वसन्त ऋतुको बिदाइसँगै आगमन भएको ग्रीष्म ऋतुको प्रचण्ड गर्मीमा अनुप दास धर्मशाला परिसरमा “नारदी” नामक मैथिल लोकनाट्य/गायन कार्यक्रम आयोजना गरियो । त्यस पुनित अवसरमा प्राज्ञ रमेश रञ्जन, बरिष्ठ पत्रकार शिवहरि भट्टराई, मैथिल भाषा, संस्कृतिका अभियन्ता तथा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु मण्डल, मैथिली जागरण मञ्चका अध्यक्ष तथा शिक्षासेवी आशिन मियाँ, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, प्रेस काउन्सिल सदस्य मुरलीप्रसाद यादव, पत्रकार श्यामसुन्दर शशी, पत्रकार महासंघ, सप्तरी उपाध्यक्ष तथा मैथिली जागरण मञ्चका महासचिव श्यामसुन्दर यादव, हाँस्यव्यङ्य कवि महेन्द्र मण्डल “बनवारी”, पत्रकार राजु वि.क. कवयित्री करुणा झा, कवयित्री पार्वती राउत, कवयित्री तथा गायिका किरण झा, साहित्यसेवी अरबिन्द यादवजस्ता मैथिली भाषा/संस्कृतिका ज्ञाता/प्रेमीहरूका बीचमा बसेर कार्यक्रम अवलोकन गर्ने मौका मिलेको थियो । त्यस अवसरमा अग्रभागमा मैथिल संस्कारजन्य तस्विरले सजिएको र पश्च भागमा परिचयको लामो विवरणले ढाकिएको “अपन मिथिलाक गीत” नामक सांस्कारिक गीत, भजन र जनचेतनामूलक गीतहरूको संगालो कवयित्री किरण झाको हस्ताक्षरमा उपहारस्वरूप प्राप्त भयो । यस अघि पनि मैले मैथिली भाषामा लेखिएको कवयित्री करुणा झाको समसामयिक कविताहरूको सङ्ग्रह “भगजोगनी” बारे समीक्षात्मक टिप्पणी गर्दा एक किसिमको ऊर्जा प्राप्त भएको थियो । प्राज्ञ रमेश रञ्जनको मैथिली भाषामा लेखिएको “सङोर” नामक उपन्यास बारे चर्चापरिचर्चा गर्न समेत मलाई सकस परेन । धीरेन्द्र प्रेमर्षीको “समयलाई सलाम”, पार्वती राउतको “भनसुनको देश”, धीरकुमार श्रेष्ठको “घुर”, रमेश रञ्जनको “सङोर”, करुणा झाको “भगजोगनी”, किरण झाको “मिथिलाक गीत”जस्ता सप्तरी केन्द्रित सर्जकका मधेश केन्द्रित कृतिहरूको साङ्गोपाङ्गो अध्ययनमनन्पश्चात् समालोचना गरिसकेको छु । मैथिली भाषा/साहित्यका ज्ञाता तथा मैथिली साहित्य परिषद्का निवर्तमान अध्यक्ष देवेन्द्र मिश्रको “बगियाक गाछ” र सागरवीर कडारी–रवेन्द्र मडर “रवि”को “सेहन्ता” लघुकथा बारे समीक्षात्मक अभिमत प्रकट गर्न बाँकी छ । यस आलेखमा भने मैथिली कवि परिषद्, बनौला गाउँ कमिटीका अध्यक्ष देवकरण माझी “देव” र उनको कृति “हमर मनोरथ”मा केन्द्रित हुने जमर्को रहने छ ।
बुद्ध जन्मल देशमे, बुद्धिक कमि अछि ।
नेपाल जका ठाममे, शान्तिक कमि अछि ।
उपर्युक्त गीति हरफका रचयिता बनौला–४, सप्तरी स्थायी ठेगाना भई हाल राजविराज–६स्थित निजी निवासमा बसोबास गर्दै आएका युवा सर्जक देवकरण माझीका हुन् । पितामाता चिनीलाल र कुसुमकला देवी माझीका सुपुत्रका रूपमा वि.सं. २०४१ साल असार ११ गते यस धर्तीमा पहिलो पटक आँखा खोलेका माझी “पहिलो प्रेम” नेपाली गीतिक्यासेट सार्वजनिकसँगै चर्चामा आएका हुन् । हुन त उनले २०६३ सालमै भूपेन्द्र रायमाझीको सङ्गित र सन्तोषकुमारको स्वरमा रेकर्ड भएको “सरस्वती बन्दना” भजन लेखनसँगै गीत–सङ्गित क्षेत्रमा हाम फालेका हुन् । त्यसपछि आएर उनी “फैसनवाली छौंडी”, “प्रेमक” डोर”, “मुठिया बचत”, “सजनी भेल बेइमान”, “दिलमे फूल फुलल” जस्ता मैथिली गीतिक्यासेटहरूमा समाविष्ट दर्जनभन्दा बढी गीतका सर्जक बनेका छन् । थारू भाषाको सिनेमा “तोहर यादमे”, मैथिली भाषाको सिनेमा “सँगे जीवै सँगे मरवै” जस्ता सिनेमाका गीतहरू पनि उनले लेखिसकेका छन् । “सजनी भेल बेइमान” क्यासेटमा सङ्गित दिने र केही गीतिक्यासेटका निर्माता समेत बनेका माझी दामको लागि नभई नामको लागि साहित्य र सङ्गीतमा होमिएको बताउँछन् । “प्रेमक रिस्ता” गीतिक्यासेट र “माटिक घर” लघुकथा प्रकाशनमा जुटेका माझीका “अमर प्रेम” र “गौरव–गरिमा” नामक दुई गीत सङ्ग्रहहरू प्रकाशनको लहरमा छन् । विगत १२ वर्षदेखि म्याक्सेल, प्रिमियर, महावीर, शिब्सजस्ता बोर्डिङ स्कुलमा र विगत ३ वर्षदेखि क्यालिभर इन्टरनेशनल कलेज, राजविराजमा शिक्षणरत् रहँदै श्रीमती र एक मात्र सन्तान प्रवेश (पुत्र)का साथमा जीवनरथ हाँकिरहेका माझी सुमधुर स्वरका धनी व्यक्तित्व समेत मानिन्छन् । उनले सरस्वती ज्ञान मञ्च, शिक्षा–दीक्षा र मधेश टाइम्स पत्रिकाहरू समेत सम्पादन/प्रकाशन गरेका छन् । साथै, उनको २०६१ सालमा “हमर मनोरथ” नामक मैथिली गीत/गजल सङ्ग्रह प्रकाशित छ । यस लेखमा सोही कृतिमा आधारित रही उनको कृतित्वमा आधारित व्यक्तित्व पहिचान गर्ने ध्येय राखिएको छ ।
१. सामाजिक यथार्थवादी विचार सम्प्रेषण : कवि माझीका गीति हरफहरूले समाजको तस्विर हुबुहु उतार्ने काम गरेका छन् । साँचो कुरो जहिल्यै पनि कटु लाग्छ । अन्नको भण्डार तराई, राजस्व सङ्कलनको प्रमुख क्षेत्र तराई र उत्पादनको महत्तवपूर्ण स्थान तराई भएको कारणले तराईले नै पूरै नेपाल थेगेको छ भन्नु वस्तुत: कटु सत्य हो । यस खाले सत्यतालाई उद्घाटन गर्ने प्रवृत्ति स्वरूप देखा परेका हरफ हुन्–
अन्नसँ धनिक रहितो विकासमे पिछडल तराई ।
प्रदेश हमर गरिब रहितो, देश चलबैय तराई ।
२. दार्शनिक दृष्टिकोण मुखरित : हामी को हौं, कहाँबाट आयौं र कहाँ फर्कन्छौं ? आदि जस्ता प्रश्नहरूको जवाफका लागि घोत्लँदा गीतका हरफहरूमा दार्शनिक दृष्टिकोण व्यक्त भएको देखिन्छ । अर्कातिर आए पछि जानु संसारको रीत हो । यस रीतका विरुद्ध कोही जान सक्दैन । अनि, काया बूढो होला तर मन बूढो कसैको हुन्न । मन परिपक्व हुने मात्र हो । बूढो भएर कमजोर हुने अवस्था भने आउँदैन ।
(अ.) हम के छी, हम कि छी, हम किछु नै छी ।
समय आब दीय, समय एलासँ फेर देखा देव ।।
(आ.) तन भेद वृद्ध हमर, मोन अछि जमान ।
अखन मोन साधु, कखनो ककरोप ध्यान ।।
३. राजनैतिक खिचातानीको भण्डाफोर : कुर्सीको जोड–घटाउमा जनप्रतिनिधि व्यस्त र व्यग्र भएको अनि जनउत्तरदायित्वप्रति बेखबर रहेकै कारण मुलुक लामो समयसम्म द्वन्द्वमा फँस्यो । ठूलो मूल्य चुकाएर प्रतिफल हात पार्यो । परिवर्तनका हिमायतीहरू समेत राष्ट्रिय चिन्तनलाईभन्दा वैयक्तिक सुखसयललाई प्रमुख स्थान दिन थाले । यसबाट जनता अन्योलमा फँसे । अग्रगतिको मार्ग मेटियो र धरमरिँदो समय निम्त्यो । यसै सन्दर्भमा राजनैतिक कर्तुत विरुद्ध बमवर्षा गर्दै गीतकार भन्छन्–
कोना रहत नेपाली कोना चलत हमर देश ।
जनता अपन देश छोडी जाय लागल परदेश ।।
४. सांस्कृतिक रूपान्तरणको आवाज बुलन्द : पुरातनवादी सोचलाई मलजल दिँदै जाँदा मात्र मान्छे जड बन्ने हो । समयको परिवर्तनसँगै मानिसको सोचसमझमा गतिशीलता आउनुपर्छ । परिवर्तन र रूपान्तरणको अध्याय नपल्टाउने हो भने मानिस सर्वश्रेष्ठ प्राणी कहलाएको कुनै अर्थ रहँदैन । यस परिप्रेक्ष्यमा परिवर्तन र रूपान्तरणको अभियानमा गीतकारको कलम तीखो छ । उनी भन्छन्–
कीय होइत छुवाछुत, कीय होइय भेदभाव यौ ।
हमहुँ एक मानव छी, सुनु हमरो विचार यौ ।।
५. उज्जवल भविष्यको चाहना व्यक्त : मानिसको कर्मको एउटै अभीष्ट हुन्छ, त्यो भनेको उज्जवल भविष्यको खोजी गर्नु हो । वरपर भएका बेथितिहरू निर्मूल गरी सकारात्मक बाटो पक्रँदा मात्र प्रगतिका सोपानहरू उक्लन सकिन्छ । परिश्रमीले सिर्जनाको खोलो बगाइदिन सक्छ । कराल पहाड फोडिदिन सक्छ । सुख र खुशी भित्र्याउन सक्छ । त्यसका लागि सामाजिक अनुशासनका न्यूनतम पाटाहरूलाई स्वीकार्नु आवश्यक छ । हात बाँधेर बसेमा भोलिको उज्यालो उपभोग गर्न कसैले पाउन्न । मेहनतको दाममा विश्वास गर्नेले नै सफलता पाउँछ । यही धारमा गीति हरफहरू बेजोडसँग आएका छन्–
(अ.) कामकाज नै सिखब, सदिखन बेकार जिनगी ।
मेहनत नै करिक” खायब, कहत चोरक जिनगी ।।
(आ.) रोजगार नहि अछि, एकटा काज चाहि ।
काज कएला पर, मेहनतक दाम चाहि ।।
६. मधेशी भएकोमा गर्ववोध आभास : मानव मन जुट्ने हो भने रूपान्तरणको स्वाद चाख्न पाइन्छ । विसंगत अवस्थाहरू पनि थान्को लाग्छन् । जहाँ जति बढी द्वन्द्व छ, त्यहाँ त्यत्ति बढी मेल लुकेको छ । मधेशमा देखिएको विशाल भावनामा मन कल्पाउने तागत पनि लुकेको छ । यहाँ सम्पूर्ण नेपाल र नेपालीकै भोलि लुकेको छ । नेपालीको सुनौला फूल फूलिरहेको छ । स्वच्छ मनले मधेशलाई जित्नुपर्छ । मूलधारबाट पन्छाएर मधेशलाई हात पार्न कसैले सक्दैन । आजसम्म मधेशलाई हराएर राज भो, हारेकाले जित्न खोजेको मात्र हो । जित्नका लागि त्याग देखाउन पनि सक्नुपर्छ । विना त्यागको जितौरी दुई दिनको मात्र हो । फेरि हार्नकै लागि दुई दिन जित्नु अनिष्ट निम्त्याउनु हो । हार्न नजान्नेले जित्न पनि जान्दैन । जितलाई बचाउन नसक्नेले हारलाई सहन पनि सक्दैन । सधैँ थिच्न जित्नु परेको छैन । सधैँ विगत ब्यूँझाउन मनासिव पनि छैन । विगतको अध्यायलाई उल्टाएर नपढे नयाँ रोडम्याप पनि पत्ता लाग्दैन । रोडम्यापविनाको काम अँध्यारोमा बन्दुक चलाएझैँ घातक हुन्छ । मनले मधेशीलाई हृदयमा बसाउनुपर्छ । मनले मधेशीलाई नेपालीमा रूपान्तरण गर्नुपर्छ । मन नै नभएकाहरू मधेशमा मह चाट्न आउँछन् । तिनै चटुवाहरूले मधेशलाई मसानघाट बनाए । दानवीर बन्नु परेको छैन, खानी छ यहाँ । दिन परेको छैन, नखोसे भएको छ यहाँ । दयालु मनले रित्तो झोला लिएर आऊ, भरेर लैजाऊ । क्रोधी मन र षडयन्त्रपूर्ण दिमाख लिएर आऊ, मार या मरेर जाऊ । यो पनि हो–भर्ता झोला ल्याऊ, खन्याउने ठाउँ मिल्छ यहाँ । बाँकी दु:खका घर कैँटे बन्दुकहरू स्थूल मनको अघि टिक्न सक्दैन । कैँटेलाई मधेशले नै पाताल भसाउँछ । भरौटेलाई पाखा पार्दिन्छ । मधेश विवेकले ताते चैत्र, बैशाख आउँनै पर्दैन, सधैँ–सधैँ वसन्त बहार रहिरहन्छ । वसन्त फुलिरहन्छ । वसन्त फक्रिरहन्छ । आफू मधेशी भएकोमा गीतकार माझी गर्वानुभूति व्यक्त गर्दछन्–
(अ.) हम छी मैथिल बाबु, धोती–कुर्ता भेष ।
मैथिली भाषा बाजु, मिथिला हमर देश ।।
(आ.) भाषाके विकासमे पिछडल अछि ई मिथिला हमर ।
जनक जानकीके गाथासँ पुजित ई जनकपुर हमर ।।
७. प्रेयसीसँगको प्रणय लीलाको बकालत :– जापानमा एउटा असाध्यै ठूलो राजाको नोकर त्यस राजाकी रानीको प्रेममा पर्यो । राजालाई थाहा भयो । एउटा साधारण नोकर, एउटा दासले उनकी रानीलाई प्रेम गर्नु, उनकी रानीको प्रेममा पर्नु, उनका लागि यो असाध्यै अशोभनीय र अपमानको कुरा थियो । यद्यपि प्रेमले थाहा पाउँदैन, को दास हो, को नोकर हो ! तर समाजमा यसको हिसाव हुन्छ । प्रेमलाई केही पनि थाहा हुँदैन, को राजा हो, को नोकर हो । प्रेमले त, जोसँग प्रेम हुन्छ उसैलाई राजा बनाउँछ । र, जोसँग प्रेम हुँदैन, त्यो नगण्य हुन्छ । तर राजाले सोच्यो, यो कस्तो गडबड कुरा भयो ! यो बडो अपमानको कुरा भयो । यो खबर फैलिने हो भने धेरै नराम्रो हुन्छ । उसले नोकरलाई बोलायो । त्यो नोकर साँच्चै नै राजाको प्यारो थियो । त्यो राजा पनि उसलाई प्रेम गर्थ्यो । उसले नोकरलाई भन्यो– उचित त के हुन्छ भने म तरबारले तेरो टाउको छप्क्याऊँ । मैले पनि तँलाईं माया गरेको थिएँ तर तँ अद्भूत व्यक्तिरहिछस्, त्यसैले म तँलाईं एउटा मौका दिन्छु । तरबार उठाएर म अघि आउनू । हामी दुवैजना तरबार लडौं र जो मर्ला, त्यो मर्ला, जो बाँच्ला त्यो मालिक होला ।
त्यो दयाको कुरा थियो । राजाले नोकरसँग लड्नु र उसलाई पनि मौका दिनु अनिवार्य भयो । उसलाई ऊ त्यसै पनि मार्न सक्थ्यो । नोकरले भन्यो– तपाईंको भनाइ त ठीकै हो तर कुरो त जस्ताको त्यस्तै छ । किनकि मैले कहिल्यै तरबार चलाएको छुइनँ, म तरबार चलाएर कतिञ्जेल तपाईंसामु टिकूँला ? तपाईं त असाध्यै कुशल हुनुहुन्छ । टाढा–टाढासम्म तपाईंको नाम चलेको छ, तपाईंजस्तो तरबार चलाउने अर्को कोही छैन । त, तपाईं भन्नुहुन्छ, तँमाथि दया गर्दै छु तर यो कुनै दया भएन । किनकि यसको अर्थ, यसको अन्त्य कस्तो हुन्छ भन्ने मलाई थाहा छ । मैले त कहिल्यै तरबार पक्रेको छैन, मलाई त तरबार कसरी पक्रने भन्ने पनि थाहा छैन । म तपाईंलाई कसरी जितूँला ? फेरि पनि राजाले भन्यो, आज्ञा दियो, त्यसैले उसले तरबार उठाउनै पर्यो । सारा दरवारका मान्छेहरू उभिएर हेर्न थाले । राजाले आफ्नो जीवनमा धेरै युद्ध जितेको थियो । टाढा–टाढासम्म उसको नाम चलेको थियो । ऊजस्तो तरबार चलाउने कुशल व्यक्ति अरू कोही थिएनन् । तर मानिसहरू छक्क परे, राजा आफू पनि छक्क पर्यो । नोकरकासामु तरबार चलाउनु उसका लागि अफ्ठ्यारो हुन गयो । ऊ तरबार चलाउन जान्ने पनि थिएन, राजा प्रतिपल पछि हट्न थाल्यो । नोकर यसरी प्रहार गरिरहेको थियो कि राजा डराउन थाल्यो । नोकरको प्रहार जथाभावी थियो । त्यो आक्रमण पूरै गडवड थियो, पद्धति बाहिरको थियो । तर नोकरकासामु एक मात्र विकल्प थियो– मर्नु या मार्नु । उसका सारा शक्ति सङ्ग्रहित भएका थिए, उसका सबै प्राण जागेका थिए । उसकासामु अर्को कुनै विकल्प थिएन । ऊ मर्ने थियो, यो निश्चित थियो । त्यसैले अब ऊ मार्नका लागि जे पनि गरिरहेको थियो । र अन्तत: राजाले चिच्याउनु पर्यो, पर्खी । र, राजाले भन्यो, म चकित छु । यस्तो मान्छे कतै देखेको थिइनँ । मैले धेरै युद्ध लडेको छु, यो के भयो ? एउटा साधारण नोकर पनि शक्तिवान् कसरी भयो ? उसको बूढो मन्त्रीले भन्यो, म पहिलेदेखि सोचिरहेको थिएँ, सायद तपाईं झन्झटमा पर्नुहुनेछ । किनकि तपाईं केवल कुशल हुनुहुन्छ तर तपाईंकासामु मृत्युको प्रश्न छैन । ऊ कुशल छैन तर उसकासामु मृत्युको प्रश्न छ । तपाईंको सम्पूर्ण शक्ति जाग्न सक्दैन तर उसको सम्पूर्ण शक्ति जागिसकेको छ । उसलाई जित्नु असम्भव छ । जब मनुष्यकासामु उसका सारा सहाराहरू समाप्त भएर जान्छन् तब मात्र उसभित्रको शक्ति जाग्छ । हामी सहारालाई समातिरहेसम्म आफैं आफ्नो शत्रु हुन्छौं र आफूभित्रको निष्कृय शक्तिलाई जाग्ने मौका दिँदैनौं । विश्वास आत्मघाती हुन्छ, विश्वासले तपाईंको विवेकलाई, विचारलाई जगाउँदैन । जाग्ने कुनै आवश्यक्ता रहँदैन, कुनै मौका रहँदैन । यदि तपाईंका सारा विलिव्सलाई, सारा विश्वासलाई छुट्याई दिने हो भने कै हुन्छ ? तपाईं विचार गर्न विवश बन्नुहुन्छ, तत्क्षण विचार गर्न विवश हुनुहुन्छ । तपाईंले सोच्नै पर्छ किनकि विना सोचाइ बाँच्न असम्भव हुन्छ । विना सोचाइ एक क्षण पनि बाँच्न असम्भव हुन्छ । विश्वासलाई हटाउनुस्, अनि तपाईंभित्र विचारको निष्कृय शक्तिमा अद्भुत जागरण प्रारम्भ हुन्छ । जसले सबै विश्वासलाई हटाउँछ, उसैले विवेक प्राप्त गर्छ । दार्शनिक ओशोको यसै कथनजस्तो गीतकारले प्रेमको गहिराइमा पुगेर आफ्नो अभिव्यक्ति दिएका छन् ।
१. सजनी अहाँ विन जिनगी अन्हार लागैए
कोन मोहनी लगेलौ हमर दिन नै बितैए ।
२. मोन हमर अहाँसँ, बहुत प्रीत करैए ।
प्रीत करितो अहाँसँ, मुदा हृदय डरैए ।।
३. सुतैत काल जखन हमर मोन आबैत हैत ।
रातिमे अहाँक निन, देरसँ अबैत हैत ।
४. आँखिमे भरल नोर, अब हँसव कोना क” !
एसगर जिनगी हमर, आब बितायब कोना क” !
८. अधिकारप्रति सचेतता :– कवि देवकरण माझीले मैथिल समाजमा आफूले भोगेको युगीन पीडा, राजनैतिक अस्थिरताले भित्र्याएको छटपटी बेचैनी, विसङ्गति र घृणित अवस्था एवं वर्तमान युवा पिढीमा देखिएको गडबढी आदि विविध पक्षप्रति आक्रोश पाखेका छन् । त्यत्ति मात्र नभई आशलाग्दो समय भित्र्याउने जीवनवादी दृष्टिकोण पनि व्यक्त गरेका छन् । साथै, विद्रोही स्वरहरू समाविष्ट गर्न पुगेका गीतहरू पनि सङ्ग्रहमा परेका छन्–
हम छी बेटी, खोजै छी अधिकार ।
उमेर अछि छोट, पैघ अछि विचार ।।
९. कोमल, सुललित एवं धाराप्रवाहमय शैलीको प्रयोग : काव्यात्मक सूधापान गराउन गीतकार माझीका गीत/गजलहरू सशक्त रहेका छन् । विशेषत: गीत/गजलहरूमा लय हुनुपर्छ, अन्त्यानुप्रासयुक्त रहनुपर्छ । यी दुवै गुण “हमर मनोरथ”मा सशक्तरूपमा देखापरेका छन् । शास्त्रीय विधिविधानलाई अवलम्बन नगरेको भए पनि वाचनका दृष्टिले उत्कृष्ट छन् । शुद्ध मैथिली भाषालाई आत्मसात् गरेर अघि बढेका माझीले मैथिली भाषाको गरिमामय मधुर र करुण परम्परालाई आफ्ना गीत/गजलहरूमा समेटेका छन् ।
हमर मनोरथ अछि जीवनके दु:ख एसगर भोगितहुँ हम ।
मिथिलामे रहिक हजारौं दर्द आजीवन सहितहुँ हम ।।
गीत/गजलकार देवकरण माझी “देव”का बारेमा विविध विद्वान्हरूले प्रकट गरेका अभिमत तल प्रस्तुत गरिएको छ–राजविराज–९ निवासी आफूलाई मैथिलीकर्मी भन्न रुचाउने मैथिली भाषा/साहित्यका ज्ञाता तथा मैथिली साहित्य परिषद्का निवर्तमान अध्यक्ष एवं “बगियाक गाछ” र “मैथिली सामान्य ज्ञान” नामक दुई कृतिका सर्जक तथा दर्जनौं मैथिली कविता/गीत/लेखका सर्जक देवेन्द्र मिश्रको कथन छ– “उमेरक हिसावसँ, विशेष क” कए युवावस्थाक मनोभावनेक चित्रण सही, हिनक मातृभाषा प्रेमकें जँ देखल जाय त” ई हिनकर एकटा उत्साहबद्र्धक प्रयास लागिरहल अछि ।” (उमेरको हिसावले, विशेष गरी युवावस्थाका मनोभावहरूको चित्रण गरी गीत/गजल लेख्नु र यिनले मातृभाषामा प्रेम झल्काउनु उत्साहबद्र्धक प्रयास हो ।)
पत्रकार, सम्पादक, कुशल अभिनेता, उद्धोषक तथा मैथिली भाषाका व्यङ्ग्य कवि महेन्द्रप्रसाद मण्डल “बनवारी”को उत्साहबद्र्धक मत छ– “समाजमे रहल विकृति आ समस्या सवपर प्रहार करैत प्रेमरसमे शृङ्गार करि सजौने छथि ।” –गीतकार देवकरणले समाजमा रहेका विकृति र समस्याहरूमा प्रहार गर्दै प्रेमरसमा शृङ्गार गरेर सजाएका छन् ।)
“मिथिलाक संघर्षरत जीवनक परिप्रेक्ष्यमे मिथिलावासिक मनोरथ एवं क्लेशक बहुत सरल आ सहज शब्दमे यथार्थपरक चित्रण कएने छथि ।” (मिथिलाको संघर्षरत जीवनको परिप्रेक्ष्यमा मिथिलावासीको मनोरथ एवं क्लेशलाई बहुत सरल र सहज शब्दमा यथार्थपरक चित्रण गरेका छन् ।”) विद्या मिश्रा (अध्यक्ष, राजदेवी सङ्गित कलाकेन्द्र, राजविराज) ।
“माटिके प्रेम केनाइ, परम्परा आ संस्कृतिप्रति मोह दर्शेनाइ, युवापिँढीके मार्गनिर्देश करनाइ, लैङ्गिक असमानताक कारण सँ नारी जगत्के सामाना कर परलाहा चुनौतीसभ देखनाइ, सृष्टिके चक्र चलाबैके मात्रे नहि क्रान्तिके आगि उगिलैके सामर्थ्य नारी वर्गमे रहल आभास देनाइ, अपनासभक समुन्नत भविष्य बनाब प्रयत्न करैल वीरशहिदसभके त्याग आदि विषयसभक विशद् चर्चा केनाइ जेहेन प्रयत्नसभ गीतकार देवकरणसँ भेल अछि ।” (माटोलाई माया गर्ने, परम्परा र संस्कृतिप्रति मोह दर्शाउने, युवापिँढीलाई मार्गनिर्देश गर्ने, लैङ्गिक असमानताका कारणले नारी जगत्ले सामाना गर्नु परेका चुनौतीहरू देखाउने, सृष्टिको चक्र चलाउने मात्र हैन क्रान्तिको आगो ओकल्ने सामर्थ्य नारी वर्गमा रहेको आभास दिलाउने, हाम्रो समुन्नत भविष्य बनाइदिन प्रयत्न गर्ने वीरशहिदहरूको त्याग आदि विषयहरूको विशद् चर्चा गर्ने जस्ता प्रयत्नहरू गीतकार देवकरणबाट भएको छ ।)– नन्दलाल आचार्य ।
“मिथिलाक साहित्य सागरमे “हमर मनोरथ” अपन स्थान बनावे एहि आशाकसँग ई गीत तथा गजल सङ्ग्रह सम्पूर्ण मैथिली अनुरागी समक्ष प्रस्तुत अछि ।” (“मिथिलाको साहित्य सागरमा “हमर मनोरथ” आफ्नो स्थान बनाउने छ यही आशाका साथै यो गीत तथा गजल सङ्ग्रह सम्पूर्ण मैथिली अनुरागी समक्ष प्रस्तुत छ ।”) कृतिका बारेमा आफ्नो स्पष्ट भनाइ राख्दै प्रस्तुत कृतिका लेखक देवकरण माझी “देव” कला, साहित्य र सङ्गीतको श्रीबृद्धिमा जीवन समर्पित गर्ने अठोट सुनाउँछन् ।
अन्तमा रसिक स्वभावका गीतकार माझी व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा वस्तुनिष्ठताले ओतप्रोत व्यक्ति हुन् । एक सचेत सर्जकको भूमिका निर्वाहमा उनी प्रयत्नशील भएको देखिन्छ । प्रतिभावान् कवि, गीतकार, गजलकार बन्न र क्षमतावान् पत्रकार हुन उनले सङ्घर्ष गर्नैपर्छ । यस कृतिमा समेत संरचनागत हिसावले गजल भन्न नमिल्ने खालका रचनाहरू समेत परेका छन् । शक्तिशाली कलमको धनी बन्न रातोदिन प्रयत्नशील हुनुको विकल्प छैन भन्ने कुरामा गीतकारको ध्यान खिचिनु आवश्यक छ । देवकरण माझी भन्नासाथ गीत/गजल, लघुकथा लेख्ने साहित्यकार, गीतिक्यासेटमा सङ्गित दिने, गीत लेख्ने र क्यासेटनिर्माता हुने सङ्गीतप्रेमी एवं विगत १२ वर्षदेखि अनवरतरूपमा शिक्षण कार्यमा समर्पित त्रिवेणी व्यक्तिका रूपमा हेरिँदा अतिशयोक्ति गरेको नठहर्ला ।
कृति : हमर मनोरथ/विधा : गीत–गजल/कृतिकार : देवकरण माझी “देव” /संस्करण : पहिलो, २०६१, विवाह पञ्चमी/मूल्य : रू. १०।–/प्रकाशक : देवकरण माझी “देव”/ अशुद्धि संशोधन : देवेन्द्र मिश्र/पृष्ठ : २२+४/मुद्रक : साझा अफसेट प्रेस, राजविराज ।
–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर,
मो.नं. ९८४२८२९२०६/९८१७७२९५६५
मिति २०७०।०६।१४

यथार्थपरक
यथार्थपरक विश्लेषण
Dhanyabad !
Yaso eka drishti lekheko ho hjr !