समय उब्रिएछ भने
म तिमीलाई माया गरुँला…

यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाडौंको मञ्चमा ख्याति कमाएका थिए। कयौं कयौंपटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कयौंपटक रेडियोबाट पनि बजेका छन्। दर्शकको दिल दिमागमा त अँझै बजिरहेकै होला, घरिघरि।

यस्तो कविता लेख्ने कवि अशेष मल्ललेपछि कविता लेख्नै छोडे र उनी बढी रंगकर्मतिर बढी होमिए।

अब यो धरतीमा आइमाईको आवश्यकता छैन…

यो शीर्षकको कविता पढेर काठमाडौंको काव्य मञ्चमा जमेका जीवन आचार्यलाई ‘लेऊ, च्याउ र खिया’ पछि दर्शकजनले सुन्न पाएनन्। जीवनको वाचन र मञ्चमा उपस्थितिको प्रभाव जोडदार थियो।

उनी हल सम्हाल्न सक्ने क्षमता राख्थे। पछि उनलाई चित्रकलाको संसारले खाइदियो। बिस्तारै उनी कवि कम चित्रकार बढी हुँदै गए, अनि बिस्तारै कार्टुनिस्ट। पछि डिजाइन राइटर हुँदै गए।

उनी कवितामाभन्दा बढी पछि ‘अर्थात्’ नामक स्तम्भमा लोकप्रिय भए। किशोर नेपालले सम्पादन गरेको देशान्तरमा आचार्यको अर्थात् निकै लोकप्रिय स्तम्भ थियो। भाषामा अर्थ बचाउने र मानवीय स्थितिको सरलीकरणहरूको विरोध गर्ने काममा यो स्तम्भले तगडा वकालती गरेको थियो, विवाद र असमझदारीको पक्षलाई छोडेर।

‘अर्थात्’ नाउँ नै लोकप्रिय मानिएको यो स्तम्भ त्यसभन्दा पहिले लामो समय हिन्दी दैनिक ‘जनसत्ता’मा अर्थात् शीर्षकमै रघुवीर सहायले चलाइसकेका थिए। कुनै समय ‘दिनमान’मा सम्पादक भइसकेका सहाय किशोर नेपालका पत्रकारिताका गुरु नै मानिन्थे।

यो शीर्षक उनले गुरूबाट दक्षिणाका रूपमा नै लिएका हुनुपर्छ।१९९० डिसेम्बर ३०मा देहान्त भएका सहाय कवि पनि हुन्, उनको कविताकृति ‘हँसो हँसो जल्दी हँसो’ (१९७५), ‘लोग भूल गये है’ (१९८२) र ‘कुछ पते कुछ चिठ्टीयाँ’ (१९८९)मा प्रकाशित भएका छन्। सहायको त्यतिबेलाको लोकतन्त्र शीर्षकको कविता आज पनि सान्दर्भिक लाग्छ,

लोकतन्त्रको मजाक हुँदै गरेको देखेर
हेरिरहेछन् एकदम बुढाहरू
कम उमेरका बुढा भन्छन् कि के यही हो लोकतन्त्र?
झन् धेरै कम बुढाहरू लोकतन्त्रसित घृणा गर्छन्
बाँकी सबैलाई एकअर्कासित घृणा छ

सहायक शिवमंगल सिंह सुमन, सर्वेश्वरदयाल सक्सेना, नरेन्द्र जैन, नेपाल र नेपालीलाई माया गर्ने कवि थिए। उनले अर्थात् मार्फत् ख्याति कमाए, यहाँ कवि जीवनलाई यही स्तम्भले चिनायो।

अशेष, जीवनजस्तै मञ्चमा कविता पढ्दा थर्काउन सक्ने अर्का होनहार कवि थिए, दिनेश सत्याल। जसको कविता ‘भाटभटेनीहरू मलाई हात देऊ’ सुनेपछि धेरै युवाले त्यसपछि कविता लेख्नै छोडिदिए।

दिनेश सत्याल काठमाडौंमा सडक कविता क्रान्ति हुँदा वा मञ्चमा कविता पढ्दा वासु शशी, हरिभक्त कटुवालजस्तै ताली पाउने कवि थिए। उनलाई पछि पत्रकारिताको पेसाबाट कविलाई अलग्याइदियो र उनी कालान्तरमा सौरभ नामबाट स्तम्भकार भए, धेरैका मनपर्ने, धेरैलाई अति मन नपर्ने।

सौरभ कवि र स्तम्भकार हुनुअघि सर्वाधिक कथाकारका रूपमा सर्वाधिक चर्चामा थिए। उनको कथाको क्राफ्टम्यानसिप फरक खालको थियो, धेरै फरक खालको। दिनेश सत्यालको निकथा (जसलाई उनले निबन्ध कथा नाम दिएका थिए)बाट सम्पादकहरू खुसी थिए तर पाठक?

दिनेशका कथा डायमन हरवरलाई मेरो सलाम, थाट, मृत्युघाट, तोप, अम्बरजस्ता कथामा त्यही शैली थियो, त्यतिबेला त्यस्तो कथा बुझ्ने र पढ्ने पाठकको अल्पताले गर्दा ‘मधुपर्कु’का सम्पादक नारायणबहादुर सिंहले उनलाई दोहोर्‍याएर छाप्न सायद सकेनन्। कथा लेखेर नै दिनेश सत्यालले अन्तर्राष्ट्रिय जगत्को पहिलो साहित्यिक पुरस्कार पाए, डोयेचेवय्ला पुरस्कार। कथा थियो, सीमावारि सीमापारि।

नेपाली साहित्यमा अन्तर्राष्ट्रिय स्तरको यस्तो पुरस्कार पाउने पहिलो स्रष्टा थिए, दिनेश सत्याल। उनैलेपछि साहित्यबाट संन्यास लिए, म नयाँलाई स्पेस दिन चाहन्छु भन्दै।

अहिलेका युवा पुस्ताका कथाकार कुमार नगरकोटीले उनको शैलीलाई पछ्याइरहेकोमा खुसी मान्नपर्छ, दिनेशको शैली अँझै जीवित नै छ। आजकालका युवा पाठक र पत्रकार झुमेका छन् यो शैलीमा। कथाकार दिनेश शंकर लामिछानेको कथा शिल्पको परिचय दिने व्यक्ति हुन्।

कविका रूपमा दिनेशको अन्त्य भएपछि कथाकारको रूपमा पनि उनले परित्याग गरे यो परिचय। उनको कवितावाचन शैली तीसको दशकको एक फेनोमेना नै थियो। कवि साहित्यकारको संगतबाट टाढिने रहरले साहित्य छोडेको उनले गत साताको एक भेटमा सुनाए।

दिनेश, अशेष, जीवनजस्तै कवितावाचनमा रोब र दबाब भएका अन्य दुई कवि हुन्, विमल कोइराला र मीनबहादुर विष्ट।

विमललेपछि कविताभन्दा भाषण र गीत लेख्न थाले, एउटा उनको पेसा र अर्को उनको सौख भयो। गीतमा पनि उनी खास जम्न सकेनन्, ‘हतियार’ उनले गीत लेखेको पहिलो चलचित्र थियो भने उनले शक्तिवल्लभसित धेरै एल्बममा काम पनि गरे।

मीनबहादुर चाहेर पनि साहित्यमा फर्कन सकेनन्। उनका कविता समयका निम्ति धक्का थिए तर समयले उनलाई जागिरमै धकेलिदियो, शिक्षासेवामा उनका अधिकांश समय बित्यो।

मीनबहादुरको ‘साला पहाड मेँ क्या है होस्’ वा विमलको ‘सिक्किम’ कविता आज पढ्दा पनि वा उनको आवाजमा सुनेका श्रोतालाई सम्झिँदा पनि तरंग पैदा हुन्छ।

कविता साधनाको चीज रहेछ, शक्तिको होइन। बल गरेर कविता लेखेर नहुने रहेछ। लेख्दा खस्किन सक्ने र खस्किँदै जाने प्रशस्त प्रमाण भेटिएको छ।

विमल कोइरालाको ‘मौन शिविरबाट’ जति चर्चामा आयो तर पछिल्लो कृति उत्सव मनाउने तयारीमा कवितालेभन्दा डा. वासुदेव त्रिपाठीको भूमिकाले मात्र उचाल्यो। मीनबहादुर विष्टका कविता जनार्दन जोशी, कर्णाद् महर्षिका कविता जस्तै दुर्लभ भएर गए।

मीनबहादुरकै जस्तै वाचनशैली भएका अर्का जोडदार कवि थिए, कृष्णभूषण बल। उनलेपछिल्लो चरणमा कविता कम लेखेपछि पूर्वाञ्चलमा कविता लेख्ने एक जेनेरेसन तयार पारे, जसमा मनु मञ्जिल, सुमन पोखरेल, कुमुद अधिकारी, सविता गौतम दाहाल, ज्योति जंगल, हेमन यात्रीको नाउँ स्मरणमा आउँछ।

कृष्णभूषण बलका समकालीन कविमा पूर्ण विराम र लव गाउँलेको पनि नाम आउँछ। लवका कविता अहिले कम हुँदै गएका छन् भने पूर्ण विरामले आफूलाई क्लोज अपमा राखेका छन्।

कविता लेखनजस्तै वाचनको शक्ति भएका अर्का कवि हुन्, दिनेश अधिकारी। अधिकारीको कविता भर्खरै हिन्दीमा अनुवाद गरेर निकाल्ने क्रममा अनुवादक गंगाप्रसाद अकेला र पंक्तिकार निकै सक्रिय भएका थियौं तर उनका यी कविता अब हिन्दी पाठकले पढ्ने सौभाग्य पाउने भए। कवि तुलसी दिवसपछि भारतको प्रकाशनले उनलाई बजारमा ल्याएको छ, कविताको दम र दम्भका वारेमा चर्चा पछि नै होला।

अहिले हिन्दीमा पनि सशक्त कविहरू विनोदकुमार शुक्ल, हेमन्त कुकेरती, राजेश जोशी, अरुण कमल, ज्ञानेन्द्रपति, विष्णु नागर, नरेन्द्र गौड, असद जैदी, दिनेशकुमार शुक्ल, बद्री नारायण, यतीन्द्र मिश्रको छवि कायमै छ। यिनकै भीडमा दिनेशको स्वागत कस्तो होला, हेर्न बाँकी छ।

कवि दिनेश अधिकारी कविता लेखनमा जस्तै वाचनमा पनि आफ्नै पहिचान राख्ने कवि हुन्, उनले आफ्ना कविताबाहेक हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’लाई पनि वाचन गरेर मञ्चप्रिय बनाएका छन्। कविताबाहेक गीतमा वर्चस्व भएका दिनेशले ‘पर्खाल’ नामक नाटक पनि लेखेका छन्। तर नाटकमा उनको स्थिति सही हुन सकेन।

कवितावाचनको लयदार इतिहासमा भूपि शेरचन, तुलसी दिवस, हरिभक्त कटुवाल, वासु शशी, ईश्वरवल्लभले बनाएको धारालाई पछि दिनेशले अँझै मिठासपूर्ण बनाए।

दिनेश अधिकारीका समकालीनमा कविता वाचनको तज्जन्य आकर्षण भएका कविमा अन्य धेरैले त्यो शैली र शिष्टतालाई निरन्तता दिँदै आए। विमल निभा, पुरुषोत्तम सुवेदी, श्यामल, हरि अधिकारीले पनि कवितालाई दर्शकप्रिय बनाएका छन्।

कवितावाचनको शैलीले कवितालाई लोकप्रिय बनाउनका निम्ति कविले मञ्चमा उभिने स्वभाव, शैली र दर्शकमैत्री हुन जरुरी छ। कविताको माध्यमबाट साहित्यिक वृत्तमा आएर पछि गीति साहित्यमा हराएका राजेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल, नगेन्द्र थापा, श्रीविक्रम राणा, गणेश रसिक, कालीप्रसाद रिजाललाई पनि यहाँ सम्झना गर्न सकिन्छ।

तर काठमाडौंको मञ्चमा कवितै पढेर ख्याति कमाएका र आफूलाई जमाएका कवि दुर्गालाल श्रेष्ठलाई पनि भूल्न सकिँदैन। हिन्दी कवि डा. हरिवंश राय वच्चनको लोकप्रिय कविताकृति ‘मधुशाला’लाई नेवारीमा अनुवाद गर्ने पहिलो नेपालीका रूपमा परिचित कवि दुर्गालालको कवितावाचन अन्य कविकोभन्दा फरक अनि प्रभावशाली मानिन्छ अँझै पनि।

कविता पढ्ने स्वर र शैली भएका अर्का एक कविमा हेमन्त श्रेष्ठको नाम पनि बिर्सन मिल्दैन। हेमन्त आफ्ना समकालीन विश्वविमोहन, सरुभक्त, गगन विरही आदिकोभन्दा फरक शैलीको वाचन थियो। अभिनयमा पनि रुचि राख्ने हेमन्तले रेडियो नेपालको रसरंग कार्यक्रममा समेत कविता पढेर ख्याति कमाए भने गाईजात्रा महोत्सवमा कविता पढ्ने उनको शैलीलाई पछि सरुभक्तले पनि पछ्याए।

कवितामा महिला स्वरमा कुन्दन शर्मा, बानीरा गिरी, तोया गुरुङको समय अर्कै थियो। सीता पाण्डे र शारदा शर्माले कविता पढ्ने समय आइसक्दा मञ्चमा कविता एक कठिन पाठ भइसकेको थियो।

कवितालाई लिएर संसारभर अनेक डिस्कोर्स भइरहेको बेला नेपालमा कवितावाचन एउटा क्षतिपूर्तिको माध्यमजस्तो मात्र थियो, जतिवेला भारतमा डा. हरिवंश राय बच्चनको कविता उनका पुत्र अमिताभ बच्चनले पढेर बच्चन रिसाइट्स् बच्चन नामबाट बिकिरहेको बेला हाम्रा कविहरू मात्र पढ्ने शैलीको विकास गर्दै थिए।

सार्क राष्ट्रमा कवितावाचनमा पाकिस्तानका फैज अहमद फैज, अहदम फराज, फरहत शहजाद अनि भारतका कैफी आजमी, अलि सरदार जाफरी, जावेद अख्तरले कविता पाठलाई एक मुकाम बनाएको बेला हामीकहाँ बिनामाइक कविता पढ्नेको भीड तयारीमा थियो।

तीस र चालीस दशकको कवितावाचन गर्ने शैलीले कवितालाई ऊर्जाशील बनाएका कैयन् कविलाई पछ्याउँदै नयाँ कविले आज आफ्नो शैली बनाउँदै आएका छन्। तर कैयन् कविमा विदेशी कविताको शैली पनि ग्राह्य हुँदै गएको छ।

आजको कविले सुसम्पन्न श्रोता र उच्चस्तरको प्रविधि पाएको बेला कवितालाई अँझै सहज र पाठकप्रिय बनाउन जरुरी देखिन्छ। अहिलेका कविको कविता विदेशी अध्ययन र प्रभावले गर्दा नक्कलको धारमा परेको छ।

केही वर्षअघि चितवनमा एउटा नयाँ कविताकृतिको विमोचनका क्रममा कार्यक्रमका विशेष अतिथि कवि प्रेमविनोद नन्दनले ‘ओहो ! यी सबै कविताहरू त अक्टोभियो पाजको कवितामै पढे जस्तो लाग्यो’भन्दा विमोचित कृतिका स्रष्टा तर्सिएका थिए। टिप्पणीका क्रममा विशेष अतिथिले यतिसम्म भने, एकपटक यहाँले आफ्ना कवितालाई सच्याउनुपर्ला है।

यो विडम्बना र पीडा आगामी कविमा नआओस् भन्ने चिन्ता छ। कविता आफ्नै जस्तो होस् पढ्दा डर नलागोस् कि अरूको कविता पो आफ्नो नाममा पढिरहेको छु कि भन्ने भ्रम नरहोस्।

http://annapurnapost.com/News.aspx/story/8445

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *