पत्रपत्रिकाको इतिहासमा विदेशबाट प्रकाशित पहिलो पत्रिकाको रूपमा युवककवि मोतीराम भट्टको सक्रियतामा वि. सं. १९४२-१९४८ सम्मको बीचको अवधिमा प्रकाशनमा आएको ‘गोर्खा भारत जीवन’ पत्रिकाको अस्तित्व फेला नपरे पनि प्रकाशनमा आएको थियो भन्ने कुराको सन्दर्भ विद्वान्हरूले उल्लेख गरेका छन् । प्रामाणिक रूपमा भन्नुपर्दा भने नेपालभित्रबाट प्रकाशित पहिलो पत्रिका ‘सुधा सागर’ -साउन, १९५५)लाई मानिन्छ । यस हिसाबले भन्नुपर्दा नेपालमा पत्रकारिताको इतिहास सुरु भएको एक सय दस वर्ष पूरा हुन आँट्यो । त्यसमा पनि पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाट भएको छ । नेपालको लागि यो गौरवको विषय बनेको छ ।
युवककवि मोतीराम भट्टले सुरु गरेको पत्रिका प्रकाशनको इतिहासमा त्यसपछि विदेशमा पढ्न बसेका नेपाली छात्रछात्राहरूले पनि यो प्रयासलाई जारी राखेर आज पर्यन्त जारी राखेका छन् । वि.सं. १९६३ मा वनारसमा पढ्न बसेका छात्रहरूको सामूहिक प्रयासमा स्थापना भएको रसिक समाजद्वारा प्रकाशित ‘सुन्दरी’ साहित्यिक मासिकलाई सराहनीय प्रयासको रूपमा लिनुपर्छ । पहिलो सामूहिक प्रयासको यो फल उदाहरणीय रूपमा रहेको छ । वनारसको यो प्रयासपछि भारतका अन्य सहरहरूमा पढ्न बसेका अन्य समूहहरूले पनि यसलाई सकारात्मकरूपमा लिएर निरन्तरता दिएका छन् । अहिले त जहाँजहाँ नेपालीको बस्ती छ, त्यहाँत्यहाँबाट यस्ता साहित्यिक पत्रपत्रिका प्रकाशित हुँदै आएका छन् ।
सन् १९५९-६० मा पटना सहरमा पढ्न बसेका नेपाली छात्रछात्राहरूको समूहले नेपाली छात्रपरिषद् गठन गरी परिषद्द्वारा ‘उकालो’ नामको वाषिर्क पत्रिका प्रकाशनमा ल्याइएको थियो । साहित्यिक पत्रिका भए पनि परिषद्को क्रियाकलापसमेत समावेश गरेर परिषद्को मुखपत्रको रूपमा प्रकाशित यो पत्रिका त्यतिखेर दुई अङ्क मात्र प्रकाशित भएको भेटिन्छ ।
‘उकालो’ को पहिलो अङ्कमा वर्ष एक अङ्क नजनाइए तापनि दोस्रो अङ्कमा भने वर्ष र अङ्क उल्लेख गरिएको छ । पहिलो अङ्क तारानाथ शर्माको सम्पादनमा निकालेको छ भने दोस्रो अङ्क शारदाप्रसाद भद्राको सम्पादनमा प्रकाशित छ ।
पहिलो अङ्कमा एघार कविता, चार कथा, चार निबन्ध तथा सम्पादकबाट कुलमणि देवकोटा कवितासङ्ग्रह र आनन्ददेव भट्टको कविताका पुस्तकको परिचय प्रस्तुत छ । यसका साथै राष्ट्रभाषाका सम्बन्धमा उल्लेखनीय सम्पादकीय छ । ‘उकालो’का दोस्रो अङ्कमा अनुवाद कवितासहित अठार कविता, दुई कथा, चार लेख, निबन्ध तथा एक समालोचना प्रकाशित छन् । दोस्रो अङ्कको सम्पादकीयमा छात्र परिषद्को विगतको इतिहास अनि नेपाली साहित्यमा आधुनिकता प्रवेश विषयमा चर्चा गरिएको पाइन्छ ।
स्तरीय भाषा र साहित्यको यो पत्रिकाले नयाँ कविताको सुरुवात र प्रयोगिक साहित्यलाई प्रेरणा र प्रोत्साहन दिएको पाइन्छ । ‘उकालो’का दुवै अङ्कका आवरण पृष्ठको कला डा. हर्क गुरुङद्वारा तयार गरिएको छ । दोस्रो अङ्कमा त डा. गुरुङले पर्वतारोहणसम्बन्धी सामग्रीको चित्रसमेत प्रकाशित गराउनुभएको छ । यस प्रसङ्गमा यहाँ हर्क गुरुङलाई सम्झन्छु । नौ-दस वर्षअघि उहाँलाई यो चित्रको सम्झना भएछ र उहाँले यसको प्रतिलिपि मागी पठाउनुभएकोले त्यो प्रतिलिपि पठाइदिएको थिएँ । यही चित्रलाई लिएर सम्पादकीयमा भनिएको छ- ”यो भन्नुपर्ने कुरा होइन कि कला-साहित्यको कति गहिरो सम्बन्ध छ यो अङ्कमा हामीले हर्कबहादुर गुरुङको एउटा चित्रकला समावेश गर्न खोजेका छौँ र हामी आशा गर्दछौँ कि ‘उकालो’ले गरेको यस किसिमको प्रयासले नेपाली पत्रिकाजगत्मा प्रेरणा दिँदै जाओस् ।”
नयाँ कविताको थालनीसँगसँगैजसो देखापर्नुभएका कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, भूपी शेरचन, मोहनहिमांशु थापा, तीर्थराज वन्त, चैतन्यकृष्ण उपाध्याय आदिका कविता प्रकाशित छन् । सौखको रूपमा कविता लेख्ने कविहरूमा एस. के. पहाडी, दामोदरप्रसाद गोतामे, शारदाप्रसाद भद्रा, कुमार, देवेन्द्रकुमार मल्ल आदिका कविता प्रकाशित छन् । चैतन्यकृष्ण उपाध्यायले एउटा कविता उल्था गर्नुका साथै आˆनो कविता र ‘चिसो चुल्हो’ माथि समालोचना गर्नुभएको छ । मलाई लाग्छ उहाँको यो समालोचना पहिलो र अन्तिम पनि हो । समालोचनामा झर्रोवादी शब्दको प्रयोग भएको देखिन्छ ।
कथा विधामा गङ्गाप्रसाद प्रधान, तारानाथ शर्मा, केदारनाथ उपाध्याय, विजय मल्ल, दौलतविक्रम विष्ट, अरूण आदिका कथा छापिएका छन् । विजय मल्लको अत्यन्त चर्चित कथा ‘कालो चश्मा’ त्यस्तै दौलतविक्रम विष्टको ‘प्रदर्शनी’ कथा प्रकाशित छन् । गङ्गाप्रसाद प्रधानको अदृश्य प्रेम कथा ‘अव्यक्त प्रेम’ भएको भए सार्थक हुन्थ्यो होला । तारानाथ शर्माको अन्योल कथा ‘अन्योल’ मा रुमल्लिएको छ । केदारनाथ उपाध्यायको ‘मगन्तिनी’ राम्रो छ । न्यायको पाठ सिकाइएको छ ।
लेख निबन्ध विधामा प्रद्युम्नबहादुर श्रेष्ठको मेरो पटना यात्रा लेखालीको आत्मकथा, मदनमान मल्लको ‘म्याडमक्युरी’ तथा तारानाथ शर्मा नेपालको भाषा समस्या आ-आˆना ठाउँमा ठिकै छन् ।
समाष्टिरूपमा उकालोको दुवै अङ्कको मूल्याङ्कन गर्दा स्तरीय लेख-रचनाको बाहुल्यले गर्दा प्रकाशन सफल छ । कथा, कविता, लेख, निबन्ध सबै उल्लेखनीय नै छन् । यसैगरी पुस्तक परिचय र सम्पादकीय टिप्पणी पनि उल्लेखनीय नै छन् ।
