Skip to content

संरक्षण कविता आन्दोलन अब अन्तर्राष्ट्रिय रुपमा


लुभेन बेल्जियम ।

नेपाल नाट्य कला संगित प्रज्ञा प्रतिष्ठानका कुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरूमा गै प्रकृतिसंग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरूलाइनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफनो शैली निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ घोषित “संरक्षण कविता आन्दोलन”लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा संरक्षण कविता आन्दोलन नेपालको मूल मर्म समायोजित हुने गरी यूरोपस्तरमा काव्यिक आन्दोलन कार्यक्रम संचालन गर्नेगरी अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष कवि दीपेन्द्र के.सी.को संयोजकत्वमा “संरक्षण कविता आन्दोलन, यूरोप” को घोषणा गरिएको छ ।

संरक्षण कविता आन्दोलनका प्रणेता एवँ संयोजक बरिष्ठ साहित्यकार सरुभक्तले यहाँको बाङमयीय प्रवृत्ति र आन्दोलनको मर्मलाई सम्बोधन गर्दै आन्दोलनका अभियान अघि बढाउन के.सी.लाई हालै संयोजक नियुक्त गर्नुभएको छ । यो आन्दोलनको उठानका लागि यूरोपका सक्रिय सर्जकहरूलाई आव्हानसंगै सहयोगको अपेक्षा गरिएको छ ।

संरक्षण आन्दोलनको घोषणापत्र यस प्रकार छ —

१. संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो ।
२.आजको आवश्यकता ग्रामीणमुखी कविता सिर्जना हो, हामी शहरवजारमा बसेर गाउँको कविता रचना गर्ने युगको अन्त्य चाहन्छौं ।
४. गाउँको कविता गाउँमै वसेर गाउँलेहरूकै लागि रचना गरिनु पर्छ ।
३. कविताले ग्रामीण जनजीवनमा जागरणको शँखघोष गर्नु पर्छ ।
५. नेपाली साहित्यमा शहरिया आन्दोलनहरू धेरै भए, अब हुने आन्दोलन गाउँघरबाट थालिनु पर्दछ । यो आन्दोलनका प्रणेता सरुभक्त र सम्बद्ध कविहरूमा हरिदेवी कोइराला, जे. अस्मिता, भूपिन व्याकुल, धन प्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ सरु, सुकुम शर्मा, रमेश श्रेष्ठ, पुष्प आचार्य, आदि हुनुहुन्छ ।

नेपाली परिवेशमा आन्दोलनको शुरुवात भएपनि नेपालीहरूको प्रवासमा बसाइसराईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषासाहित्य पनि स्थापित हुदै गएको परिवेशमा त्यहाँको स्थानीय मौलिकतालाई सम्बोधन गर्दै आन्दोलनलाई अगाडि बढाइने संयोजक के.सी.ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *