हिजो आमाहरू अँध्यारो कुवाँबाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुशताको शासनभित्र
कतिन्जेल सीमित रहला
परम्मरा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शिरै माथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरी को जमिन जस्तो
चरचर सुकेको मुखमा
अर्ज्ञानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्रलाई कुल्चिएका
पाउ भिजेको
पानीले मुख भिजाउदा
सन्तुष्टिकोभन्दा मुक्तिको
महसुस गर्थे।
मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइरहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकार भित्र
जसरी
निसास्सिरहेका थिए
म मेरी मनमायालाई भन्ने छु
किताब भित्र लेखिएका स्वतन्त्रता र
नारिका हकका मन्त्रहरू
पढेर नबस
उठ अनि भत्काउ
ती नारिका नाममा लगाइएका बारहरू
च्यात ती काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर विजयको शंखघोष
हिजो हाम्री आमाहरू
जुन
हैकमि आदेश भित्र पेलिएर
आफ्ना इच्छा चाहनालाई
मन भित्रै कुन्ठाएर पाल्नु परेको थियो
धर्मको नाममा नारीलाई बन्देज बनाएर
जौ,तिलसँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्नेहरू
शासक र सामन्तिहरूको
मगज परिवर्तन गर्न
आज तिमीले क्रान्ति गर्न
जरुरी छ मनमाया
हो मनमाया
तिमीले नयाँ ईतिहाँस कोर्नु छ
सदियौ देखि
दबिएर बस्न अभिशप्त मेरी आमाहरूका
इच्छा,आकाङछा पुरा गर्न
जुन अभिभारा तिमीलाई सुम्पेको छु
त्यो समाजका कैयौ छोरिहरूको
उन्मुक्तिको बाटो बन्नेछ
भोलि बन्ने कैयौ आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहाँसको पानाभरि
ठुला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारी मनमाया
रामकृष्ण अनायास
कविडाँडा
