नेपाली मुस्लिमको इतिहास खोतल्दा


नेपाल एशिया महादेशको माझमा रहेको हिमालको काँखमा उत्तर चीन र दक्षिण भारतको बीचमा परापूर्व कालदेखि अस्तित्वमा रहेको छ । अन्तरिम संविधान, २०६३ को धारा ४ अनुसार “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो” । धारा ३ अनुसार “यस राज्यमा रहेका वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, विशेषतायुक्त समान आकाङ्क्षा राख्ने नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।” संविधानसभाले प्रस्ताव पारित गरी सङ्घीयता र गणतन्त्रलाई राज्यको परिचयमा गाँसेको छ । यहाँ हिन्दु,बौद्ध,इस्लाम, लिम्बू, सिख, किरात, प्राकृत आदि धर्मावलम्बीहरु पाइन्छन् । साथै कुनै पनि धर्म नमान्ने र सबै धर्मप्रति तटस्थ रहने धर्म निरपेक्षवादीहरु पनि नेपालमा रहेका छन् । लगभग साढे ३ करोड जनसङ्ख्या भएको देश नेपालमा पाइने विभिन्न समुदायहरुमध्ये मुस्लिम समुदाय पनि एक हो । यो मूलतः धार्मिक समुदाय हो ।

मुस्लिम समुदाय नेपाल नाम गरेको देश नै नभए बेलादेखि हालको नेपालमा बसोबास गर्दै आएको लामो इतिहास बोकेको समुदाय हो । बाइसेचौबीसे गणराज्यहरुमा विभाजित रहेका बेलादेखि नै नेपालको सीमानाभित्र हजारौंहजार वर्षदेखि मुस्लिम समुदाय बसोबास गर्दै आइरहेको छ । मुस्लिम समुदायका अगुवाहरु,विभिन्न संघ संस्था तथा स्वतन्त्र अध्ययन कत्र्ताहरुले भन्ने गरेका छन् कि नेपालमा मुस्लिमहरुको जनसङ्ख्या २५ लाखको हाराहारीमा रहेका अनुमान गर्दछन् । मुस्लिमहरुको जनसङ्ख्या केन्द्रीय तथ्याङ्क विभागमा रहेको २०६८ को तथ्याङ्कअनुसार नेपालको ७५मध्ये ७३ जिल्लाहरुमा उपस्थिति रहेको पाइन्छ । यो तथ्याङ्कअनुसार मात्र दुई जिल्ला मनाङ र मुस्ताङमा बसोबास भएको देखिदैन । तर केन्द्रीय तथ्याङ्क विभागको २०५८ सालको जनगणामा मुस्लिम समुदायको बसोबास नेपालको ७५वटै जिल्लामा देखाएको थियो । पछि २०६८ सालको जनगणनाले दुईवटा जिल्लामा नभएको देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको तथ्याङ्क आफैमा शुद्ध छैन । मुस्लिम समुदायभित्र पनि मुस्लिमहरुको अलगअलग पेशा छ, सोही पेशाको अधारमा अलगअलग पहिचान बोकेका छन् । जस्तै: बढई, हजाम, देवान, कसाई (चिकवा), धुनिया, हलवाई, रङ्गरेज, धोबी, पथरकट्ट, चुरौटे (चुरिहार) सकर्मी, डकर्मी दर्जी, नट आदिलाई अलगअलग राखी देखाएका कारणले पनि मुस्लिम समुदायको जनसंख्या कम देखिएको पाइन्छ । यो समुदायलाई नेपालको उत्पत्तिसँगै सत्तामा रहेका यहाँका सत्ताधारी पक्षले हिन्दुत्वादका नाममा सधैभरिका लागि धार्मिक, सांस्कृतिक, समाजिक, आर्थिक र राजनीतिक लगायतका हक, अधिकारबाट बञ्चित गराउँदै आइरहेको इतिहास साक्षी छ ।

पेशा–व्यवसायको दृष्टिले तराइका जिल्लाहरुमा मुस्लिमहरु कृषि पेसासँग जोडिएता पनि अधिकांश मुस्लिमहरु व्यापार व्यवसायमा केन्द्रित रहेका देखिन्छन् । परन्तु, नेपालमा पुँजीवादको विकास नभएको र अद्र्धसामन्ती र नवऔपनिवेशिक स्थितिका कारणले औद्योगिक पुँजीको विकास भएको छैन । वाणिज्य क्षेत्र उपभोक्तावादी बजारमा परिणत भएको छ । त्यसले गर्दा उद्योग वाणिज्य क्षेत्र फस्टाउन सकिरहेको छैन । बरु परम्परागत व्यापारमा सीमित रहन विवश छ । यसको मर्का मुस्लिम समुदायमाथि पनि पर्दै आएको छ । यसरी मुस्लिम समुदायको आर्थिक जीवन गरीबी र दरिद्रताको बीचबाट गुज्रिइरहेको छ । उर्दू मातृ भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । खस नेपाली भाषालाई मात्र अनिवार्य बनाइएकाले शिक्षाबाट मुस्लिम समुदाय बञ्चित हुँदै आएको छ । यहाँको शासन व्यवस्थालाई हेर्ने हो भने नेपाल कागजी रुपमा धर्मनिरपेक्ष गणतन्त्रात्मक देश घोषणा भएको छ । तर अहिले पनि पुरानै शैलीमा हिन्दुत्वादलाई नै बढावा दिइएको पाइन्छ । त्यसकारण मुस्लिम समुदाय लगायत अन्यमाथि धार्मिक भेदभाव, हेलाहोचो, अपहेलनाका साथै र सिङ्गो मुस्लिम समुदायमाथि नै अपमान र दुव्र्यवहार गर्ने चिन्तन र संस्कारहरुलाई बढावा दिइएको पाइन्छ । समग्रमा नेपालमा मुस्लिम समुदायलाई अपमानित जीवन बिताउन विवश तुल्याइएको छ ।

वि.सं. ८४० सालतिर मल्लकालमा नेपालको व्यापारिक सम्बन्ध अरबसँग थियो । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गरिन्थ्यो । यद्यपि त्यतिबेला तात्कालीन मल्ल राज्यमा मुस्लिमको बसोबास रहेको भेटिदैन । नेपालमा (तत्कालीन मल्ल राज्यमा) मुस्लिमहरूको प्रवेशका बारेमा खोजी गर्दा अरबी ग्रन्थ “हूदुद अल् आलम” (सन् ७८३) मा “अरबमा नेपालबाट कस्तुरी पठाइन्थ्यो” भन्ने उल्लेख गरिएको पाइन्छ । अरब देशहरूमा मल्ल राज्यबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको कुरा पनि उक्त किताबमा उल्लेख गरिएको छ । लिच्छवी वंशका राजा अंशुवर्माको टिष्टुङ्गको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी, कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्दथ्यो भन्ने उल्लेख गरिएको पाइन्छ ।

हामी सबैलाई थाह भएकै कुरा हो कि नेपाल भन्ने चलन मल्ल राजाहरुको राज्य कान्तिपुर, ललितपुर र भक्तपुर (भादगाउँ) रहेको हालको काठमाडांै उपत्यका खाल्डोलाई मात्रै भन्ने चलन थियो । नेपाली मुस्लिमहरुको इतिहासलाई खोतल्दा खाली यहाँका राजारजौटाहरुले आफ्नो शासनसत्ता सञ्चालन गर्नका लागि प्रयोग गरिएका मुस्लिमहरुको इतिहास मात्र यहाँका सत्ता संग नजिकरहेका खसब्राह्मणहरुले लेखको छन् । राजारजौटाहरुबाट टाढा रहेका मुस्लिमहरुको इतिहास लेखेनन् । त्यसैले हालको तराई ईलाकाका मुस्लिमहरुको इतिहास नेपालको इतिहासमा भेटिदैन ।

नेपालमा मुस्लिमहरू सर्वप्रथम सन् १३२४ नोभेम्बर (वि.सं. १३८१ साल) मा प्रवेश गरेको ऐतिहासिक प्रमाण प्राप्त छ । गयासुद्दिन तुगलक बङ्गालबाट दिल्ली फर्कदा तिरहुतबाट फर्केका थिए । त्यतिबेला नेपालको तराई प्रदेशमा सिम्रौनगढ स्वतन्त्र राज्य थियो । गयासुद्दिन तुगलकले सिम्रौनगढमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणको ठीक २५ वर्षपछि सन् १४४९ (वि.सं. १४०६) मा बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले नेपालमाथि आक्रमण गरे । यो आक्रमणको पहिलो असर मल्ल राजाहरूको राजधानी भक्तपुरमाथि पर्यो । त्यसपछि मुस्लिमहरू क्रमशः कान्तिपुर र ललितपुरतर्फ बढे । उनीहरु ७ दिनसम्म काठमाडौं उपत्यकामा बसेको बताइन्छ ।२ आक्रमणको एउटै लक्ष्य थियो– यहाँका राजा महाराजाहरुको मृत्य हुँदा उनका ८/१० वटी महारानीहरु राजासँगै सती जानुपर्ने धार्मिक प्रथालाई तोड्नु थियो । यसका लागि बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले आक्रमण गरेको बताइन्छ । त्यसपछि सतीप्रथा तोड्न यहाँका राजामहाराजा राजी भए र बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले काठमाडांै छाडेर गएको देखिन्छ । उनका सेनाका केही जवानहरु यहाँ रहेर मल्ल राजाका सेनालाई प्रशिक्षण दिने गरेका इतिहास भेटिन्छ ।

त्यस पछिका राजा जयस्थिति मल्लले नेपालमा अनेकौं सुधारहरू र विशेषतः प्रशासनिक सुधारको मुख्य आधार मुस्लिम शासकको सुझावलाई बनाएका थिए । मल्ल शासकहरू मुस्लिम संस्कृति र परम्पराबाट निकै प्रभावित भएका देखिन्छन् । उनीहरूले लगाएका वस्त्रहरू र उनीहरूले प्रयोग गरेका देवान, बक्सी, काजी, सरदार, उमराव, कोतवाल, अदालत, फैसला, मिसिल आदि प्रशासनिक शब्दहरूबाट पनि यो कुरा प्रष्ट हुन्छ । यहाँसम्म कि बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले जुनबेला कान्तिपुरमाथि आक्रमण गरेका थिए, यहाँका धेरैजसो मठमन्दिरहरुलाई उनका सेनाले भत्काएका थिए । तर पछि यहाँका राजारजौटाहरुको अनुरोधमा उनले आफ्नै केही कारिगरहरु पठाई पशुपतिनाथ लगातका मन्दिरहरु समेतलाई मुस्लिम कारिगरहरुबाट पुनः निर्माण गर्न लागाएको इतिहास पाइन्छ । यसको साथै जनकपुरको जानकी मन्दिरसमेत मुस्लिम कारिगरहरुले निर्माण गरेको पाइन्छ । यसको प्रमाणस्वरुप जानकी मन्दिर अगाडि मन्दिर बनाउनुभन्दा पहिला मुस्लिम कारिगरहरुले आफूले नमाज पढ्नका लागि मन्दिरको अगाडि नै मस्जिद निर्माण गरेका थिए । मस्जिद अहिले पनि त्यहाँ छ ।

मुस्लिम शासक हुमायुका समयमा कान्तिपुरका राजा महिन्द्र मल्ल दिल्ली गई नेपालमा स्वतन्त्र टक छाप्ने अनुमति समेत मागेका थिए । १३औं देखि १६औं शताब्दीसम्म नेपालमा मुस्लिम शासकहरूको मुद्रा प्रचलित थियो । ती मुद्राहरू आज पनि नेपालको पशुपतिनाथको ढुकुटीमा रहेको आशङ्का मुद्रा विशेषज्ञहरूले व्यक्त गर्ने गरेका छन् । महिन्द्र मल्ल दिल्लीका सम्राट हुमायुलाई भेट्न जाँदा उनलाई चाँदीका सिक्काहरू बनाउन सम्राट हुमायुले स्वीकृति दिएका थिए । ती टक चाँदीका हुन्थे, जसलाई “महिन्द्र मल्ली” भनेर चिनिन्थ्यो । टकको एकातिर आफ्नो नाम र अर्कातिर बङ्गालका शासकको नाम एवम् छाप कुँदिएको हुन्थ्यो । यसैगरी ललितपुर र भक्तपुर (भादगाउँ)का शासकहरूले पनि मुस्लिम शासकहरूसँग इजाजत लिएर टक चलाएका थिए ।४
पाल्पा र मकवानपुरका राजा स्वतन्त्र भएर पनि अवधका नबावको जमिन्दारी गरेका प्रमाणहरू पाइन्छन् । राजा प्रताप मल्लको हनुमानढोकाको शिलालेख उर्दू लिपिमा लेखाएको पाइन्छ ।

चौबीसे राज्य पर्वत, गुल्मी र गल्कोटका राजाहरुले मुस्लिम लिपि कुँदिएका चोखूँडे मुद्रा चलनचल्तीमा ल्याएका थिए । ती मुद्राहरूलाई प्रस्रवपीडा कम गराउने लोकधारणाको रूपमा स्वीकार गरी अद्यावधि त्यसको संरक्षण गरिएको पाइन्छ । शाके १६९९ मा पर्वतका राजा कीर्तिबम मल्लले आफ्ना गुरूलाई दिएको ताम्रपत्रमा उर्दू मोहरको गहकिलो छाप कुँदी दिएका थिए ।

तिब्बतमा काश्मिरी व्यापारीहरूको पनि गहिरो प्रभाव थियो । ती व्यापारीहरूबाट नेपालीहरू पनि आकृष्ट थिए । मल्ल राजाहरू त काश्मिरी वस्तु भनेपछि हुरूक्कै हुन्थे । तसर्थ, उपत्यकाका राजाहरूको सहानुभूति काश्मिरी व्यापारीहरूप्रति थियो । राजा रत्न मल्लले तिब्बतबाट व्यापारमा सिपालु काश्मिरीहरूलाई नेपाल बोलाएका थिए । उनीहरू प्रायः रेशम, मलमल, ढाका, जुत्ता, गहना, अत्तर तथा लेपन र श्रृङ्गारका सामाग्रीहरूको व्यापार गर्दथे । नेपालमा बसोबास गर्ने हिसाबले मुस्लिमहरूको प्रवेश सन् १४९१ देखि १५०१ (वि.सं. १५४८ देखि १५५८) भित्र भएको अनुमान गरिएको छ । कान्तिपुरमा रत्न मल्लले नेपालमा मुस्लिमहरू व्यापार गर्नेगराउने उद्देश्यले मुस्लिमहरुलाई बसोबास गर्ने अनुमति दिएका थिए । रत्न मल्लले नेपाल खाल्डोबाट खराब आत्माहरूलाई भगाउन, श्रृङ्गारका सामानहरु बेच्न र हाकिमी औषधी उपचार गर्न पनि मुस्लिमहरूलाई बसोबास गर्न आग्रह गरेका थिए । यसैगरी हतियार बनाउन र सैनिक प्रशिक्षण दिनका लागि पनि मुस्लिमहरुलाई बोलाएका थिए । राजा रत्न मल्लले मुस्लिमहरूलाई नेपालमा केही सुविधाका साथ कोठी (पसल) खोल्ने इजाजत पनि दिएका थिए ।

काश्मिरी मुस्लिम व्यापारीहरूले पनि नेपालमा व्यापारको सुरूआत गर्न थालेका थिए । उनीहरू नेपालका सामानहरू लद्दाखको बाटो गरी तिब्बत लगेर बेच्दथे । रत्न मल्लले उनीहरूबाट नेपाललाई फाइदा हुने देखेर नेपाल (तत्कालीन मल्ल राज्य)मा नै बसोबास गर्न अनुरोध गरी यहीं राखेका थिए । ती व्यापारीहरूलाई सुविधास्वरूप नेपालको बाटोबाट तिब्बत जान र व्यापार गर्न छुट दिइएको थियो । राजा रत्न मल्लको समयमा भएको मुस्लिमहरूको प्रवेशले नेपालमा निम्नानुसार फाइदा हुन भएको थियोः
(१) नेपाली सामानहरू काश्मिरमा र काश्मिरी सामानहरू नेपालमा पाइनु ।
(२) तिब्बत र नेपालबीचको व्यापारमा बृद्धि हुनु ।
(३) नेपालको सम्बन्ध सिधा काश्मिर र तिब्बतसँग हुनु ।
(४) नेपाली सामानहरू काश्मिरमा निर्यात र काश्मिरी सामान नेपालमा आयात हुनु ।
(५) इस्लामिक रितिरिवाज, चालचलन, कला र संस्कृतिहरू गैरमुस्लिमहरूले जान्ने र बुझ्ने मौका पाउनु ।

नेपाल आई बसेका मुसलमानहरू नेपालमा भूतप्रेत भगाउने, मन्साउने र साधरण किसिमका औषधिउपचार पनि गर्ने गर्दथे । त्यसपछि उनीहरूले श्रृङ्गारका सामानहरू पनि बेच्न थाले । यी सबै कार्यहरूले गर्दा उनीहरू नेपाली समाजमा लोकप्रिय र अन्तरघुलन हुँदै गए ।

उदाहरणका लागि यसैमध्ये काठमाडौंको सुनधारा छेउँमा धरहराको पश्चिम फेदमा लस्करै टहराहरु छन् । त्यहाँ मुस्लिम समुदायको मस्जिद पनि छ । यो जमिन मुस्लिमहरुको थिएन, तर भोग गर्ने अधिकारचाहिं छ । नक्सामा यो जग्गाको ठेगाना यस्तो छ– काठमाडौं महानगरपालिका वडा नं. २२ को कित्ता नम्बर ५२ को ६ आना १ पैसा २ दाम । झण्डै ७१ वर्ष अघि २००० चैत ११ गते तात्कालीन श्री ३ राणा सरकारले भारतदेखि केही राँगा, खसी र बोका समेतको व्यापार गर्न आएका मुस्लिमहरुलाई नेपाली सेनालाई मासु काटेर पुर्याउनका लागि यो जग्गामा बसी भोग चलन गर्न अनुमति प्रदान गरेको र निजहरु बसोबास गरेसम्म उठाउन नपाइने र बहाल पनि नलिने गरी खड्क निशाना छाप लगाई दिएको देखिन्छ । जुन खड्क निशाना अहिले पनि यी मुस्लिमहरुको नातिपनातिसँग सुरक्षितै छ । तर अहिले एउटा विपत्ति तीमाथि थुप्रिएको छ । त्यो जग्गा मेरो हो भन्ने अर्को व्यक्ति निस्किएको छ । सर्वोच्च अदालतले फैसला गरिदिएको छ– ‘तिमीहरु उठेर जाऊ’ । मुस्लिमलाई थाह छ कि यो जग्गा उनीहरुको होइन । साथै, उनीहरुलाई यो पनि थाह छ कि यो जग्गा अरु कुनै व्यक्तिको पनि होइन । बरु सरकारको हो । तर सिनेमामा एक्कासी उड्दै आएको पात्रजस्तै कहाँबाट रातारात आइपुग्यो तेस्रो मान्छे र डिल्ली बजार मालपोत कार्यालयको हाकिमको मिलेमतोमा त्यो सार्वजनिक जग्गा आफ्नो नाममा बनायो ? जबकि २०३७ साल असार १४ गते यो जग्गा सरकारले आफ्नो नाममा अस्थायी समेत दर्ता गराएको छ । यो जग्गा हडप्ने उपक्रम सुरु भएको थियो– ३१ वर्षअघि । त्यसका योजनाकार थिए– नरेन्द्रविक्रम राणा । उनले २०३९ चैत्र २४ गते मालपोत कार्यालय डिल्लीबजारमा उक्त जग्गा दर्ता गरिपाऊँ भनी निवेदन दिएका थिए । मालपोतले २०४६ जेठ १८ गते उनको निवेदन खारेज गरी चित्त नबुझे अदालत जानु भनेको थियो । । धरहराको फेद वरिपरिको त्यो जमिन र राणाबीच सुदुर क्षितिजसम्मको पनि नाता थिएन र छैन । मालपोतले निवेदन रद्द गर्नैपथ्र्यो, गरिदियो । तर यहाँनेर कानुनको ९ सिङ्मध्येको एउटा कपटपूर्ण र मायावी सिङले हानेर सत्य र न्यायको ज्यानै लिएको छ । मुद्दामामलाको फैसला गर्दा प्रतिवादीलाई प्रतिरक्षाको मौका दिनु सामान्य र सर्वमान्य कानुनी सिद्धान्त हो । फैसलामा यसको पालना नभए त्यो माथिल्लो अदालतले उल्टी गराउन सक्छ । कानूनको यही यान्त्रिक व्यवस्थाले नेपालका सारा सार्वजनिक जग्गा भूमाफियाहरुको हातमा पुगेको छ । राणाको निवेदन मालपोतले दर्ता भएकै दिन खारेज गर्न सक्थ्यो । जसको जुन कुरामा हक पुग्छ, त्यसले त्यसै कुरामा मात्रै मुद्दा दिन पाउँछ भन्ने व्यवस्था जङ्गबहादुर राणाले उहिल्यै बनाएको मुलुकी ऐनमा थियो, जो अद्यावधि छदंैछ । त्यस हिसाबले राणाको त्यो निवेदन दर्ता नै नगर्नुपथ्र्यो तर मालपोतले गरिदियो । अनि ७ वर्षपछि दर्ता गर्न मिल्दैन भनि दियो । झट्टहेर्दा अर्धन्यायिक निकाय मालपोतको निर्णय ठीकै देखिन्छ, तर उसले राणालाई सोझै पुनरावेदन अदालत जाने मौका दियो । राणाले भन्ने मौका पाए, मैले प्रतिरक्षा नै गर्न नपाई मालपोतले फैसला गरिदियो, त्यो बदर गरिपाऊँ भनी निवेदन गरे । पुनरावेदन अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद सिंहले २०५२ कार्तिक २२ गते फैसला गरे– ‘राणाको नाममा उक्त जग्गा दर्ता गरिदिनू’ । प्रतिरक्षाको मौका नपाएकाले राणाको नाममा दर्ता गर्दिन भन्ने मालपोतको निर्णय बदर हुन्छ भन्ने सिंह महोदयको फैसलाले उक्त अमूल्य सरकारी जग्गा राणाको पोल्टामा पर्यो । यहाँ मुस्लिमहरुको धर्मिक मर्मसँग जोडिएको मस्जिद छ, त्यसलाई समेत यहाँका सरकार र सरकारमा बसेका गैर मुस्लिमहरुले हेक्कासम्म राखेका छैनन् । मुस्लिमहरुले सदियौंदेखि आर्जेको र मस्जिदसमेत् भएको जग्गालाई नेपालको सर्वोच्च निकाय सर्वोच्चअदालतले व्यक्तिको नाममा नियोजित तरिकाले पुर्याइ दिएको अवस्था छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि त्यहिँ ठाउँमा मन्दिर भएको भए कसैले यस्तो गर्ने आँटसम्म गर्दैन थियो । तर मस्जिद भएका कारण हिन्दूवादले यो सबै षड्यन्त्र गराएको हो कि ? । यसबाट हामी सबै सचेत हुनु जरुरी छ । यहाँका राजारजौटाहरुले मुस्लिमहरुसँग सहयोग लिएको पाइन्छ । मुस्लिमहरु नेपालमा आएको इतिहास पाइन्छ ।७ कान्तिपुर दैनिकको २०६९ साल असोज ११ गतेको अङ्कमा घनश्याम खड्काको लेख “कहाँ गयो जमिन ?” भन्ने शीर्षकको लेखवाट केही अंश उद्धृत गरी लेखेको हो । यसवाट के प्रष्ट हुन्छभने मुस्लिमहरुले यहाको राजरजौटाहरु सगँ प्रपूर्वकालदेखि सम्बन्ध राखदैआएको इतिहास आफै बोलिरहेको छ ।

नेपालमा बसोबास गर्ने हिसाबले मुसलमानहरूको हिन्दुस्तानी जत्था राजा प्रताप मल्लको समयमा पनि नेपाल आएको थियो । यसैगरी राजा भाष्कर मल्लको पालामा पनि मुस्लिमहरु नेपाल प्रवेश गरेका थिए । मल्ल कालमा मुस्लिमहरूले दरबारियाको रूपमा पनि काम गरेका थिए । भाष्कर मल्लको समयमा मुसलमानहरूको प्रभाव नेपालको राजदरबारभित्र चरम रूपमा परेको थियो । उनले आफ्नो एकजना मुख्य व्यक्ति भागल ठाकुरलाई दरबारबाट निकाली उनको ठाउँमा एक जना मुसलमानलाई राखे । तर नेवार र खसहरूले उनको विरुद्ध षड्यन्त्र रची बाहिरका मुसलमानहरूलाई पिट्ने, दुःख दिने आदि गर्न थालेपछि भास्कर मल्लले पुनः भागल ठाकुरलाई नै उक्त पदमा पुनस्र्थापना गर्नु परेको थियो । नेपालको बाईसे र चौंबीसे राज्यहरूमा नेपाली सैनिकहरूलाई हातहतियारको प्रशिक्षण दिन भारतबाट मुस्लिमहरू बोलाइएको थियो । मध्यकालीन नेपालमा अफगानिस्तान र टर्कीबाट घोडाको व्यापार गर्न आएका मुस्लिम व्यापारीहरू पनि यहाँ आएर बसोबास गरेका थिए । ८
अस्थिर राजनीतिबाट सुरक्षित हुन राजा जयप्रकाश मल्लले अंग्रेजहरूसँग मैत्री सम्बन्ध बढाउन श्रेयस्कर ठाने । त्यस क्रममा पनि मुसलमानहरूको नेपालमा प्रवेश हुन गयो । यसको मूल कारण गोरखाको बढ्दो विस्तार नीतिले उनलाई विषम परिस्थितिको सामना गर्ने ताकत प्राप्त गर्न खोज्नु थियो । जयप्रकाश मल्लले भारतबाट आएका मुसलमान व्यापारीहरूलाई हातमा लिई भारतमा शक्तिशाली बनेका अंग्रेजहरूलाई पनि हातमा लिन खोजेका थिए । अंग्रेजहरूको सहायता प्राप्त गर्न आवश्यक कुराकानी गर्नका निम्ति जयप्रकाश मल्लले एक उमराव नाम गरेका मुस्लिम फकिरलाई बेतिया पठाएका थिए ।

ललितपुरमा भने उनीहरू सिद्धिनरसिंह मल्लका समयमा प्रवेश गरी पसलहरू खोलेर बसेका थिए । सिद्धिनरसिंह मल्ल र गोरखाका राजा राम शाहका बीच व्यापारिक र राजनीतिक सन्धि भएपछि ललितपुरबाट केही मुसलमानहरू गोरखामा प्रवेश गरेका हुन् । राजा रामशाह (वि.सं. १६१६) ले दिल्लीका मुगल सम्राट जहाँगिरको दरबारमा आफ्ना उच्च भारदारहरूको एक प्रतिनिधि मण्डल पठाएका थिए । त्यसपछि मुगल सम्राट जहाँगिरले गोरखालाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिए । केही मुस्लिमहरूलाई राम शाहले दिल्लीबाट ल्याएर गोरखामा बसोबास गराएका थिए । गोला एवम् बारुद बनाउन, गोरखाली फौजलाई हतियार प्रशिक्षण दिन, बन्दुक बनाउन र तोप ढाल्ने उद्देश्यका लागि मुस्लिमहरूलाई गोरखा ल्याई बसोबास गराइएको थियो ।
भारतका मुगल सम्राट औरङ्गजेबका समयमा तनहुँका राजा दामोदर सेनले उनीसँग सम्बन्ध बढाए । उनले केही मुसलमानहरूलाई तनहुँको पुरकोटमा बस्ने अनुमति प्रदान गरेका थिए । पाल्पामा पनि मुस्लिमहरू भारतको अवधबाट आएर बसोबास गरेको पाइन्छ । पाल्पाका राजा मुकुन्द सेनको पालामा दिल्लीका मुगल सम्राटसित राम्रो सम्बन्ध थियो । अवध राज्यसँग पाल्पाको राजनीतिक र व्यापारिक सम्बन्ध थियो । पाल्पाका शासक मुकुन्द सेन द्वितीय र उनका छोरा महादत्त सेनको अवधका नवाब वजिर उदुल्लाहसँग राम्रो सम्बन्ध थियो । उनीहरु नवाव बजिर उदुल्लाहका प्रियपात्र थिए । महादत्त सेनका कान्छा छोरा लङ्गडा भए पनि उनी सफल निशानबाज र राम्रो शिकारी भएको कारणले ती अवधका नवावसँग राम्रो सम्बन्ध कायम हुन पुगेको थियो । यसले गर्दा ती वजीरले उनलाई “नादिर शाह” भन्ने उपाधिसमेत दिएका थिए ।

उता मकवानपुरका शासक र बङ्गालका शासक नवाब मिर काशिमकाबीच ज्यादै राम्रो सम्बन्ध थियो । त्यसैले पृथ्वीनारायण शाहले मकवानपुरमाथि आक्रमण गर्दा मिरकाशिमले गुर्गिन खाँको नेतृत्वमा हतियारले सुसज्जित फौज पठाई मकवानपुरलाई सहयोग गरेका थिए । नुवाकोटका राजा कुल मण्डन खाँसँग दिल्लीका सम्राट प्रसन्न भएकाले उनलाई “शाह” भन्ने उपाधि दिएका थिए । यसले गर्दा कुलमण्डन खाँबाट शाह बनेको इतिहास रहेको भेटिन्छ । कुलमण्डल शाह पछिका उनका वंशका राजाहरुले आफ्नो नामको पछाडि “शाह” उपाधि जोड्दै आइरहेका छन् ।

पृथ्वीनारायण शाहले वि.सं. १७९९ सालपछि नेपाल एकीकरणको कार्य सुरु गर्दा पनि मुसलमानहरूको ठूलो सहयोग पाएका थिए । गोरखामा हातहतियार बनाउने कार्यमा शेख बज्जर, मुहम्मद बाँकीको ठूलो भूमिका रहेको थियो । पृथ्वीनारायण शाहले उपत्यका वरिपरि आर्थिक नाकाबन्दी सञ्चालन गर्दा तिब्बतसँग काश्मिरी मुसलमानहरूले सञ्चालन गरिरहेको व्यापार बन्द हुन गयो ।यसबाट काश्मिरी मुसलमानहरू नरिसाऊन् भन्नाका खातिर सन् १७६५ (१८२२ वि.सं.) मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भन्ने काश्मिरी मुसलमान व्यापारीलाई चिठ्ठी लेखी काठमाडौं उपत्यकामाथि विजय गरेपछि उनीहरूलाई घरजमिन दिई पुनः व्यापार सञ्चालन गर्न दिने वचन दिएका थिए ।

राजा पृथ्वीनारायण शाहले सन् १७७९ (१८३६ वि.सं.) मा मोजाम्जीलाई उक्त घर जग्गा फिर्ता दिई आफ्नो वचन पूरा गरे । राजा पृथ्वीनारायण शाहले शाह मिस्कीन सनाउल्लाहलाई काश्मिरीहरूको बेग्लै मस्जिद स्थापना गर्ने अनुमति पनि दिए । उक्त मस्जिद बनेको ठाउँको जग्गा शाह मिस्किन सनाउल्लाहका पितालाई प्रताप मल्लले प्रदान गरेका थिए ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई सघाउन बन्दुक, गोला र बारूद बनाउन मुस्लिमहरूलाई जिम्मा दिइएको थियो । तर इतिहासकारहरूले राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा नेपाली मुस्लिमहरूले खेलेको भूमिका र बगाएको रगतको कहिंकतै पनि वर्णनसम्म गरेको देखिदैन । एकीकरण अभियानमा मुस्लिमहरूले बनाएका बन्दुकहरू आज पनि संग्रहालयहरूमा सुरक्षित छन् । संग्रहालयहरुमा पनि ती हतियारका निर्माणकर्ताहरूको नाम उल्लेख गरिएको देखिदैन । नेपालको एकीकरण पूर्व बाईसे र चौबीसे राज्यहरूमा पनि मुसलमानहरूको बसोबास भएको पाइएको छ ।

पृथ्वीनारायण शाहले नेपाल उपत्यका र नेपालको तराइका भूभागहरू विजय गर्दाको बेलादेखि नै बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु, रुपन्देही,बाँकेलगायतका जिल्लाहरुमा पहिलैदेखि ठूलो संख्यामा मुसलमानहरूको बसोबास रहेको थियो । ती क्षेत्रहरु लखनउका नवाबको अधीनमा रहेको र प्रत्येक वर्ष १२ सय रुपियाँ मुगल सम्राटलाई बुझाउने शर्तमा मकवानपुरका जमिनदारहरूलाई दिइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने नेपालको तराइ प्रदेशको धेरैजसो भूभागहरूमा मुस्लिम शासकहरुको अधिकार रहेको थियो ।

सुरक्षा र शरण प्राप्त गर्ने उद्देश्यले मुसलमानहरूको एउटा ठूलो समूह सन् १८५७ (वि.सं. १९१४) मा नेपाल प्रवेश गर्यो । त्यतिखेर जङ्गबहादुर राणा प्रधानमन्त्री थिए । उनले भारतका अङ्ग्रेज शासकहरूलाई नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने देखाउन कैयनलाई नेपालमा शरण दिए । यसरी शरण पाउनेहरूमा अवधकी वेगम हजरत महल र उनका छोरा वीरजिद क्रद मुख्य थिए । भनिन्छ, सन् १८५७ (वि.सं. १९१४) मा भारतको अवध प्रान्तमा लखनऊकी बेगम हजरत महलको नेतृत्वमा अङ्ग्रेजविरूद्ध जुन स्वतन्त्र सङ्ग्राम भएको थियो, त्यस गदर (जङ्ग) लाई साम्य पार्न जङ्गबहादुर राणा आफैं सेना लिएर अङ्ग्रेजहरूलाई मद्दत गर्न अवध प्रान्तमा गएका थिए । लखनऊको नवाबी शानशौकत देखेर जङ्गबहादुर राणा निकै प्रभावित भएका थिए । नेपाली जामे मस्जिद रहेको ठाउँ नजिकै शियाहरु ताजिया राख्ने गर्दथे । मुगल सम्राट बहादुर शाह जफरका इमाम मौलाना सरफराज अलि शाहले नेपाली जामे मस्जिद स्थापना गरेका थिए । हजरत महलको कब्रस्थान (समाधिस्थल) हालसम्म पनि नेपाली जामे मस्जिदको दक्षिणपट्टि सुरक्षित रहेको छ ।

राणाकालीन समयमा काठमाडौं उपत्यकामा आएका मुसलमानहरूलाई बसोबास गर्न बटुकटोल र भोटेबहाल नजिकै पर्ने “खि गल” भन्ने ठाउँ दिइएको थियो । हाल काठमाडौंमा रहेका काश्मिरी मस्जिद र नेपाली जामे मस्जिद वरिपरिको भूभाग, विद्युत प्राधिकरण, त्रिचन्द्र क्याम्पस र पहिले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रहेको जमलको जमिन पनि मुसलमानहरूकै थियो ।

घण्टाघर र त्रि–चन्द्र कलेज भएको स्थान मुस्लिमहरुको समाधिस्थल थियो । वीरशमशेर जबराको समयमा जमलको जमिन लिई बटुकको ठूलो जमिन दिइयो भने चन्द्रशमशेर जबराले त्रि–चन्द्र कलेज स्थापना गर्न उक्त जमिन लिई स्वयम्भूमा रहेको समाधिस्थल मुसलमानहरुलाई दिएका थिए ।

सन् १९५९ (वि.सं. २०१६) मा तिब्बत चीनको अधिनस्थ भूमि भएपछि तिब्बती मुस्लिमहरु नेपालमा प्रवेश गरेको देखिन्छ । लद्दाखबाट ब्यापारिक सिलसिलामा तिब्बत पुगी स्थायी रुपमा बसोबास गरेता पनि पुनः भारत सरकारले भारत फर्कन अनुनय गरेपछि यो समूह स्थायी बसोबास गर्न भारत फक्र्यो । यसै सिलसिलामा तिब्बतका धेरै मुसलमानहरु भारत फर्के र केही मुसलमानहरु नेपाल प्रवेश गरी काठमाडौंमा बासोबास गर्दै आइरहेका छन् । नेपाली र तिब्बती मुसलमानहरुका आफन्तहरु केही तिब्बत र केही भारतमा अध्यावधिक रहेको पाइन्छ ।

पृथ्वीनारायण शाहको उदयपछि नेपाली सेनामा मुसलमानहरूको प्रवेश भएको थियो । मुसलमानहरू स्वभावतः बन्दुक र तोपजस्ता हतियारहरू ढाल्न र बारूद बनाउन जान्दथे । नेपालमा सर्वप्रथम वि.सं. १७३३ मा लमजुङमा तोप ढालिएको तथ्य पाइएको छ । लमजुङ कालिकास्थानको कोटमा शाके १५९८ मा कुदिएका दुईवटा तोपहरू पाइएका छन् । यी तोपहरू कसले ढाले भन्न सकिएको छैन । यद्यपि लमजुङकै मानिसहरूले तोप ढालेका होलान् भन्न पनि गाह्रो छ । त्यसैले मुसलमानहरू बोलाइए होलान् भन्ने अड्कल गरिएको हो । गोरखा दरबारको रङ्गमहलमा पुरानो खालको एउटा तोप राखिएको छ । त्यस तोपको मुखतिरको भागमा एउटा अभिलेख पनि कुँदिएको छ । त्यसबेला पनि मुस्लिमहरुलाई ल्याइएको होला भन्ने अनुमान लगाउन सकिन्छ । काठमाडौंका राजा जयप्रकाश मल्लले बन्दुकको संग्रह गरिसक्दा पनि गोरखामा एक नाल बन्दुकसम्म नहुनु यसको अर्को प्रमाण हो । बन्दुक संग्रह गर्न यसलाई चलाउन तालिम दिन पृथ्वीनारायण शाहले मुसलमानहरूलाई बोलाई ल्याएको कुरा थाह हुन्छ ।
“जयप्रकाश मल्लका मत्लबलाई दक्षिणबाट नागा झिकाया र नेपालभित्र पस्न नदिई सात गाउँभित्र मिजाञा कासमल्ली खान् नवाफ् मकवानपुरमा चढ्यो र छबिस घोडाले काटी घरकाई सिवाना कटाई आञा । ३।४ पल्टन लिएर सिन्धूलीगढी हाँडि साहेव चढ्या वाही पनि काटी फटर काला च्याती ल्याञा र लषनौबाट तीन मुसलमान् मेरो चाकडीलाई नुवाकोटमा पिछागरी आयाका थिया । इनै बन्दुकको तूल कलायेत तिनै मुसलमानले जान्याको रहेछ र शेषजेबर, ममतकी, भेषर्सि तिनै जनालाई अजिटनी दिञा र तिलंगा सघायाको हो ।” पृथ्वीनरायण शाह….. ।

पृथ्वीनारायण शाहको यो भनाइबाट प्रमाणित हुन्छ कि सेनाको प्रशिक्षणका लागि मुस्लिमहरूलाई प्रयोग गरिएको थियो ।

पृथ्वीनारायण शाहले गोरखामा पत्थरकलाको अमल गर्न, तिरंगाको कला सिकाउन तीनजना मुसलमानद्वारा गोर्खाली सेनालाई प्रशिक्षण दिएका थिए । नेपाली सेनामा मुसलमानहरूको प्रवेश यही समयलाई मान्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहको शेषपछि पनि सेनामा मुसलमानहरू प्रतिनिधित्व कायमै रह्यो । वि.सं. १८७८ मा राजा राजेन्द्र वीरविक्रम शाहबाट मुसलमानलाई लालमोहर प्रदान गरिएको पाइएको छ । राजाका फर्माइसी तथा आतसबाजी बनाउने कार्यको जिम्मा मुसलमानहरूलाई दिइएको थियो । त्यस वापत् ती मुसलमानहरूलाई सेनामा अधिकारी सरहकै जागीरस्वरूप जमिन दिने गरिएको थियो । ती मुसलमानहरूले राजाको सेवा टहल रूजुरही जागीर धान्न सफल भएका र मस्जिद, मद्रसा तथा पौवा तथा सत्तलहरू बनाउन दिएका प्रमाणहरू पनि पाइएका छन् । नेपाली सेनामा मुसलमानहरू बारूद र बारूदबाट निर्माण गरिने बिष्फोटक अस्त्रहरू निर्माण गर्दथे । भैचम्पा, पटका, आतसबाजी, बम र विष्फोटकजन्य वस्तुहरू बनाउन उनीहरूले सेना र स्थानीय व्यक्तिहरूलाई पनि तालिम दिने गरेको पाइएको छ । फर्मायसी आतसबाजी बनाउन र रफू गर्ने कामको निम्ति जंगबहादुर राणाले पनि मुसलमानहरूलाई समयसमयमा लालमोहर गरिदिएको पाइएको छ । तीमध्ये वि.सं. १९२५ साल कात्र्तिक वदी ५ रोज २ को पत्रको पुछारमा “श्रीकाली १९०९” औंठीको छाप लागेको पाइन्छ । उनले वि.सं. १९२५ अजिमबक्स मियाँको छोरा जहाँगिरबक्स मियाँलाई रूक्का गरिदिइएका थिए ।

राणा शासन सुरु भएपछि सन् १८४६ सेप्टेम्बर (वि.सं. १९०३) बाट नेपालमा इस्लाम र मुस्लिम संस्कृतिको प्रभाव खुलेआम पर्न थालेको थियो । राणाहरूको लवाइखवाइ, बसाइ, बोलाइ, शानशौकतमा भारतीय मुगल सम्राटको राजर्षी शौखको प्रभाव परेको थियो । भाषा र संस्कृतिमा पनि उर्दू र फारसीको प्रभाव प्रष्ट देखिन्थ्यो । राणाहरुको भारतका राजारजौटाहरूसँगको लेखापढी उर्दू भाषा र लिपिमा नै हुन्थ्यो । अझ श्री ३ रणोद्वीप सिंहको हत्या गरी सत्तामा आएका वीरशमशेर जंगबहादुर राणाको समयमा यो प्रभाव अझ बढ्न गयो । विशेषतः संगीत क्षेत्रमा त मुस्लिमहरूको बोलबाला नै थियो । त्यतिखेर भारतबाट नेपाल आई बसोबास गरेका संगीतकार, कव्वाली गायक, तबला वादकहरूमा झुन्दे खाँ, सरदार खाँ, ताज खाँ, इनायत हुसैन खाँ, धग्गे नजीर खाँ, खयाली, हैदर खाँ, बन्दे अली खाँ, गुलाम हुसैन मुख्य थिए । दरबारमा उर्दू र फारसीको उच्चारण गर्न नजान्ने व्यक्ति दरबारको संगीत क्षेत्रका लागि अयोग्य साबित हुन्थ्यो । दरबारमा नाचगान र नाटकहरू पनि उर्दू र फारसी भाषामा नै लेखिन र खेलिन थालिए । दरबारमा नर्तकीहरूको नाम पनि हसिना, बुलबुल , दिलबहार, गुलसन, गुलबदर राखिए भने खेलिने नाटकहरू लैला–मजनु, सोहनी–महिवाल, सिरी–फरहाद, गुल्फाम, अलिफ–लैला आदि जस्ता हुन्थे ।

कला र कुटनीतिको क्षेत्रमा कुशल भएका हुनाले मुस्लिमहरूलाई शाह राजाहरूले विदेशमा पठाइने आफ्ना प्रतिनिधि मण्डलहरूमा पनि समावेश गर्दथे । राजा प्रताप मल्लले हनुमान ढोकाको शिलालेख उर्दू भाषामा लेख्न लगाएका थिए ।
हनुमानढोका दरबारको शिलालेख राखने…………………………..

कवि मोतीराम भट्टले आफ्ना कविताहरूमा उर्दू र फारसी शब्दहरू प्रयोग गरेको पाइन्छ । सन् १९०० (वि.सं. १९५७) सालमा वीरगञ्जको बगेडी भन्ने ठाउँमा शास्त्रीय संगीतको वृहत भेलाको आयोजना गर्दा धेरै मुस्लिम उस्ताद र संगीतकारहरूले भाग लिएका थिए । राजा त्रिभुवनको पालामा वस्ताद नुरूद्दिन दरबारको एक कुशल संगितज्ञको रूपमा मानिन्थे ।

इतिहासविद् पुरूषोत्तमशमशेर राणा लेख्छन्– “जुद्ध शमशेरकी आमा जौहर जयान भारत उत्तर प्रदेशको राजधानी लखनऊ सहरको “नवखास” निवासी मुस्लिमसँग धीरशम्सेर मोहित हुँदै म्याना (डोली) मा राखी काठमाडौं ल्याए । “राजपूत कन्या” भनी घर “किल्ला काँगडा” भने । यिनै “यवन” नारीबाट धीरशम्सेरका १५ औं छोरा जुद्धशम्सेर जन्मे । यिनको मामलीको सन्तान सुरूदेखि आजसम्म देखाउन सक्दैनन् । यिनै “यवन” रक्तले ओतप्रोत भएका यी शाहवंशज राजा दीपेन्द्र हुन्, राजा ज्ञानेन्द्र हुन्, आखिर दुबै “यवन” रक्तले सिञ्चित व्यक्तिहरू हुन् । राजा महेन्द्रले जुद्धशम्सेरका छोरा हरिशम्सेरकी छोरी रत्नसँग विवाह गरेका हुन् ।” (पुरूषोत्तमशमशेर राणा, नयाँ पत्रिका दैनिक, २०६५ जेठ १६ गते, शाहवंशको इतिवृत्तान्त) । तर नेपालको इतिहासमा यो कुरा ब्याख्या कहिंकतै उल्लेख गरिएको पाइँदैन ।

नेपालको तराइ, पहाड र हिमालमा मुस्लिमहरू बसोबास गर्दै आइरहेका छन् । नेपालका सबै जिल्लाहरुमा यिनीहरुको बसोबास रहेको देखिन्छ । यो समुदाय नेपालको दोस्रो अल्पसंख्यक समुदायको रूपमा रहेको छ । यति हुँदाहुँदै पनि नेपाली मुस्लिमहरुको वास्तविक इतिहास अझैं खोज एवम् अनुसन्धानको विषय बन्न सक्ने अन्तरवस्तुलाई नकार्न सकिदैन । स्मारण रहोस् नेपाली मुस्लिमका इतिहास जेजति भेटिएको छ, यो सबै काठमडौं उपत्यका भित्रको मात्रै हो । किनकि तत्कालीन समयमा मल्ल राजाको राज्य अथवा हालको काठमाडौं खाल्डोलाई मात्र नेपाल भन्ने चलन थियो ।

गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य बिस्तार गर्न खोज्दा उनी जम्मा चारवटा जिल्लाका राजा थिए । त्यसपछि उनको आँखा मल्ल राजाहरुको राज्य कान्तिपुरमाथि गड्यो । उनले कान्तिपुरलाई हात पार्नका लागि अनेकौं तानाबाना बुने । रातमा सुतिरहेको मौका छोपी आफ्नो कब्जामा लिई उनले कीर्तिपुरे राजाको नाक कान काटी कीर्तिपुरको बाघभैरब मन्दिरमा झुण्ड्याइ दिएका थिए । जुन अहिले पनि किर्तिपुरको डाँडामा रहेको बाघभैरब मन्दिरमा झुण्डाएको अवशेष पाइन्छ ।

त्यस बेला मल्ल राज्य एकदमै विकसित अवस्थामा रहेको हुनाले सबैभन्दा पहिले उनले मल्ल राज्यलाई रोजेका थिए । यही मल्ल राजाहरुको राज्यमा मुस्लिमहरुको पहुँच बढि थियो । त्यस ताकाका मुस्लिमहरुलाई मात्र नेपालको इतिहासमा अहिले नेपाली मुस्लिम भन्ने र लेखेको पाइन्छ । प्रायः देश बाहिरको व्यापारमा मुस्लिमहरु नै थिए । मल्ल राज्य जितिसक्दा पनि हालको नेपाल बाईसेचौबीसे गणराज्यहरुमा विभाजित थियो । बाईसेचौबीसे गण राज्यलाई पनि यिनले डाँकाकै शैलीमा जितेका थिए । त्यसबेला हालको हिन्दुस्तान भन्ने मुलुक पनि थिएन । त्यहाँ पनि स साना गणराज्यको रुपमा मुस्लिमहरुले शासन गरिरहेका थिए । हाल नेपालको तराईका केही इलाका पनि ती मुस्लिम शासकहरुको गणराज्य अन्र्तगत थिए । तात्कालीन शिवराज, सिमरौनगढ, विदेह, पाल्पा र मकवानपुर त्यस अन्तर्गतका भूभाग थिए । यहाँका शाह राजारजौटाहरुले मुस्लिम शासकहरुसँग राम्रो सम्बन्ध बनाएका कारणले मुस्लिमहरुले यहाँका राजारजौटाहरुलाई शासन सत्तासञ्चालन गर्नका लागि बेला बखतमा आफ्नो मान्छेहरुलाई पठाई सहयोग गरेको कुरा इतिहास नै साक्षी छ ।

तत्कालीन भारतका स्वतन्त्रता सेनानीहरुसँग हार खाई भारत छोड्न बाध्य भएपछि चतुर अंग्रेजले भारतमा रहेका मुस्लिम विरोधीहरुसँग साँठगाँठ गरी भारतलाई जातपात र मजहबको नाममा तीन भागमा विभाजित गर्न सफल भए । त्यस बखतका अंग्रेजका विश्वासपात्र तथा योजनाकार पण्डित जवाहरलाल नेहरु थिए । अंग्रेजलाई भारत छोड् भनेर आन्दोलनमा सबैभन्दा बढि त्यहाँका मुसलमानहरुले ज्यान, माल र खुनको बलीदानी दिएका थिए । अंग्रेजलाई डर थियो कि यदि यहि स्थितिमा भारत छोडेर गएमा भोलिका दिनमा यहाँका मुसलमानहरुले हामीलाई छोड्ने छैनन् । त्यतिबेलाका मुस्लिमहरु पढेलेखेका चतुर थिए । त्यसैले धर्म र मजहबका नाममा हिन्दु र मुस्लिमका नाममा हिन्दुस्तानलाई पूर्वी–पश्चिमी पकिस्तानको नामले बाँडेर गए । हिन्दु कित्तामा पण्डित जवाहरलाल नेहरु आए । मुस्लिमहरुले नचाहँदा नचाहँदै पनि हिन्दुस्तानबाट बलजफ्ती मुस्लिमहरुलाई चतुर अंग्रेजले बाँडेर गएको अवस्था छ । त्यसैले अहिले पनि भारतीय उपमहाद्वीपमा हिन्दु–मुस्लिमकै राजनीति बढि मात्रामा हुने गरेको छ । अंग्रेज भारत छाडेर गएपछि नेपालका तात्कालीन श्री ३ राणा प्रधानमन्त्री मोहनशमशेर जबरालाई जवाहरलाल नेहरुले बोलाई १९५० को नयाँ सन्धि गरेका थिए । तर त्यसको विरुद्धमा भारतका तत्कालीन नेता बल्लभ—भाइ पटेल जस्ताले भनिरहेका थिए कि अङ्ग्रेजले नेपालका राजारजौटाहरुलाई कर उठाई खानाका लागि दिएको हाम्रो भू–भाग फिर्ता हुनु पर्दछ । तर जवाहरलाल नेहरुको मनसाय थियो कि यदि भारतलाई हिन्दु राष्ट्र बनाउन सकिएन भने नेपालसित सन्धि गरी त्यसलाई त हिन्दु राष्ट्र बनाउन सकिने छ । उनले नेपालमा रहेका भूभाग नेपाललाई नै दिए जस्तै गरी १९५० को सन्धि गरेका थिए । त्यसैले हामीले बुझ्नै पर्ने हुन्छ कि नेपाललाई सबै पहिला हिन्दुकरण गरेको कारण त्यहिदेखि हो । भारतका शासक र तत्कालीन इष्टइण्डिया कम्पनी र हालको अमेरिका बीचको सन्धिसम्झौता मार्फत् मुस्लिम शासकले बनाएको व्यवस्थालाई समाप्त पार्न मुस्लिमहरुको धर्मिक स्कुल मद्रसामाथि विभिन्न बहानामा बन्देज गर्दै आएका छन् । हामी नेपाली मुस्लिम पनि बेलाबखत त्यसको शिकार हुने गरेका छौं । पहिलेदेखि नै बसोबास गर्दै आएका मुस्लिमहरुको इतिहास मेटाउन केही कट्टर ब्राह्मण हिन्दुवादीहरुले मनगढन्ते इतिहास लेखेर मुस्लिमको इतिहासलाई मेटाउन सक्दैनन् ।

एउटा भनाइ छ– इतिहास जित्नेहरुको घोडा हो । विजेता शासकहरुले आफ्नो अनकूल हुने गरी इतिहास लेख्ने र लेखाउने गर्दछन् । स्वयम् इतिहास यसको साक्षी छ । त्यसैले नेपालमा रहेका नेपाली मुस्लिमको इतिहास नेपाली राजारजौटाहरुको इतिहाससँग जोडिएको छ । राजारजौटाहरुसँग जो नजिक थिए, तिनीहरुको इतिहास जोडिएको भेटिन्छ । तर नेपालका हिमाल, पहाड र तराईका मुस्लिमहरुको इतिहास थोरै मात्र लिखित भेटिन्छ । नेपालका राजारजौटाहरुले जुन जुन मुस्लिमहरुलाई विदेशबाट ल्याएर आफ्नो शासनसत्तालाई बलियो बनाउन नजिक राखे, तिनको मात्र इतिहास लेखेको भेटिन्छ । त्यो पनि तोडमरोड गरेको अवस्थामा पाइन्छ तर सत्यतथ्यका आधारमा होइन । सबैभन्दा घतलाग्दो कुरा त के रहेको छ भने नेपालका रैथाने मुस्लिमहरुको इतिहास लेखिएको छैन । यहाँका विद्वान, इतिहासविद् भन्नेहरुले लेख्ने गरेका छन् कि नेपालमा रहेका नेपाली मुसलमानहरु सबै विदेशी हुन् । तर यो सत्य होइन । उदाहरणका लागि अहिले आएर हाम्रा नेपाली दाजुभाइहरुले धर्म परिर्वतनका लहरमा क्रिश्चियन धर्म अपनाइरहेका छन् के यी धर्म परिवर्तन गरेका सबै विदेशी हुन् त ? कसैले यो कुरा लेख्दैनन् ? षड्यन्त्र त केवल मुस्लिमहरुका लागि भइरहेको छ ।

लार्ड हेस्ंिटग्स १८१३ ई. मा भारतको गभर्नर नियुक्त भएपछि उनले सबैभन्दा पहिले आफ्नो आँखाले नेपालतिर नै हेरे । किनकि हाम्रो देशको सीमारेखा भारतको तात्कालीन समयको बङ्गाल र अवध प्रान्तसँत जोडिएको थियो । चौधौं शताब्दीमा राजपूतहरुले यहाँका मूल निवासी मङ्गोलहरुलाई पराजित गरी बलजफ्ती हिन्दु राज्यको स्थापना गरेका थिए । विस्तारैविस्तारै राजपूतहरुले अन्य ससाना राज्यहरुलाई पनि पराजित गरी आफ्नो राज्यमा बिलय गरेर आफूलाई पनि गोरखाली भन्न थाले । यी सबै अहिलेका बाहुन र ठकुरीहरु हुन् । गोरखालीहरु युद्ध लड्न बहादुर तथा युद्ध कलामा निपूर्ण र निडर रहेका छन् । गोरखालीहरु अफ्नो राज्यको विस्तार गर्न खोज्दै थिए । सन् १७७६ मा दामोदर पाण्डेको नेतृत्वमा गएको गोरखाली फौजले सिक्किमसमेत् नेपालमा मिलाएपछि टिष्टासम्म नेपालको पूर्वी सीमा पुग्यो । वि.स. १८६२ मा बहादुर शाहको नेतृवमा भाइभारदारहरुको सहयोगले गोरखालीहरुले आफ्नो राज्यको विस्तार पश्चिममा सतलज नदी पार गरी काँगडा किल्लासम्म बिस्तार गरेका थिए । यसै बीचमा नेपालीहरुको शक्ति बढेको देखी अङ्ग्रेजहरु एकातिर सन्धि गरी मित्रता बढाउन चाहन्थे भने अर्कोतिर गोर्खालीसँग युद्ध गर्न चाहन्थे । यसै नीतिअनुरुप अङ्ग्रेजले वि.स.१८५८ मा नेपालसँग व्यापार सन्धि गर्यो । व्यापार सन्धिको नाममा अङ्गे्रजहरुले नेपालमाथि युद्धको घोषणा गरे । बहादुर शाहको शक्ति घट्यो । कोही योद्धाहरु बूढा भए त कोही मरे, कोेही पदबाट हटेकाले नेपाल कमजोर भयो । सुदूरपश्चिमको आत्मरक्षाको काम पनि कमजोर भयो । साधन सम्पन्न अङ्ग्रेज शक्तिसँग लड्न कठिन थियो । वि.स. १८६२ मा पश्चिमबाट पछि हट्दै गरेका नेपाली सेनाहरु सतलज नदी पार गरी वारि आएर बसे । अंग्रेजसँग सतलज नदी सीमा राखी दुबै पक्षले युद्ध विरामको सन्धि गरे । युद्ध जितेको हौसलामा रहेका नेपालीहरु आफू बलियो भएर पुनः युद्ध गर्ने रणनीतिका साथ काजी अमरसिंह थापाले पठाएको चिठ्ठी बरामद गरेपछि अंग्रेजले गोप्य कुरा थाह पाए ।

अहिले नै कुनै बहानामा पुनः युद्ध गर्नुपर्छ भनी अघि नवाबको अधीनमा रहेको तर पछि गोरखालीहरुले जितेका शिवराज र बुटवलको जग्गा नवाबले अङ्ग्रेजलाई दिएको निहँुमा पुनः अंग्रेजले युद्धको घोषणा गर्यो । सन १८१४ देखि १८१६ सम्म नेपाल र इष्ट इण्डिया कम्पनी सरकारका बीचमा पुनः युद्ध बन्द गरी मतभेद कम गर्न सन १८१४ को सुरुदेखि नै प्रयास भयो । नेपालबाट टक्सारी चन्द्रशेखर उपाध्याय र गजराज मिश्र तथा अङ्ग्रेजका तर्फबाट ले.क. ब्राडशा र उनका सहयोगी सो काममा खटिएका थिए । बेतियाको रामनगरमा धेरै पटक कुराकानी भयो । यस्तो अवस्थामा केही भारदारहरु अङ्ग्रेजसँग सन्धि गर्नुपर्छ भन्ने पक्षमा र केही अर्काथरि वार्ताद्वारा समय लम्याई आफू बलियो हुँदैगएका र पुनः गुमेको जमिन फिर्ता गर्नुपर्छ भन्नेमा थिए । यस्तो अवस्थामा सन्धिको कुरा गर्न गएका अङ्ग्रेजहरुले सन् १८१५ मा सुगौली सन्धिको मसौदा पेश गरे । सो सन्धिमा नेपालका तर्फबाट सही गर्ने चन्द्रशेखर र गजराज मिश्र हुँदा सो मसौदा सन्धि सन् १८१६ मार्च ४ तारिखमा चन्द्रशेखरलाई बुझाइयो । सो सन्धिमा अङ्ग्रेजका तर्फबाट ले.क. ब्राडशाले सही गरेका थिए र सो सन्धिको धारा ३ मा “नेपालका राजाले इष्ट–इण्डिया कम्पनीलाई सदाको लागि तल लेखिएका देशहरु दिनेछन्” भनिएको थियो । यो सन्धिको प्रस्तावले विरक्त भएका बलभद्र कुँवरले अङ्ग्रेजसँग नलडी छोड्दिन भनी केही युवाहरुलाई लिएर लाहोर गएका थिए । त्यहाँ सैनिक सेवाकै अवस्थामा अफगानिस्तानमा अङ्ग्रेजसँग लडेर वीरगति पाएका थिए । उनीसँग लाहोर जानेहरुलाई नै पछि गएर “लाहुरे” भन्ने चलन आएको पाइन्छ । यसरी सन्धिको पहिलो मसौदामा सही गर्ने चन्द्रशेखर र गजराज मिश्र नेपालमा बस्न नसकी परिवारसहित अङ्ग्रेजको शरणमा गएकाले अङ्ग्रेजले गजराजलाई बेतिया र चन्द्रशेखरलाई बिहारको साहबगञ्जमा जमिन्दारी र घरजग्गा दिएर राखे । तात्कालीन समय चन्द्रशेखर र गजराज मिश्र दुईजना ब्राह्मण कुलका मन्छेले अङ्ग्रेजको साथ दिएर सुगौली सन्धि गोरखालीहरुमाथि लादेको देखिन्छ । गोर्खालीहरुको ठूलो समूहले यो सन्धिको विरोध गरेकाले धेरैको मतभेद हुँदाहुँदै पनि यो सन्धि स्वीकार गरिएको थियो । यी दुईजनाले अङ्ग्रेजको चाकरी र देशप्रति घात गरेका थिए ।

ठीक यसैबेला कुटनीतिक तौरतरिका अवलम्वन गरी जङ्गबहादुर राणा शक्तिमा आए । तात्कालीन जनताको भावना बुझेका जङ्गबहादुरले अङ्ग्रेजले जितेको भूमि फर्काउन लडाइँ गर्नुभन्दा पहिले अङ्ग्रेजको ताकत बुझ्ने नीति अपनाए । उसका शत्रु कुन कुन हुन् र हामीलाई तिनीहरुबाट कति सहयोग पाइन्छ सोको बारेमा विचार नगरी लडाइँ गर्नु हुँदैन भन्ने उनको विचार थियो । उनी अङ्ग्रेजको शक्ति बुझ्न वि.स. १९०६ मा बेलायत गए । उनले साठी दिन बेलायतमा र चालीस दिन फ्रान्समा बसी सबै अध्ययन गरी नेपाल फर्के । अङ्ग्रेजसँग लड्न नसकिने रहेछ भनी मित्रता बढाए । अङ्ग्रेजको शक्तिको बारेमा थाह पाएपछि अङ्ग्रेजसँग मिलेर जानुपर्छ भन्नेमा उनी विश्वस्त भएका थिए । बेलायत बसेर आएपछि जङ्गबहादुरको व्यवहार बेग्लै भइसकेको थियो । उनलाई अङ्ग्रेजहरुले यति धेरै कुरा भरिदिए कि उनी एक वफादार कुकुर जस्तै भैसकेका थिए । त्यसैले भारतको गदरमा अङ्ग्रेजविरुद्ध नवाबहरुले विद्रोह गर्दा उक्त विद्रोह दबाउन हामी मद्दत गछौं भनी जङ्गबहादुरले लर्ड क्यानिङलाई पत्र लेखेका थिए । गभर्नर जनरल क्यानिङले पनि २००० गोर्खाली सेनाको मद्दत मागी पठाए । नेपालबाट पहलमान सिंह बस्नेतको नेतृत्वमा ६००० फौज पठाइयो । मागेभन्दा तीन दोब्बर सेना नेपालले पठाएकोमा कम्पनी सरकार स्तब्ध भई नेपालप्रति सशङ्कित भयो । सहयोग गर्न गएको निहुँमा विरोधीसँग मिली अङ्ग्रेजविरुद्ध विद्रोहीलाई मद्दत गर्ने हो कि ? सुगौली सन्धिलाई नमानेर पत्र लेख्नेहरुको घाउ आलै छ भन्ने सोची अङ्ग्रेजले तपाईको सहयोगको लागि धन्यवाद छ, तर हाल सहयोग आवश्यक परेन भनी पत्र लेखे । गोर्खाली फौज गोरखपुरबाट काठमाडांै फक्र्यो । यसरी सशङ्कित रुपमा अङ्ग्रेजले नेपालको नियत के रहेछ भनी गुप्तरुपमा बुझ्यो । नियत मद्दत गर्ने नै हो भन्नेमा विश्वास भयो । यही बीचमा अङ्ग्रेजका इमानदार ऐजेण्टको रुपमा जङ्गबहादुर अगाडि बढिरहेका थिए । यही बीचमा अङ्ग्रेजको सहयोगमा वि.स. १९१४ मा जङ्गबहादुर पुनः प्रधानमन्त्री र सेनापति समेत भए । अङ्ग्रेजले जङ्गबहादुरमाथि विश्वास गर्यो । फलस्वरुप लर्ड क्यानिङले पुनः मद्दत मागे । अङ्ग्रेजलाई कम्पनी सरकारविरुद्ध गोरखापुरमा उठेको विद्रोहको समना गर्न हम्मेहम्मे परेको थियो । त्यहिबेला, आफ्नो बफदार कुकुर जङ्गबहादुर राण सँग विद्रोह दबाउन अङ्ग्रेजले मद्दत मागे । मद्दत गर्ने कि नगर्ने भनी जान्नका लागि जङ्गबहादुरले भारदारी सभा राखी सबैको राय मागे । धीरशमशेर देखि सबै भारदारहरुले कम्पनी सरकारलाई मद्दत गर्नुहुँदैन भनी राय दिए । तर जङ्गबहादुर कसैको कुरा सुन्ने मुडमा थिएनन् । उनले एकलौटी ढङ्गले निर्णय लिई ६,००० गोर्खाली फौज पहलमान सिंह बस्नेतको नेतृत्वमा लखनऊ दमन गर्न पठाए । आफू स्वयम् पनि फौजको नेतृत्व गरी गए । कार्ल माक्र्सले आफ्नो पुस्तकमा एक ठाउँमा लेखेका छन् कि जङ्गबहादुर त अङ्ग्रेजको कुकुर थिए । बस्नेतको नेतृत्वमा गएको फौजले धेरै विद्रोह दबाइ सकेको थियो । जङ्गबहादुरले लखनऊको विद्रोह दबाउन अङ्ग्रेजलाई सहयोग गरे । नेपालीहरुसँग नवाबहरुको कुनै किसिमको झगडा थिएन । यो त सुनियोजित तारिकाद्वारा अङ्ग्रेजले गोरखालीहरुलाई मैदानमा उतारेको थियो । यिनीहरुलाई कसरी मुसलमानहरुविरुद्ध प्रयोग गर्ने भनी अङ्ग्रेजले वि.स. १९०६ मा जङ्गबहादुरलाई बेलायत बोलाएको थियो । साठी दिन बेलायत र चालीस दिन फ्रान्समा तालिम दिँदा हामीलाई के सहयोग गर्नसक्छौ भनेर प्रश्न गर्दा जङ्गबहादुरले सबै किसिमको सहयोग गर्न सक्छौ भनी जवाफ दिएका थिए । यो वाचा र वचनअनुसार जङ्गबहादुरले अङ्ग्रेजलाई यो सैन्य सहयोग गरेका थिए । त्यसपछि जङ्गबहादुर नेपालको राजनीतिमा शक्तिशाली देखा परेका थिए ।

त्यसपछि अङ्ग्रेजहरुले गोरखालीहरुको प्रयोगका लागि एउटा गोरखा रेजिमेण्ट नै बनाएको इतिहास भेटिन्छ । दोस्रो विश्व युद्धमा समेत गोर्खालीहरुलाई अङ्ग्रेजले आफ्नो स्वार्थपूर्तिका लागि निकै प्रयोग गरेको थियो । बृटिश गोरखा रेजिमेण्ट र भारतीय गोर्खा रेजिमेण्टलाई अङ्ग्रेजले मुस्लिम राष्ट्रहरुविरुद्ध प्रयोग गर्दै आएको छ । यसको ढाँचा बनाउने तत्कालीन शासक जङ्गबहादुर राणा र इष्टइण्डीया कम्पनी सरकारका मोतियाहरु नै हुन् । नेपाल र नेपाली जनतालाई शदियौंदेखि मुसलमानहरुले इमान्दारिताका साथ सहयोग गर्दे आएको इतिहास साक्षी छ । पछिल्लो समयमा यस्तो किन भएको होला त ?

अर्कौ कडी फेरी एउटा बहुनले धोखा दिएको छ तत्कालीन नेकापामाओवादीले वि.स.२०५२ साल देखि थालनी गरेको जनयुद्ध १० वर्षसम्मा नेपाली जनताका छोराछोरीहरुले जानका बाजी राखी लडेको थिए । हज्जारौ हजारको तदातमा नेपाली जनताका छोरा छोरी शहिद र वेपत्त भएका छन् । अन्तः यसलाई पनि आफूलाई खुमखार क्रान्तिकारी कं प्रचण्डले भारत सित १२ बुदे सम्झौताका नाम नेपाली जनताका छोरा छोरीको सपनालाई चकनाचुर बनाई दिएका छन् ।
निष्कर्षमा एक जातिय हिन्दु शासनव्यवस्थालाई बचाउनका लागि मुसलमानमाथि यहाँका बाहुन, ठकुरी तथा हिन्दुवादका नाममा सधैभरि शासन सत्तामा बसिरहे । त्यसैको पृष्ठिभूमिमा यहाँका बाहुनक्षेत्रीले पहिलो सवंविधान सभालाई बिघटन गरी तथाकथित दोस्रो संविधानसभाको चुनावको नौटकीं रची गराएका छन् । लोकतन्त्रको खिल्ली समेत उडाएका छन् ।

त्यसैले अङ्ग्रेजलाई सहयोग गरेबापत् नै नवाबहरुको भूभाग अन्तर्गतका शिवराज, विदेह, सिमरौनगढ र पछि नयाँ मुलुक (हालको बाँके, बर्दिया, कैलाली र कन्चनपुर) नेपाललाई दिए । पश्चिम तराई इलाकालाई करात प्रदेश भनेर नेपालका शासकले कर उठाएर खान लागे । हस्तान्तरण गर्दा त्यहाँका जनताका जग्गा जमिनमाथि कब्जा गर्न नपाउने गरी दिएको थियो । त्यस भूभागमा मुस्लिमहरुको इतिहास जोडिएको छ । तर नेपालका शासकहरुले त्यसको लेखाजोखा समेत गरेका छैनन् । बरु नेपालका सबै मुस्लिमहरु बहिरका हुन् भनेर निकै अन्याय गरेका छन् ।

मुक्ति र स्वतन्त्रताको प्रश्न

उपर्युक्त ऐतिहासिक पृष्ठभूमिबाट के स्पष्ट हुन्छ भने नेपालमा रहेका मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र भाषिक क्षेत्रमा रहेको भेदलाई आधार बनाएर साढे दुई सय वर्षदेखि सामन्ती हिन्दू राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्दै आइरहेको छ । राज्यको राजनीतिक हक अधिकारबाट बञ्चित गराउँदै आइरहेको छ । यद्यपि पछिल्लो कालखण्डमा विदेशीहरुको इशारामा दरबारियाहरुले पार्टी खोली एकाध दलाल तयार गरेर मुस्लिम समुदायको कथित सहभागिताको नौटङ्की नदेखाएका होइनन् । परन्तु, जबसम्म मुस्लिम समुदायको निम्ति राजनीतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा विशेषाधिकारको व्यवस्था हुँदैन, तबसम्म समान अधिकार प्राप्त हुन नसक्ने यथार्थ स्पष्ट छ । त्यसको लागि देशको सामन्ती तथा हिन्दू शासन प्रणालीको पूर्ण अन्त्य हुनु पर्दछ । अहिलेको नाम मात्रको गणतन्त्र पूर्णतः लोकतान्त्रि गणतन्त्रात्मक प्रणालीमा संस्थागत हुनु पर्दछ । पूर्ण गणतन्त्रविना राजनीतिक समानताको कल्पना गर्न सकिंदैन । नेपालमा अढाइसय वर्षसम्म सामन्ती हिन्दुवादी राजतन्त्रले शासन गर्दै आयो । यो इष्ट इण्डिया कम्पनीपछि भारतका सत्ताधारी हिन्दुवादी शासक वर्गले गर्दै आएको उपनिवेशको निरन्तरता पनि हो । मुस्लिम समुदायमाथि भारतीय हिन्दुवादी संस्था “रअ” को कुदृष्टि रहँदै आएको छ । भारतमा हिन्दु र मुसलमानहरुबीच पूmट ल्याएर शासन गर्न लिप्त रहँुदै आइरहेको सत्ताधारी हिन्दुको खुल्ला सीमानाका कारण त्यसको प्रतिबिम्ब नेपालमा पनि परिरहेको छ । त्यसको मार सबैभन्दा बढि नेपालका मुस्लिम समुदायमा पर्न गइरहेको छ । तसर्थ भारतीय विस्तारवादको थिचोमिचो र उत्पीडनबाट मुक्ति पाउनु अनिवार्य भएको छ । खुला सीमाना बन्द गरिनु पर्छ । सन् १९५० लगायतका असमान सन्धिसम्झौताहरु खारेज गरिनु पर्दछ ।

नेपालमाथि पटकपटक हस्तक्षेप गर्ने क्रम अमेरिकी साम्राज्यवादले पनि गर्ने गरिरहेको छ । विश्वव्यापी अमेरिकी साम्राज्यवादको दादागिरी, त्यसका विरुद्ध उठेका कुनै पनि आवाजलाई कथित आतङ्कवादको बिल्ला भिराएर फासीवादी युद्धअपराध थोपर्दै आइरहेको छ । त्यसको मार पनि कुनै न कुनै रुपमा नेपाली मुसलमानहरुले भोग्दै आइरहेका छन् ।

यी सबै प्रकारका औपनिवेशिक स्थितिबाट पनि नेपाललाई मुक्त बनाएर स्वाधीन र स्वतन्त्र मुलुकको रुपमा विकास गर्न आवश्यक छ ।

यसरी हिन्दुवादी सामन्ती सत्ताधारी र विदेशी साम्राज्यवादी उत्पीडनबाट देशलाई पूर्णतः मुक्ति दिलाउन सम्पूर्ण उत्पीडित मुस्लिम समुदायहरु गोलबन्द भएर सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्षमा उत्रनु पर्छ । परन्तु, आजको विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवादविरुद्ध लड्ने तागत र विचार केवल सर्वहारा वर्गमा मात्र निहित रहेको इतिहास साक्षी छ । कुनै पनि धार्मिक कट्टरता वा अन्धजातियताको सोच र सङ्घर्षले विजय प्राप्त गर्न संभव छैन । यो कुरा ११ सेप्टेम्बर पछिका विश्व घटनाक्रमले प्रष्ट पारिसकेको छ । विश्वमा सही वैचारिक राजनैतिक मार्ग निर्देशनको अभावमा साम्राज्यवादविरुद्ध लड्दा कति धेरै खुनखराबी भइरहेको छ । त्यसको हिसाब गर्न कठिन छ, तर पनि विजयको कुनै ग्यारेन्टी छैन । यो विषयमा नेपाली मुस्लिमहरुको गम्भीर ध्यान जानैपर्छ । विश्व साम्राज्यवादविरुद्ध सङ्घर्षका लागि मुिस्लम समुदायको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति निर्माण गर्नै पर्छ । त्यसपछि मात्र सर्र्वहारा वर्गको नेतृत्वमा विजय सुनिश्चित हुनसक्छ । त्यसैले नेपालको सन्दर्भमा सर्वहारा वर्गीय वैचारिक आलोकमा सामूहिक नेतृत्वमा रहेका सम्पूर्ण जाति, भाषा भाषी, क्षेत्रीय तथा उत्पीडित धार्मिक समुदायहरु गोलबन्द भएर सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्षमा अघि बढ्नु पर्छ ।

त्यस प्रकारको सङ्घर्षबाट मात्र मुलुकमा जनताको गणतन्त्रको स्थापना गर्न सकिनेछ । यदि उत्पीडित जनताले मुक्ति खोज्छ भने जनवादी गणतन्त्रले मात्र उत्पीडित धार्मिक समुदाय, जात, जाति, लिङ्ग, दलित लगायत सबै प्रकारका समस्याहरु समाधान गर्ने हैसियत राख्दछ ।

त्यस अवस्थामा राज्य पूर्णतः लोकतान्त्रिक प्रकारको हुनेछ । त्यहाँ सबै प्रकारका शोषण र दमनका रुपहरु अन्त्य हुनुपर्दछ । मुलुकलाई पूर्णतः धर्मनिरपेक्ष राज्य बनाइनुपर्दछ । धार्मिक स्वतन्त्रता पूर्णतः प्रदान गरिनुपर्दछ । धर्म नागरिकहरुको निजी आस्था, विश्वास र निजी स्वतन्त्रताको रुपमा अनि मात्र स्थापित हुनेछ । धर्मको आधारमा हुने सबै प्रकारका शोषण र उत्पीडनका स्वरुपलाई समाप्त गरिनुपर्दछ । भाषागत र सांस्कृतिक भेदभाव र पक्षपात लगायतका उत्पीडनका स्वरुपहरुलाई अन्त्य गरिनुर्पछ । मुसलमान समुदायको भाषा र संस्कृतिको संरक्षण र विकासलाई जोड दिनुपर्दछ । आफ्नै मातृभाषामा शिक्षादीक्षा प्राप्त गर्न पाउने व्यवस्था हुनुपर्दछ ।

आर्थिक क्षेत्रमा मुलुकलाई सामन्ती उत्पादनसम्बन्ध र औपनिवेशिक उत्पादन सम्बन्धलाई अमूल रुपमा परिवर्तन गरी राष्ट्रिय पुँजीवादी र औद्योगिक पुँजीको विकास गर्नु अतिआवश्यक रहेको छ । आत्मनिर्भर तथा स्वाभिमान प्रकारको अर्थतन्त्रको निर्माण हुनुपर्दछ । व्यापार र व्यवसायी आदि सबै क्षेत्रमा सामूहिकीकरणको अभ्यास प्रारम्भ गरिनु पर्दछ । पूर्ण रोजगार, निःशुल्क स्वास्थ्य र शिक्षाको सुनिश्चित गरिनुपर्छ ।

यी सबै व्यवस्थाका लागि सामन्तवाद र साम्राज्यवादविरोधी, देशभक्तिपूर्ण, लोकतन्त्रवादी, गणतन्त्रवादी र न्यायप्रेमी सम्पूर्ण समुदायलाई एउटै सुत्रमा गोलबन्द गर्नै पर्दछ । यही विचार, भावना र मर्मलाई पक्रँदै सम्पूर्ण उत्पीडित मुस्लिम समुदाय गोलबन्द हुनुपर्ने आजको ऐतिहासिक आवश्यकतलाई आत्मसात् गर्नु पर्दछ ।

हाल बहाल रहेको कांग्रेश नेतृवको सरकारले तथाकथित दोस्रो संविधानसभाको चुनावपछि देशलाई निकास होइन कि देशलाई अझै सङ्कटको भुमरिमा फसाउदै छ । भारतीय विस्तारवाद र विश्वसाम्राज्यवादको इशारामा तथाकथित दोस्रो संविधानसभा गराएर देशको ढुकुटी सिध्यााउनु बाहेक अरु केही गरेको छैन । यसलाई तत्काल बिघटन गरी गोलमेचसम्मेलनद्वारा सहमतीय सरकार गठन गरी तत्काल संविधान निर्माण र घोषणा गर्नुपर्छ । यस बाहेक देशले निकास पाउने अरु संभावना नै छैन ।
मुस्लिम समुदायसँग प्रत्यक्ष सरोकार राख्ने र जीवन पद्धतिसँग जोडिएका सवाललाई मध्यनजर गरी सबै धार्मिक समुदायमा रहेको धार्मिकस्तरको सुरक्षा हुनुपर्छ । तर यहाँको गृह, परराष्ट्र मन्त्रालयसमेत पूर्व मन्त्री मिर्जादिलसाद वेग, जमिम शाह, र फैजान अहमद लगयातका मुस्लिम अगुवाहरुको दिनदहाडै भएको हत्याको पूर्व सूचनाबारे अनभिज्ञ थिए भन्ने बारेमा गम्भीर आशङ्का अनुसन्धान रिपोर्टमा उठाइएको छ । कुनै न कुनै रुपमा बारेमा कुनै न कुनै रुपमा गरिन्छ । त्यसको एक दुई दिनपछि भारतीय पत्रपत्रिकामा यिनीहरु आई.एस्.आई.का एजेण्ट अथवा आतङ्कवादी सङ्गठनसँग जोडिएको समाचार प्रकाशित गरिन्छ । नेपालका पत्रपत्रिकाहरुले पनि त्यही समाचार साभार गरी लेख्छन् । मारिइसके पछि त्यो मुस्लिम आई.एस्.आई.को एजेण्ट करार गरिन्छ । तर सत्य कुरा त के हो भने त्यस घटनाभन्दा पहिले ऊ कसैको एजेण्ट हुँदैन र आतङ्कवादी पनि हुँदैन ।

पछिल्लो समयमा आएर बाराको घटनाले प्रमाणित गरिदिएको कि राजन श्रीवास्तवको गिरोह अथवा पेशेवर शुटरहरुले हत्या गरेको भन्ने समाचारमा सत्यता छैन । बरु तालिम प्राप्त भारतीय गुप्तचर संस्था ‘रअ’ को सरकारी कमाण्डोले नेपालमा आई दिनदाहाडै हत्याकाण्ड मच्चाइरहेको कुरा सत्यताको नजिक छ । यस किसिमले यहाँका सरकारी मान्छे जो आफूलाई देशको इमानदार प्रशासकको रुपमा चिनाउँछन्, उनीहरुसमेत यस्ताखाले घटनामा तानिन पुग्नु गम्भीर कुरा हो । यसलाई समयमा नै रोक्ने कि नरोक्ने ? के यहाँका मुस्लिम नेपाली होइनन् ?

यी सबैबाट मुक्ति पाउनका लागि एक पटक फेरि आफ्नो स्वतन्त्राता, आन्तरिक सुरक्षा र सार्वभौमसत्ता रक्षाको लागि राज्यका हरेक अङ्गहरु सशक्त बनाउनु पर्छ । त्यसका लागि राज्यसत्ताका हरेक अङ्गमा जनताको भागिदारीका लागि अन्दोलन केन्द्रित गरिनु पर्दछ ।

सन्दर्भ सामाग्रीहरु
(१) जगदीशचन्द्र रेग्मी, लिच्छवी संस्कृति, रत्न पुस्तक भण्डार–काठमाडौं, २०३६, पृष्ठ १५०
(२) धनबज्र बज्राचार्य, लिच्छवी कालका अभिलेख–त्रि.वि. नेपाल र एशियाली अध्ययन संस्थान, कीर्तिपुर, काठमाडौं २०३०, पृष्ठ ३११, ३१३
(३) प्रो.असगर अली पश्चिम वंगाल विश्वद्यालय भारतका वहा प्रो. हुनु हुन्छ वहा संगको कुराकानीमा आधारित २०७० साल जेष्ठ २४ गते
(४) ढुण्डिराज भण्डारी, नेपालको आलोचनात्मक इतिहास–प्रकाश प्रकाशन,काठमाडौं २०२७, पृष्ठ ११३
(५)”Itihas Sansudan Ko praman pramcy” part 1, sansodhan mandal, Kathmandu, 2019
(६) अब्दुल सलाम एम.ए. थेसीस, नेपालमा मुस्लिमहरुको शैक्षिक अवस्था कस्ता छ भन्ने शिर्षकमा लेखेको इ.स.२००३ त्रि.वि.वि. भूगोल केन्द्रिय विभाग किर्तिपुर काठमाण्डौं
(७). कान्तिपुर दैनिकको २०६९ साल असोज ११ गतेको अङ्कमा घनश्याम खड्काको लेख “कहाँ गयो जमिन ?” भन्ने शीर्षकको लेखवाट केही अंश उद्धृत गरी लेखेको हो ।
(८). Statistical Pocket Book 1991, Central Bureau of Statistics, Kathmandu, 1999
(९) डोरबहादुर बिष्ट, पिपुल्स अफ नेपाल, श्री ५ को सरकार प्रकाशन विभाग, काठमाडौं, सन् १९६७, पृष्ठ ११
(१०) डा. राजेश गौतम, नेपालका मुस्लिमहरू
(११) पुरूषोत्तमशमशेर राणा, शाहवंशको इतिवृत्तान्त, नयाँ पत्रिका दैनिक, २०६५ साल जेठ १६ गते
(१२) श्रीआस्था अङ्क—१६ विशेषाङ्क वर्ष—४ २०५४ साल, प्रकाशक नेपाल विद्वत्परिषद्का मुख्यपत्रबाट लिएको अशं
१३.भारतका तत्कालीन शासक इष्टइण्डीया कम्पनी र तत्कालीन श्री ३ सरकार संगभएका विभिन्न सन्धी र समभौता आधारित केहि अंश
(१४) विचार प्रधान त्रैमासिक पहल वर्ष १, अङ्क १, २०६९, कार्तिक
(१५) चक्रब्यूहमा चन्द्र सूर्य पुस्तकवाट लिएको
(१६) के.पी. ढुंगाना, ओपेन सेक्रेट

संकलक – नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “नेपाली मुस्लिमको इतिहास खोतल्दा”

  1. Request to the Editor
    Dear Editor !
    Thanks for it.

    I am very sorry..Plz write my name in the articale as SANKALAK not writer :
    i had collected and edited it for thesis and so on…

    thanks..

  2. Request to the Editor
    Dear Editor !
    Thanks for it.

    I am very sorry..Plz write my name in the articale as SANKALAK not writer :
    i had collected and edited it for thesis and so on…

    thanks..

Leave a Reply

Your email address will not be published. Required fields are marked *