सहभागितामूलक शिक्षणको नतिजा सकारात्मक


वि. सं. २००९ सालमा स्थापित भएर एक समय सप्तरी जिल्लाकै प्रख्यात विद्यालयको लहरमा गनिएको तर हाल केही दशकदेखि स्तरकायम गरिरहँन नसकेको श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा शिक्षणरत् हुने अवसर प्राप्त हुँदा भिन्नाभिन्नै किसिमका अनुभवहरू सँगाल्दै आएको छु । त्यसमध्ये कक्षा–७मा अध्ययनरत् करिष्मा यादव नाम गरेकी एक छात्रामा भेटिएको अनौठो क्षमता र पठनपाठनमा देखिएको कमजोरीले आफू स्वयम्ले एउटा गतिलो पाठ सिक्न पाएको कुरा यस लेखमा समेट्ने प्रयास गरेको छु ।

छात्रा करिष्मा व्यवहारिक कामकुरामा पोख्त छिन् । नियमित विद्यालय आउँछिन् । कक्षाकार्य पनि बनाउँछिन् । गृहकार्य देखाउनमा समेत अघि नै हुन्छिन् । अतिरिक्त कार्यकलापमा अरूभन्दा चार हात अघि नै हुन्छिन् । नयाँ पुराना जोसुकै व्यक्तिसँग पनि मन खोलेर कुरा गर्छिन् । विद्यालयमा भर्ना हुन आउने नयाँ साथीहरूसँग आफ्नो मर्यादामा रहेर हिमचिम बढाउन अग्रसर समेत हुन्छिन् । उनीहरूलाई आइपरेको समस्या निदानमा आफ्नो तर्फबाट हुने सहयोग गर्न पछि पर्दिनन् । उनमा बालसुलभ चञ्चलता पर्याप्त छ । उनी अनुपस्थित भएको दिन विद्यालयमा के–के अपुग भएझैँ हुन्छ । टिफिन वा अन्य समयमा विद्यार्थी–विद्यार्थीबीच मनमुटाव भएको खण्डमा त्यस मुद्दालाई उनी स्वय म किनारा लगाउने कोसिस गर्छिन् । आफूबाट समाधान हुन नसकेका कुराहरू शिक्षकहरूसामु निर्धक्क राख्छिन् । शिक्षक वा अग्रज विद्यार्थीवर्गलाई आदरभाव प्रकट गर्न कसर राख्दिनन् । आफूले गरेका कतिपय कमजोरीलाई ढाकछोप नगरी खुलस्त स्वीकार्छिन् र क्षमायाचनाका साथ नदोहोर्याउने विश्वास दिलाउँछिन् । शारीरिकरूपमा कक्षाका अरू साथीहरूभन्दा सानी समेत छिन् तर बौद्धिकरूपमा प्रखर व्यक्तित्व देखाउँछिन् । त्यसैले पनि सबैको आँखामा बस्न सफल भएकी छिन् ।

नयाँ शिक्षकको रूपमा म त्यस विद्यालयमा भित्रँदा उनको हाइदुवाई देखेर छक्क परेको थिएँ । सरकारी विद्यालयमा समेत फरवार्ड विद्यार्थी हुँदा रहेछन् भन्ने लागेको थियो । त्यसबेला कक्षाकी प्रथम विद्यार्थी यिनै हुनुपर्छ भन्ने ठहर गर्न वाध्य भएको थिएँ । केही दिनको शिक्षण, निरीक्षण र परीक्षण पछि पो भ्रम चिर्न सफल भएँ । उनी त लेखपढमा सबैभन्दा पछिरहिछिन् । त्यसैले उनको रोल नं. अन्तिम अर्थात् ४८ रहेछ । पाठ शिक्षणका क्रममा अनुच्छेद पठनमा सहभागी गराउँदा उनले प्रष्ट बोली नै निकाल्न सकिनन् । स्पष्ट पढ्न सूचित गर्दा समेत उनले मुख चपाएर आवाज निकालीन् । ध्यान दिएर सुनेको त एउटा पनि शब्द उच्चारण गर्न नसकेको भेटियो । सरल शब्द उच्चारण गर्न लगाउँदा समेत उनले साथीहरूको सहयोग लिन खोजिन् । बीचरीलाई वर्ण र बाह्रखरीको समेत पूरापूरी ज्ञान नभएको पाएँ । कुरा खोतल्दै र बुझ्दै जाँदा अनौठो काइदा फेला पर्यो– समस्या आउँदा उनी जान्ने साथी नजिक बसेर सार्दिरहिछिन् । सार्न माहिर भएकीले सबैभन्दा अगाडि नै कक्षाकार्य/गृहकार्य निरीक्षण गराउँदिरहिछिन् । अर्कातिर आफूले कापी नदेखाई अरूले देखाउन नपाउने उर्दी समेत अघोषितरूपमा जारी गरेकिरहिछन् । यस गोप्य रहस्यको पर्दाफास गर्न कोही पनि अग्रसर भएन । यस चमत्कारबाट म चकित भएँ ।

तिनै छात्राजस्ता अरू पनि थिए । सङ्ख्यात्मक रूपमा कक्षा–७मा ५० प्रतिशत विद्यार्थीहरू कक्षाको स्तरअनुकूल देखिँदैनथे । अब एउटा कार्यमूलक अनुसन्धान नगरी भएन भन्ने ठहर गर्दै कक्षामा एउटा नियम बनाएर टाँसेँ । त्यो यस प्रकारको थियो–

१.कक्षा–७का विद्यार्थीको पठन सीप विकासका लागि प्रत्येक बुधबार शब्दार्थ प्रतियोगिता हुने छ जसमा कक्षाका सम्पूर्ण विद्यार्थीहरूले सहभागी हुनुपर्ने छ ।
२. प्रश्नहरू कक्षा–७ को नेपाली पाठ्यपुस्तकको तोकिएका पाठहरूबाट मात्र सोधिने छ ।
३. कक्षाका ४८ जना विद्यार्थीमध्ये एउटा समूहमा ३ जना हुने गरी १६ समूह हुने छन् । प्रत्येक समूहमा एक–एकजना कप्तान हुने छ । निजले दिएको उत्तर मात्र मान्य हुने छ तर निजको आग्रहमा सहभागी मध्येबाट जोकोहीले समेत जवाफ दिन सक्ने छ ।
४. महिनामा चार पटकसम्म प्रतियोगिता हुने छ । चौथो पटकसम्मको प्रतिस्पर्धामा सर्वोत्कृट हुने समूहलाई विषय शिक्षकको तर्फबाट आकर्षक उपहार प्रदान गरिने छ ।
५. शिक्षकले आवश्यक ठानेको अवस्थामा जवाफ सेतोपाटीमा समेत लेखेर देखाउनु पर्ने छ ।
यही नियमबमोजिम समूह निर्माण भयो । सोहौं समूहको कप्तान छात्रा करिष्मा नै बनिन् । पढ्न–लेख्न नआउनेले के कप्तान बनेकी होली भनेर अरू समूहले कानेखुशी गरे । उनी रिसाइन् र झर्कँदै मुख खोलिन्– ‘अखेन तक हमर सट्टामे तुँ पढि देने छि ? हामरा खातिर तुँ परीक्षा देने छि ?’

अहिलेसम्म अर्थात् कक्षा–७सम्म आफू आफ्नै बलबुताले परीक्षा दिएर सफल हुँदै आएको उनको विश्वास थियो । जे जति कमजोर भए पनि उनको हिम्मत देख्दा म झन आश्चर्यमा परेँ । एकले अर्काको भावनाको कदर गर्न सके मात्र असल विद्यार्थी कहलाउन सकिन्छ भन्ने आशयको नैतिक वचन बोल्दै प्रतिकूल हुँदै गएको परिस्थितिलाई अनुकूलमा परिणत गर्ने काम गरेँ । शिक्षणको नौलो अभियान देखेर र बुझेर विद्यार्थी उत्साहित भएको महसुस गरेँ । तर परिणाम सकारात्मक आउने कुरामा भने म ससङ्कित नै थिएँ ।

आइतबार नै ती छात्राले आजै आफू प्रतियोगितामा सामेल हुन तयार रहेको जनाऊ दिँदै भनिन्– ‘सर ! हमरा सबकुछ आवैछै । अखेन प्रतियोगिता कराऊ न ।’ मैले नियमविरुद्ध जान नसकिने कुरा वताउँदै तोकिएको दिनमा मात्र हुने वताएँ । उनको उमङ्गले मलाई कताकता अनौठो अनुभूतिदियो । परीक्षण नगरी मनले मानेन र उनलाई अफिसमा नै बोलाएर प्रश्नहरू सोधेँ । उनले फटाफट जवाफ दिइन् । लेख्न लगाउँदा भने उनी हच्किइन् । तापनि कोसिस गर्न भने कुनै कसर बाँकी राखिनन् ।

नभन्दै पहिलो पटकको प्रतियोगिता हुने बुधबारको दिन आयो । म तयारीका साथ कक्षाकोठामा प्रवेश गरेँ । सबैजसोमा एक किसिमको उत्साह थियो । प्रतियोगिता शुरू भयो । पूर्वनिर्धारित नियमबमोजिम नै सबैले भाग लिए । कसैकसैले कतैकतै बिराए तर करिष्माले कुनै ठाउँमा पनि गल्ती गरिनन् । शतप्रतिशत अङ्क उनैले पाउने छाँटकाँट देखिन थालेपछि मैले एक राउण्ड प्रतियोगिताको जवाफ मौखिक र लिखित दुवैरूपले दिनुपर्ने नियम सुनाएँ । यसमा समेत सहभागीहरूको मद्दतले उनले राम्रै गरिन् ।

त्यस पछिका दिनहरूमा सबै विद्यार्थीहरू अधिकांश समय नेपाली किताब पढ्नमा नै बिताउन थाले । म आफ्नो मेहनत सार्थक हुनेमा विश्वस्त हुँदै गएँ । महिनाको अन्त्यमा चौथो प्रतियोगिता गराएर अन्तिम परिणाम घोषणा गरेँ । करिष्मा यादवकै समूह विजेता घोषित भयो । उनको समूहको मेहनतलाई धन्यवाद दिँदै विजेता पुरस्कार दिएँ । र, अन्य सहभागीहरूको उत्साहवद्र्धक सहभागिताको प्रशंसा समेत गरेँ ।

छात्रा करिष्मामा परिवर्तन आउनुको रहस्य जान्ने मन भयो । कक्षामा नै सोधपुछ गरेँ । विश्वासिलो जवाफ फेला परेन । एकान्तमा कुरा गर्दा उनले रहस्य फुकाउँदै भनिन्– ‘हमर मामा आएल रहे । हमरा पढैला सिका देल्के ।’ पछि स्पष्ट कुरो बुझियो । घरपरिवारमा शैक्षिक वातावरण नभएकाले उनले मामालाई आफ्नो घरमा बोलाएर सिकाउन अनुरोध गरेकिरहिछिन् । मामाले मौखिकरूपमा भनेका कुरा कण्ठस्त पारेकिरहिछिन् । लेख्न पनि कोसिस गरेकिरहिछिन् । र, प्रत्येक हप्ताको शुक्रबार आउन अनुरोध समेत गरेकिरहिछिन् । मामा पनि शुक्रबार र शनिबार भान्जीकै साथमा रहेर सिकाइदिँदा रहेछन् ।

यस घटनाले विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका पर्याप्त नहुँदा अभिभावकको आवश्यकता अपरिहार्य रहेछ भन्ने निष्कर्ष निकालेँ । पुरस्कार विद्यालय वा अरू कसैले उपलब्ध गराइदिए शिक्षकको बौद्धिक लगानी मात्र हुने थियो, आर्थिक लगानीका लागि टाउको दुखाउनबाट जोगिन सकिने थियो भन्ने लागेको छ । यद्यपि मैले यस किसिमको सहभागितामूलक शिक्षणीय अभ्यासलाई कुनै न कुनै रूपमा जारी राख्दै आएको छु । उनीलगायत अन्यमा समेत नेपाली विषयप्रति लगाव र झुकावको मात्रा बढोत्तरी हुँदै गएको पाएको छु ।

–नन्दलाल आचार्य
शिक्षक, श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी ।
२०७२।०७।२०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *