जीवनमा जुन जुन मानिसले एक्लो यात्रा हिँड्न आँट गरे, उनीहरूले रहर लाग्दा जीवनका उत्कर्षहरू प्राप्त गरे । भीड र समूहमा गरेको यात्राले त्यति ठूलो सार्थक दृश्यहरू उमारेको छैन । सिर्जनाको लागि साधनाको जरुरी हुन्छ, साधनाको लागि एकान्त परिवेशको आवश्यकता पर्छ । त्यो एकान्तमा रम्न, रमाउन र यात्रा गर्न एक्ले बुलाहा हुनु जरुरी छ । यो कुरालाई विश्व कवि रविन्द्रनाथ बङ्गाली भाषामा यति सुन्दर ढंगले शब्दचित्रण गर्नुभएको छ ।
यदि तोर डाक शुने केउ ना आशे
तबे एक्ला चलो रे ।
एकला चलो, एकला चलो, एक्ला चलो रे ।
यदि केउ कथा ना कय
(ओ रे ओ, ओ अभागा !)
यदि शबाइ थाके मुख फिराये
शबाइ करे भय
तब प्राण खुले
ओ तुई, मुख फुटे मेर मनेर कथा,
एकला बलो रे ।।
(यदि तिम्रो पुकार सुनेर कोही आएन भने तिमी एक्लै हिँड । एक्लै हिँड । एक्लै हिँड । अरे ओ अभागी ! यदि तिमीसँग कोही बोलेन भने र सबैले मुख फर्काएर गएभने, तिमी प्राण खोलेर आफ्नो मनको कुरा आफैँ बोल । अरे ओ अभागी ! यदि सबै फर्केर गए भने गहन पथमा हिँड्दा तिमीलाई कसैले हेरेन भने तिमी बाटोको काँढा आफ्नै खुट्टाले लथपथ पार्दै एक्लै रगडिँदै हिँड् । अरे ओ अभागी ! यदि तिम्रो चिराख जलेन भने, आँधी र तूफानको रातमा सबैले ढोका बन्द गरे भने तब तिमीले आफैँलाई जलाएर एक्लै हृदयपंजरलाई जलाऊ । यदि तिम्रो पुकार सुनेर कोही आएन भने तिमी एक्लै हिँड । एक्लै हिँड । एक्लै हिँड ।)
सृष्टिको विपुल विभोरतामा भावविह्ल भएर अनमोल गीतहरू रचना गर्ने कवि रविन्द्रनाथ ठाकुरले साहित्यमा नोबेल पुरस्कार पाए । गीतका अञ्जली चढाएर लेखिएको गीताञ्जली काव्यकृतिको निम्ति उनले त्यो पुरस्कार पाएका थिए ।
रविन्द्रनाथ प्रकतिको सुरम्य काखमा निस्फ्रिक्री रमाउन चाहन्थे । उनलाई औपचारिक शिक्षा आर्जनप्रति चासो थिएन । उनका लागि विद्यालयका कोठाहरू निस्सासीने कैदीखानासरह थिए । त्यसैले औपचारिक रूपमा स्कुलको र कलेजको शिक्षा हासिल गरेनन् । प्रकृतिको अनमोल ग्रन्थमा रमेर चाहिनेभन्दा बढी ज्ञान र अनुभूतिहरू आर्जन गरे ।
सन् १८६१मा भारतको कलकत्तामा जन्मिएका रविन्द्रनाथले सानैमा आमा गुमाए । आमाको ठाउँमा भाउजू कादम्बरीले मातृवात्सल्यका धारा छुटाइन् । जसले गर्दा उनी मान्छे भएर निस्के । पछि तिनै ममतामयी भाउजूले दुःखद आत्महत्या गरिन् । कविले यो पीडालाई सहन सकेनन् । कविको जीवनमा दुःखद मृत्युका घनघटाहरूले एकपछि अर्को क्रुर ढ्याङ्ग्रो ठोकिरहे । सानैमा आमा मरिन्, आफूलाई आमा बनेर मातृप्रेमको रस भर्ने भाउजूले आत्महत्या गरिन् । त्यसपछि प्राणप्रिय पत्नी बितिन् । त्यसको नौ महिनापछि छोरी मरिन् । त्यसपछि तुरुन्तै पिताजीको देहान्त भयो । फेरि त्यसको एक वर्षमै छोरा पनि मर्यो । मृत्युका कठोर झापडहरूले यी कविलाई कतिसारो थिलथिलो बनायो भने यिनले लेखेका काव्यमा आत्मक्रन्दन र मानववेदनाको मुक भाषालाई सजिलै अनुभूति गर्न सकिन्छ ।
कविले आफ्नो जीवनकालका एक–एक क्षणलाई स्वर्णिम सिर्जनामा खर्च गरेर पनि उनी जुन गीत लेख्न आएका थिए, त्यो गीत नलेखिकनै, त्यो गीत नगाईकनै केवल तयारी गर्दागर्दै, साज बिठ्याउँदा बिठ्याउँदै बिदा हुनुपरेको मार्मिक वेदना हामीलाई सुनाउँछन् । मृत्युले जतिसुकै विचलित गराउने गरी उनलाई तर्साए पनि हर्दम आशावाद र उत्साहको रमरस रन्कोले मानवजातिलाई उत्कर्षतर्फ डोर्याउनु कविजीको महान् विशेषता थियो ।
उनी जीवनका एकएक कणहरूको सार्थक प्रयोजन देख्छन् । उनी जीवनलाई व्यर्थ र निरर्थक वस्तु ठान्दैनन् । उनी काव्यमा भन्छन्– “जीवनमा जति पूजा समाप्त हुन पाएन, म जान्दछु, म जान्दछु त्यो खेर गएन । जुन फूल फुल्नुभन्दा अघि नै झरेर ओइलियो, जुन नदीले आफ्नो धारा मरुभूमिमा हरायो– म जान्दछु, त्यो त्यसैखेर गएन । हाम्रो अनागत हाम्रो भविष्य तिम्रै विणाको तारमा बजिरहेको छ । म जान्दछु– त्यो व्यर्थै खेर गएन ।” अहा ! कति अद्भूत वचनहरू छन् जसले हामीलाई उज्यालो विश्व निर्माण गर्न चहचह उत्साहको वीजन छर्दछन् ।
प्रकृतिको प्यारो सुन्दर काखमा आउने पुस्ताका नानीहरूलाई ज्ञानको अमृत पियाउन शान्तिनिकेतन नामको पाठशाला खोले । पछि त्यसले विश्वविद्यालयको रूप लियो । असीम आनन्दको निलो आकाशमुनि हरियो चौरीको दुबो माथि अग्ला होचा जमिन, ताडका सुन्दर वृक्ष, केवँराको सुगान्धित हावा, पानीले लछप्प भिजेका खेतका फाँटहरू, सन्ध्याको रक्तिम आकाशमा उड्ने पंक्षीका कलरव, श्रम गरेर फर्केका बाउल स्त्री पुरुषका मधुर सङ्गीतबीच नानीहरूले रविन्द्रनाथको आश्रममा ज्ञानको ज्योति पिउँथे । सच्चा जीवनको झलक हेर्थे । भविष्यमा मान्छे भएर बाँच्ने जीवनको तयारी गर्थे । उनले लेखेको दर्जनौं दर्जन कृतिहरू विश्व वाङ्मयमा अनमोल खजना बनेका छन्, यी ऋषितुल्य कविको देहान्त ८० वर्षको उमेरमा भयो ।
२०६४।१२।१०
