१.
हिमालमा हिउँ फुल्दा सुवास लिन्छ तराई
पहाडमा पैरो जाँदा निवास दिन्छ तराई ।
अराजक नीतिभित्र विकास भज्ने हो भने
सक्दिनँ म भन्न फेरि कहाँ पुग्छ तराई ।
२.
सुन्दर शान्त विशाल ठाउँ अहिले बल्दै छ
भन त गुरु विकृत पाटो कहिले बल्दै छ ।
असार बिर्से मङ्सिर त्यसै मरेर जाने छ
नकार छाडी सकार चाहिँ पहिले बल्दै छ ।
३.
आमाको हाँसो पर्खेर बसेँ अवस्था आएन
सबैको मन मिलेको हुने व्यवस्था आएन ।
एउटा भाइ पूर्वमा रहे अर्को चै पश्चिम
कोसिस जति गर्दामा पनि सुविस्था आएन ।
४.
सदैव बाटो हेरेर बस्ने यिनले भएन
अलकापुरी बनाए हुन्थ्यो रिनले भएन ।
भाइले टीका लगाए दाजु विजयी भए पो
कमारो हात समाए हुने घिनले भएन ।
५.
हिँडेको बाटो पुगिन्छ कहाँ होस् राख्ने गरे पो
उज्यालो दिन आउँथ्यो होला जोस राख्ने गरे पो ।
चलेको वायु रोकेर राख्ने भूल नगर्दामा नै
शत्रु र मित्रु छुट्याईकन रोष राख्ने गरे पो ।
–नन्दलाल आचार्य
श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६
nandalalacharya@gmail.com
