ऊ व्यावसायिक चोर थिएन । उसका बा-आमा थिएनन्, घर थिएन र उसको माग्ने आदत पनि थिएन । पठ्ठो युवा भएर पनि उसले काम पाएन किनकि उसले पढ्न पाएन । त्यसैले ऊ प्रेमी बन्न पनि पाएन ।
केही पाउने लोभले ऊ जनआन्दोलनमा होमियो तर उसले कुटाइ र पीडा मात्र पायो । आन्दोलनमा उसले तारे झण्डा सधैँ बोक्ने गथ्र्यो, त्यही रातो झण्डा उठायो र लुकायो र आन्दोलनबाट जिन्दावाद र मूर्दावाद स-स्वर उराल्न सिक्यो ।
ऊ भोकै थियो र त भोको बाघझैँ थियो । आफूतिर राजसी ठाँटमा आएकी एक महिलाको ब्याग उसले अचानक खोस्यो र भाग्यो तर ऊ लखेटियो । दगुर्दादगुर्दै उसले ब्यागको पैसा निकालेर गोजीमा हाल्यो र ब्याग फालिदियो । लखेट्नेहरूले भेट्नै आँटेका थिए र ऊ भाग्न नसक्ने भइसकेको थियो । कुटाइ खाने पक्का भइसकेपछि उसले गोजीबाट रातो तारेझण्डा निकाल्यो, टाउकोमा बाँध्यो र करायो- प्रतिगमन मूर्दावाद Û हात मुठ्ठी पारेर जोडले हावामा हुर्याउँदै ऊ अझ जोडले चिच्यायो-गणतन्त्र जिन्दावाद Û उसलाई लखेट्नेहरू हच्किए, बरु ऊसँगै जिन्दावाद र मूर्दावाद उराल्नेको जुलुस बन्यो । सुरक्षित महसुस भएझैँ ऊ फिस्स हाँस्यो र अन्तिमपटक करायो-नयाँ नेपाल जिन्दावाद Û
-तरहरा-२/८४, सुनसरी
