गैराघरे पण्डितको छोरा हिरामणि पौडेलको स्मरण शक्ति बेजोडको थियो । बालक काल मै उसलाई हिन्दू धर्म शास्त्रको राम्रो छाप बसेको थियो । उसलाई जगन्नाथ गुरागाईको लोकप्रिय खण्ड काव्य गुणरत्नमाला कण्ठस्थ जस्तै थियो ।
सक्यो वारयेतं जलेन हुतभुक छत्रेन सूर्यातपो
नागेन्द्रो निशिताङकुशेन समदो दण्डेन गोगर्दभौ ।
व्याधिर्भेषज संग्रहैश्च विविधैर्मन्त्र प्रयोगगैर्विषं
सर्वस्यौषधिमस्ति शास्त्रविहितं मूर्खस्य नात्यौषध म ।
(आगोलाई पानी खन्याएर, घामलाई छाता, तिखो अंकुश हात्तीको र लहुरो भैंसी गधा गोरुको । सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको) ।
छोरो कस्कन भन्नु ? आफ्नो कूलको उद्धार जसबाट छ । को हो ? शुरविर अगाडि तरुनी देखेर डग्दैन जो । जस्ता श्लोकहरू मौका मिल्यो गुनगाउन थाली हाल्थ्यो । उसलाई सत्यवान सावित्री कथा, राजा हरिश्चन्द्रका कथा, रामायण कथा, स्वस्थानी व्रत कथा महाभारत कथा आदि कथाहरूमा श्रीमान प्रति श्रीमती के कति निष्ठावान रहनु पर्छ भन्ने आदर्श सिकाएको छ । ती कुराहरूको पनि उसलाई बालक काल देखि नै राम्रो ज्ञान थियो । अँझ उसले कलेज स्तरमा पढ्नु पर्ने बालकृष्ण समको मुकुन्द इन्दिरा नाटक तथा सरदार रुद्रराज पाण्डेको चर्चित सामाजिक यथार्थवादी उपन्यास रुपमतीले देखाएको पतिव्रता धर्म मन पराएको थियो ।
बिस्तारै उसको शरीरमा जवानी भरियो । कक्षामा पढ्दा ऊ सथै प्रथम हुन्थ्यो । तल देखिमाथिसम्म मतलव कक्षा एक देखि १०सम्म त्यसैले उसलाई चाहने केटी साथीको खाँचो थिएन तर कसैसँग नजिकिन सकेन किनभने ऊ बत्तीस लक्षणयुक्त धर्मशास्त्रमा वर्णित आदर्श नारीको खोजीमा थियो ।
एकजना नेवार परिवारको चेली जो उसँग कक्षामा प्रथम हुन प्रतिस्पर्धा गर्थी र हार्थी । उसलाई मनपराएको थियो । तर जात मिलेन त्यसैले नजिकको सम्बन्ध बनाउन सकेन । यता जवानी परिपक्क भैसक्यो । यसबेलासम्म उसले भ्रतिहरिको शृंगार सतक पढिसकेको थियो ।
स्मितं किञ्चिन्मुधं सरलतरलो दृष्टिविभवः
परिस्पन्दो वाचामभिनवविलोसोक्ति सरसः ।
गतामानारम्भः किसलयितलीला परिकरः ।
स्पृश्यन्त्यास्तारुण्यं किमिव न हि रम्यं मृगदृशः ।
(यौवन अवस्थामा उक्लन लागेका मृगनयनीका कुन चै कुरा नराम्रा हुन्छन् र? हिडाइ, बोलीचाली, अंगप्रत्यङग सबै लोभ लाग्दा हुन्छन्) ।
अदर्शने दर्शमात्रकामा । दृष्टा परिष्वङ्क– सुखैक–लोला (नदेख्दा देखु देखु लाग्ने देखेपछि नजिक हुन मन लाग्ने नजिक भएपछि प्रणय सुत्रमा बाधिन मन लाग्ने) आदि जस्ता श्लोकहरू जसमा यौनको कामना अनिवार्य शारीरिक आवश्यकता को कुरा हो भनी पुष्टि गरिदिएको छ ।
टिन एजको शुरुवातबाटै शारीरिक सन्तुष्टिको विकल्पको खोजीमा रहेको उसले जब शृंगार शतक पढ्यो अनि त चुपलागेर बस्न सक्ने कुरा भएन । संसारका धेरै प्रतिशत युवाले यौन सन्तुष्टिको रुपमा अपनाएको हस्तमैथुन प्रविधिबाट ऊ पनि त चुक्ने कुरै भएन । अब उसको ठूलो शारीरिक समस्या हल भयो । कुनै बत्तीस लक्षण युक्त सुन्दरीको सामिप्य नपाएर के भो र ? ऊ बारम्बर त्यही प्रविधि अपनाउथ्यो । अति भए खति हुन्छ अति सर्वत्र बर्जयत भने झै अति नै घमण्ड गर्नाले रामणको पतन । अति नै दान गर्नाले बलिको विजोग अति नै राम्ररी हुनाले अपहरित हुनु पर्यो भन्छन् बूढापाकाहरू । त्यस्तै नै अप्राकृतिक यौन सन्तुष्टि प्रविधिको नराम्रो परिणाम निस्कियो । उसलाई शिघ्र पतन को रोग लाग्यो । तर उसले ख्याल गरेन किनभने यो रोग लग्दा उसलाई कुनै शारीरिक कष्ट हुदैनथ्यो ।
बिस्तारै समयले नेटो काट्यो उसको जवानी गुम्यो ऊ पूर्ण ३५ वर्षको भो । अँझै ऊ कुनै बत्तीसले युक्त आदर्श दुलहीको खोजीमा थियो ।
एकदिन कुनै प्रसंगवस “मुसीको बिहे” शिर्षकको कथा भन्दै धेरै गतिलो केटा वा केटी मिल्दैन । आफूसमानको खोज्नु पर्छ भन्ने शिक्षा दिदै आफ्नो आयु आधा गुमेको होस गराइदिए । एक जना प्रौढ उसले मान्ने बडाबा नाता पर्ने बूढाले । त्यसैले हिरामणिले जोडदारसँग कन्या खोज्न लाग्यो । तर अचम्म ! पहिले पहिले १८-२० वर्षमा जिल्लाभरिका सबै गन्य मान्य धन धान्य कुटुम्बले छोरी बिहे गर्न आग्रह गर्नेले समेत अहिले कुनै वास्तै गरेनन् । हिरामणि तीन छक्कै पर्यो समय बदलेको देखेर । तैपनि एक जना भिनाजु पर्ने मानिससँग नम्रता पूर्वक दुःख बेसाएपछि भिनाजुले मामाकी नातिनी फकाइदिए । तर निराक्षर । तैपनि घर गोठको काममा भने बघिनी बराबर । रुपमा सुन्दर । शारीरिक तन्दुरुस्त २० वर्षकी जवान । केटीका माइती तर्फपनि शिक्षित परिवारको ज्वाइँ । त्यसमा पनि सुब्बा स्तरको सरकारी जागिरे कुटुम्ब पाएकोमा हर्षको सीमा थिएन । १६०० मीटर माथि लेकमा घर । धानको भात बाबैकिरी भन्ने ठाउँको सोझो कृषक परिवारले शहर बजारको पण्डितको कुलमा जागिरे ज्वाइँ पाएको । त्यसैले आफ्नी छारी अनिताको विवाह हिरामणि पौडेलसँग हुने निश्चय भएकोले बूढाको भूईमा खुट्टा थिएनन् ।
प्रहरी हबल्दार कुनै विशेष राम्रो काम गरे बापत एकै पटकमा बढुवा भई प्रहरी निरिक्षक हुँदा जति नै खुःसी थिए । दुध, दही, मही र घिउमा डुबेकी २० वर्षकी जवानी छोरी स्वर्गकी अप्सराभन्दा कम राम्री थिइनन् । आर्थिक हैसियत अनुसार धुमधामसँग विवाह भयो ।
समय आन्नदमय वितै जादै थियो । उनीहरू बीचमा एउटी छारी जन्मिसकेकी थिइन रेणुका । उनीहरू बीचमा केही सानो तिनो कुरामा असामान्य भनाभन झैझगडा, लातामुक्का हानाहान हुन थाल्यो । श्रीमतीलाई संकाको घेरामा लिन थाल्यो हिरामणिले यस माम्लामा धेरै दोस उसैको थियो । किनभने उसले आफ्ना मधुरमिलनको रातमा नै आफ्नो यौन दुर्बलता कुनै विकल्प लिनु पर्ने भएमा सहमति दिने भनी उसले बचन चुकाइसकेको थियो । कुरै कुराको प्रशङगमा ।
अनि कुनै पनि नारीलाई पुरुषले त्यो सल्लाह दिनु बाँदरलाई लिस्नो लगाउनु जस्तै हो भन्छन् बूढा पाकाहरू । फेरि संसारमा आपसमा मन मिल्दा राजपाठ समेत मिल्छ भन्छन् बूढापाकाहरू । तर धोका र अपमान सहन कसैलाई पनि मन पर्दैन ।
हिरामणिको दुर्बलतालाई हतियार बनाई स्वच्छन्द स्वर्गकी अप्सरा झै मनोमानी गर्न थालिन अनिता । यौन भनेको पनि बढो अनौठो विषय रहेछ । श्रीमान, श्रीमतीको एकआपसमा प्रेम अंकुरण गराउने प्रमुख वस्तु नै एकआपसमा यौन सन्तुष्टि र विश्वास रहेछ । यसमा अलिकति पनि ब्यालेन्स बिग्रियो कि दाम्पत्य जीवन खरानी हुने रहेछ । यही कुरा हिरामणिको दाम्पत्य जीवनमा देखियो । उनीहरू बीचमा शित युद्ध चल्दाचल्दै अर्को सन्तान कान्छो छोरो जीवन पनि हुर्कियो ।
उनीहरूको जेठी छोरी रेणुका १२ वर्ष कान्छो छोरा १० वर्षका भए । उनीहरूको पढाई जेनतेन चल्यो । आपसमा आमा बुबा झैझगडा गर्दा एकअर्काले तीनै छोरा छोरी देखाउदै “लाखोसन यी नाबालकहरू त हुर्काउ ।अनि तँलाई मैले जान्या छु ।” भन्दै आपसमा दिनहु झगडा गरेको देख्दा बालबच्चाहरूमा नराम्रो असर पर्ने रहेछ ।
आमा बुबाको झगडा देखि दिक्क भई बालबच्चाहरू रुदै स्कुल जान्थे । फलतः उनीहरूको तेज दिमाग भएपनि पढाइमा राम्रो नतिजा आएन । बालबच्चाको उज्जवल भविष्यको लागि आमा बुबामा राम्रो प्रेम सम्बन्ध आवश्यकता पर्ने रहेछ । यो कुरा आफू समानका साथी भाइका छोरा छोरीहरू डाक्टर, इन्जिनियर, पाइल्ट बनेको देखेपछि आमा बुबा दुवैमा होस आउदै थियो । तर अब समय घर्किसकेको थियो । एकअर्काले आफ्नो गल्ती महसुस गर्दै थिए ।
यस्तैमा अचानक एक दिन उनीहरू बीचमा ठाकठुक्क भयो । हिरामणिलाई “अब अर्की स्वास्नी ल्याएर बस् । म तसँग एक दुई तीन बस्न सक्दिन भिन्न भएर बस्छु । मर्द होस भने म पनि हेर्छु ।” भनी ठूलै च्यालेज दिइन् ।
हिरामणि पनि किन हार्न चाहन्थ्यो ! मेख मार्नको लागि भए पनि कान्छी ल्याएर देखाउने विचारमा गयो । नभन्दै एक जना उसकै उमेरको अधबैसे नारीसँग उसको कुरा मिल्यो । उनीहरू बीचमा शारीरिक सम्पर्क समेत भो । तर त्यही कुराले हिरामणि फेल भो ।
“मतलब तपाई जस्तो पानी मरुवा (नपुंशक)सँग नआउने !” भनी प्रष्ट त्यो महिलाले भनी दिई । “धन्न तपाई जस्तोको घर गरेर छोरा छोरी हुर्काएर तपाईको इज्जतलाई दाग नलगाई आफ्नो शारीरिक भोक प्यास दबाई वा चारी ढाटी इच्छा पुर्याई । तपाईको घर दलान पोत्ने तपाईकी श्रीमती अनिता यस कलियुगकी सावित्री हुन् । उनलाई दिनहु पूजा गर्नुहोस् !” उनीले यसै भनी सम्झाई पठाइदिइन् ।
त्यसपछि हिरामणिले “सारा कमजोर आफ्नो हो । मेरा छोरा छोरीहरू मेरै कारणले सफल हुन सकेनछन् । सारा परिवारको जाहज डुबाउने कारण म नै रहेछु । धन्न तिमीले आजसम्म आफ्ना इच्छा आकांक्षाहरू दबाएर माइतीको इज्जत सम्झेर कसैसँग पोइला नगई मेरो घर बेवार धानीछ्यौ । तिमी यस युगकी सावित्री नै भयौ मेरा लागि । अब तिमीलाई इच्छा लागेको मेरो इज्जत बचाएर भोग ।” भन्दै उनलाई चरित्रहिन नारी भएको शंका गरेकोमा माफी माग्यो ।
श्रीमतीले अत्यन्त स्नेह प्रकट गर्दै अकमाल गरिन ।
आजभोलि अनिता हिरामणिको खानादाना, रहन सहन, लुगाफाटा सबै कुरामा पहिलेभन्दा धेरै नै ध्यान दिन थालेकी छन् । र आमा बुबाको रडाको साम्य भएकोले छोरा छोरीहरूमा खुःसीयाली छाएको छ ।
धन्य कलियुगकी सावित्री !
२०७२/११/७
जयबहादुर घिमिरे
