साँझ दिन ढल्दै गएको एउटा सुचक पनि हो र यो पनि ध्रुवसत्य हो कि अब एकैछिनमा हामी बसिरहेको यो धरातलमा बिस्तारै सन्नाटा छाउनेछ । म उनलाई भारी मन लिएर पर्खदै थिए किनकि आज त्यो सधाको साझ जस्तो थिएन, जहाँ एउटा पीडा लुकेको थियो र मैले भारी मन लिएर स्वीकार्नु पर्थ्यो आजको साझबाट उनीसँग मेरो सम्बन्ध सदाको लागि समाप्त हुदै थियो ।
काठमाडौंको व्यस्त सडकमा उभिएर उनीसँग बिताएका ती मिठा तथा नमिठा पलहरूको यादमा डुब्दा ती मोटर गाडीका आवाजहरूले पनि मेरो ध्यानलाई खिच्न सकेन । छेउमै आएर कसैले दाइ भनेर बोलाउदा म झसङ्ग भए, त्यो अन्जान मान्छे कुन्नि कता जानेहो बाटो सोध्दै थियो । मैले उनको कुरालाई बेवास्ता गर्दा त्यो मान्छे कुन्निके भन्दै बर्बराउदै मबाट टाढा भयो ।
मैले दिएको र उनले भनेको समय समाप्त हुदै थियो किन किन यो मन यो शरिर धेरै दिनको ज्वरोले गलेको जस्तो अनुभव हुदै थियो । आफ्नै मनले आफैलाई भनिरहेको थियो, तिमी आफै उस्तो हो उनले जति माया तिमीलाई कसैले गर्दैन, तिमीले उसलाई बुझ्नुपर्छ । फेरि अर्को मनले भन्थ्यो विचार नमिलेपछि कति दिन यो सम्बन्ध सम्बभ छ ?
फेरि म त अर्धबेहोसिमै रुन थालेछु किनकि उनले दिएको माया झल्झली आँखा वरिपरि घुमिरहेको थियो ।
हुन त हाम्रो माया, हाम्रो सम्बन्धमा कसैको रोकटोक थिएन तैपनि धेरैपटक हामी बीच विचारको लडाइँ भइरहैको थियो ।
म त सोचमै हराएछु, एक्कासि राज भनेपछि म झस्किए त्यो आवाज चिने जस्तो लाग्यो, होत उनी अर्थात सपना मेरो अगाडि आएर मनमा खुसी नभएपनि फिस्स हाँस्ने कोसिस गर्दै कोसिस गर्दै थिई तर त्यो कोसिस बेकाम हुदै थियो ।
त्यो साझ अनि बिछोडको त्यो अन्तिम पल हामीले मनभरिको सपनालाई त्यही थुप्रो लगाएर आफ्नै अगाडि जलाउनुथियो । हामी मौन थियै हो हामी दुवै के बोल्ने दोधारमा भएजस्तो भर्यौ । सडकमा सवारी साधनहरू आफ्नै गतिमा चलिरहेको थियो र त्योभन्दा तिब्र हुरिबतास हाम्रो मनमा । केही समय पछि हामीबीचको मौनतालाई मैले तोड्दै कतै बसेर कुरा गरौंन भने, र हामी एउटा क्याफेमा गयौ । आमुन्ने सामुन्ने थियौ हामी तर त्यो भेट, त्यो साथ पहिलाको जस्तो थिएन । बोल्न खोज्दा बोली हराएजस्तो, मन कामेजस्तो मलाई भएको थियो र सायद उनलाई पनि भएको हुनुपर्छ । हामीलाई थाहा थियो त्यो बिछोड पछि हामी दुवैको जीवन पक्कै पनि सहज हुने थिएन ।
हामी बीच सामान्य कुराकानी भए जिन्दगीका, घरपरिवारका यस्तै यस्तै । मैले उनलाई अब आउने जिन्दगीको शुभकामना दिए, मैले शुभकामना दिएको बेला उनको दुवै आँखा रसाउदै आँसु परेलीबाट झर्ने कोसिस गर्दै थिए तर उनी सम्हालिदै तिमीलाई पनि शुभकामना भनेर रुन्चे अनुहार लगाउदै गर्दा कता कता यो छाती फुट्ला जस्तो गरी चर्किएको थियो । उनको अनुहारले भनेजस्तो लाग्थ्यो हामी जिन्दगीको यो यात्रामासँगै यात्रा गरौन हुन्न ? कैले भनेजस्तो लाग्थ्यो माया गर्नेहरू बीचमा त झगडा हुन्छ अरु सँगत हुदैन नि, यस्तौ भनेजस्तो लाग्थ्यो । त्यो बीच त्यो क्याफेको वेटर भाइ दुई पटकसम्म के ल्याऊँ हजुरहरूलाई भनेर सोध्न आइसकेको थियो र एकैछिनहै भनेर हामीले उसलाई फर्काएका थियौ र ऊ तेश्रो पल्ट हामी बीच आएर त्यही कुरा दोहोराउदै थियो ।
मैले सपनालाई “के खाने?” भन्दा उनले कफि भनिन् । मैले दुईवटा कफी भनी उसलाई पठाएँ । उनको र मेरो मायाको यात्रा यही टुङ्ग्याउने कुरो अघिल्लो रातनै भइसकेको थियो । कफीको चुस्किसँगै सपना भन्दै थिई, “राज जिन्दगीको यो यात्रमा तिमीसँग जुन साइनो गाँसे, जुन माया मैले तिमीलाई दिए र जुन विश्वास तिमीलाई मैले गरे, तर तिमीले मलाई बुझ्न सकेनौ या मैले तिमीलाई । मन भारी छ, तन सिथिल छ तैपनि छुट्नु छ हामी र बनाउनु छ छुट्टै दुनियाँ, जुन साथ अहिलेसम्म तिमीले दियौ जुन समर्पण मैले तिमीसामु गरे, पछिल्लो समय यस्तो लाग्यो यदि हामी दुवैले सङ्गै यात्रा गर्यौ भने जहाँपनि दुर्घटना हुन सक्छ ।”
ऊ भन्दै थिई तर आँखाभरी आँसु लिएर अनि मैले पनि भन्दै गएँ, “हो सपना अब हामी एक अर्कासँग छुट्टिनु पर्छ । छुट्टिने बेला म तिमीलाई दोष दिन चाहन्न । तिमीले यसो गर्यौ, तिमीले उसो गर्यौ, जति बेला हामी साथमा थियौ तिमीले दुनियाँ भूलेर मलाई माया गर्यौ । आज हामी बीच त्यस्तो बाधा आइपुग्यो अब हामीलेसँगै यात्रा गर्न सम्भव छैन किनभने तिम्रो त्यो खुसी, तिम्रो त्यो आफ्नो जीवन, मेरो अनुसार चल्नुपर्छ म भन्न सक्दिन । हो नि तिम्रो घर परिवार छ, आफन्त छन्, तिम्रा पनि आफ्नो सपना होलान् । त्यो सबै भूलेर म कुन बाटो हिड्छु त्यही बाटो हिँड म भन्न सक्दिन । हिजो के भयो, मैले के भने, तिमीले के भन्यौ र हामी बीच के नराम्रा भए त्यसलाई भूल्नु पर्छ हामीले र सम्झनुपर्छ तिमीले मेरा निम्ति कत्तिसम्म त्याग गर्यौ र मैलेपनि तिम्रो खुसीको निमित्त कत्तिसम्म लागिपरे यो बुझ्नुपर्छ । आज हामी भोलिको लागि टाढा हुदैछौं हामीले हेर्नुछ भोलि एक-अर्काको खुसी ।”
मैले यी सारा कुरा उनको अगाडि भनिरहदा उनी त एउटा मन्दिरमा राखिएको मूर्तिजस्तो अँझ भनौ सालिक जस्तो भएकी थिइन । लाग्थ्यो उनी पनि सोचिरहेकी छिन् अब भोलि आउने जिन्दगीको रुपरेखा कस्तो हुने हो, जिन्दगीको यात्रा कसरी अगाडि बढ्ने हो ?
उनी टोलाउन थालेको देखेर मैले उनलाई भने, “सपना अब हामी छुट्टिनु पर्छ ।”
यति भन्दै मैले काउन्टर गई पैसा तिरे र चोकसम्म हामीसँगै आयौ । त्यतिबेला सायद साझको ७:३० भएको थियो होला, हामी बिदाइका हातहरू हल्लाउदै आफ्नो आफ्नो गन्तव्यमा अगाडि बढ्यौ । कोठासम्म जान मैले गाडी चढ्नु पर्ने थियो, गाडी चढे तर लाग्थ्यो के हराएजस्तो, केही गुमाए जस्तो, मनामा एकप्रकारको बेचैनी, पीडा यस्तै यस्तै ।
एक्कासि म झसँग भए किनकि खलासी भाइले मेरो ज्यान छुदै दाइ भाडा दिनुस भन्दै थियो । मलाई लाज लाग्यो किनकि उसले मलाई तीन पटकसम्म भाडा मागिसकेको रहेछ हा हा हा पागल म त कता हराएछु । नजिक मसँगै बस्ने मानिसहरू मलाई हेरेर हासिरहेका रहेछन् । भाडा दिए अनि ठाउमा आइपुगेपछि ओर्लिएँ ।
कोठामा जान मन लागेन, कता जाऊ के गरौ । आफ्नो कुरा, आफ्नो पीडा कसलाई रुदै रुदै सुनाऊँ, यस्तै भइरहेको थियो । कहिल्यै रक्सी नपिउने मान्छे त्यो दिन पिऊँ पिऊँ लाग्यो, र कोठाको छेउबाट बाटो मोडेर एउटा होटेलमा छिरेर पिउन थाले । पहिलो पटक पिएर होला सायद सारा संसार घुमे जस्तो लाग्न थाल्यो । लागेको सुरमा उनको नाम लिदै बोलाएछु अनि फेरि सम्झे उनीसँग त मेरो बिछोड भइसकेको छ । राति ९:०० बजेसम्म पिएर बसेँ र अर्ध बेहोसीमै ट्याक्सी चडी कोठामा आएँ । त्यसपछि के भो मलाई थाहा भएन ।
भन्थे जिन्दगी यात्रा हो जुन यात्रामा मान्छेहरू हिड्नै पर्छ मन नलागेपनि मन लागेपनि । जति सुकै कठिन परिस्थिति भएपनि जिउनै पर्छ, उकाली चढ्दा साथ छुटे पनि ओराली झर्दा छाती चर्किए पनि उसले निरन्तर अगाडि बढ्नूनै पर्छ । आँखाभरि आँसु लिएर मुस्कुराउनु पर्ने बाध्यता हुन्छ मान्छेमा । तर पनि मान्छे सम्झौता हो जीवन भनेर कहिले आफ्नो निम्ति, कहिले अरुको निम्ति बाचिरहेको हुन्छ । यसको अर्थ यो संसारमा म मात्रै दुखी छैन, यहाँका हर मानिस आफ्नै कथामा, आफ्नै व्यथामा बाँचेका हुन्छन् ।
गाउँमा रहदा अँझ भनु सानोमा बाले भन्नुहुन्थ्यो, “छोरा जिन्दगीमा जब तिमी पीडामा हुन्छौ त्यतिबेला तिमी नआत्तिनु, नरुनु र हेर्नु तिमीभन्दा दुखीलाई, त्यति बेला तिम्रो चित्त बुझ्नेछ ।”
हो आज आएर आएर बाले भनेका कुरा बुझ्न थालेको छु, सानोमा बाले भनेका कुराले आज आएर अर्थ राखेको छ । सत्यलाई हामीले स्वीकार्नुपर्ने रहेछ, जसले सत्यलाई स्वीकार्दैन ऊ संसारकै सबैभन्दा दुखी मान्छे हुन्छ । जब फुल फुल्छ त्यसको सबैलाई माया हुन्छ, फुल त एकदिन ओईलिएर झर्छ र बाकी हुन्छ काँडा, त्यो काडालाई पनि स्वीकार्नु पर्छ हामीले ।
सायद मैले भूल्ने कोसिस गर्नुपर्थ्यो होला मेरो अतित तर खै कुन्नि त्यो अतित यसरी छाँया बनी मेरो पछि पछि लागिरह्यो । मलाई लाग्थ्यो मैले मेरो अतित भूल्न म चितामा जल्नुपर्छ । आइरहे उनका यादहरू, सम्झिरहे त्यो पल, लाग्थ्यो जति याद म गर्थे त्योभन्दा कैयौ गुना सम्झना उनले गर्थिन । मलाई अचम्म लाग्थ्यो किन मलाई उनीमाथि त्यति धेरै विश्वास थियो मलाई थाहा थिएन ।
लाग्थ्यो, मलाई आगोले पोल्छ तर कठै मलाई त थाहानै रहेनछ, कसैको सम्झनाले यतिधेरै पोल्छ भनि, जब जब म सपनाको सम्झनामा रुन्थे त्यतिबेला लाग्थ्यो उनी झन् कति धेरै पागल भएकि होलिन् मेरो मायामा ।
दिन बिते, रात बिते र कैयौ ऋतुहरू मेरो सामुन्ने मितेरी लगाई परिवर्तन भए । तर मेरो मन उनीप्रति उस्तै ताजा बनिरह्यो । मलाई कति बेला लाग्थ्यो म पागल हुन्छु र कति बेला लाग्थ्यो यो संसार अब मेरो निम्ति हैन अनि कतिबेला लाग्थ्यो म धर्तीको निम्ति बोझ बनिरहेको छु ।
सानोमा गाउँमा रहँदा मेरो गाउँ नजिकै एउटा धने नाम गरेको मानिस बस्थ्यो । ऊ सधैं जाँड पिउने, गाउँमा नहुने काम गर्नेको अग्रपंतिमा आउथ्यो । उसको बुवा रत्न काकाले उसलाई गाली गरेर भन्नुहुन्थयो, यो धर्तीको बोझ मरे पनि हुन्थ्यो । त्यतिबेला मेरो कलिलो मनले भन्थ्यो रत्न काकाले किन आफ्नै छोरालाई यसरी गाली गरेको होला ? हो आज मेरो मनले पनि मलाई भनिरहेको थियो म साच्चै धर्तीको निम्ति बेझ बनिरहेको छु ।
बोझिलो मन, गलेको तन, पीडादायक बातावरण, उनको अभाव, लाग्थ्यो खडेरीमा पानी नपर्दा धाजा फाटेको जमिन जस्तो भएको छ मेरो मन । लाउन खान अभाव थिएन, एक्लो छोरो, भनेको कुरा पुरा हुन्थ्यो लगभग । नेपाल बस्ने मन लागेन, सोचे बिदेश जान्छु । मेरो मनको कल्पना बालाई सुनाएँ । बाले भन्नुभयो, “छोरा यत्रो सम्पत्तिछ किन जानु पर्यो बिदेश ?”
विचारा बा, उनलाई के थाहा म पैसा कमाउन हैन कसैको याद भुलाउन बिदेश जादैछु भनी ।
भाग्यमा जे हुन्छ त्यो भएर नै छोड्छ । हातमा लागेको मसि हैन रहेछ जीवन, फोहोर भयो भनेर मेटिदिने, पटक पटक नलेखिदो रहेछ भाग्य, एकपटक लेखेपछि । उतिबेला राजाहरूले लगाएको लालमोहर जस्तो । जे हुनुछ त्यो भएर नै छोड्छ, हो त्यस्तै भयो मेरो जिन्दिगीमा र अन्तत म नेपाल छाडी अस्ट्रेलिया उडे । आफ्नोभन्दा घरको माया, घरकोभन्दा परिवारको माया र सबैभन्दा उनै सम्झनाको माया लागिरह्यो । याद आइरह्यो साउने भेलसरी र उर्लिरहे अतितका छालहरू निरन्तर निरन्तर ।
घर छाड्ने बेला बाको अनुहार मलिन थियो भने आमाको गहभरि आँसु । आमा अक्षेताको थाली लिएर सुँक्क सुँक्क रुदै हुनुहुन्थ्यो । बा आमालाई सम्झाउदै हुनुहुन्थ्यो, “ह्या यो आइमाइ पनि । तेरो छोरो मात्र हो र बिदेश जान लागेको ? तल्लो घरे रुपेश पनि त बाहिर नै छ, छोरो मान्छे घुम्नु पर्छ ।”
बाले यसरी भनिरहदा आमा चित्त नबुझे पनि बुझेसरी गर्दै चुप हुनुभयो । आमाको मन न हो, कहाँ मान्दो रहेछ र ! मैले “जान्छु है आमा” भन्दा वहाँ त डाँको छोडेर रुन थाल्नुभयो । म पनि भारी मन लिएर अगाडि बढेँ । सोचेँ जिन्दगी यात्रा हो भनी ।
बिदेशमा भए पछि कडा काम, अनुशासित जीवन, चल्दै थियो मेरो यात्रा । नेपालमा हुदा बोल्न गाह्रो मान्ने रमेश दाइले पनि मसँग खुलेर कुरा गर्नुभयो, त्यो देख्दा मलाई सार्हैनै खुसीको अनुभूति भयो । सायद उनले पनि बुझे होलान, सबै मानिसभित्र मन हुन्छ, सबैको आफ्नै आत्मसम्मान हुन्छ ।
भन्थे प्रविधिले मानिसलाई खुसी दिन्छ अनि धेरै ज्ञानी बनाउँछ तर मलाई त्यही प्रविधिले दुखी बनायो । जसलाई भूल्न र जसको याद कमि गर्न म बिदेश आए झन् यो फेसबुकमा उनले राखेको तस्वीर र कारुणिक शब्दहरूले मलाई मर्माहित बनायो । सानोमा अँझै भनौ सायद म गाउँमा रहदा हजुरबाले भनेका कुराहरूको अहिले पनि धमिलो याद मेरो मानसपटलमा छ, “हेर छोरा मन दुखी छ भने जहाँ गए पनि सुखी हुदैन मान्छे ।”
हो रहेछ आज यो कुरा ममा लागु भएको छ । बिदेशको बसाई, नयाँ ठाउ, नयाँ परिबेश सबै कुरा नौला थिए मेरो लागि । अनुभूति नयाँ, मान्छे नयाँ, काम नयाँ, सबै नयाँ कति समयत म त्यहाँ एक्लो भए, पछि पछि बानी पर्दै गयो । यसरी मनमा सम्झनाको याद भएपनि उनको खोज खबर बिना २ वर्ष बित्यो ।
एकपटक बिदाको दिन घुम्न बाहिर निस्किएँ । त्यति बेला म धेरै नै खुसी भएँ । त्यो खुसी हुनुको कारण मदन थियो, हो मदन जसले सम्झना र मलाई नजिक ल्याउने काम गरेको थियो । ऊ पनि धेरै खुसी भयो, यता आएको दुई महिना जति भएको रहेछ । उसको हालखबर सोधेँ, त्यस बीच जे कुरा म गर्न नचाहदै थिए त्यही कुरा उसले कोतर्यो । हामी दुई बीचको फाटोको कुरा उसले निकाल्दै चिन्ता व्यक्त गर्यो र हामी एउटा रेष्टुरेन्टमा गयौ र दुई दाजु भाइले खाजा खादै कुरा गर्यौ ।
आज जीवनको यो प्रहरमा आएर मैले बुझ्न सकेको छैन कि, सुख के हो ? जिन्दगी के हो ? अनि के केबाट खुसी प्राप्त हुन्छ ? सानोमा गाउँमा रहदा मेरो बाले सधैं मलाई भन्नुहुन्थ्यो, “हेर छोरा राम्रोसँग पढ, ठुलो मान्छे बन्नुपर्छ धेरै पैसा कमाउनुपर्छ अनि मिल्छ खुसी भनेर ।”
तर आज बिदेश आए, पैसा पनि धेरै कमाए । खै त बाले भनेको खुसी ? सायद बाले पनि जिन्दगीको खुसी र सुख बुझेका रहेनछन् । वास्तविक सुख भनेको त मनको शान्ति रहेछ । पैसाले भौतिक सुख सायदै किन्न सकिदो रहेछ तर मनको खुसी किन्न फलामको चिउरा उपाउनुजस्तै रहेछ ।
स्कुल पढ्दा गुरुहरू भन्नुहुन्थ्यो, “तिमी राम्रो पढ्छौ, एकदिन तिमी ठुलो मान्छे बन्नेछौ ।”
बिचरा गुरुहरू वहाँहरूलाई के थाहा मेरो जीवनमा भावीले के लेखेको छ भनी ? पैसा कमाएर टाढाको मान्छे नजिक भए, हिजो मसँग नबोल्नेहरू बोल्न थाले । तर मेरो मनको खुसी मबाट टाढा टाढा हुदै गयो ।
सानोमा म आमालाई रुँदै पछ्याउथे । तर आमा मलाई छाडेर आफ्नो काममा जानुहुन्थ्यो । म रुँदै रुँदै टाढासम्म सम्म पुग्थे अनि आमालाई नदेखेपछि म भारी मन लिएर फर्कन्थें । सायद आज खुसी र मबीच त्यस्तै सम्बन्ध छ । सानोमा आमालाई पछ्याउथे आज खुसीलाई ।
मनोज धमला
