Skip to content

गणतन्त्र विशेष


भोगी कष्ट असाध्य मानिस बसे ती काल रात्री भर ।
आङै हुन्छ जिरिङ्ग सम्झिन गए ऎले नि लाग्छन् डर ।।
ताना—शाह छँदै थियो र जनता पिल्सेर बस्थे कुना ।
वोल्दा सज्जनले विरुद्ध उसको लाग्थे त्यहाँ लान्छना ।।१।।

राणा शासन थ्यो कठोर अति नै लागेर फाले जन ।
गैगो शासन त्यो समाप्त तर खै बन्दै बनेनन् झन ।।
राजाले बलले छिनेर करमा सत्ता लिए स्वार्थले ।
त्यै पन्चायत लादियो सकसमा मान्छे परे व्यर्थले ।।२।।

मार्थे निर्मम भै विरोध सुनिए जोगाउनै तन्त्र त्यो ।
वोले मानिस तत्व अराष्ट्रिय हुने सत्यार्थजस्तै थियो ।।
पर्खे चालिस साल कष्टसितले आखीर मान्छे उठे ।।
गो पन्चायत तन्त्र काल सहजै मिल्केर सत्ता टुटे ।।३।।

आयो फेर उ फर्किएर सुनिने नामै प्रजातन्त्र त्यो ।
मात्रै नाम थियो थिएन अधिकार् सप्रेन है राष्ट्र यो ।।
खोजिन्थे अधिकार मानिसहरु नेता नसुन्ने भए ।
मिल्ला आफ्नु हकै लडेर जन हो भन्दै र लड्नै गए ।।४।।

मार्ने कार्य भए मरेर निमुखा खोला वह्यो रक्तको ।
तारो शत्रु बने लडेर जनता राँको थियो युद्धको ।।
यस्तैमा दरवार काण्ड हुन गो सत्ता लिने खेल भो ।
सत्ता हासिल गर्नु र लुट्नु मुलुकै यस्तै यहाँ झेल भो ।।

नौटङ्कीहरु देखियो तर सबै सम्भावना सिद्धिए ।
छाडी स्वाद उ शक्तिको दल सबै लड्ने इरादा लिए ।।
थाल्दा भिड्न दुवै परस्पर खुवै लागेन पार् क्यै जव ।
विद्रोही अनि क्रुद्ध समूह मिले फाल्नै छ राजा अव ।।

भो आन्दोलन भव्य भीषणसरी लाखौँ करोडौं जुटे ।
भाँचे शालिक तोडफोड परखाल् सेना र दर्वार लुटे ।।
तानाशाह गई स्वतन्त्र जनता फुक्का उ बन्दै गयो ।
आयो हर्ष लिएर मानिस खुबै आनन्द मान्दै थियो ।।

आएथ्यो गणतन्त्र फुल्छ कसरी सोच्ने गरौं सज्जन ।
पाएको अति कष्टसाथ जुन यो नेता विगार्छन् किन ।।
हाम्रो सुन्दर देश समाल्नु जन हो भूस्वर्गमा जन्मियौ ।
गर्छौ बन्द सँधै यहाँ मुलुक यो धिक्कार मानी लियौं ।।

आएको नव सम्विधान अहिले देखिन्छ राम्रै छ हे ।
गर्दैनन् तर पालना दलहरु के हुन्छ राम्रो भए ।।
हान्दा पत्थर बन्छ खै र कसरी यस्तै अवस्था रहे ।
गुम्ला है गणतन्त्र हे सुजन हो खोजौं समस्या भए ।।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *