छिमेकीले चाँद चुमे,
चन्द्र, मङ्गल जम्मै घुमे,
बिचरा हामी कहिले तराईतिर पड्किन्छौं,
कहिले ग्याँस, पेट्रोल भन्दै सडकतिर अड्किन्छौं,
बुद्धको जन्मभूमि सर्न थाल्या छ अरे,
सगरमाथा हाम्रो होइन चाइनामा पर्छ रे,
हामीलाई किन पोल्दैन किन दुख्दैनन यी छातीहरू,
समुन्नत राष्ट्र कहिले हुन्छ बालुवाटारका साथीहरू ?
दैव पनि हाम्लाई लाग्नु सिन्धुपाल्चोक, बार्पाक जे भो,
मठमन्दिर, धरहरा काँ बिर्सिनु के के भो,
भुइँचालि तिम्ले गर्दा पर्यटनमा धक्का लाग्यो,
अनुदान, राहत जति तिम्रै पछिपछि भाग्यो ।
पहिलाकै सुन्दर नेपाल हाम्रो चाहना हो,
पार्टी परिवर्तन खालि कसैको बहाना हो,
किन प्रिय लागे तिम्लाई काला यी रातिहरू ।
पुनर्निर्माण कहिले हुन्छ बालुवाटारका साथीहरू ?
कर्णाली भोकले कति रुन्छ,
तराईका चामल बाढीलै धुन्छ,
विपत्ति सब हामीलाई मात्रै,
तालुकदारलाई सधैंको जात्रै,
माक्र्सवादी कोही गान्धीवादि कोही,
भाषण मात्रै मिठा व्यवहारमा खोइ?
जुनै जोगि आए नि कानै चिरेका,
पद र कुर्सी पाउन त्यति गिरेका,
नयाँ नेपाल बन्ला र खै विस्वासघातीहरू ।
परिवर्तन कहिले हुन्छ बालुवाटारका साथीहरू ।
लोकतान्त्रिक मुलुक भाको रे,
नयाँ संविधान आको रे,
बलात्कृत आसुहरू अँझै उस्तै छन्,
छाडा ब्वाँसाहरू रगत चुस्दैछन्,
नेहा, बेनिशाका कथा लेखिए त कानूनमा?
अपराधीलाई फाँसी दिने देखिए त कानूनमा?
देउकुमारि भाउजिहरूको के दोष थियो?
दईज अनि छाउपडीले कति ज्यान लियो,
तिम्रा छोरि चेलि छैनन् रमितेका ताँतीहरू,
समानता कहिले आउछ बालुवाटारका साथीहरू?
प्रकि्ति नै सुन्दर हाम्रो माटोमा नि हिरा फल्छ,
पानी, विद्युत, जे उत्पादन भुटान, भारत सबै चल्छ,
हाम्रा युवा पसिनाले पराई भूमि धुन्छन,
कति जेल पर्छन् कति वेपत्ता नि हुन्छन्,
कति पिर्दो हो तिनका ती आफन्तलाई,
रेमिट्यान्स बढाइदिन्छन धन्न खाई नखाई,
विदेश मै बित्छन उनका कैयौं फुलपातीहरू,
रोजगार यतै कहिले हुन्छन् बालुवाटारका साथीहरू?
प्रमिथस बन्न नसके नि सच्चा योद्धा बनी हेर,
बलभद्र, भक्ति थापा हामी थियौं भनी हेर,
गीता छोई खाका कसम बिर्सिएर होला,
अस्तव्यस्त राजनीति यस्तै सधैं रोला,
आँट मात्रै अमरापुरी यहीँ पाउनेछौं,
सुन्दर, शान्त, विशाल नेपाल फेरि गाउँनेछौं ।
तब चिन्नेछ विश्वले नेपाली जातिहरू ।
अब त देश विकाशमा जुट्ने हो कि साथीहरू?
अब त उठ्ने हो कि बालुवाटारका साथीहरू?

Thank u so much
Thank u so much