बैठकमा विभिन्न विधाका प्रतिनिधिहरू विधान लेख्ने मूल विषयमा छलफल गर्न नै उपस्थित भएका थिए तर बैठक प्रारम्भ हुनुभन्दा अगाडि नै अर्को विषयले शिर उठायो । विधान लेख्ने कुरामा बहस हुनु त कता हो कता लेख्नको लागि वितरित कापी सबैले नपाएका र पाउनेहरू समेतमा पनि वितरित कापीको स्तरमा विभेद गरिएको भन्दै बैठकस्थलभित्रै चर्को विवाद उठ्यो । फलतः विषय प्रवेश विना नै बैठक सर्यो ।
दोस्रो बैठकमा आउँदा सबैले विधान लेख्न छिटै सर्वसम्मतिमा आउनु पर्ने कुरामा जोड दिए । बैठकका केही असन्तुष्ट सहभागीहरूले विषयलाई फेरि अन्तै मोड्न खोजे । महँगो धानका चामलको भात खाई टन्न अघाउनेहरूले दुई छाकै खान नपुग्नेहरूको भोकलाई पहिलो सम्बोधन गर्नुपर्छ भन्दै उनीहरूले यो धान मुद्दा तेर्स्याए । त्यति मात्र नभै उनीहरूले आफ्नो कुरा लागु नभएसम्म विधान लेख्न नदिने मात्र हैन अन्य सहभागीहरूलाई भित्र प्रवेश नै गर्न नदिने पनि बताए ।
यस्तो तालले विधान लेख्न नसकिने पक्कापक्की जस्तै देखियो । समय वित्नु अगाडि नै सामूहिक सहमतिवाट एउटा टुँगोमा पुग्नु पर्ने चौतर्फी दवाब बढ्न थालेपछि पुनः बैठक बस्ने भयो । विधान लेख्ने कार्यमा आम सहमति हुन नसकेर पटक पटक विषयवस्तु मूल विषयभन्दा बाहिर गै लेख्न नसकिरहेको परिप्रेक्षमा यो बैठकमा सबैले असहमतिबीच पनि एउटा सहमति गरे … नलेख्ने ।
