‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको ?’ उसलाई आफैँसँग रिस उठ्यो ।

‘तिमी जस्तोसुकै देखिए पनि म त ज्यान पो दिन्छ ए साहिँला !’ मास्तिर रिबिने कान्छीले बोलेका यी शब्दहरू नै त हुनु् उसका लागि बाँच्ने उपाय । रिबिने कान्छीले बोलेका यी शब्दहरू सम्झेर ऊ फिसिक्क हाँस्यो ऐना –अगाडि । जस्तोसुकै नराम्रो देखिए पनि रिबिने कान्छीले ज्यान दिएकी छे । आज त पञ्चका अगाडि मुख फोरेर भनिदिन्छु – ‘बिहे गरे त्यही कान्छीलाई गर्छु । उसको लोग्ने खप्परेलाई जारी पनि दिन्छु । मलाई यो पृथ्वीका सबै मान्छे एक भएर एकातिर लागे भने पनि म कान्छीलाई सिन्दुर लगाएरै छोड्छु ।’ उसको अर्थात् साहिँलाको कन्सिरी तातेको छ यतखिेर पञ्चभेलामा जानका लागि ।

सात कक्षामा पास भएका बखत आफ्नो अन्तरे काकाले आसामदेखि पठाइदिएको त्यो पनि सुनको जलप लगाएको तक्मा झिक्यो र दौराको देब्रेपट्टि सिउरियो । कान्छी दिदीका बिहेमा बाबुले किनिदिएको रुमाल झिक्यो र सेप्टिपिनले तक्माकै ओततिर टपक्क सिउदोयो । सन्दुसबाट हिजो मात्र धोएर राखेको दौरा सुरुवालमा जोडिएको इस्टकोट झिक्यो र लगायो । परार बजार झर्दा भाउजूले किनिदिएको मोजा झिक्यो, सँगसँगै गाजल झिक्यो र त्यसको टीका लगायो । नयाँ मोजा लगाउँदा उसलाई साँच्चैको खुसीको अनुभव भएको छ यतखिेर । ‘यो अनुहार नै नपरेको खप्परेका भाग्यमा । त्यो सनकेको कालो आँखा नपरोस् त्यसैले गाजलकै टीका भए पनि लगाउनु – पर्यो ।’ उसले मनमनै सनकेप्रति रोष व्यक्तगर्दै फतफतायो । आफ्नो फटफटे चप्पल लगाएर पल्लो घरको दमाई दाइको बारीमा कसैले नदेख्ने गरी दुईओटा गुराँसको फूल टपक्क टिप्यो । एउटा आफ्नो टोपीको दाहिनेपट्ट कानमा देखिने गरेर सिउरियो र अर्को रिबिने कान्छीका लागि राखिदियो । सारा पञ्चका र त्यो भतुवा सनकेका अगाडि रिबिने कान्छीको कपालको चुल्ठोमै चट्ट यो फुल सिउरिदिन्छु,हेर्रौ मलाई कसरी त्यो सनकमानले जेल हाल्दो रहेछ ! पुलिस लगाउँछु भनेर पो खप्की दिन्छ ए नाथे त ! मलाई चिनेकै छैन । बङ्गारा झारिदिन्छु सबैका अगाडि । जेलमै जाकिन परे पनि परोस् । दुईचार शब्द तलमाथि गरेर बोलोस् मात्र त !’ उसका आँखा राताराता भएका छन् ।

एकाबिहानै रिबिने कान्छीका जेठा जेठाजुको छोरो नविनले साहिँलासँग कान्छीको लसपस परेको थाहा पाएर धुलोपठान गरेको कुरा सुनाएदेखि नै धुलोपठान गरेको कुरा सुनाएदेखि नै साहिँलाका आँतमा घाम परेको छैनन् । नवीनले भन्दै थियो(‘कान्छि आमालाई तल्ला गाउँमा जाडँ धोकेर कान्छाबाले एक मुट्टी मात्र सास राखेर चुटेका छन् । कान्छाबाले आज दिउँसो एक बजे पञ्च बोलाएका छन् । साहिँलाबा ! भरे एक बजे तल चौतारामा झर रे है !’ भनेदेखि नै साहिँलालाई आज एक मुठी भात पनि रुचेको छैन । सनकेलाई सम्झेर ।

हुन त उसको र रिबिने कान्छीको हिमचिम भएाके वर्ष दिन पनि नाघेको छैन । बिहानबेलुकै लोग्नेको चुटाई खादाँखादाँ वाक्क भएकी रिबिने कान्छी पासो लाग्न गाउँको तल्लोपट्टिको सिन्दुरे खोलाकै छेउमा गएकै बखत साहिँलाले भेटेको थियो । ‘एकबारको यस्तो रमाइलो जिन्दगी पनि पासो लागेर सिद्ध्याउन लागिस् ? लाऊँलाऊँ, खाऊँखाऊँ भन्ने बेलामा त गरखिान्छु भनेर कम्मर पो कस्नुपर्छ त ! आइज, म तँलाई साथ दिन्छु ।’ भनेर साहिँलाले त्यति नै खेर कान्छीलाई ग्वाम्म अँगालो हालेको थियो । गाउँकी बिछट्ट राम्री र काममा छिटी कान्छीको रोइरहेको आँसु पुछिदिएको थियो । त्यति नै खेरदेखि रिबिने कान्छी र साहिँलाको मन र तन एक भएको थियो । अलिअलि नै भए पनि कान्छीले हाँस्न सिकेकी थिई । साहिँलाले पनि बाँच्न सिकेको थियो ।

‘हैन आज भरेदेखि न चामलका गेडा छन् न त मकैका च्याँख्ला नै छन् । क खाने ए साहिँला ? तल बेसी झरेर मकै किनेर लिएर आइज भनेको आज सात दिन भैसक्ता पनि किन तेरो कानमा बतास पदैन् ? ए नाथे !तैँले नखाए पनि यी स्कुल जाने भुराभुरीलाई चारा हाल्नु पदनै ? फेरि भोलिदेखि बजार पनि बन्द हुन्छ रे ! स्कुल पनि आज मात्र त हो नि । अब कति दिन त्यसको बाउको टाउको बन्द हुने हो ।’आमाले पिँढीबाट तमाखु तान्दै साहिँलाको सातो झारिन् ।

‘मेरो सातो नखाऊ है आमा ! आफूलाई पिर परेको सम्झँदा खोलामा फाल हानेर यो ज्यान नै दिऊँ जस्तो परेका बेला बोलिको तिरले छाती नरोप है आमा’ भाइ–बैना सबैलाई छोडेर हिडिँदिउँला, दिमाग बिग्रिएका बेला ।’ साहिँलाले आमाको उल्टो सातो लिएको थियो र दुःखका दुई थोपा आसुँ झारेको थियो । आमासगँ बोल्दाबोल्दै रिबिने कान्छीलाई सम्झ्यो । ‘अर्काकी स्वास्नी ल्याइस् भनेर तिमीलाई घरको न घाटको बनाउलान् जान्नेसुन्नेले । कसैका कुरा आमाले वास दिइनन् र घरभित्र हुलिनन् भने सहर झरेर भएपनि दुईमुठी सास जोगाउन र एक पेट खान कसो नपुग्ला !’रिबिने कान्छीले रुँदै भनेका कुराले साहिँलाको मन तितरवितर नै भएको थियो । ‘मलाई त कसैको वास्तापास्ता केही छैन कान्छी ! तँसँगै बाँच्ने र मेरे पनिसँगै मर्ने कसम पो खाएको छु त ।’ साहिँलाको मन कान्छीको मायाले आगोमा तताएको पानी जस्तो भकभक उम्लिएको थियो यतखिेर ।

‘साहिँला ! तिमीले हामीलाई छोडेर भाग्यौ भने तिम्रा परदेश गएका दाजुले कहिल्यै माफ दिने छैनन् । गाउँमा दिनदिनै रडाको मच्चिएको बेला हामीलाई मेलापात गरेर अन्यपानी जुटाउने कि घरै छोडेर जान्छु भनेर घुर्की लगाउने ?’ आफूलाई सालनाल– सहित हुर्काएकी जेठी भाउजूले तरक्क आँसु झारिन् र त्यति नै बेला साहिँलाले उसका बितेका कहालीलाग्दा दिनहरू सम्झन आग्रह गरिन् । उसले अर्थात् साहिँलाले सबै सहन सक्छ तर भाउजूको आँखामा आँसु देख्न सक्तैन । ‘भाइ अकडो छ । कुरै नबुझ प्याच्च बोल्छ । काममा हात हाल्दा पनि दायाँदायाँ नसोचीकन झ्याम्म फाल हान्छ तर यसमा मनमा तिलगेडाजति पनि पापको लेस छैन । यसलाई आफ्नै काखका छोराछोरीलाई जसरी हुर्का है’ भन्दै आफ्नु दाजु बनारस लाहुर जानुभन्दा अगाडि बोलेका कुरालाई उसले बिर्सन सकेको छैन । दुनियाँको घरमा मेलापात गर्दै आफूलाई कहिल्यै भोकै बस्न नदिएकी आफ्नी भाउजूका आँखामा देखिएको आँसुले साहिँलालाई भक्कानिन मन लागेको छ । भाउजू ! तिमीले कति दुःखहैरान गरेर मलाई हुर्काइबढाई गरायौ । अब म आफ्ना भाइबैनाका पेटमा लात हानेर हिँडेँ भने मतिभ्रष्ट भएको फटहा भनेर गाउँमा मलाई कसैले गन्ने छैनन् । म आफ्ना भाइबहिनीका लागि ज्यानै दिन परे पनि दिन्छु । तर त्यो खप्परेले मुद्दा हालेको छ । जारी हालेर भए पनि रिबिने कान्छीलाई यो घरमा हुलेँ भने तिमीले आराम पाउने थियौ ।’ साहिँलो सानो बच्चा रोएजस्तो भक्कानियो यतखिेर र साउनमा खहरेमा भेल बगेजस्तो उसका आँसु बग्न थाले यतखिेर ‘धेरै ज्यान छोडेर नरोऊ काका ! हाम्रा मास्टरले भनेका,धेरै रुँदा त मोतीबिन्दु हुन्छ रे !’ आठ वर्षको आफ्नो दाजुको छोरो जितमानले यसो भन्दै च्वाप्प म्वाइँ खाएको थियो साहिँलाका गालामा ।

‘तेरीमा बास्सै ! कस्तो लबस्तरो यो ! अर्काकी काखकी स्वास्नी हुत्याउन खोज्ने यसलाई त चार जना मानिसका सामु टुपी काटिदिनुपर्छ ।’ खप्परेको मितेरी दाइ प्रेमकुमार पञ्च भेलामा कुर्लियो । ‘हैन, मैले तिम्रो के बिगारेको छ र म माथि यस्तरी खनिएका ? कान्छीले आफ्नो मनले खाएको मान्छेसँग बिहे गरेर घरजम गर्न पाउनुपर्छ निहो बास्से !’साहिँलो पनि चिसो दाउरामा मट्टीतेल खन्याएर बलेको आगो जस्तो खारिएरे बोल्यो ।

‘ल तैँ भन् कान्छी ! तेरा मनमा लागेका कुरा घाम लागेजस्तो छर्लङ्ग पार् । यही कुरा कि वार कि पार गर्ने भनेर नै हामी सारा रोपाँई छोडेर आएका हौँ ।’ प्रधानपञ्चले खकार्दै यी कुराहरू बोलेका थिए । ‘म साहिँलासँगै बिहे गर्छु ।’ रिबिने कान्छीले मजेत्रोले मुख छोप्दै भनी । ‘तँ पातकी, मैले बिहे गरेका साल त्यत्रा जन्तीलाई भतेर खुवाउनदेखी अहिलेसम्म चामलको भात खुवाएको बिर्सिस् ?’ रिबिने कान्छीको लोग्नेले लरखराउँदै कान्छीलाई झम्टिन खोज्यो । एकाबिहानैदेखि उसलेमास्तिरे पुड्केगाउँबाट रक्सी धोकेर आएको थियो । उसको जाँडको गन्धले वरिपरिका गाउँलेहरू पनि परपर सरेका थिए भने सानासाना भुराभुरीहरू उसलाई देखेर थिए । ‘मलाई यो तेह्र महिनासम्म तिम्रालात र बात खाँदाखाँदा हुनसम्म मेरो हुर्मत लिएका छौ तिमीले । म त मर्न परे पनि तिम्रा घरमा पाइला हाल्दिनँ । टुहुरी भनेर मेरा दाइले तिम्रो जिम्मा लगाएका थिएनन् ?’यति बोल्द आज तेह्र महिनासम्म दबिएको आफ्नो विद्रोहलाई रिबिने कान्छील खुलस्त पारिदिएकी थिई गाउँलेका अगाडि थिए । उसले मन हल्लिएको थिया यतखिेर । ‘ल भन् त जारी दिन्छस् त ?’साहिलाले बाउ मरेदेखी नै आफ्नै बाउजस्तै मान्दै आएका प्रेमबहादुरले सबैलाई उछिनेर बोले । ‘मसँग दुईचारओटा गर्धने भेडा छन् । तीबाहेक मसँग के छ र ? तर म सबैका सामु सारा देवीदेवताको कसम खाएर भन्छु रिबिने कान्छीलाई सधैं खुसी दिनेछु ।’ साहिँलाले कर्के नजरले रिबिने कान्छीलाई हेर्दै भन्यो । रिबिने कान्छीको धपक्क बलेको अनुहार उसलाई आज अँझ राम्रो लाग्यो ।

रिबिने कान्छीका अनुहारमा सारा दुःख बिसाउने चौतारी देख्यो र मुसुक्क हाँस्यो ।

‘हैन,यो जँड्यहा खप्परेको बिहेगरेदेखि नै रिबिने कान्छीलाई कुनै दिन राम्रो मुखले व्यवहार गरेर । बरु साहिँलो र कान्छीको मन पनि तन पनि एक भएका बेला के भो त, बिहे गर्न दिनुपर्छ नि !’ साहिँलाकी भाउजू साहिँलाको धुरा पस्दै बोलिन् । ‘म यी दुईलाई काटेर जेल जान्छु मलाई सानोतिनो सम्झेर हेप्ने खोज्नेलाई म पनि बाउको बिहे देखाइदिन्छ । कि मलाई मेरो जारी दिनुपर्छ कि त गाउँ नै छोडेर पड्किनुपर्छ । मेरा आँखाका सामु म दुनियाँ चर्तिकला गर्न दिन्छ र ?’ खप्परेले लट्ठी उचाल्दै कान्छीतिर झम्टँदै बोल्यो ।

असारको महिना भएकोले अर्को हप्ता भेला हुने भन्दै कुराको अन्तिम टुङ्गोमा नपुग्दै पञ्चभेला उठ्यो । असारको महिना कामको चटारो परेका बेला आधा घण्टा या बीसपच्चीस मिनेटभन्दा बढी भेला बस्ने गरेको छैन गाउँमा । सबै जना उठेर आफ्नो आफ्नो बाटो लागिसकेको थिए यतखिेर । खप्परे पनि जाँड धोक्न मास्तिर गाउँतिर हानिएको थियो यतखिेर । ‘तेरा जीवनको निर्णय नभएमस्म यतखिेर तँ हाम्री मितिनी काकीकोमा बस् है कान्छी ’साहिँलाकाी भाउजूले सहानुभूति पोख्दै भनिन् ।

‘खप्परेले टिनका टिन घिउ ठेलेर सबैको मन जित्यो भने रिबिने कान्छीसँग मेरो बिहे हुनु हुँदैन भनेर पञ्चहरूले प्याच्च बोल्न सक्छन् भाउजू आमा !’

साहिँलो यतीखेर रिबिने कान्छीको मायाले अटेसमटेस भएको छ त्यसैले प्याच्च बोलिहाल्यो । भाउजूले सहमतिमा टाउको हल्लाइन् । यो दुनियाँमा मायाको जित हुनुपर्छ । भगवान्ले तिमीहरूको जोडीलाई चखेवाभखेवीको जोडीजस्तै सधैं विजया गरादिऊन् ।’ भाउजूले भक्कानिए र यति बोल्दा साहिँलो र काल्छीले जङ्गलको बाटो तताइसकेका थिए ।

कमला बुढाथोकी सरुप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “रिबिने कान्छी”

  1. यामदास घायल 'सन्तलाल'

    राम्रो लाग्यो।
    राम्रो लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *