आक्रान्त भो देश पिलाहरूले
घोचे सधैँ तीक्ष्ण किलाहरूले ।।
चासो कुनै छैन सिवा भुँडीको
नेता भुलाए कचिलाहरूले ।।
बढ्दै गए रोज कुकर्म मात्रै
गाह्रो छ बाँच्नै महिलाहरूले ।।
दु:खी रुँदै गर्छ सधैँ पुकारा
सुन्थे कहाँ धुर्त शिलाहरूले ।।
खाली भयो कोष रहेन केही
पारे भुसुक्कै कमिलाहरूले ।।
रित्तै गए दर्शन हुन्छ नास्ति
घेरिन्छ द्यौता रसिलाहरूले ।।
कस्ले यहाँ गन्छ बुढा पुराना
राज्यै चलाए रॅगिलाहरूले ।।
आफन्तले मात्र भरिन्छ ठाउँ
के आश गर्ने गतिलाहरूले ।।
जो चाकडी गर्छ उही छ राम्रो
पाए प्रतिष्ठा सजिलाहरूले ।।
भोजै भनी हुन्छ बजेट स्वाहा
खाए डकारे कबिलाहरूले ।।
भोको छ कोही नबलेर चुल्हो
कोही छ टन्नै कुरिलाहरूले ।।
वास्ता कतै छैन गुणी कुराको
छोपिन्छ नाली रुदिलाहरूले ।।
चिन्दैन राम्रो अथवा नराम्रो
बालिन्छ आगो दुधिलाहरूले ।।
नेतृत्व कर्ता हुनुपर्छ पाको
के धान्न सक्थे कलिलाहरूले ।।
लाग्ला उँभो देश कसो गरेर ?
ठप्पै छ सुस्ती र ढिलाहरूले ।।
याँ बोलवाला छ कृतघ्नको नै
बाटो विराए गुनिलाहरूले ।।
छोपेर छोपिन्न सदैब पीडा
बोले खुदै यी टुटिलाहरूले ।।
(छन्द:-इन्द्रवज्रा)
– कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ,
हाल:-न्युयोर्क,अमेरिका
