कोही युद्ध लड्दा लड्दै मरेर वीर बन्छन्
कोही युद्धहरू जितेर वीर बन्छन्
तर
सामान्य जुलुस र आन्दोलन त धेरै परको कुरा
जाबो मान्छेको एक हुल देख्दा पनि
एउटा मृगले एक हुल सिंह देखे झैं गरी
कुलेलम ठोक्ने म जस्ता कयौं कायरहरूले पनि
कहिलेकाहीं आफैंलाई आफैंले
वीर नेपाली भनिरहेको सुन्दा
शरीरका छाला अनि हड्डीहरू छिचोलेर
भित्र मांसपेशी देखि नै
काउकुती लागेर आउँछ l
तर पनि
म हाँस्न सक्दिन
किनकि म पनि उनीहरू जस्तै
जन्मदै वीर नेपालीको
पगरी गुथेरै जन्मिएको थिएँ l
सायद,आत्म समर्पण गर्दा गद्दार र कायर
हुने डरले मृत्यु स्वीकार्दै
सिफलको रुखमा झुण्डिएका
गंगालाल दाजुहरूलाई म के भनुँ
वीर कि कायर ?
एउटा मूर्खको अगाडि
धरहराको टुप्पोबाट हाम्फाल्न नडराउने
जंग बहादुरहरूलाई म के भनुँ
वीर कि कायर ?
एउटा बिदेशी राजा
दुर्गम अनि गरिब बस्तीहरूमा
निर्बाधरुपले आश्वासन र सहानुभूतिका
शब्दरुपी मलमहरू बाँड्दै-बाँड्दै हिंड्न सक्छ
तर
खै ? किन हो कुन्नि
काठमाडौँको खाल्डो नाघ्नै डराउने
पुराना रैथाने वा नयाँ राजाहरूलाई म के भनुँ,
स्कुल छुट्टी भइसकेपछि
साथीहरूले पिट्ने डरले
मम्मीको पछि लुक्दै लुक्दै घर आइपुगेर
ठूलो श्वास फेर्दै,
मलाई मेरो छोराले सोध्छ
बाबा ! म पनि वीर नेपाली नि ?
अब उसलाई म के भनुँ
वीर कि कायर ?
त्यसैले त,
कहिलेकाहीं एकान्तमा
माथि शून्य आकाशतिर फर्कदै सोध्न मन लग्छ
तिनै वलभद्र र भक्तिहरूलाई
हे ! वीर हो
अँझै कति वर्ष या शताब्दीसम्म
तिमीहरूको बीरताको शुक्रकीटले
नेपाली आमाहरूको पाठेघर
कब्जा गरिरहन्छ हँ !
—वसन्त दहाल—
