१. थप्पडको मुङ्ग्रो
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो शुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ । तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो । मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ । अँझ, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द–हडताल, धर्ना–अनसनको परिपञ्च रच्छौ । तालीका लागि बेसुर हुन्छौ । सुर आएपछि पत्रुकारको मनपरी हो भन्छौ । आफूलाई सधैंँ सत्यको राजमार्ग ठान्छौ । जगत्लाई असत्य नै असत्यको नरकधाम मान्छौ । त्यसैले त तिमीलाई पदम कुँबर चाहिएको छ । त्यसकै प्रतिक्षामा युवा पिँढी थामिएर उभिएको छ ।
२. जुम्रेको डायरी
कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु । केहीबेर उसकै इसारामा चल्ने यन्त्र बनिदिन्छु । एक–डेढ घण्टामै ५–७ हजार रित्याउँछु । साहुनीले गलहत्याएर बाहिर निकाल्दिन्छे । नसा नासिँदै गएपछि मन साह्रो बनाउँदै जान्छु । क्रोधले बटारिँन पुग्छु । मुर्मुरिँदै घर फर्कन्छु । र, नानाभाँतीका अवगाल छिक्दै स्थायी प्रमाणपत्र प्राप्त श्रीमतीको मति उदण्ड पारिदिन्छु । सकुँञ्जेल थिच्छु । नसक्दा उसैबाट थिचिन्छु । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा छाडिदिन्छु । भोलिपल्ट टाउको कन्याउँदै उठ्छु । उठ्नै नसक्ने गरी शरीर दुखेको पाउँछु । श्रीमतीको आवाज सुन्छु– “ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गयौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”
३. कली अवतार
जम्ला हात गर्दा मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । जति नून थपे पनि अलिनै रहन्छ । जति मिश्री घोले पनि तीतै रहन्छ । अनि, जति भर्न खोजे पनि हाकिमको झोला आधाको आधै रहन्छ । सुटबुट उसकै छ । मीठो–मसिनो थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ । त्यसैले त ऊ हाकिम बनेको छ । कली अवतारको रूपमा जनमानसका साम्राज्य जमाउन सकेको छ । जम्ला हातको साटो कसैले एउटै हात उठाउन खोज्यो भने सुरुआतमा तलको कानून लागू गर्छ । धुलै चटाएर मात्रै छाडिदिन्छ । त्यो त्यत्तिले तह नलागे राष्ट्रको कानूनको सहारा लिन्छ । भएन भने माथिकहाँ लम्पसार पर्छ । त्यसले पनि समस्या समाधान नभए झोलितुम्बा बोकेर तोकिएको नयाँ जग्गामा सर्छ । र, आफ्नो निरङ्कुस रवैयालाई निरन्तरता दिइरहन्छ ।
४. एक प्रश्न
रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै हजार–हजार मुटुहरू पड्के । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । उजाड वस्तीहरूमा लालुपाते र गोदावारी फुल्ने नामै लिएनन् । तिमी भने क्षेत्रीयता र जातियताको पछि लागि शोषकहरूको फेदमा मलजल पुर्याउँदै छौ । विर्सनुपर्ने इतिहासलाई पुनरावृति गर्न न्वारानदेखि सञ्चित बल झिक्दै छौ । शहिदको सरापले नपिर्ने, जलेको चिताले नपोल्ने, हैन तिमी त कस्ता–कस्ता ! बगेको रगतलाई चौलानी भन्न थालेछौ । ढलेको शरीरलाइरहरको नशाभन्दा रहेछौ । अँझ ‘इन्कलाब’का नारा फलाक्न भन्छौ । खेदाउनुपर्ने चुपचाप खेदिएपछि अब कुन उल्लू खेल खेल्दै छौ ? अब कसलाई खेदेर शासनको कुन तन्त्र ल्याउन चाहन्छौ ?
५. खर्च बाराना
तिमी आउँदा हर्र बासना आउँछ । नाकले पहिले थाहा पाउँछ । तिमी जाँदा आनन्द आउँछ । पहिले मनले ज्ञान पाउँछ । उपस्थितिमा मागको थुप्रो लाग्छ । अनुपस्थितिमा माग ठडिने त्रास हुन्छ । हुँदा पुर्याउनै गाह्रो छ । नहुँदा कहिले के–के पुर्याउनुपर्ने हो सोचेर मन अत्तालिन्छ । हुँदाभन्दा नहुँदै मन बढी घायल हुन्छ । तिम्रो मुस्कानैपिच्छको मैले दाम चुकाएको छु । तिम्रो बोलीपिच्छेको तिरो मैले तिरेको छु । कहिलेकाहीँ मेरो स्थानमा उभिएर हेर त ! चाराना कमाएर बाराना खर्च कसरी गर्ने ? भुँइमा पर्नै नपाएको तिम्रो बोलीलाई कसरी उत्तीर्ण गराउने ?
नन्दलाल आचार्य
तपेश्वरी–१, उदयपुर ।
हाल : श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६
