“बसिक सेलरी पन्ध्र सय रियाल ओटी गरेर २६०० रियाल हुन्छ ल आऊ आऊ के दुःख गर्छौ यार । बरु कहिले दमाम आउँछौ भन म यहाँ काम मिलाउँछु … । ल भोलि विहानै हिँड न सुटुक्क मत्तामबाट … । ”
निदाउनै सकिन रातभर खेलिरहे मनमा कुराहरू … । हत्तेरीका यहाँ दिनमा १७ घण्टा काम गरेर नि कति न सेलरी थापिएको छ र ? कमसेकम गधा झै यतिका जोतिइदा त पैतिँस सय रियाल तलब नि कम हुन्छ अघि भर्खर बलाद जाँदा एकजना पाकिस्तानी ट्याक्सी चालक मेरो काम र कम्पनीको नाम सुनेर चुक्चुकाएको सम्झिएँ यहाँसम्म भन्न भ्याए “विचरा” । कोल्टे फर्किएँ एक हप्ता अगाडिसँगै काम गर्ने साथीको भाइ जिजानमा काम गर्दा गर्दै कम्मर र ढाँडको रोगले ग्रसित भएर थलै परेको छ रे … । न कम्पनीले उपचार गरेको छ न तलब नै दिएको छ आज डेढ महिना भो..न घर पठाउँछ बिचरा … । साला मानवता हराएको मान्छेहरूको भीडमा उभिनुको नमज्जा यहाँ आएर महसुस गरिरहेको छु … ।
आँखा बन्द गरेँ निदाउनलाई कोसिस गरेँ छोडेन कुरा खेल्न मनमा दश दिन अघिको घटना सम्झिएँ साला आफूले आफैलाई के सम्झन्छन यिनीहरू स्वयम जंगिएको थिएँ म्यानेजरसँग … । दिनभरि काउन्टरमा क्यासियरको काम गर्दा गर्दै पनि साउदी अरेबियनहरूसँग लफडा परेर हैरान त्यही माथि किचकिच..अँझ परिकार बढी भएर नबिकेकोले मकिनावाला र क्यासियरको तलबबाट १५० रियाल कटाउँछु … । भन्दै उफ्रिए पछि के कम म पनि जंगिए तिम्रो सामान ग्राहक नआएर बिक्दैन त मैले किन तिर्न पर्ने … । कुरै कुरामा धेरै कुराहरू भए ब्रेक देखी सल्ला टाइम सम्मका हरेक आधा आधा घण्टा सल्ला र ब्रेक टाइमलाई न उपयोग नै गर्न पाएका थिए कसै कामदारले..झण्डै हात हालाहालको स्थीति आयो हामीमा … । पहिल्यैबाट हठ स्वभावको भएकोले मलाई जेदहाबाट ताबुक पठाउने प्रकृया थालियो । मलाई पनि कुनै इच्छा थिएन त्यहाँ रहन स्वीकृति दिएको थिएँ । मसँग अरु ४ जना पनि थिए जो म जस्तै सोँच्थे । … ।
हैट विहानको ५ बजे छ भरे १० बजे विहानको ड्युटि हो। सिरकले अनुहार छोपेर ढल्किएँ ..एक महिना अघि कान्छा भाइलाई कुटुलाँ झै गरी झम्टिदाँ कोही बोलेनन् मै अघि सरेको थिएँ सुपरभाइजरसँग तर्क विर्तक गर्न … । सालाहरू के सम्झन्छन नेपालीहरूलाई … । खान नपाएर त आएका होइनौ नि हामी पनि..यही दम्भ देखाएँ । पछि म्यानेजर ल्याएर कुरो सम्याईयो दोष जति ममा थोपरियो साथमा एउटा वार्निङ लेटरको पुरस्कार पाएँ तर पनि दुख थिएन आत्मसन्तुष्टि थियो कमसेकम एउटा नेपालीलाई हेप्न खोज्दा अर्को नेपालीको सामना गर्न पर्छ भन्ने सन्देश त पाए यिनीहरूले । म्यानेजमेन्टमा उम्रिए देखी खुम्रिएसम्म भारतीय केरलाहरूको राज थियो ।
नातावाद र कृपावाद त मैले असली रुपमा यहीँ देखेँ भलै केही नजानोस यदि केरला परिवारको भए उस्ले अवसर पायो … । नेपालको ब्राह्मणवाद र यहाँको केरलाबादमा फरक देखिएन । जसको जाँतोमा नेपाली, बंगाली, श्रीलंकन तथा अन्य भारतीयहरू पिसिँदै आएका छन । ओहो … । विहानको ७ बजेछ यसो भित्तोमा झुण्ड्याइएको घडीमा आँखा पुग्यो अब त निदाउन कोसिस गर्न पर्यो … । यतिकैमा झापाली वि.क. सोल्टा आएर अहिल्यै निस्कने तर्क गर्न थाले । हुन त कम्पनी छोडेर जाने योजना हामी सबैको हो तर मिति तोकेका थिएनौ अकस्मात ५ जना हामी अहिले नै भागेर जाने सहमतिमा पुग्यौँ । बेली विस्तर पहिले नै बाँधिएको हुनाले “कि जंगे रेलमा कि जंगे जेलमा” यही भावका साथ निस्कियौँ सुटुक्क विहान ७ : ३५ बजे बलादको लागि … । मध्यान्ह १२ बजेको साप्को बसमा चढेर लाग्यौँ दमामको यात्रामा … । एउटा नयाँ वर्षको साथ नयाँ यात्राको थालनी गरियो जनवरी १ तारिखको दिन । कम्पनी छोडेर इलिगल हुनुमा कुरै डर थिएन किनकि एउटा सिँगो देशको समुदायको प्रतिनिधित्व थियो हामीमा चौधरी, वि.क., लिम्बू, छेत्री र तामाङ ।
१८ घण्टाको वस यात्रा साउदीका अनगिन्ती पहाडहरू चिर्दै विहान ८ : १० बजे दमाम साप्को वस स्टेण्डमा आएर टुंगियो । नौलो ठाउँ नौलो अनुभव साँच्चै जेहदाभन्दा दमाममा निक्कै जाडोको अनुभव भो । योजना मुताविक नै लागियो २ जना कतिक र ३ जना सफुवा । पेन्टरको कामको लागि आए पनि ३ जनालाई मात्र हाललाई काम मिलेकोले बाँकी २ जना बलदियामा गर्न पर्ने अवस्था आयो । आतिने कुरो थिएन किनकि मुटु नभएकाहरू साउदीमा गैरकानूनी रुपमा बस्न आँटै गर्न सक्तैनन् । जुलाई २ तारिखमा घर जाने योजना बनाएर अँझ मोबाईलमा मिति सेभ गरेरै तामाङ, क्षत्री र वि.क. सोल्टाहरूलाई सफुवा पठाएर चौधरी मित्रसँग लम्किएँ म कतिकतिर । कतिक शिया मुस्लिम बाहुल्य क्षेत्र त्यसै पनि साम्प्रदायिक दँगा सुन्नि र शिया बीच विश्वमा भइरहको छ । भर्खर १ महिना अगाडि मात्र ४७ जना शिया मुश्लिमहरूलाई साउदी सरकारले मृत्युदण्ड दिएको रहेछ । प्रत्येक रात जनयुद्धको झझल्को दिन्थ्यो । बन्दुक र बम विष्पोटको आवाज नआएको रात हुन्न थियो । पुलिस र ट्याक्सी चालक जान डराउने ठाउँमा धन्न नेपालीहरू काम गरिरहेका छन् । हुन त आयुको छोरालाई वायुले लाँदैन । भोलि विहानबाट कामको सुरुवात भो हमामियाँबाट काम गर्न आरामकोसम्म पुग्नु पर्थ्यो कहाँको क्यासियर काम कहाँको बाटोमा झाडु लगाउने काम । मन र मष्तिस्क वेचैन भयो केही सोँच्न सकिन । कम्पनीबाट फोन आउने क्रम र आश्वासन देखाउने क्रम चलिरहयो मनले मनलाई भन्यो “धत् तँ मुला कातँर न हुँ मर्दको छोरो होस, थुकेको थुक चाट्नु तेरो गद्दारीपन हो” भाग्यभन्दा काममा विश्वास गर्ने म । लाजलाई पन्छाएर तल्लिन भइरहेँ काममा । पाँचै जनामा सम्पर्कमा थियौँ स्वदेशसँगै फर्कने योजना पनि । एकातिर साथीभाइबाट अबैधानिक बाटो रोजेकोमा रोष प्रकट हुन्थ्यो तर कसैले पनि सोधेनन् अबैधानिक हुनुको कारण । यहाँ म जस्ता अबैधानिकहरू लाखौँको संख्यामा छन् रे भन्ने कुराको प्रमाण १७०० जना नेपाली अबैधानिक एकसाथ काम गरिरहेकोले पाएँ ।
सबैको आ–आफ्नै कथा व्यथा सुनेर ल्याउँदा नेपाली हुनुमा हिनता बोध हुने रहेछ । मोरङको सरदार भाइ अत्यन्तै मिलनसारसँगै काम गर्दा गर्दै उनको मुहारमा एककिसिमको पीडा छचल्किएको देखेँ । उसको बेचैनीपनको कारण बल्ल तल्ल खोलिए । १० महिना भएछ साउदीको यात्रा सम्झौता मुताविक तलब नपाएपछि अवैधानिक बाटो अँगालेको ६ महिना भयो रे लाखभन्दा माथि लगानी गरेर पनि ऋणसम्म तिर्न नसकेको … । भागिसकेपछि कामको खोजीमा भौतारिदा बल्ल तल्ल यहाँ आइपुगेछन् । २ महिनामा पनि एक सेलरी नथापिएकोमा भने अँझ उनका डर रहेछ ।
अगुल्ठोले हानेको कुकुर बिजुली च्रम्कदा तर्सन्छन भन्ने उक्ति उसमा लागु हुने रहेछ । साझँको समयमा आफ्ना सम्पूर्ण विगतका भोगाईहरू शेयर गर्दै गयो ऊ । भागेको २५ दिनसम्म काम नपाएर सिको गार्डेनमा रात कटाएको व्यथा अनि एक नेपाली दलाल मार्फत् बंगाली दलालसँग बेचिएर २ महिनासम्म होटलमा आफूभन्दा ठुला ठुला भाँडा माझ्न परेको अनि तलबै नदिई लखेटिनु परेको यति मात्र होइन ट्याक्सीमा काले सुडानी ड्राइभरहरूबाट समेत लुटिएको । उस्को भोगाइको कथा सुनेर अवाक भएँ एकछिन् । अँझ थप्दै गयो आफ्नो पीडा. .२ महिना भो श्रीमती पनि अर्कैसँग पोइल गइन् अब त घर जान कस्को लागि दाइ । बिस्तारै मैले सम्झाएँ उस्लाई आमा–बाभन्दा ठुलो स्वास्नी होइन नि । मैले नि भन्दिएँ खुटा भए जुत्ता कति हो कति … । भाइलाई नि सन्तोष भएछ मनमा खुशीसाथ भन्न थाल्यो जाउँ दाइ दारु खान … । श्रीलंके दारु एक प्याक स्वाट्ट लाएर गह्रौ मन लिएर ढल्किएँ म नि । रातभर मनमा कुराहरू खेलिरह्यो साच्चैँ नेपालमा मात्र होइन परदेशमा पनि नेपाली दलालहरू नेपाली ठग्दारछन् । जय नेपाली … । उफ् … । हुन त केही समय अगाडि आफ्नै अगाडि सिको गार्डेनमा ४ जना नेपालीलाई नेपाली दलालहरूले बंगाली दलालसँग ५–५ सय रियालमा बेचेको आफ्नै आँखा अगाडि देख्दा कुनै चलचित्र हेरिरहेको छु भान भएको थियो तर वास्तविकता त्यही हो । सरदार भाइ त एउटा पात्र मात्र हो ऊ जस्ता हज्जारौँ नेपाली पात्रहरू मौन अभिनय गरिरहेका छन यहाँ । मनमा कुरा खेलाउँदै कतिबेला निदाएछु पत्तै भएन ।
सबेरै बिहान उठेर ड्युटि पुगियो भोलिपल्ट । सरदार भाइको फोन आयो उठाएँ । कम्पनीले ह्विप हानेकोले आजै सेटिङमा मामाघर गएर हप्ता दिनमा नेपाल पुग्ने कुरा गर्यो । मैले नि ठिकै छ सम्पूर्ण हिसाब किताब मिलाएर घर जान सल्लाह दिएँ । १८०० रियाल तिरेर मामाघर एकहप्ता बसि नेपाल फर्किएको कुरा पछि एकजना आचार्य भाइ मार्फत जानकारी पाएँ । अनि मनमनै भने “कस्तो रछ जाने बेलामा सुटुक्क केही नभनी गएछ मुला । ”
मैले बस्ने क्याम्पमा म जस्ता अबैधानिक ३००भन्दा ज्यादा हुन नेपाली मात्र । तर पनि कस्तरी मिलेर सुख दुःख साटेर बसेका छन् एकार्काको मर्म बुझेका छन् । पूर्व मेची देखी पश्चिम महाकालीसम्मका, हिमाल देखी तराई सम्मका कस्तरी मिलेर बसेका छन् । भारततिरका नेपालभाषीहरू नेपालीसँगै रहन रुचाउँछन तर तराईका भारतीय बर्णका नेपालीहरू भारतीयहरूसँग बस्न रुचाउँदैनन् नेपालीसँगै रहन मनपराउँछन् र पनि भारतका नेपालभाषीलाई आफ्ना ठानेर आफ्नै देशका मधेशीहरूलाई हामी घृणा गर्छौ पराई ठान्छौ योभन्दा ठुलो मुर्खता के होला सँसारमा? तीन दिन अघि मात्र इण्डियन सुपरभाइजरसँग सानो लफडामा मेरो पक्ष लिई सुपरभाइजरसँग जाई लाग्दै कार्की दाजु, चौधरी भाइ, ओली सोल्टा, ठाकुर भैया, हरी ङोलोहरू कस्तरी प्रस्तुत भएका । नेपाली मनहरूको एकता यहीँ बिदेश आएर मात्र देखिदो रहेछ । एउटा नेपालीलाई केही पर्दा अर्को नेपालीले सहयोग गर्ने शायद आजभोलि बिदेशमा मात्रै होला । नेपालमा भए लिम्बुवान, खम्बुवान, थारुवान, मधेश … । एमाले, काँग्रेश, माओवादी … । राजावादी, गणतन्त्रवादी … । हिन्दूराज्य, धर्मनिरपेक्ष राज्य आदि भन्दै एकार्कामा कडारुपमा प्रस्तुत हुन्थ्यौँ होला । न त यहाँ कुनै धर्म, न त राज्य न त कुनै जात या समुदायको कुरो हुन्छ यहाँ त बस सबमा नेपाली हुँ भन्ने भावना मात्र छ । यहाँको नेपालीहरूको एकता देखेर नेपालतिर राजनीति गर्ने नेताहरू प्रति घृणा जागेर आउनु स्वभाविक हो किनकि धार्मिक, जातीय, सम्प्रदायिक सम्बन्ध खल्बलाउने श्रेय यिनीहरूमा जान्छ ।
दिनहरू क्रमश वित्तै गए । एकदिन दुई जना रोल्पाली भाइहरू जुबेल आई पुगे त्यसबेला कतिकबाट जुबेल आएको मेरो पनि एक हप्ता मात्र भएको थियो । भाइहरू निक्कै राम्रो दोहोरी गीत गाउथेँ अवसर र पैसाको अभावले विचराहरू परदेशिएर पनि अबैधानिकताको बाटो रोजेर यहाँ आई पुगे । काम गर्ने स्थान एकैठाउँ भएकोले पनि निक्कै नजिक भयौँ । यसैपनि उनीहरूको यहाँ आउनुको कारणबारे जान्न उत्सुक थिएँ । शुक्रबार छुट्टीको दिन कोठा पनिसँगै भएकोले मेरो उत्सुकता मेटाउँदै भाइहरूले आफू आउनुको कारण कम्पनीले ८०० प्लस ३००मा सम्झौता भए पनि जम्मा ६०० रियालमात्र तलब पाउने गरेको अनि एजेण्टसँग सम्पर्क गर्न खोज्दा फोन नै नउठाएको अनि घर जान्छुभन्दा उल्टै ८००० रियाल मागेपछि मिठो सपना पुरा गर्न भाग्न बाध्य भएको बताए । एकलाख पच्चिस हजार तिरेर साउदी आएका उनीहरू एक वर्षमा पनि ऋण तिरी नसकेको बताउँदै अब राम्ररी कमाई गरेर नेपाल फर्किई लोक दोहोरी एल्बम निकाल्ने सोच भएको बताउँदै गुन्गुनाउन थालिहाले । साँच्चै निकै राम्रा गाउथेँ … । म मोहित भएर हराइरहेँ उनीहरूको आवाजमा … ।
चम्चागीरी गर्नमा बंगालीहरू एक नम्बरमा हुन्छन् रे, सुनेको मैले तर नेपालीहरू पनि चम्चागीरी गर्नमा कम छैनन् । राम्ररी काम गर्दै गरेका १५ जना नेपालीहरू एक्कासि टर्मिनेट भएर जागिरबाट निकालिए कारण केही थियो जस्तो लागेन तर दुई जना नेपाली मिश्री मुदिरसँग चम्चागीरी गर्नमा पोख्त छन भन्ने सुनेको थिए । भोलि पल्ट सुनियो ती पन्ध्र जना नेपालीको ठाउँमा १५ जना बंगालीहरूले जागिर पाए रे । साथमा ती दुई नेपालीलाई ग्रुप लिडरको तक्मा मिल्यो रे । मलाई ती दुई नेपालीको प्रमोशन भएकोमा कुनै खुशी थिएन बरु ती १५ जना नेपाली बेरोजगार हुनुको दुःख थियो ।
ओहो आज त सेलरी आउने दिन महिनाको १ तारिख तर आएन १० तारिखसम्म कुरियो आएन । अफिसमा फोन गरेर सेलरीको बारेमा बुझ्न खोज्दा उल्टै काम गर्ने मन भए गर्नु नत्र झोली झाम्टा बोकेर लाग्दा हुन्छ भन्ने उतर आउँथे के पो गर्न सकिन्थ्यो र? कस्लाई उजुर गर्ने यसै पनि जाने ठाउँ थिएन पुरानो कम्पनीमा जाने बाटो पनि बन्द भई सक्यो । चुपचाप आफूलाई तल्लो स्तरमा राखेर मौन बस्नुको विकल्पै थिएन । जीवनमा पहिलोपल्ट यति नमज्जा महसुस भएको थियो मलाई र कम्पनी छोडेर भाग्नुमा पछुतो पनि । आखिर २२ तारिख मात्र सेलरी आयो । सबैले सेलरी थापे कसैले घर पठाए कसैले रक्सीवालालाई तिरेर सके कसैले तासमा हाने त्यो सेलरी आको रात निदाएन हाम्रो क्याम्प, जागा रहे रातभर … । मनमा चिसो पस्यो कस्तो कस्तो नमाज्जा लाग्यो । पैसा नहुँदा आदर्शका कुरा छाट्ने हामीहरू पैसा पाउने बितिकै भुलिहाल्छौँ है, हिजोसम्म घर परिवार भोकै छन भन्नेहरू स्वास्नी छोरा छोरी आमा बा विमारी छन भन्नेहरू आएको सेलरी एकै पटक तास र रक्सीमा सकेर नाँगै बसेको पनि देखियो । कस्तो बीचित्र छौँ है हामी नेपाली हुन त एकमानाकी छोरी खै केमा परी रे भन्छन नि हुन त बुढापाकाहरूले त्यसै त उखान बना हैनन् रछ नि । कम्पनीमा काम गर्दाभन्दा बाहिर भागेर गर्ने कामको मूल्य बढी छ एउटा लक्ष लिएरै भागेका हुन्छन मान्छेहरू कति चाँडै बिर्सदा पनि रैछन मान्छेहरू … । भोलिपल्ट पनि तास र रक्सीको मौसम उतिकै थियो । दिनभरिको कामको थकाईले भुसुक्क निदाएछु पर्सिपल्ट विहानै सुनियो रातभरसँगै तास खेल्दै रक्सी खाने ८ जना नेपालीहरूले आपसमा मारामार गरेछन त्यहीबेला मामाहरू आएर खोरमा लगेका छन् रे शायद केही महिना मामाघरमा राखेर घर पठाउँछन होला यिनीहरूलाई … ।
जुलाई महिनाको सुरुवात भो हपहपी गर्मी बढेर ५१ डिग्री सेल्सीयससम्म पुग्थ्यो । सँसारकै गर्मी देश साउदीमा बाहिरी घाममा काम गर्न नसकिएला झै भान हुन थाल्यो । एक वर्ष अघिको सूर्य र अहिलेको सूर्यमा आकाश जमिनको फरक थियो । पहिलेको गहुँगोरो सूर्य अहिले हाँडी जस्तो कालो रंगमा परिवर्तन भएको थियो । जेदहाबाट सुरुवात भएको मेरो साउदी यात्रा दमाम, कतिक, जुबेल, ताबुक हुदै हाब्रबादेनमा आएर टुंगियो यो एक वर्षमा धेरै थोकको अनुभव गर्ने अवसर मिल्यो । पैसा नकमाए पनि जीवनमा प्रशस्त अनुभव र अनुभूतिहरू कमाएँ । नेपालीहरूको परदेशको समस्या र भोगाईहरूसँग नजिकै साक्षात्कार गर्ने मौका मिल्यो ।
कुनै गुनासो छैन ममा अबैधानिक हुनुमा … । मानिस रहरले अबैधानिक हुने होइन उस्को पीडाको सुनुवाई नभए पछि अबैधानिक बाटो अपनाउने हो । शायद नेपाल सरकारले अबैधानिक बाटो समाउनेहरू्रलाई खराब देख्लान गलत देख्लान । हो गलत हो तर किन गलतबाटो अपनाए जान्नु जरुरी छ, समस्या समाधानतिर लाग्न जरुरी छ । यही कुराहरू मनमा खेलिरहयो रातभर जागै रहिरहेँ । यसो भित्तातिर घडीलाई हेरेँ ४ बजेछ विहानको । बल्लतल्ल निदाउन लागिराथेँ कसोकसो चौधरी, वि.क., छेत्री र तामाङ साथीहरू कतिक, जुबेल र सफुवाबाट कस्तो जानकारी नै नदिई सुटुक्क आएर उठाउँदा पो झसँग भएँ ।
“ओई आज जुलाई २ तारिख हो हेर त ”हतार हतार मोबाईलको क्यालेण्डरमा गएर आज मितिको नोटमा गएँर हेरेँ । झसँग भएँ ओहो आज त हाम्रो नेपाल प्रस्थानको लागि दमाम फर्किने दिन । साथीहरूलाई कस्तो याद रहेछ लगतै दमाम अफिसमा फोन गरेँ हिसाब किताब मिलाएर राखिदिन भनेँ आजै साँझ मामाघर पठाइदिने सम्झौता पनि । हतार हतार पोको पन्तेरो कसेर ५ बजे विहान हामी निस्कीयौँ दमामको लागि … । साँच्चै अबको एकहप्तामा त नेपाल पुगिन्छ हगि सोल्टा हो ? साप्ट्को बस हाब्रबादेन छोडेर दमामको लागि बढिरह्यो एकसुरमा सर्ररररररररररररररररररररररर!
