प्रिय आऊ
यी नौलाख दीप जलिरहेको
आकाश मुन्तिर
हामीले प्रेमको अभ्यास गरौं
एक एक पेग मदिरा भरौं
र केही सुनौला जंघार तरौं
मदिराले लठ्ठिए पछि तिमी
मेरै छेउमा बेफिक्री लम्पसार पर्नु
तिमी निदाउनु या निदाए झैं गर्नु
घुँडासम्म सर्किएको तिम्रो स्कर्ट
म एक बित्ता माथि अँझै सर्काउने छु
तिम्रा सफा सुडौल पुष्ट साँप्रामा
म नेपालको नक्सा कोर्न लाग्नेछु
अहँ एकै पटकमा बन्ने छैन चित्र
तिम्रा चिल्ला माँशपेशीमा
मेरा कुची बरालीने छन्
मेटाउनेछु कोर्नेछु मेटाउनेछु कोर्नेछु
त्यो सुन्दर कञ्चन देहमा
म आफ्नै हातले आफ्नो देश बनाउने छु
मलाई देश ठुलो बनाउन मन लाग्नेछ
सीमाना मिच्न मन लाग्नेछ
मेरा औंलाहरू बहादुर सिपाही झैं
सीमाना मिच्न प्रयास गर्नेछन्
तिमी देशभक्त सिपाही झैं
आफ्नो सीमाना बचाउन
स्कर्टको छेउ जोडले अँठ्याउने छ्यौ
तिम्रो जाँघसम्म सीमाना पुर्याएर
आफ्नो देशको झण्डा गाड्नु छ मलाई
तिमी लजाउनेछ्यौ
सर्माउनेछ्यौ
डराउनेछ्यौ
राष्ट्रिय स्वाभिमान बचाउन
स्कर्टको छेउ समाउने छ्यौ
म फकाउनेछु
झण्डा मेरो हुनेछ, देश तिम्रो हुनेछ
म फकाउनेछु
शासन मेरो हुनेछ, सेना तिम्रो हुनेछ
म फकाउनेछु
दस्तखत मेरो हुनेछ, धन तिम्रो हुनेछ
रातभर तिम्रो र मेरो बीचमा
शितयुद्ध भैरहनेछ
बिहानसम्ममा मैले
धेरै सीमाना मिचिसकेको हुनेछु
तिम्रो देशको गढमा
म लालझण्डा गाढिसकेको हुनेछु
तिमी आतमसमर्पण या पराजय ठानौली
अहँ, त्यो तिम्रो पराजय होइन
विजय हुनेछ
तिम्रो कालापानीमा झण्डा गाढेर पनि
प्रिय म त हारेको हुनेछु
किनकि प्रिय
प्रेममा सधैं प्रेमीहरू
जितेर पनि हार्दछन् ।
