुनै थियो उ पहिले पैसा वटुल्थ्यो अरे ।
भन्थे घाटमहाँ मलामि सबले लोभी थियो जो मरे ।

पैसा टन्न हुने कुवेर सरिको काँ किन्छ पैसो दिई ।
देखिन्छन् यमराजका नजिकमा सन्त्रास मैलो लिई ।।
तस्मात् गर्व गरेर भन्न नहुने यो ज्यान मेरो भयो ।
जित्ने राज्य खुवै सिकन्दर उही मर्दा उ रित्तै गयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *