राजेन्द्र भण्डारीका कवितामा उत्तराधुनिक पक्षहरू


उत्तराधुनिक शब्द आधुनिक शब्दमा उत्तर उपसर्ग लागेर निर्माण भएको शब्द हो । सामान्यरूपमा यसले आधुनिकभन्दा पछिल्लो समयको बोध गराउँछ । यसबाटै उत्तराधुनिकता र उत्तराधुनिकवाद जस्ता शब्द निर्मित भएका हुन् । उत्तराधुनिकवादका अनुयायिहरूले यसलाई पोस्टमोर्डन भन्नेगरेका छन् । साहित्यगत रूपमा साहित्यलाई आधुनिक प्रवाहभन्दा भिन्न छुट्याएर अधिबडेको प्रवाहलाई उत्तराधुनिकवाद भनिन्छ । खासैगरी भन्ने हो भने यसले बिसौं शताब्दीको उत्तरार्धमा विकसित आर्थिक, राजनैतिक, सामाजिक विकास र तत्जन्य जीवनशैली र मनोदशालाई बुझाउँछ । उत्तराधुनिकलाई ब्याख्या गर्नुभन्दा पहिला अलिकति आधुनिकमाथि चर्चागर्नु उपयुक्त हुन्छ ।

आधुनिकलाई अङ्ग्रेजीमा मोडर्न भनिन्छ । यसको व्युत्पति ल्याटिनबाट भएको हो । यसको अर्थ वर्तमानमा घटित भन्ने हुन्छ । ल्याटिनमा यसको अर्थ यही समयमा भन्ने थियो भन्ने विद्वानहरूको भनाइ छ । अङ्ग्रेजीमा यसको अर्थ बितारै भिन्न-भिन्नै हुन थाल्यो र यसले आर्थिक सामाजिक राजनैतिक परिवर्तनका साथै नयाँ सोच एवं मूल्यलाई बुझाउँन थाल्यो । पश्चिममा आधुनिक युगको प्रारम्भ पुनर्जागरणको युगसँगै भएको थियो । यो सामन्तवादी विचार र मूल्यको विरुद्धमा उत्पन्न भएको वैचारिक सङ्घर्ष थियो । यसैको प्रभावले सृजित साहित्य आधुनिक साहित्य हो भने उत्तराधुनिक साहित्य त्योभन्दा भिन्न प्रभावको कारणले सृजित भएको बुझिँन्छ ।

कलागतरूपमा उत्तराधुनिक शब्दको प्रयोग पहिलादेखि नै हुँदै आएको भएपनि ऐतिहासिक अवधि र साहित्यगतरूपमा विस्तृत अर्थसहित सर्वप्रथम प्रयोग गर्ने स्रेय अर्नोल्ड टोयलनीलाई जान्छ । यसले वैचारिक दर्शनको रूप सन् १९६० को दशक पछि लिएको हो । यो प्रसङ्गमा अमर गिरीको भनाइ उल्लेख्य छ- ल्यौटार्डको महाख्यानको अन्त, ज्याक डेरिडाको विखण्डनको सिद्धान्त मिसेल फुकोको सत्ता र ज्ञानसम्बन्धी विमर्श र बौद्रिलार्डको यथार्थको छलन जस्ता अवधारणाहरूले स्पष्ट आकार ग्रहण गरेपछि उत्तराधुनिकतावाद एक विचारदर्शनका रूपमा अगाडि आएको हो । यससँग उत्तरऔद्योगिक समाज र उत्तर समाज जस्ता अवधारणाहरू जोडिएका छन् । उत्तराधुनिकको अर्को अर्थ वर्तमान पछि भन्ने लाग्दछ । वर्तमान पछि भन्ने अर्थ लागे पनि यो वर्तमानसँगै आज पनि वर्तमान भएर अग्रगतिमा दौडिरएको छ । प्रत्येक थोकको आधुनिकिकरण यस्तो प्रकृया हो जो निरन्तर चलिरहन्छ र यसको अन्त्य कदापि सम्भव हुँदैन । ईशान गौतमले यसलाई यसरी सम्झाउने प्रयत्न गरेका छन् – उत्तराधुनिकताले आधुनिकतापछिको कालखण्डलाई सङ्केत गरेपनि यो आधुनिक यथार्थभन्दा पछाडि लैजाने प्रकृया हो । यसरी नै शोभाकान्त मिश्रद्वारा लिखित पाश्चात्य काव्य-चिन्तन पुस्तकको आधुनिकवाद/ उत्तर-आधुनिकतावाद लेखमा उत्तरआधुनिकवादलाई यसरी सम्झाउने प्रयत्न गरेएका छन्- आधुनिकवाद र त्यसको संशोधित उत्तरवर्ती विचार उत्तरआधुनिकतावाद कुनै व्यवस्थित एवं विशिष्ट साहित्य सिद्धान्त होइन । यो सुचिन्तित जीवन-दर्शन पनि होइन । यो अनेक नवीन मान्यता र अवधारणाहरूको समाहार हो जस्को निर्माणमा वैज्ञानिक, तकनीकी र औद्योगिक विकासको महत्वपूर्ण भूमिका रहेको छ । यसद्वारा सामाजिक जीवनको स्थिति र संवेदनामा जुन् परिवर्तन आएको छ त्यसको स्वभाविक प्रतिफल आधुनिकताबोधमा प्रकट भएको छ । परिस्थितिमा परिवर्तनसँगै विकसित, परिवर्तित र कँही-कँही त्यसको प्रतिगामी भएर उत्तरआधुनिकताका रूपमा अस्तित्वमा आएको छ । सभापति मिश्रले भारतीय काव्यशास्त्र एवं पाश्चात्य काव्यचिन्तनको उत्तर-आधुनिकतावाद लेखमा सस्यूरको संरचनावाद र डेरिदाको विखण्डनवाद मिलेर उत्तरआधुनिकतावादको अवधारणा साहित्यगत क्षेत्रमा पूर्वपीठिकाको निर्माण भएको मानेका छन् । बिसौं शताब्दीमा विज्ञान र प्रविधिको अभूतपूर्व प्रगति भयो र यो इतिहास निर्माण गर्ने शक्तिका रूपमा उदित भयो । वास्तवमा दोस्रो विश्वयुद्धपछि आधुनिकयुगको अन्त्य भएको घोषणा गरेर उत्तराधुनिक युगको उदय भएको भनिन्छ । यसको कार्यनीति अन्तर्गत साहित्यमा भोगिएको यथार्थ, आत्मासाक्षात्कार एवं अस्तित्व सङ्कटको बोध, मूल्य विधटन र एक्लोपनलाई सिद्धान्तअन्तर्गत राखिएको छ । राजेन्द्र भण्डारीका कविताहरूमा प्रसस्तै यस्ता तत्वहरू देखिन्छन् । कविले आफूले भोगेको र देखेको सामाजिक प्रवृत्तिलाई कविताका मुख्य सामग्रीहरू बनाएका छन् । मानिसले जीवनका प्रत्येक पलमा भोग्नेगरेका विभिन्न यथार्थपरक जीवनवृत्तिहरूले स्थानीय मात्र नभएर वैश्विक परिदृश्यको पनि प्रतिनिधित्व गरेको पाइन्छ । आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, प्राकृतिक एवं विसङ्गतिमूलक भोगाईको प्रस्तुति कविताका मुख्य विषयवस्तु भएका छन् । समाजका निम्न एवं मध्यम वर्गका व्यक्तिले भोग्ने भोगाईको यथार्थपरक चित्रण कवितामा पाइन्छ । आर्थिक न्यूनताको भोगाइको यथार्थलाई कविताले यसरी व्यक्त गरेका छन्-

टुनीबोटे बूढो नातिनीलाई काखमा राखी ।
आउनेलाई नमस्ते
र जानेलाई टाटा गर्न सिकाउँदै थियो ।
बूढाको निधारमा एउटा पहेंलो घाम
अस्ताउने दाउ हेर्दै थियो ।
भोक र आत्महत्या
खडेरी र पैह्रो,
ऋण र महाजनको सर्प
गाउँमा गुँडुल्किएको थियो ।
भोकको गणतन्त्रमा
सत्तासीन थिए धोका र छल ।
नाङ्गा ढाडहरू काँटा कोदालामा लगाइरहेथे बल ।
बरको रूखमा एक हूल काग
अनिकालको कोरस गाइरहेथे ।
…………………………………………… ( गाउँको सेरोफेरो ) शब्दहरूको पुनर्वास

यो कवितामा पहाडीय आर्थ अभाव, शिक्षा अभाव, श्रमले दैनिक जीवन यापनगर्नु पर्ने स्थिति, झुटा राजनैतिक आश्वासन र मालिकको हुकुम आदिको शिकार हुनपुगेको ग्रमीण परिस्थितिको यथार्थ चित्रण पाइन्छ । यो कवितालाई उत्तराधुनि वैश्विक परिस्थितिसँग तुलना गरी हर्नु हो भने उच्चासन्नता र असन्नताका विचको एउटा ठूलो पर्खालको यथार्थ ज्ञान हुन्छ । स्थानीय पहाडीय प्रदेशको यथार्थ स्थिति अभावसँगको संघर्ष हो । अथक श्रमले पनि यो अभावको समाधान हुन नसक्नुको पछाडिका अदृश्य दुई कारणलाई कविताले संकेत गरेको छ (१) शिक्षाको कमि पहाडवासिहरूमा छ । (२) राजनैतिक दृष्टिकणले पहाडीय प्रदेश पछाडियेको छ त्यसैले हैकमवादी एवं महाजनको हुकुम र शोषणमा सामाजिक स्थिति निर्भर रहेको छ । उक्त्त कवितामा अनेक समस्याग्रस्त ग्रमीण परिवेशको चित्रण गर्न लायक खडेरी परेको प्राकृतिक संकेत उच्च कोटिको छ । आर्थिक अभावग्रस्त पहाडी ग्रामीण स्थानीय प्रदेशको यथार्थ प्रस्तुत गर्नु कविताको ध्येय रएको छ । यो प्रत्येक दिन पहाडीय ग्रामीण परिवेशका व्यक्तिहरूले पहिले देखि आजसम्म पनि यसरी नै भोग्दै आएको यथार्थ हो जो पहाडीय ग्रमीण विरता जस्तै भएको छ । पिता-पूर्खा देखि लिएर आजका युवापिडीँले पनि पहाडीय ग्रमीण परिवेशलाई अथक परिश्रमले सिँगार्ने प्रयत्न गरिरएका छन् तर पहाड सिँगारिएको छैन । त्यसैले अस्ताउन आँटेको घाम जस्तै भएका टुनिबोटे बूढा जस्तै ग्रामीण आर्थिक स्थिति पनि अस्ताउन आँटेको छ । पारिवारिक संकटकालीन यथार्थको भोगाईलाई कविता जस्ताको त्यस्तै उतार्न सक्षम छन्-

अँध्यारो गल्लीमा
ठिटीले दोकान खोलिछ ।
धेरै दिन भोकभोकै बसेर
बल्ल एउटा इलम जोडिछ ।
मृत्युशैय्याबाटै थर्थर काम्बाबुचैंले
एक्पल्ट आकाशलाई थुकेछ
बर्बर्ति आशुँ झार्दै आमाचैँले
दुवै हत्केलाले अनुहार छोपिछ ।
‘विना इन्धन
रेल पनि चल्ने होइन ।
विना तेल,
बत्ती पनि जल्ने होइन ।
यो त झन जीवन हो- मान्छेको जीवन ।
चारो नै छैन जब सास फेर्नलाई भने
जाबो इज्जत त केही पनि होइन ।‘
………………………………………….. (अँध्यारो गल्लीमा) यी शब्दहरू यी हरफहरू

उक्त्त कविता अनेकार्थक छ । मानवीय जीवनको उज्यलो पक्षलाई नबुझाएर अँध्यारोको पक्षलाई बुझाउन प्रयोग गरिएको अँध्यारो गल्लीको माध्यमले बुझाउले आशय विवशता, आर्थिक संघर्ष र स्वाश्थ्य संघर्ष हो । पारिवारिक आर्थिक स्थिति प्रवल भए विवशता र स्वाश्थ्य संघर्ष निर्वल हुने संकेत कविताले दिएको छ । हाम्रो पहाडीय संस्कृतिले चोरी चेलिलाई अति आदर गर्छ पूज्दछ । त्यसैले छोरीचेलीको कमाई अनि सम्पत्तिले जीवनयापन गर्नुलाई अभिशाप सम्झन्छ । यस्तै पूर्वाग्रह पालेको समाजको एक रोगाग्रस्त निर्धन व्यक्तिको माध्यमले कविताले समाजका निम्न आर्थिक अवस्थितिका परिवारको प्रतिनिधित्व गरेको छ । यसमा मृत्युशैयावाट बाबुले आकाशलाई थुक्नु भौतिक सुकिलो संसारलाई धृणागर्नु, आफ्नु कुण्ठा अभिव्यक्त गर्नु, अफ्नो भाग्यलाई थुक्नु, आफ्नु अक्षमता स्वीकार गर्नु, आफूलाई अपमानित सम्झनु आदि अनेक संकेत प्राप्तगर्न सकिन्छ । आमाले आँशुझार्नु एवं दुवै हत्केलाले अनुहार छोप्नु, सुटुक्क बाहिर निस्कनु, आकाशतिर हेर्नु, भुँइमा हत्केला टेक्नु आदि कृत्यहुरूले दुख, लाज, पलायन, सग्लो संसारको कल्पना गर्नु, निस्सारता आदिलाई बुझाउँछन् । अर्को तिरबाट कवितालाई हेर्दा “ जाबो इज्जत त केही पनि होइन” उपवाक्यको सहयोगले वैश्विक परिदृश्यमा ठिटीहरू सङ्कटापन्न परिवारको सञ्चालन गर्न अँध्याको गल्लीमा पसल खोल्न पनि विवश छन् भन्ने तीतो यथार्थलाई प्रकट गर्दछ । यस्तै प्रकारले अन्य राजनैतिक, सामाजिक, संस्कृतिक, औद्योगिक, शैक्षिक आदि यथार्थको पृष्टभूमिका आधारमा पनि भण्डारीले कविताको सृजना गरेको पाइन्छ ।

आत्मासाक्षात्कारको प्रतियत्नमा मानिसले आफू स्वयंलाई चिन्ने प्रयत्न गर्दछ । यसको पृष्भूमिमा दर्शन रएको हुन्छ । वेदान्तीहरूले तपको माध्यमले म नै ब्रह्म हुँ भन्ने ( अहं ब्रह्मSमि ) अवस्थाको बोधलाई आत्माक्षात्कार मान्दछन् भने बौद्धहरूले बुद्धत्वको प्राप्ति (प्रबुद्धोSहङ्) निर्वाण प्राप्ति मान्दछन् । भण्डारीका कवितमा पनि मानिले आत्मासाक्षात्कार गर्नुपर्छ भन्ने दार्शनिक उपदेश पाइन्छ । आत्मसाक्षात्कारले मानिसलाई अस्तित्को बोध गराउँछ भन्ने वेदान्त दर्शनको भनाइ छ । कविताका जुझारु पाठकले भण्डारीका विभिन्न कविताहरूमा आत्मासाक्षात्कारको भावना निहित भएको पाउँदछन् । भारतीय एवं पाश्चात्य दर्शनका ज्ञाता कविका कविता एकल दार्शनिक प्रणालीभन्दा भिन्न बहुल दार्शनिक प्रणालिमा आश्रित छन् । मिश्रित दार्शनिक धारा प्रवाह गर्ने भए पनि कविताहरू धेरैजसो मानववादी भावनामा झुकेका पाइन्छन् ।

एउटा वृक्षभित्र अर्को वृक्ष हुन्छ ।
त्यसभित्र अँझ अर्को, भित्र अँझै अर्को… अर्को
म पनि त्यस्तै एउटा वृक्ष ।
वनस्पति – दर – वनस्पति ।
हामी पृथिवीका सन्तान ।
यो कस्तो दौडाहा हो सृष्टिको ।
कहिल्यै थाक्नु नहुने ।
कस्तो औडाहा हो सृजनाको ।
जन्मिरहनुपर्ने – मरिरहनुपर्ने
मर्न जन्मिनुपर्ने, जन्मिन मर्नुपर्ने,
फेरि जन्मिदै मर्दै गरिरहनुपर्ने ।
माटोले मात्रै चुपाचुप कल्प कल्प
साक्षी हेरिरहनुपर्ने ।
हेरिरहनुपर्ने –
बाली हुर्किएको, काटिएको, लाइरएको ।
जवाकुसुम फुटेको. फुलेको, झरेको ।
रूखहरू बूढा हुँदै खङ्ग्रङ्ग ढलेका उता ।
भुँइमा पिपिरा रूख बन्न जुर्मुराइरहेका यता ।
कस्तो कठोर गद्य हो यो पृथिवी ।
गद्य हो कि भनेर खनिहेर्यो कविताको पानी भेटिन्छ ।
कविता कोट्याइहेर्यो कविताले कविता जन्माइरहन्छ ।
जताततै कवितै कविता ।
टेकिन्छ कि कविता पन्साउँदै हिँड्नुपर्छ ।
दुख्नसक्छ उस्लाई पाइला हल्का सार्नुपर्छ ।
जतैबाट पनि शुरु गर्नसकिन्छ कविता
खेतमा फुलिरहेको एक हरफ पसिनाबाट ।
रोइरहेको न्याहुलको यती-गतिबाट ।
विज्ञानप्रयोगशालाको उदात्त मानवमेधाबाट ।
फुलिरहेका तेजोमय उर्जस् सुगन्धी सभ्यताशिखरबाट ।
खडेरीसँगै सुकिरहेका किसानका
एक बाली जिजीविषाबाट ।
स्कुले केटाकेटीका आँखामा फुलिरहेका विजिगिषाबाट ।
…………………………………….( कविताको विकल्प छैन) शब्दहरूको पुनर्वास

उक्त्त कविताको पहिलो हरफमा वेदान्तीहरूले जसरी साधकले साधनाद्वारा आफूलाई ब्रह्मसमानको स्थिमा पाउँछ त्यरीनै एकलापीय ढङ्गमा प्रथमपुरुष दृष्टिविन्दुको माध्यमले व्यक्त्तिलाई वृक्षसँग तुलना गरिएको छ । यसको उद्देश्य व्यक्त्ति र वृक्षमा एक एकात्मा तत्त्वको आरोपण गरी आत्मसाक्षात्कार गर्नु हो । दोस्रो हरफमा सांख्यीय ढङ्गमा प्रकृति विकृतिको माध्यमले सृष्टि अनन्तताको कल्पना गरेसमानै पृथिवीको नैसर्गिक उत्पत्तिक्षमताको वास्तविकता प्रकट गरिएको छ । तेस्रो हरफमा ( मर्न जन्मिनुपर्ने, जन्मिन मर्नुपर्ने ….) आदिमा आध्यात्मिक अवतारवाद र नैयाययिक ध्वंसनै सृजनाको प्रमुख कारण हो भन्ने मिश्रित उभय दार्शनिक अवधारणाको प्रत्यारोपण भएको पाइन्छ । चौथो हरफमा सम्भावनाबाट कविताकला सृजनाको कल्पना गरिएको छ । कठोरताबाट कोमलताको सृजना हुँने र कविताकलाको मलिन एवं कोमल स्वरूपलाई कलावादी दृष्टिकोणले स्पष्ट पार्दै वास्तविकताबाट कविकलाकारले कविताकलाको सृजना गर्ने भाव व्यक्त्त गरिएको छ । यहाँ कविकलाकारले कठोर वास्तविकताबाट कोमल कविताकलाको सृजना हुने मलिन कलावादी भावना व्यक्त्त भएको छ । कठोर पृथिवीबाट कठोर गद्यको सृजनाको सम्भावनाले कोमल कविताको सृजना भएको कल्पनाले गद्यबाट सृजना भएको गद्य कविता भए पनि यो गद्यभन्दा कोमल हुने कवि कोमल हृदयको सान्दर्भिकता प्रस्तुत गरिएको छ । जसरी काव्यप्रकाशकार मम्मटले काव्यप्रकाशको मङ्गलाचरणमा नियति र कविलाई सृष्टिकर्ता मानेका छन् त्यसरी नै यहाँ कविले पृथिवी र कविलाई सृष्टिकर्ता मानेका छन् । मम्टले कविले नवरसले युक्त्त कोव्यको सृजना गर्ने स्रष्टा मानेका छन् भने भण्डारीले वास्तविकताबाट कविताको सृजना गर्ने स्रष्टा किसान, पशुपक्षी, ग्रामीण असभ्य एवं अशीक्षित, विद्यार्थीका पक्षधरता मानेका छन् । त्यसो हुनाले यो कवितामा पनि भण्डारीको मनववादी दर्शन निहित भएको पाइन्छ । यो उदाहरणमा पहिलो हरफले व्यक्त्ति र वृक्षको आत्मासाक्षात्कार गरेको छ भने दोस्रो हरफले पृथिवीको नैसर्गिकता आत्मासाक्षात्कार गहरेको छ । तेस्रो हरफले आनुवंशिकताको आत्मासाक्षात्कार गरेको छ र त्यसरी नै चौथो हरफले कवित्वहृदयको, कविता कलाको कोमलताको, किसानको, पक्षिको, बौधिक व्यक्त्तिको, सभ्यव्यक्त्तिको र विद्यार्थीको आत्मासाक्षात्कार गरेको छ ।

अस्तित्त्व संकटको बोधको उदाहरणका रूपमा निम्न खण्डलाई हेर्न सकिन्छ-

अलकत्रको समुद्र
चक्रवर्ती बन्दै फैलिरहेछ
हजार दिशा,
हजार छाल,
हजार उत्ताल ।
फिर्ती यात्राका लागि
महादेवका जटामा बाटो खोज्दै
अत्तासिएकी छन् मैली गङ्गा ।
अस्तव्यस्त, सन्त्रस्त,
लहर-लहर
प्रहर-प्रहर ।
आस्थाकी क्षयिष्णु सतीदेवी
उचालेर काँधमा
विद्रुप, विवश, विलापमग्न
भौंतारिँदो छ महादेव
हिमाल हिमाल ।
…………………………….( अलकत्रको समुद्र ) क्षर/ अक्षर

उक्त कवितामा “अलकत्रको समुद्र” नवनिर्मित प्रतीकद्वारा हिन्दूका भगवान महादेको पौराणिक मिथको आधारले मानवीय अस्तित्व सङ्कटको अभिव्यक्त्त गरिएको छ । एकालापीय ढङ्गमा लेखिएको कविता असम्बोधित ढङ्गले माहादेवलाई हिमाल हिमाल भौंतारिएको देखाएर सन्त्रस्त मानवीय परिस्थितिलाई अभिव्यक्त गरिएको छ । आकाशमुन्तिर प्रर्थनामुद्रामा मौन अनि शिरनत गरेरबसेको कालो हिमालले अस्तित्त्व सङ्कटको बोधलाई अभिव्यक्त्त गरेको छ । यस्तै अन्य उदाहरणहरू पनि लिन सकिन्छ ।

मूल्य विघटन भन्नाले कुनैपनि सम्पदा समान्य स्थितिभन्दा न्यून स्तरमा अवरोहण हुँदै जानु भन्ने बुझिन्छ । व्यपारिक दृष्टिकोणले भन्नु पर्दा कुनै पनि थोकको भाउ मुनाफाभन्दा विपरित दिशातर्फ जानु हो । व्यवहारिकरूपमा प्रकृतिक, कृत्रिम मूर्त एवं अमूर्त पदार्थको महत्व न्यून हुँदै जानु हो । व्यवहारिक एवं व्यवसायिक दृष्टिले प्रत्येक थोकको मूल्य आ-आफ्नै स्थानमा हुन्छ । प्राय प्राकृतिक थोकको मूल्य औद्योगिकिकरणले विघटन हुँदै गरेको छ भने अन्य थोकको मूल्य जस्तै मानवीय मूल्य, सांस्कृतिक मूल्य, सामाजिक मूल्य आदिहरू मानव व्यवहारका कारणले विघटित हुँदै गरेको स्पष्ट प्रतित हुन्छ । जस्तै-

एक दिन एउटी उन्मत्त सुन्दरी जिस्किई मसित
तर म शान्त पोखरी जमिरहें उस्को छेउ ।
मबाट बितिरहेथ्यो जवानी ।
मङ्सिरे पहेंलपुर खेतबाट
बालीहरू बितेर कुन्यू बन्दै थिए ।
अन्नहरू बितेर मल बनिरहेका थिए ।
पृथिवी बितिरहेकी छन् ।
वायुमण्डल बित्दैछ ओजोनदुलोभित्र

बिरूवा बितेर बोट बितेर फूल बितेर पत्कर बितेर
बितेर बितेर बितेर
त्यो वृद्ध इन्द्रकमल पनि धरतीबाट बितेर गयो ।
तर समय बितेको छैन
समय छँदैछैन
भए पो बित्थ्यो ।
……………………………..( समय बित्दैन ) शब्दहरूको पुनर्वास

उक्त्त कवितामा मनिसको जीवन, उमेर, यौवन, बालीहरू सँग-सँगै पर्यावरणीय मूल्य विघटन हुँदैछ तर समय यथावत् छ । समय छ भन्नु मानिसको भ्रम मात्र हो वस्तवमा समय नै छैन भन्ने दार्शनिक अभिव्यक्त्ति पाइन्छ । अर्को उदहारण-

भुँइमा पोखिएको तेलविचार
छताछुल्ल ।
दरवारको दैलोबाट
एउटी रानी चिच्याउँदै निस्किई
र तल सडकमा आएर
दुवै हातले टाउको समाती ।
तिर्खाको टिस्टा
दक्षिँतिर बगिरह्यो ।
उत्तरको आकाशमा काकाकुलले कावा खाइरह्यो ।
हप् हप् गर्मीमा कञ्चनजङ्घालाई
एउटा सङ्लो छहराको याद आयो ।
हिमालको फेदमा
एउटा सिङ्गो वन खोजेको खोज्यै भए मिर्गहरू ।
खेतहरू नहर खोजेको खोज्यै भए ।
गोरेटोहरू खोजेको खोज्यै भए एउटा लोकगीतको भाका ।
यस खोलाको धमिलो पानी
कहिल्यै सङ्लिन नसकेको कथा
अब त दन्तेकथा भइसक्यो ।
हातमा मूर्ति र कलश लिएर
मन्दिर खोजिहिँडेको कथा
अब त पुरानो भइसक्यो ।
…………………………………( मन्दिरको खोजी ) शब्दहरूको पुनर्वास

उक्त कवितामा पर्यावरणीय, कृषकीय, सांस्कृतिक, वैचारिक र धार्मिक मूल्य विघटन भएपनि मानिसको उच्च आकाङ्क्षाको तृष्णा प्रतिदिन बडदै गरेको र यसको प्रभावले उत्पन्न हुने भविष्यको भवितव्यलाई संकेत गरेको छ ।
कारण, कार्य एवं परिस्थितिको वसमा परेर व्यक्तिले कतिपयसमय आफूलाई नितान्त एक्लो सम्झने गर्दछ । मानिस व्यवहारिक रूपमा एक्लो नभए पनि मानसिक रूपमा एक्लिएको हुन्छ । उत्तराधुनिक मानिस वेरोजगार, व्यस्तता, आर्थिक सङ्घर्ष, शहर प्रवेश, स्वयत्तता वा आफ्नुपना, सम्बन्ध आदि अनेक कारणहरूद्वारा आफू नितान्त एक्लो भएको अनुभव गर्छ । युद्ध एवं युद्धजन्य परिवेश, विस्थापनाको अवस्थिति, राजनैतिक एवं व्यक्तिगत अधिकारको सङ्घर्षद्वारा पनि मानिस एक्लिएको अनुभव गर्छ । यस्ता अनुभूतिहरूलाई सर्जकले स्वयं भुक्तानुभव एवं परभुक्त दृश्यानुभवद्वारा अभिव्यक्त गरेका हुन्छन् । यस्तै अभिव्यत्तिहरू भण्डारीका कवितामा पनि पाइन्छन् । जस्तै-

मन भन्नु एउटा रित्तो आकाश ।
तर पनि एउटा रिक्त्तता
किन सधैं भरिन चाहिरहन्छ ?
एउटा मौनता किन एक्लै छटपटाइरहन्छ ?
एक मुट्ठी हाड अनि मासु
केही धडकन र अलिकति आँसु
किन गीत बनेर फुटिरहन्छ ?
………………………………….. ( बल्झिरहने यो रिक्त्तता ) क्षर/अक्षर

उक्त्त कविता बौद्ध दर्शनको पृष्ठभूमिका आधारमा सिर्जना गरिएको छ । बौद्ध दर्शनले सून्य भित्र रहस्य स्वीकारे झैं यहाँ रिक्त्तता भित्र मानवीय संवेदनालाई स्वीकार गरिएको छ । वास्तवमा मानवीय जीवनको रहस्य केहीपनि छैन र यस्को सार पनि केही छैन । हाड र मासुले बनिएको शरीर नाश्वर छ तापनि मन हुँनाले मानवीय संवेदना छ । अनगन्ति भोगाइसँगै उमेर वित्तै गएपनि इच्छा यथावत् छ । मौनता भित्रको नितान्त एक्लो संवेदना त्यसैले छटपटाइरहन्छ । जसरी आकाशको कुनै रङ नभएपनि निलोपनको आभास हुन्छ । त्यरी जीवनको कुनै रहस्य नभएपनि अनगन्ति एकाकीपनाका संवेदनाहरू आभासित भइरहन्छन् । यस्तै अन्य उदाहरणहरू भण्डारीका कवितामा प्रसस्त पाइन्छ ।

निस्कर्षः- मानिसको स्वभाविक प्रवृत्ति आफ्नु भाव अरुसमक्ष अभिव्यक्त्त गर्ने हुन्छ । कविकलाकारमा भाव प्रकटको इच्छा अँझ तिब्र रूपमा हुन्छ । कविकलाकारले आफ्नु कल्पनाको सहायताले जीव एवं जगतको विषयमा जति सोच्दछन् तिनीहरू सबैलाई बाणीद्वारा अभिव्यक्त गर्ने प्रयत्न गर्दछन् । प्रेम, करुणा, दया, द्वेष, घृणा एवं क्रध आदि मानसिक प्रवृत्तिहरूको कविताकलाका रूपमा अभिव्यञ्जना मानव समाजमा प्रथमिक कालदेखि हुँदै आएका छन् । यसका साथै प्रकृतिको अनेक रूपको चित्रण मानिसको मनोविकार र अन्यान्य परिस्थितिको सम्बन्ध आफ्ना अनुभवहरूको सहयोगले अभिव्यक्त्त गर्नमा कविकलाकारलाई आत्मा सन्तुष्टि प्राप्त हुन्छ । कविताको मूल भावका रूपमास्थित मनोवृत्तिमात्र नभएर अन्य प्रवृत्ति पनि हुन्छन् । यस्ता प्रवृत्ति मानव समाजमा सर्वत्र व्याप्त्त पाइन्छ । उत्तराधुनिक साहित्यले यिनै प्रवृत्तिहरूलाई पारम्परिक साहित्य प्रणालीभन्दा केही भिन्नै किसिमले अभिव्यक्त गरेको हुन्छ । कवितालाई केवल सौंदर्य एवं आनन्द सम्पादनको साधनका रूपमा मात्र नहेरेर मानव समाजसँग सोझो सम्बन्ध स्थापित गर्न सक्ने कलाका रूपमा हेरेको छ । दार्शनिक रहस्यलाई केवल रहस्यमै नराखेर यसलाई खोतल्ने प्रयत्न गरेको छ । अस्तित्व संकटको अभिव्यक्तितिले मानिसलाई सचेतना दिने प्रयत्न गरेको छ । मूल्य विघटनको नकारात्मक प्रभाव देखाउन खोजेको छ र एक्लोपनाको वास्तविकता केलाउन खोजेको छ । राजेन्द्र भण्डारीका कवितामा हामी यी सबै कुराहरू व्यप्त भएको पाउँदछौं । समाजका निम्न वर्ग त्यसमा पनि दार्जिलिङ, कालेबुङ एवं सिक्किम जस्ता पहाडी ग्रामीण क्षेत्रमा बसेर कृशीलाई आफ्नु व्यवसायको प्रमुख माध्यम मान्ने निम्न वर्गका व्यक्त्तिहरू प्रति उदारवादी धारणा अभिव्यक्त गरेको पाउँदछौं । उनका कविताहरू उदारवादी मानवीय प्रवृत्तिको पटभूमि निर्माण गर्न सक्षम भएको पाउँदछौं । त्यसैले कवि भण्डारीका कविता उत्तराधुनिक साहित्य सिद्धान्तलाई सुहाउँने देखिन्छन् ।।

हेमन्तकुमार नेपाल
सहायक प्राध्यापक
सिक्किम सरकारी महाविद्यालय, बुर्तुक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *