साहित्यको बजारवाद हुनु पर्छ तर बजारवादले साहित्यलाई प्रभाव पार्नु हुँदैन – पेशल आचार्य

20160410_KumarYatri-interviewPeshalAcharya


साहित्यमा अगाध रूचि भएरै पनि जीवन बाँच्नका लागि पेसाले शिक्षक र प्राध्यापक पेशल आचार्य रामेछाप जिल्लाका पुराना नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् । अब्बल अध्यापन गरेबापत् २०६८ सालमा शिक्षा क्षेत्रको ‘राष्ट्रिय शिक्षा पदक’ र साहित्यका विभिन्न ६ वटा राष्ट्रिय पुरस्कार र सम्मानपत्र प्राप्त गर्न सफल आचार्य विगत् ३६ वर्षदेखि कथा, कविता, गीत, मुक्तक, हाइकू र आत्मपरक निबन्धमा गतिशील कलम चलाइरहेका छन् । उनका बाल साहित्यका ५ र प्रौढ साहित्यका १ गरी ६ वटा कृतिहरू यसअघि प्रकाशित भैसकेका छन् भने अब यसपछि विविध विधाका ६ वटै कृतिमा यिनी एकसाथ काम गरिरहेका छन् । जसमध्ये यसैवर्ष ३ वटा कृति प्रकाशनको तयारीमा रहेको जानकारी लेखकले दिएका छन् । प्रस्तुत छ –मोफसलको साहित्यिक रूझान, आफ्नो एकलव्यीय वाङ्मयिक यात्राका आरोहअवरोहहरू र समग्र आधुनिक नेपाली साहित्यकै समसामयिक धार एव म सवालमा कुमार यात्रीले उनीसँग गरेको संक्षिप्त साहित्यिक कुराकानी प्रस्तुत छ ।

१. सञ्चै छ यहाँलाई ? कविजी अचेल केमा व्यस्त हुनुहुन्छ ?

मलाई यतिखेरसम्म सञ्चै छ । आफ्नो पेसागत कामका अलावा सिर्जनामै व्यस्त छु । साहित्यका प्रायः सबै विधा लेख्ने गरेकाले लेख्ने, छपाउने र सम्पादन गर्ने काम नै यतिखेर मलाई पउल छन् । अहिले म फुटकर लेखहरू र आत्मपरक निबन्धहरू अनि कविताहरू लेखिरहेको छु । कृतिहरू पनि लेख्दै छु । गत साल ३ वटा काव्य लेखेको छु । एउटा ‘आमा’ शीर्षकमा झ्याउरे खण्डकाव्य र दुईवटा ‘नयाँ कोलम्बसहरू’ (समयगाथा), र ‘साँझमाथि दस्तावेज’ गद्य काव्य हुन् । कृति सम्पादन र पुनर्लेखनमा लागेको छु । केही आफ्ना काम केही अन्य साथीभाइका काम गर्दागर्दै र पढाउने मेसोका पुस्तकहरू पढ्दापढ्दै दिनचर्या बित्ने गर्छ । भर्खरै काठमाडौँस्थित रत्नसागर प्रकाशनले मेरा ‘जून आमा जून’ र ‘मनको दैलो खोल’ नामक बालकविताका दुई पुस्तकहरू प्रकाशित गरेको छ । विधागत रूपमा बालसाहित्यका कृति भए पनि तिनीहरूमा मैले नेपाली व्याकरणका नियमहरूलाई सरल भाषामा गीत, कविता र लयमा प्रस्तुत गरेको छु । ससाना भाइबहिनीहरूले अहिले ती कृतिहरू रमाइरमाई पढिरहेका छन् । माथिका बाहेक अहिले म कथा, निबन्ध र समालोचनाका तीनवटा पाण्डुलिपिलाई अन्तिम रूप दिँदैछु । समयले साथ दियो भने यसै सालभित्र प्रकाशित गर्ने छु ।

२. आफ्नो विगत्तिर फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ, यहाँलाई ?

अलिकति खुसी र अलिकति दुःखको मिश्रित अनुभूति । लेखन हाम्रो समयमा सजिलो भए पनि प्रकाशन सजिलो थिएन । अहिलेजस्तो तत्काल लेखेर अहिल्यै नै प्रकाशन गर्ने जमाना थिएन –त्यो । तैपनि लेखनमा अगाध रूचि भएकाले करिब साढे तीन दसकको मेरो यात्रा साहित्यका विविध विधामा भएछ । यतिखेर आफ्नो समयको अवस्थालाई सम्झँदा अचम्मै लाग्छ । कताकता ‘नोष्टाल्जिक’ हुन पुग्छु । त्यस्तो जमाना भोगेर आएको मान्छे अहिले प्रविधिको यस्तो चकाचौँध देखिया’छ । भोगिया’छ । विश्वासै गर्न सकिँदैन ।

२०३६ सालको ‘सडक कविता क्रान्ति’मा भवानी घिमिरे दाइको कविता भन्ने शक्तिले मलाई लेखनमा खिँचेको हो । अनि हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल र वानीरा गिरीका कृति पढेर मनमा भएको कवित्वको भाव छलल्किएको हो । त्यतिबेला गोष्ठीमा धेरै साथी थिए । अब छुटिसके । भएका पनि कोही विदेश छन् । स्वदेशमै पनि बसाइका रूपमा टाढाटाढा छन् । फेसबुकले कहिलेकाहीँ भेट गराउँछ । चित्त बुझ्छ । केही पहिले चिठी आदानप्रदान हुन्थ्यो । अब त्यो पनि हुन छाड्यो । म पूर्व सुनसरी जिल्ला इनरुवाको स्थायी बासिन्दा थिएँ । धरानमा गोष्ठी हुँदा हप्तौं दिन बसिन्थ्यो । रमेश केसी नामका साथी थिए । अहिले धरानतिरै छन् । अति गम्भीर लेख्छन् अँझै पनि । अर्का नवीन सुब्बा थिए । उनी सिनेमातिर लागे । चर्चित सिनेमाहरू ‘नुमाफुङ’, ‘खाङ्गारी’ र ‘दलन’ जो बनाए । अहिले युरोपतिर छन् क्यार ! ती दुईका बीचमा सुविद गुरागाईं थिए । अहिले इटहरीमा बसेर पत्रकारिता गर्छन् । अरू हराए । भीडमा कता गए गए । पत्तै छैन । उनीहरू सोच्दा हून –म हराएँ । म ठान्दो हूँ –उनीहरू हराए । यस्तै छ । साहित्य गोष्ठीमा कविता वाचन गर्ने सबै लेखन जीवनमा नटिक्ने नै रहेछन् । लेखन अलिकति भोक, अलिकति अह म र अलिकति मरेपछि अमर हुने लालसा जस्तै रहेछ । यो नदी बगेझैँ हुनु पर्छ । नीरविछिन्न गरेर बगिरहनु पर्छ । हिँडिरहनु पर्छ ।

म नथाकिकनै लेखिरहेको छु । वाद, विवाद र प्रतिवाद मेरो बहसको विषय होइन । सरोकार छैन । हृदयका पुकार र सामाजिक दायित्व बोधलाई स्वीकारेर लेखेकैले लेखिरहन र टिकिरहन सकेको हूँला । सायद् मृत्युपर्यन्त लेखिरहनेछु । अहिलेसम्म युवा जोशका साथ लेखिरहेको छु । जो विगत् सम्झन्छ त्यो बूढो हो अनि जो भविष्यको असीम कल्पना गर्छ त्यो युवा हो भन्ने मान्यताको हिमायती भएकैले मैले लेख्ने काममा आफूलाई बूढो ठानेकै छैन । उमेरले गत साउन १५ देखि ४८ लागेँ । ‘रिटर्न’ होस् भनेर पनि लेखेको छैन । मेरो काम त लेख्नु हो । मात्र लेख्नु । बाँकी काम समालोचकको हो । गाली र ताली दुवै स्वीकार्य छन् ।

३. साहित्यमा यतिका वर्षदेखि लाग्नु भा’छ । लेखेर के पाउनु भयो यहाँले ?

यही नै पाएँ भनेर देखाउने कुरा त केही छैनन् । तैपनि परिचयको जो नाम पाएको छु । मेचीकाली र विदेशका पाठकहरू तथा स्रष्टाहरूले चिन्नुहुन्छ । त्यही हो मेरो प्राप्ति भने पनि । पुरस्कार भने पनि । भौतिक रूपमा बाल साहित्यका ५ वटा र प्रौढ साहित्यको १ गरी नेपाली साहित्यको भण्डारलाई ६ वटा कृतिहरू दिएँ । सन्तोष नै मानेको छु । आफूलाई लागेको कुरा बेधडक कथ्न र लेख्न पाइन्छ । प्रकाशन पनि भैरहेका छन् । हो, यही हो मेरो लेखनको प्राप्ति ।

४. कहिलेबाट हो यहाँको साहित्यिक लेखनको अभियानको थालनी ?

मैले २०३६ सालको ‘सडक कविता क्रान्ति’ देखि नै आफूलाई लेखनका यात्रामा हिँडाएको हूँ । यसबीच साहित्यिक लेखन २०३६ साल भए पनि पत्रकारिताको लेखन चाहिँ २०४२ सालबाट हो । बीचमा मैले करिब २० वर्ष नेपालका विभिन्न पत्रिकाहरूमा सम्बद्ध भई पत्रकारिता पनि गरेको छु । अहिलेको लेखन भनेको एक प्ररकारले स्वतन्त्र लेखन हो । अहिलेसम्म म कतै पनि ‘एलाइन्स’ छैन । तर दुःख लागेको छ । राज्यले हामीजस्ता देशका श्रमशील लेखकहरूका लागि कुनै परिचयपत्र प्रदान गरेको छैन । ‘एकेडेमी’ र ‘साझा’ कानमा तेल हालेर सुतेका छन् –कुम्भकर्णे निद्रामा । करोडौंको वार्षिक बजेट ‘हजमोला’ हालेर पचाएका छन् –ती संस्थाहरूले । कति झक्झक्याउँदा पनि सुन्दैनन् । सायद् –सत्ता अन्धो हुन्छ भन्थे विद्वान्हरू । हो रहेछ कि क्याहो ?

५. समाजका केकस्ता विषयले यहाँलाई लेखनमा प्रेरित गर्छन् भनिदिनुहोस् न ?

लेखक समाजको सचेत र जिम्मेवार सदस्य हो । उसलाई पनि समाजकै उहापोहले हिर्काउँछन् । समाजका विविध विकृति र विसङ्गतिहरूले च्वास्स छुन्छन् । लेखनधर्मिता भएको सचेत मानवले देखेको समाजको होचीअर्घेली नसहने स्वभाव भएकाले एउटा लेखकले आफ्नो अन्तर्रात्माले देखेको लेख्छ । लेखेको कुरा देखेको हुन्छ । मेरो लेखनको अन्तर्य भनेकै समाज हो । जहाँ म लगायत धेरै पात्रपात्राहरू सँगसँगै सकसमय जीवन नामको जुनी बाँचेका छौं । बाँच्ने प्रयत्नमा छौं ।

६. समग्रमा, भन्नुपर्दा एउटा लेखकले लेख्दा के हुन्छ र नलेख्दा के हुन्छ ?

आम्मै ! धेरै थोक हुन्छ । लेख्दा समाजलाई विविध रूपमा व्यक्त गर्न पाइन्छ । नलेख्दा समाजलाई व्यक्त गर्न पाइन्न । अतः नलेखी बस्न सकिन्न । लेखनको पहिलो सन्तुष्टि आफैँलाई भए पनि दोस्रो फाइदा भने समाजलाई हुन्छ । लेखक त वारेस मात्रै हो । समाजबाटै लिने अनि समाजलाई नै दिने । नाफाघाटाको कुरा गर्नुहुन्छ भने लेख्दा लेखकलाई फाइदा हुन्छ भने नलेख्दा समग्रमा समाजलाई घाटा हुन्छ । त्यो घाटाभित्र लेखकका घाटाहरू पनि आउँदछन् । ममा भएको समाजको सामाजिक जिम्मेवारी बोधले गर्दा म नलेखिरहन सक्दिनँ ।

७. यहाँको लेखनको गुत्थी के हो ? के अभीष्ट पूर्तिका लागि लेखिरहनु भएको छ ?

– मेरो लेखनको गुत्थी भनौं या ‘डेस्टिनेसन’ समग्रमा ‘मान्छेको मुक्ति’ नै हो । ‘विश्वमानव’ को कल्पना गर्दै म जात, धर्म, वर्ग, वर्ण र लिङ्गले जन्माएका तमाम विरोधाभाषहरूको अन्त्यका लागि चिन्तन गर्छु र लेख्छु । अँझ विस्तारमा भनौं –म समाज सत्यभन्दा व्यक्ति सत्यका झीनामसिना कुराहरू साहित्यमा कोट्याउन चाहन्छु । उठाउन मन पराउँछु । मैले लेख्ने विधा भनेका चाहिँ विषयवस्तु अनुसारका माध्यम मात्र हुन् । मैले अहिले आत्मपरक निबन्धहरू, कथाहरू, गीतहरू, मुक्तकहरू र कविताहरूमा समाजलाई अनेकानेक आयामहरूमा व्यक्त गर्दै आएको छु । जसबाट मलाई औधी सन्तुष्टि मिलेको छ । यतिखेर मलाई लेखनको निकै चाप छ । सम्पादकहरूले विभिन्न आयाम र विषयातिरेकमा रचनाहरूको माग गर्नुहुन्छ । सोही परिपूर्तिका लागि र केही आफ्नै अन्तर्दृष्टि कै रुझानका लागि पनि मैले लेख्दै आएको छु । केही राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूसँग पनि म सम्बन्धित भएकाले केही न केही नलेखिरहन सकिँदैन । कहिलेकाहीँ अनुजहरूका कृतिमा भूमिका र समकालीनहरूका समीक्षा र समालोचनाहरू पनि लेखिदिनै पर्छ । जो म लेखिरहेको छु ।

८. आफ्नो लेखनको मूल्याङ्कन भयो जस्तो लाग्छ यहाँलाई कि लाग्दैन ?

– एउटा कुरा के साँचो हो भने –मैले जति लेख्नु पर्थ्यो त्यति चाहिँ अवश्यै लेख्न सकेको छैन । मेले लेखेका कुराभन्दा नलेखेका कु्राहरू धेरै छन् । मलाई उदात्त भएर लेख्न मन लागेको छ । जो म विगत्देखि नै कोसीस गरिरहेको पनि छु । नेपाल र नेपाल बाहिरबाट निस्कने स्थापित विविध पत्रिकाहरू तथा ‘वेभ पोष्ट’हरूले र नेपालका निजी प्रकाशकहरूले मेरा विभिन्न किताब प्रकाशन गरेबाटै मलाई मेरो मूल्याङ्कन भएजस्तो लाग्छ । अनि एउटा लेखकले आफ्नो मूल्याङ्कन हुन्छ भनेर आसले लेख्ने पनि त होइन । लागेको लेख्दै जानु पर्छ । सकेको प्रकाशन गर्दै जानु पर्छ । एकदिन न एकदिन आफैँ मूल्याङ्कन भइहाल्छ नि । मेरो एउटा बालकथा ‘डुसी बाछी र भाइटीका’ बोर्डिङ् स्कुलको कक्षा ५ को पाठ्यपुस्तकमा पढाइ हुन्छ । कोर्समा पस्नु भनेको सम्मान हो । हजारौंले ज्ञान लिन्छन् । त्यो पनि त मूल्याङ्कन नै हो । हैन र !

९. विश्व साहित्यमा कसकसको लेखनले छुन्छ यहाँलाई ? नेपाली स्रष्टाहरूका सन्दर्भमा चाहिँ कुनकुन लेखकका रचनालाई आदर्शका रूपमा लिनुहुन्छ यहाँ ?

सबै लेखक र कृतिको नाम अहिले सम्झन सकिन्नँ । तैपनि आमा, द ओल्ड मेन एण्ड सी, लोलिटा, एनिमल फार्म, गीताञ्जलि, द गड इज स्मल थिङ, सिसिफस मिथ, सहस्र सारसहरू, पाउलो कोहेल्लो र डेल कार्नोगीका पुस्तकहरू धेरै मन पर्छन् । एकताका म हिन्दीका प्यारेलाल आवारा, गुलसन नन्दा, आचार्य रजनीश र स्वामी विवेकानन्दका साहित्यिक सिरिजहरूको पनि पूरै फ्यान थिएँ । भारतका गुलेरीप्रसादको ‘उसने कहा था’, कवि धुमिलका कविताहरू, मन्टो, गालीब, फिराद गोरखपुरी, उमर खैयाम, प्रेमचन्द, शरच्चन्द, अमृता प्रीतम, महादेवी वर्मा, राहूल साँस्कृत्यायन, विमल मित्र र हरिवंश राय बच्चनका गीत, कविता कृति र अन्य पुस्तकहरू मन पर्नेमा पर्दछन् । पछिल्लो समयमा चेतन भगत र विनोद मेहताको पुस्तकहरूले निकै हल्लाएका छन् –मलाई ।
पूर्वीय साहित्यमा रामायण, महाभारत, गीता लगायत नेपाली साहित्यका मैनाली, रुपनारायण, पुष्कर समसेर, बीपी, पारिजात, सम, देवकोटा, भूपि, रिमाल, डा. ईश्वर बराल, रामकृष्ण शर्मा, धच गोतामे, ध्रुवचन्द्र गौतम, डा.ताना शर्मा, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, विजय मल्ल, गोठाले, मोदनाथ प्रश्रित, मोहन कोइराला, किशोर नेपाल, मनु ब्राजाकी, परशु प्रधान, शैलेन्द्र साकार, प्रदीप नेपाल, वानीरा गिरी, अशेष मल्ल, मञ्जुल, तोया गुरुङ, जगदीश घिमिरे, विमल निभा, श्यामल, हरि अधिकारी, माधव पोख्रेल, नारायण ढकाल, अविनाश श्रेष्ठ, महेश प्रसाईं, किशोर पहाडी, दिनेश अधिकारी, विष्णविभु घिमिरे, नयनराज पाण्डे, विमल भौकाजी, दामोदर पुडासैनी ‘किशोर’, डा. राजेन्द्र भण्डारी, नरनाथ लुइँटेल, डा. राजेन्द्र विमल, माधव काफ्ले र नयाँमा श्रवण मुकारुङ, बुद्धिसागर, युग पाठक, कुमार नगरकोटी, मोमिला, विप्लव ढकाल, अमर न्यौपाने, रोशन शेरचन, शेखर खरेल, कुमारी लामा, राजेन्द्र पराजुली, माधव सयपत्री, गुरुङ सुशान्त, रावत, मनु मञ्जिल र भूपिनहरू धरै मन पर्ने लेखकहरू हुन् । मन पर्ने अरू पनि थुप्रै छन् । नाम लिएरै सकिन्नँ । अब नेपाली साहित्य पनि निकै फराकिलो भैसक्या छ ।

अहिले राम्रो लेखिरहेका र नूतन लेखकहरूको अनुहार चिन्न नै गाह्रो छ । एकदुई कृतिले कसैको पनि लेखकीय हाइट हुँदैन । देखिँदैन । अतुल साधना भएका र निर्विवाद् लेखकहरू भित्री मनदेखि नै मन पराउँछु । म यो ऊ भन्दिनँ । वाद र विचार पनि हेर्दिनँ । म लेखक र उसको समग्र व्यवहार पनि पढ्ने भएकाले मलाई मन पर्ने लेखकका पुस्तकहरू म खुरुन्धार गरेरै पनि पढिरहेको हुन्छु । मेरो पेसा नै पढाउने भएकाले कोर्समा आएका तमाम लेखकहरूलाई त दिनहूँ पढिरहिन्छ । खासमा भन्ने हो भने म चालिसको दसकभन्दा अघिका उम्दा लेखक र तिनीहरूका विविध कृतिहरूबाटै औधी प्रभावित छु ।

१०. नेपाली साहित्यको अहिलेको स्थिति के देख्नुहुन्छ यहाँले ? कतातिर जाँदैछ नेपाली साहित्यको लेखन धार ?

एकजना अग्रजले भन्नुभएको सम्झन्छु –‘नेपाली साहित्यको वर्तमान स्तर खस्केको छ । भारतको रेलबे साहित्यको जस्तो पनि छैन नेपाली साहित्यको स्तर ।’ यसो भनेको सुन्दा मनै चस्किन्छ । त्यति गएगुज्रेको त नहोला नेपाली साहित्य । यो अलि पूर्वाग्रही सोच पनि भयो । नेपालीमा पनि उम्दाउम्दा लेखकहरू निस्केका छन् । अहिले त झन् नेपाली साहित्यको बजार र पाठकहरू विश्वव्यापी रूपमा ह्वात्तै बढेको स्थिति छ । पेट र कलम बोकेर नेपाली लेखकहरू विदेश पसेका छन् । उतै बसेका छन् । विदेश बस्नेले पनि राम्रो लेख्न सकेका छन् । जो राम्रो लेख्न सक्छन् ती जहाँ बसे पनि हिरा नै हुन् ।

नेपाली भएर पनि नेपालीमा नलेख्नेहरूदेखि मेरो गुनासो छ । सम्राट उपाध्याय, मञ्जुश्री थापा, प्रज्ज्वल पराजुलीहरूले पनि नेपाली विषय र भाषामा लेखिदिनु पर्यो । ‘इ–बुक’को जमाना हो यो । त्यसैले नयाँनयाँ तकनिकीले व्यापार गर्न पनि जान्नु पर्यो । अहिलेको संसारले हाम्रो साहित्य मजाले किन्छ र पढ्छ भन्ने मेरो विश्वास छ । त्यसै अनुसारको सिर्जना त हुन सक्नु पर्यो नि ।

पहिला पुस्तक लेख्न सजिलो प्रकाशन गर्न गाह्रो थियो । अहिले पुस्तक लेख्न गाह्रो र प्रकाशन गर्न सजिलो छ । महिना पन्ध्र दिनमा लेख्न सक्नेले एक हप्तामा बजारमा ल्याउन सक्छ । तर दुःख लाग्छ एकादुईलाई छाडेर अहिले गुणवत्तामाभन्दा हल्लामा रमाएको बजार चलेको छ । मलाई साधनामा विश्वास छ । हल्लामा होइन । ‘साहित्यको बजारवाद हुनु पर्छ तर बजारवादले साहित्यलाई प्रभाव पार्नु हुँदैन ।’ भन्ने मेरो मान्यता हो । नेपाली साहित्यमा कालजयी कृति लेखिएका छन् । भविष्यमा पनि लेखिनु पर्छ । समकालीन धारमा नेपाली साहित्यको विषयवस्तु निकै फराकिलो र लेखकहरू नयाँ सोच राख्ने भएका छन् । यो पढ्दा र सुन्न पाउँदा मलाई औधी खुसी लाग्छ ।

अहिले नयाँ लेखकले पुराना लेखकका मान्यतालाई भत्काउँदै छन् । नवीन धरोहरको स्थापना पनि हुँदै जाँदो छ । यो अनवरत चलिरहन्छ । नेपाली साहित्यका आख्यान र निबन्ध विधाले अनुवाद सुविधा र प्रचार सहयोग पाए भने विश्व बजारका पाठकहरूको ध्यान खिँच्न सक्छन् । नेपालमै पनि गतिला प्रकाशन संस्थाले बुक फेयर चलाएका छन् । राम्रो कमाएका छन् । लेखकहरू पनि लेखेरै सेलिब्रेटी हुनु नेपाली समाजमा पठन संस्कृति भित्रिनु हो । जसले नेपाली भाषा र साहित्यको उज्ज्वल भविष्यको द्योतन गर्छ ।

११. जाँदाजाँदै मैले सोध्न बिर्सेको र यहाँले भन्न चाहनु भएका कुनै प्रसङ्ग या केही कुराहरू थिए कि ?

त्यस्तो ‘जेनुइन’ कुराहरू त केही छैनन् तर अहिले साहित्यिक लेखनमा लाग्नेहरूका बीचमा पनि सानासाना राजनीतिक गुटगत फोस्रा मपाइँत्व, पुरस्कारमा लेनदेन या सिण्डीकेट सिष्टम, भद्दा गाली गलौजको कुसंस्कार, कद कदका गाली स्रमाटहरूको नेपाली साहित्यमा आगमन, प्रकाशन संस्थाले कृतिको गुणवत्ताभन्दा चिनेजानेका भरमा र सोर्सफोर्सका आधारमा किताब छाप्ने गरेकाले साहित्यका पाठकहरू बजारू साहित्यबाट तर्सेर गुनिला कृतिहरू नै नपढ्लान भन्ने भय मेरा मनमा उठेको छ ।
साथै पत्रिकाका सम्पादकहरूले स्थापित र संघर्षशील लेखकहरूको लेखन क्षमता चिनेर उनीहरूसँग सम्पर्क गरी रचनाहरू नमाग्नु र एकादुई कृति निकालेकै भरमा पार्टीको बुई चढेर लेखक हुन्छु भन्ने कच्चा सोच बोकेका अन्तर्यविहीन लेखकहरूको स्वघोषित ठालुवादको हुङ्कार समाजमा जो देखिएको छ । त्यो राम्रो होइन ।

यो रोग एकेडेमी र साझामा देखिएको धेरै भयो । अब त्यसको अन्त्य हुनु पर्छ । लेखकहरूको संस्थामा पार्टीको भागवण्डा नीति किन लगाउने ? बरू लेखकहरूलाई परिचयपत्र प्रदान गर्ने अनि ‘नेपाली लेखक महासंघ’ बनाई त्यसैका आधारमा लेखकहरूले चुनाव गरेर एकेडेमीको गठन गर्ने संस्कार बनाइदिएमा जो ती संस्थामा गए पनि लेखन र लेखकको स्तर पक्कै उठ्ने थियो । नेपालमा अँझै निकै वर्षसम्म त्यो हुने छाँटकाँट म देख्दिनँ । जबसम्म लेखकहरू नै अरौटे, भरौटे र कुरौटे संस्कृतिका पिछलग्गु हुन्छन् मैले माथि भनेजस्तो संस्कार पक्कै बस्दैन । यो हाम्रो कलुषित राजनीतिको असर पनि हो । बहुदल अगाडि वाङ्मयका धरोहर संस्थाहरू यति गनाएका थिएनन् । जति अहिले ‘लोकतन्त्र’ कालमा दलदलमा भासिएका छन् ।

भिजन र मिसन बोकेका मानिस राजनीतिको पुच्छर समातेर शासक हुन चाहदैनन् । नेपालमा साहित्यमा पनि निकै मानिस असल छन् तर ती पाखा लगाइएका छन् । चुपचाप र वाचाल छन् । बोल्दैनन् । मात्र सुन्छन् ।

जसका प्रतिभा प्रसून पाइन् र गुदी छैनन् । युगको चाहनाअनुसार अग्रगामी भिजन दिन सक्दैनन् त्यस्ताले साहित्यिक धरोहर भएका संस्था चलाउनुको कुनै तुक पनि देख्दिनँ । मलाई चित्त नबुझेको यही एउटा कुरा हो । अन्य कुनै गुनासो छैन । गर्दिन पनि । नेपाली साहित्यको सर्वतोमुखी विकास हुने नीति सरकारले पनि अख्तियार गरोस् र साहित्यिक संस्थाले पनि अवलम्बन गरून । बस् मनमा यही घिड्घिडो एउटा पाल्या थिएँ । जो आज भनी पनि हालेँ । मन हलौं भयो । खुसी लाग्या छ यस मानेमा ।

१२. व्यस्तता बीच पनि हामीलाई समय दिएर आफ्ना अनुभूतिहरू सेयर गर्नुभयो । धन्यवाद छ यहाँलाई म र पत्रिकाका तर्फबाट ।
यहाँले पनि आफ्ना तमाम पाठकहरूलाई मेरा बारेमा बताउने विचारले यति यत्नपूर्वक संवार्तामा भाग लिनु भयो । प्राश्निक हुन कम परिश्रम छ र ? यहाँलाई पनि मेरो नमन छ । साधुवाद छ, यहाँलाई मेरा तर्फबाट ।

।।समाप्त।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *