चाँदनी झैं थियौ मेरी आमा
माधवी झैं थियौ मेरी आमा ।।१।।
दर्द सारा हर्यौ माया गर्दै
औषधी झैं थियौ मेरी आमा ।।२।।
रोजरोजै तिमी दिन्थ्यौ ज्ञान
भारती झैं थियौ मेरी आमा ।।३।।
व्यस्तताले सतायो रातोदिन
पौरखी झैं थियौ मेरी आमा ।।४।।
कष्ट खप्थ्यौ सधैँ धर्ती बन्दै
सारथी झैं थियौ मेरी आमा ।।५।।
बात हुन्थे मिठा पीयूष भुल्ने
मालश्री झैं थियौ मेरी आमा ।।६।।
स्वच्छतामै बित्यो सारा जीवन
सादगी झैं थियौ मेरी आमा ।।७।।
स्नेह वर्षा गर्यौ पीडा हर्दै
निर्झरी झैं थियौ मेरी आमा ।।८।।
छैन कोही तिमी जस्तै सुन्दर
उर्वशी झैं थियौ मेरी आमा ।।९।।
दिन्छु श्रद्धाञ्जली सम्झी धेरै
तापसी झैं थियौ मेरी आमा ।।१०।।
बहरे रमल -३
(फ़ाइलातुन् + मफ़ाइलुन् + फेलुन् )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
