भूकम्पको सम्झना


आएथ्यो ठूलो भूकम्प यहाँ वहत्तर् सालमा ।
मानिस भागी छाडेर घर पुगेथे पालमा ।।
हल्लायो उस्ले दिएर झड्का उधुम के गरी ।
आउँथ्यो उही ती कम्प फेरी हल्लिन्थ्यो बेसरी ।।१।।

मानिस भन्थे संसार अब भासिन्छ यसैले ।
डराई बोल्थे नेपाल खाल्डो पुरिन्छ कसैले ।।
धर्हरा पल्ट्यो मन्दिर भत्क्यो सबको सत्यानास् ।
कसैका घर ढलेर भत्के नौ हज्जार् मान्छे नास् ।।२।।

कुनैका छैनन् वाबु र आमा कुनैका सन्तान ।
झन् ठूलो आउँछ भनेर भन्थे सबै थे अन्जान ।
बैशाख बार पारेर आको जो मुख्य छंदै थ्यो ।
मनमा डर दिनका लागी बारम्वार् आउँथ्यो ।।३।।

कहिलो सानो कहिले ठुलो सयौंको संख्यामा ।
भैंचालो जान्थ्यो थर्काई हान्थ्यो मनैका कुनामा ।।
मुखले बोल्थे कोहीले हरी कसैले हे राम ।
मरिन्छ क्यारे भूकम्पबाट पुगिन्छ त्यो धाम ।।४।।

पुरिए कति घरका भित्रै हिसाब रहेन ।
मारिए फेरी पहिरो गई गणना भएन ।।
बाँचेका मान्छे कतिका खुट्टा टुकुरा भएथ्यो ।
कैयौंका भने हातका हाड धूलो झैं रहेथ्यो ।।।।५।।

बेरिन्थे पट्टी निधार महाँ चोट नै देखिन्थ्यो ।
घाइते हेर्न अस्पताल् पुग्दा मान्छेले छेकिन्थ्यो ।।
लाशका थुप्रा पोल्नका लागी घाटको कमि भो ।
तेस्माथी कम्प विशाल चल्दा वेहाल भईगो ।।६।।

कसैका मरे चिचिला सन्तान् कसैका श्रीमान ।
वैंशका वेला श्रीमती मर्दा विग्रियो दिमाग ।।
आमाको काख रम्ने त्यो बालो जिउँदै भेटियो ।
मुर्दाको दुध चुस्दैछ सन्तान् के उदेक देखियो ।।७।।

एउटै सन्तान कसैका परे त्यो काख रित्तो भो ।
बाबु र आमा मर्नेका दिन कसरी वित्दो हो ।।
मरेनन् कुनै घरका जहान् भत्किए ती घर ।
करोडौं पति एकै क्षण् पछि भै गए वेघर ।।८।।

बितेछ आज यो एक वर्ष कालले छाडेको ।
अझै नि त्रास यो मन भित्र रहन्छ गडेको ।।
गरीब हाम्रो यो देशबीच नजाओस् भैंचालो ।
उसै त मुलुक बेहाल थियो झन् भयो चिथारो ।।९।।

मरेका थिए जे जति मान्छे स्वर्गमा वास होस् ।
आफन्त जन तिनका यहाँ दुखको नास होस् ।।
देशको लागी आगामी दिन विकास लेराओस् ।
संसारबीच नेपाल अब प्रगति देखाओस् ।।१०।।

चूडा निर्भीक
झ्याउरे लयमा ( ३+२,३+२,३+३ जम्मा १६ अक्षर )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *