Skip to content

बन्द गर प्रभु ! बन्द गर !


हे बन्दका प्रभुहरू !

तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर अकालमा मर्नु परोस् !
किमोथेरापी गर्न जाने दिनहरूमा बन्द हुन्
बेलामा उपचार नपाएर अकाल मृत्यु होस् !

भनौला, हे जनता ! किन एम्बुलेन्समा जान्नौ ?
तिमीहरूले एम्बुलेन्समा गोली हानेर रोगी मारेको हामीले विर्सेका छैनौं
अनि बन्दको दिन एम्बुलेन्सको हाहाकार हुन्छ, तिमीलाई थाह छ।

अनि भनौला, एम्बुलेन्स नपाए किन हेलिकोप्टरमा जान्नौ?
स्याबास् ! कुनै महाराजले भनेथ्यो–
हे जनता, गुन्द्रकढिंडो खान नपाए किन दूधभात खान्नौ ?
किनभने तिमी आजका महाराज मात्र होइनौ,
सर्वशक्तिमान प्रभु हौ।

बन्द गर प्रभु ! बन्द गर !!

मलाई थाह छ तिमीहरू
लूटका हेलिकोप्टर चढेर अस्पताल पुग्न सक्छौ
तिम्रा आफ्ना निजी सेना लगाएर
ब्लड ब्यांकबाट रगत ल्याउन सक्छौ
तर तिमीहरूबाट नै सीमान्तकृत
म जस्ता र मभन्दा पनि निमुखाले के गर्छन् ?
मरेर जान्छन्।

अतः हे बन्दका देउताहरू,
मेरो तिमीलाई शुभकामना आशीर्वाद छ–
जसरी देश र जनतालाई अकालमा मार्दै छौ
तिमीहरू पनि अकालमा मरि जाओ।

बन्द गर प्रभु ! बन्द गर !! •

हे बन्दका प्रभुहरू !

बन्दकै दिन तिम्रो अचानक हार्ट अट्याक होस्
तिमीहरूले ओढार-बगरमा बस्न वाध्य पारेका निमुखा जनता जस्तै
तिमी पनि अस्पताल पुग्न नसकेर
अकालमा कालको मुखमा पर्नु परोस् !

हे बन्दका प्रभुहरू !
तिमीलाई चर्को बेथा लागोस्
बेलामा अस्पताल पुग्न नपाएर
तिमीहरूले किनारामा आफलेका निमुखाहरू जस्तै
अकालमा मर्नु परोस् !

बन्द गर प्रभु ! बन्द गर !! •

सत्तामा तिमी
सडकमा तिमी
सभा-सदनमा तिमी
न्यायालयमा तिमी
हत्यामा तिमी
लूटमा तिमी
तस्करीमा तिमी
पुलिसमा तिमी
सेनामा तिमी
जनसेनामा तिमी
भारतमा तिमी
नेपालमा तिमी
तिम्रो महिमा अपरम्पार छ

बन्द गर प्रभु ! बन्द गर !! •

निहत्था जनताको रगत पिएर पुगेन
घाइते, अपाँग, विरामीको रगत पनि पिउ
रोगी-दुखीहरूलाई मारेर मुक्ति दिंदैछौ
जनी गर हामीहरूलाई छिटो मार
मलाई मार !
डाक्टर चित्रप्रसाद शर्मा वाग्लेलाई मार !!
उनी मृत्यु मागिरहेका छन्।
हामी जस्ता सबैलाई मार !!

कवि गोकुल जोशीले उहिल्यै लेखेका थिए‍–

‘भोक भोकै मर्न लागे कवि कलाकार तडपाएर नमारिदेऊ झुन्ड्याएर मार’

जनता कवि कलाकार हुन्
नेपाल आमा र नेपाली जनताको घाँटीमा सुर्कने गाँठो पारिसकेका छौ
अब सगरमाथाका टुप्पोमा लगेर झुन्ड्याइदेऊ
सबैले देख्ने छन् र तिम्रो यश गान गर्ने छन्।

बन्द गर प्रभु ! बन्द गर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *