Skip to content


प्रिय अनु,

शब्दहरू त मसँग कम्ती होलान् र थाहा छैन मेरा शब्दहरूले मेरै भावनासँग कतिको न्याय गर्न सक्लान् या हाम्रो प्रेमलाई यो पत्रमा कतिको न्यायिक बान्की मिलाउन सकुँला । लामो अन्तरालपछि आज म तिमीलाई भेट्न आउँदैछु यिनै शब्दका साँघुरा गोरेटा हुँदै । मसंगबाट तिमी भौतिक रुपमा टाढा भएपनि हाम्रो आत्मिक मिलन हरपल भैरहेको जस्तो लाग्छ । तिम्रा कलिला पाइलाले स्पर्श गरेको यो पवित्र माटोको सुगन्धले पनि मलाई उद्वेलित बनाउँछ, उत्तेजित बनाउँछ अनि तिम्रो यादमा तड्पाएर सतीदेवीको बिछोडमा बौलाएका महादेव जस्तै बनाउँछ मलाई । तिमी गयौ तर मलाई उसै अवस्थामा छाड्यौ, उही वर्तमानबाट ओझेल नपर्ने गरी । ती साँझ आज पनि उस्तै गरी आउँछन्, जून उस्तै गरी उदाउँछ, तिम्रो काखमा निदाएको अनि लुकीलुकी भेटेको ताजा आभास आज पनि उस्तै गरी आउँछ । ती रातहरू आज पनि उस्तै गरी आउँछन् र जान्छन् तर तिमी कहिल्यै आउँदिनौ किन ? तिमीसँग रहँदाका प्रत्येक पल, प्रत्येक दिन र रात उसैगरी आउँछन् अनि म कसरी बिर्सन सक्छु तिमीलाई ? त्यो चौतारीमा आजपनि पालुवा उसैगरी पलाएका छन्, भुइँकटहर उसैगरी फलेका छन्, मकैबारीमा हावा उसैगरी सुसेल्छन् । तिमी साथमा नभए पनि हिंजोका सुन्दर स्मृतिहरू मेरा आँखामा उसैगरी उभिन्छन् । अनि भन त तिमीबाट पलायन भएर म कहाँ जाऊँ ? म आफैलाई निमिट्यान्न नपारेसम्म तिमीबाट अलग हुन सकुँला जस्तो लाग्दैन अनु ।

तिमी हिउँदका पंक्षी झैं उडेर जुन क्षितिजमा पुगेपनि म तिमीलाई युगयुगसम्म पर्खि बस्नेछु । म एक्लै छैन, तिमी बिनाको म हुनु नै असम्भव छ । तिमी जहाँ पुग, म तिम्रो स्मृतिमा ताजै बनेर रहन पाउँ । यी आँशु तिम्रा स्मृतिको समुद्रमा भरिरहन पाउँ । मेरा आँशुमा तिमी तैरिएकी छ्यौ, मेरा परेलीमा तिमी अल्झेकी छ्यौ अनि मेरो नजरमा तिमी मुस्कुराएकी छ्यौ । तिम्रो कल्पनाको न्यानो च्यादर ओढेर म भोकै पनि निदाउन सकुँ । प्रिय, मबाट मेरो अतित खोस्ने कोसिस नगर्नु । मबाट तिम्रा यादहरू फिर्ता माग्न नआउनु किनकि तिनकै सहारामा त म बाँचेको छु । र, बाँचेको छु तिम्रो खुसी हेर्न, तिमी सफलताको शिखर चढेको हेर्न । हेरौली तिमी सफलताको शिखर चढेर फर्केको दिन तिम्रो सफलतामा थपडी बजाउनेहरूको भीडमा म सबैभन्दा अघिल्लो पङ्तिमा हुनेछु । तर, मेरो सफलतामा थपडी बजाउने तिमी मात्रै भए पुग्छ अनु ।

समय बलबान छ । हो, त्यही बलबान समयको बेगमा तिमी हुत्तिएर गयौ म हुत्तीन सकिन । उही ठाउँ, उही परिवेश र उही संसारमा छु । हावा यताबाट उतातिर बहे जस्तै उताबाट यतातिर पनि त बहन सक्छ नि । अनि उताबाट आउने हावामा तिमी पनि त बहेर आउली जस्तो लाग्छ जसरी यताबाट बहेर गएकी थियौ । मलाई हर क्षण सास फेर्न प्रेरणा दिने, मनको कुनै कुनामा बसेर बारम्बार जीवनतिर बगाइरहने तिमी नै त हौ ।

क्रुर समयको भुमरीमा हामी दुवै परेका थियौं तर तिमी उत्र्यौ म उत्रिन सकिन । तिमी किनारै किनार भएर सुन्दर बस्तीमा बास बस्न पुगेको हेरिरहन मात्र सकें । झिलको भुमरीमा परेको म, न त तिमीसँग सहयोगको याचना गर्दै हात पसार्न सक्थें न त मलाई बचाउन तिमी आफ्नो जीवनको आहुती गर्न आउँछ्यौ भन्ने कल्पना नै गर्न सक्थें ।

तिमीले त नयाँ संसार बसायौ हौली, त्यहाँ नयाँ सूर्य उदायो होला, मिठो बतास चल्छ होला, फुलहरू मुस्कुराउँछन् होला, रात पनि संगीतमय हुन्छ होला । तर, नढाँटी भनुँ ? तिमी बिनाको मेरो जीवन बाँचेर पनि पलपल मरेको छ । सूर्य उदाए पनि मेरो संसार अँध्यारोमा डुबेको छ । रातहरू कहिल्यै नब्यूँझने हुन् कि जस्तो लाग्छ । आफ्नै धड्कन हराएको बेला अरूको धड्कन नसुनिंदो रै’छ । अँध्यारोमा हराएको बाछोले रातभरमा पनि बाटो नपहिल्याए झैं म कतै अँध्यारोमा पछारिएको छु । एक्लोपनमा तिम्रो यादको बैशाखी टेकेर उभिने प्रयत्न गर्छु । तर बास बस्न आएको गौंथलीले बिहानै घर छाडे उडे झैं तिम्रा यादहरू मेरो जीवनबाट जाने हुन कि भन्ने पिर लाग्छ ।

प्रिय अनु, यो पत्र तिम्रो हात पर्छ कि पर्दैन थाहा छैन । अथवा कहिले तिम्रो हात पर्छ अथवा तिमीले यो पत्र पढ्दाको बखत म कहाँ कुन अवस्थामा हुँला त्यो पनि थाहा छैन । किन किन आजकल शराब मेरो साथी बनेको छ । दु:ख, पीडा, वेदना र छटपटाहट साट्ने मित्र बनेको छ शराब । मान्छेहरूले साथ छाडेको बेला यो आएको छ मेरो जीवनमा । कतै बाटो बिराएँछु भने माफ गर है, मातेको छु ।

उही तिम्रो हुन नसकेको
तिम्रो मान्छे
अजित क्षेत्री
युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *