मेरो यौटा नलेखिएको कविता


अक्सर म पढ्ने गर्छु
अखबारका पानाहरूमा उद्घाटन भाषण
अक्सर म सुन्ने गर्छु एफ एम रेडियोहरूमा
मन्त्रीमण्डल पुनर्बिस्तारको किस्सा।

अनि सुन्छु
शिक्षाको खुल्ला बिज्ञापन र बजारीकरण
अस्पतालको व्यापारी नारा
युवाहरूलाई परदेशिन अभिप्रेरित गर्ने कुरा ।

कानमा ठोक्किन्छन् तस्करहरूको आवाज
कालो बजारी र चुवाहटको समुल स्वर
आँखा चिम्लेर बिदेशी लगानी प्रोत्साहित गर्दै
स्थानीय कल कारखाना बन्द गर्ने र्याइ र्याइ ।

म किन सुन्दिन
भ्रष्टाचार मुक्त भएको यौटा मन्त्रालयको नाम
म किन देख्दिन गरिबलाई पनि
कुनै सुबिधा सम्पन्न हस्पिटलमा फ्री इलाज
म किन कुनै उदाहरण पाउदिन
राज्यले कहिल्यै सर्वसाधारणको कुरालाई
आत्मासात गरेर कार्यन्वयन भएको स्थिति ।

ताप्लेजुङ्ग चाक्सीबोटेकी बालिकाले
पाँच घण्टा हिडेर स्कुल पुग्ने कैलेसम्म ?
त्रिशुली नुवाकोटका नानीहरूले
एक अर्काको सहरामा
तुइनमा झुन्डिएर हिड्ने कैलेसम्म ?
सोलुखुम्बुका शेर्पा दाइले
आफ्नो खुट्टा चिसाले फुटाउने कैलेसम्म?
हुम्लाकी महतारा रोकायाले
यार्सा गुम्बा टिप्दै जीवन चलाउने कैलेसम्म?

म आजकाल वहदामा हुनेहरूको गाउँमा
आउँदाको चुरी फुरी मात्र सुन्छु
म आजकाल कुनै मन्त्रीको सवारीले
अक्रान्त शहर मात्र देख्छु ।

देख्नु त मैले दुखीको ओठमा मुस्कान थियो
सुन्नु त मैले नेपाल र नेपालीको प्रगति थियो
यस्तै यस्तै कुरा भरेर कविता कोर्नु थियो मैले
अहिले त्यो पूरा नभएकोमा निकै मर्माहित छु

अवश्य निर्माणाधिन अवस्थामा छ हजुर !
मेरो यौटा नलेखिएको कविता ।

– विवेक दुलाल क्षेत्री “दमक”
दमक,झापा
हाल ; अबुधाबी,युएइ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *