Skip to content

प्रभाती गाउँदा आमा


प्रभाती गाउँदा आमा ! म तिम्रै नाम सम्झन्छु
तिमी यो जीन्दगानीको उज्यालो घाम सम्झन्छु

दिँदै त्यो किम्मती माया लगायौ दिलमा तिम्ले
खप्यौ पीडा सहस्रौँ ती दुखेका डाम सम्झन्छु

तिमी झैं छैन कोही याँ तिमी दाता विधाता हौ
तिमी नै तीर्थ हौ मेरो म चारै धाम सम्झन्छु

गर्यौ सन्तानको माया खपी आफ्ना व्यथा जम्मै
वितायौ कष्टले जीवन अलौकिक काम सम्झन्छु

छचल्किन्थ्यो खुसी हाँसो हुँदा तिम्रो अँगालोमा
पियारो काख पाएको सुनौला याम सम्झन्छु

लिँदै सद्भावना चोखो चढाएँ फूल श्रद्धाले
सधैँ होस् शान्ति आत्मामा म सीताराम सम्झन्छु

(बहरे हजज मुसम्मन् सालिम)
विधाता छन्द

(मातातीर्थ औंशी, २०७३)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-२१
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *